बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दाेलन

जेनजी आन्दोलनमा तहसनहस भएका कैलालीका सरकारी कार्यालयहरू सेवा सुचारु गर्ने प्रयासमा

सोमबार, ०६ असोज २०८२, १० : १४
सोमबार, ०६ असोज २०८२

सारांश

  • भदौ २४ गतेको आन्दोलनका कारण क्षति पुगेका कैलालीका सरकारी कार्यालयहरूले सेवा सुचारु गर्न थालेका छन्।
  • जिल्ला प्रशासन, अदालत र यातायात व्यवस्थापन कार्यालयले आंशिक सेवा सुरु गरेका छन्, भने मालपोत कार्यालय मर्मतपछि सञ्चालनमा आउनेछ।
  • कार्यालयहरूले सरसफाइ, मर्मत र वैकल्पिक व्यवस्थापनमार्फत सेवा पुनर्स्थापनाको प्रयास गरिरहेका छन्।

धनगढी । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा भएको तोडफोड र आगजनीले तहसनहस भएका कैलालीका सरकारी कार्यालयहरूले पुनः सेवा प्रवाह थाल्ने प्रयास गरेका छन् । आन्दोलनको एक सातापछि अधिकांश कार्यालयले आंशिक रूपमा सेवा सुचारु गरेका छन् ।

आन्दोलनकारीहरूले आगजनी, तोडफोड र लुटपाट गरेपछि जिल्लाका प्रमुख सरकारी कार्यालयहरूमा कम्प्युटर, प्रिन्टर, कागजात र फर्निचर नष्ट भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले विभिन्न निकायबाट कम्प्युटर र फर्निचरजस्ता सामग्री सहयोग प्राप्त गरेसँगै नागरिकता वितरणजस्ता अत्यावश्यक सेवा पुनः सुरु गरेको छ ।

कैलाली जिल्ला अदालतले शून्य अवस्थाबाट सेवा दिन थालेको स्रेस्तेदार जनकराज पन्तले बताए । नागरिकको अधिकारप्रति जबाफदेही रहँदै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, पक्राउ पुर्जी र म्याद थपजस्ता कामहरू सुरु गरिएको उनको भनाइ छ । अन्य कामहरू भने हाललाई स्थगित रहेको उनले जानकारी दिए ।

आगजनीबाट दुई तला पूर्ण रूपमा क्षति भए पनि यातायात व्यवस्थापन कार्यालयले बिहीबारदेखि सवारीसाधन नवीकरण, दर्ता, कर सङ्कलन र रुट परमिटजस्ता आंशिक सेवा सुरु गरेको छ । कार्यालयका अधिकृत श्याम जोशीका अनुसार, सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सम्पूर्ण काम सुरु हुन भने केही दिन लाग्नेछ । यस कार्यालयमा सम्बन्धित कागजात र उपकरणहरू जलेर नष्ट भएका थिए ।

भन्सार कार्यालयले पनि आफ्नो ग्यारेजबाटै भए पनि पूर्ण रूपमा सेवा सञ्चालनमा ल्याएको छ ।

कार्यालयहरूले सरसफाइ, मर्मत र वैकल्पिक व्यवस्थापनमार्फत सेवा पुनर्स्थापना गर्न जुटेको मालपोत कार्यालयका नापी अधिकृत जनकराज भट्टले जानकारी दिए । कार्यालयले आंशिक सेवा सुरु गरे पनि यसको काम मालपोत कार्यालयसँग जोडिएकाले पूर्ण सञ्चालनमा आउन सकेको छैन ।

‘मालपोत कार्यालय सुचारु हुनासाथ हाम्रो सेवा पनि पूर्ण रूपमा सञ्चालन हुनेछ,’ अधिकृत भट्टले भने ।

आगजनी र तोडफोडबाट गम्भीर क्षति पुगेको मालपोत कार्यालयमा हाल मर्मतको काम तीव्र गतिमा भइरहेको छ । मालपोत अधिकृत प्रेमबहादुर दौल्यालका अनुसार, कार्यालयको सेवा पुनः सुरु हुन अझै एक हप्ता लाग्न सक्ने अनुमान छ ।

दैनिक सयौँ सेवाग्राहीको भिड लाग्ने यी कार्यालयहरूले कठिनाइका बाबजुद सेवा प्रवाहलाई निरन्तरता दिने प्रयास गरेसँगै जिल्लाको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख हुन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप