बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

‘राइड सेयरिङ’को विरोध गर्ने पोखराका ट्याक्सी व्यवसायी आफैँले थाले मोबाइल एप

सोमबार, ०६ असोज २०८२, १३ : ४२
सोमबार, ०६ असोज २०८२

सारांश

  • पोखरामा सार्वजनिक ट्याक्सी सेवालाई प्रविधिमैत्री बनाउन 'मुभइन' नामक अनलाइन एपको घोषणा गरिएको छ।
  • एपको प्रयोगले ट्याक्सी चालकले मनपरी भाडा लिने समस्या समाधान गर्ने र यात्रुलाई सहज हुने विश्वास लिइएको छ।
  • सुरुमा कम्पनीले कुनै शुल्क नलिने र विस्तारै देशैभर सेवा विस्तार गर्ने योजना रहेको छ।

पोखरा । पोखरामा सार्वजनिक यातायात सेवालाई प्रविधिमैत्री बनाउने गरी अनलाइन एपको घोषणा गरिएको छ । खासगरी सार्वजनिक ट्याक्सीलाई अनलाइन मार्फत डील गरेर प्रयोग गर्ने गरी ‘मुभइन’ नामको एप सुरु गरिएको हो ।

ट्याक्सी चालकले मनपरी भाडा लिने गरेको चौतर्फी आलोचनालाई चिर्न यहाँका व्यवसायी मिलेर एप सुरु गरिएको हो । पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले ‘मुभइन’सँगको सहकार्यले पोखराको ट्याक्सी सेवामा ठुलो परिवर्तन आउने विश्वास व्यक्त गरे ।

उनले पोखराका ट्याक्सीहरूलाई प्रविधिको विरोधीको रूपमा हेरिएको धारणा गलत साबित भएको भन्दै अब एप्लिकेशनमार्फत सेवा दिने बताए ।

ट्याक्सी व्यवसायीका निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले एप प्रयोगमा आएपछि चोकमा बसेर ‘हाउ मच’ भन्दै भाडा बार्गेनिङ गर्ने प्रवृत्ति अन्त्य हुने बताए । ‘अब उप्रान्त ट्याक्सीलाई कतिमा लैजान्छौ भनेर सोध्न पर्दैन,’ उनले भने ।

एपमा हाल १ हजारभन्दा बढी ट्याक्सी आबद्ध भइसकेका छन् । पोखरामा मात्रै करिब २ हजार ट्याक्सी सञ्चालनमा छन् । यसले यात्रीहरूलाई आफ्नै गेटबाट ट्याक्सी सेवा प्राप्त गर्न सहज हुने विश्वास लिइएको छ ।

प्राविधिक र लगानीकर्ताहरूले एपको विकासका लागि झन्डै एक वर्ष लगाएका थिए । ‘यो बच्चा जन्मिसकेको छ । अब यसलाई हुर्काउने, बढाउने काम हाम्रो काँधमा छ,’ पोखरेली ट्याक्सी प्रालिका निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले भने, ‘आफ्नो पेसालाई सम्मानजनक रूपमा स्थापित गर्न यसले सघाउँछ ।’

‘मुभइन नेपाल’का प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले सार्वजनिक यातायातलाई प्रविधिमैत्री र सजिलो बनाउन एप सञ्चालन गरिएको बताए । यो एपले पोखरामा ट्याक्सीहरूलाई प्रविधिमार्फत ग्राहकहरूसँग जोड्न सघाउने र बार्गेनिङ गर्नुपर्ने अवस्था अन्त्य गर्ने उनको भनाइ छ ।

‘हामीले एपलाई व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वका साथ अगाडि बढाएका छौँ,’ पराजुलीले भने, ‘भविष्यमा पनि नाफाको ठुलो हिस्सा व्यवसायीहरूको हकहितका लागि नै खर्च गरिनेछ ।’

तत्काल एप सञ्चालन बापत कम्पनीले कुनै शुल्क नलिने उनले घोषणा गरे । यसले पोखरासहित आसपासका ठाउँहरूलाई समेटेको छ ।

बिस्तारै देशैभर यस्तो सेवा विस्तार हुने कम्पनीको दाबी छ । विभिन्न व्यवसायी र संस्थाहरूको संस्थागत लगानीमा कम्पनी सुरु गरिएको हो । पोखराका अन्य ट्याक्सी कम्पनीहरूलाई पनि जोडिन पराजुलीले आग्रह गरे ।

यो एप पोखराकै आइटी इन्जिनियर रविन तिवारी र उनको ४५ जना प्राविधिक टोलीले तयार गरेको हो । प्रारम्भिक चरणमा ‘मुभइन नेपाल’ले चालकहरूबाट कुनै पनि कमिसन नलिने निर्णय गरेको छ । चालकहरूले एपमा ‘लाइभ’ देखिनका लागि न्यूनतम ५०० रुपैयाँको ब्यालेन्स राख्नुपर्नेछ, तर यो रकम काटिने छैन । सुरुमा एपको प्रयोगबारे जनचेतना जगाउन प्रयास गरिने र बिस्तारै व्यावसायिक बनाउँदै लैजाने पराजुलीको भनाइ छ ।

सोमबार एप सार्वजनिक गरेपछि यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले प्रदेश सरकारलाई नै धन्यवाद दिए । उनले निजी सवारीलाई हटाएर राइड सेयरिङको नियम कार्यान्वयन गर्नुपर्ने माग राखे ।

चार पाङ्ग्रेलाई मात्रै यसमा समेट्नुपर्ने उनको माग छ । उनले यातायात व्यवसायी पनि परिमार्जित हुँदै प्रविधिमैत्री बन्न तयार रहेको सन्देश यही एपबाट प्रवाह भएको तर्क गरे । राइड सेयरिङ सम्बन्धी नियमावली मन्त्रिपरिषदबाट पारित भएपछि जेठमा यातायात व्यवसायीहरूले चर्को विरोध जनाएका थिए । व्यवसायीहरूले एक सातासम्म यातायात ठप्प पारेर देशव्यापी आन्दोलन गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप