आज राति घोषणा हुँदै बालोन डी'ओर, जित्ने सम्भावना कसको बढी ?
सारांश
- यो वर्षको बालोन डी'ओर पुरस्कार फ्रान्सको पेरिसमा आयोजना हुँदैछ, जसमा उत्कृष्ट फुटबल खेलाडीहरूलाई सम्मान गरिनेछ।
- पीएसजीका उस्माने डेम्बेले र बार्सिलोनाका लामिन यामाल पुरुषतर्फको पुरस्कारका लागि प्रमुख दावेदार हुन्।
- स्पेनकी ऐताना बोनमातीले महिलातर्फ लगातार तेस्रो पटक यो प्रतिष्ठित पुरस्कार जित्ने सम्भावना रहेको छ।
पेरिस । बालोन डी’ओर फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार हो, जुन खेलाडीको उत्कृष्ट उपलब्धि र असाधारण प्रतिभाको कदरस्वरूप दिइन्छ। फ्रान्स फुटबल पत्रिकाले सन् १९५६ देखि यो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ ।
फुटबलको ‘ओस्कर’ मानिने यो भव्य पुरस्कार समारोह सोमबार राति (आज राति) सुरु हुनेछ। यो समारोह फ्रान्सको पेरिसस्थित थेएत्र दु श्याटलेमा आयोजना हुँदै छ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड उस्माने डेम्बेलेलाई बार्सिलोनाका युवा खेलाडी लामिन यामाललाई पछि पार्दै पुरुषतर्फको बालोन डी’ओर पुरस्कार जित्ने प्रबल सम्भावना रहेको मानिएको छ । महिलातर्फ भने स्पेनकी ऐताना बोनमातीले तेस्रो पटक लगातार यो पुरस्कार जित्न सक्नेछिन् ।
फ्रान्सका २८ वर्षीय डेम्बेले पीएसजीका खेलाडीहरूले भरिएको मनोनयन सूचीमा सबैभन्दा अगाडि छन् । इन्टर मिलानलाई ५-० ले हराएर पहिलो पटक च्याम्पियन्स लिग जितेको पीएसजीका नौ जना खेलाडी ३० जनाको मनोनयन सूचीमा परेका छन् ।
यामाल भने अन्य मनोनित खेलाडीहरूमध्ये निकै चर्चामा छन् । १८ वर्षका उनी बार्सिलोनामा विङ्गरको रूपमा उदाएका छन् र उनलाई अर्जेन्टिनी दिग्गज खेलाडी लियोनेल मेसीको उत्तराधिकारीको रूपमा हेरिन्छ ।
अन्य प्रमुख मनोनित खेलाडीहरूमा भिक्टर ग्योकेरेस, एर्लिङ हाल्यान्ड, ह्यारी केन, कोल पाल्मर, र २०२४(२५ को प्रिमियर लिग विजेता लिभरपुलका प्रमुख खेलाडीहरू मोहम्मद सालाह र भर्जिल भान डाइक रहेका छन् ।
किलियन एमबाप्पे र भिनिसियस जुनियर पनि सूचीमा छन् । गत वर्ष रियल मड्रिडले भिनिसियसलाई नजरअन्दाज गरेको भन्दै समारोहको बहिष्कार गरेको थियो ।
डेम्बेले र यामाल किन प्रमुख दाबेदार ?
डेम्बेलेलाई यो पुरस्कारको लागि प्रमुख मानिएको छ, किनभने उनले पीएसजीबाट गएका किलियन एमबाप्पेको अभावलाई पूर्ति गर्दै ३५ गोल गरेका थिए । उनको योगदानले पीएसजीलाई घरेलु लिगमा क्लिन स्विप गर्न र फिफा क्लब विश्वकपको फाइनलमा पुग्न पनि मद्दत पुर्यायो । यो सिजन फ्रेन्च क्लब र विशेषगरी विङ्गरबाट सेन्टर फरवार्ड बनेका डेम्बेलेका लागि उत्कृष्ट रह्यो ।
दक्षिण फ्रान्समा आएको आँधीका कारण आइतबार मार्सेविरुद्धको लिग खेल २४ घण्टाका लागि स्थगित भएपछि पीएसजीका धेरैजसो मनोनित खेलाडीहरू समारोहमा उपस्थित हुन पाउने छैनन् । तर, घाइते भए पनि डेम्बेले उपस्थित हुन सक्नेछन् ।
अर्कोतर्फ, यामालले गत वर्षको बालोन डी’ओर समारोहमा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडीका लागि दिइने कोपा ट्रफी जितेका थिए । उनले स्पेनलाई युरोपियन च्याम्पियनसिप जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
गत सिजन उनले सबै प्रतियोगितामा ५५ खेल खेल्दै १८ गोल गरेका थिए । बार्सिलोनाले ला लिगा र कोपा डेल रे जिते पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टरसँग पराजित भएको थियो ।
पुरस्कारको प्रमुख दाबेदार भएकोमा के महसुस भएको छ भनी सोध्दा डेम्बेलेले ले भने, ‘पीएसजीसँगको उत्कृष्ट सिजनपछि यो राम्रो कुरा हो । मलाई लाग्छ म एक प्रमुख दाबेदार हुँ, तर के हुन्छ, हेरौँला ।’
हालै यामालले पनि भनेका थिए, ‘म एउटा मात्र बालोन डी’ओर जित्ने सपना देख्दिनँ, म धेरै जित्ने सपना देख्छु ।’
मतदान कसरी हुन्छ ?
पुरस्कारका लागि विगतका वर्षहरूमा जस्तो क्यालेन्डर वर्षको आधारमा नभई गत सिजनको उपलब्धिको आधारमा मतदान गरिन्छ । फिफा विश्व वरीयतामा शीर्ष १०० देशका एक-एक पत्रकारको प्यानलले विजेताका लागि मतदान गर्छन् । प्रत्येक पत्रकारले ३० जनाको मनोनित सूचीबाट १० जना खेलाडीलाई प्राथमिकताका आधारमा छान्छन् । छानिएका १० खेलाडीलाई क्रमशः १५, १२, १०, आठ, सात, पाँच, चार, तीन, दुई र एक अंक दिइन्छ ।
महिलातर्फको बालोन डी’ओरका प्रमुख दाबेदार
बार्सिलोना र स्पेनकी खेलाडी बोनमातीले महिलातर्फको उपाधिमा ह्याट्रिक बनाउने लक्ष्य राखेकी छन् । २७ वर्षीया बोनमाती एक असाधारण प्रतिभा हुन् र उनलाई जुलाईमा भएको यूईएफए महिला युरोको ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित गरिएको थियो ।
यद्यपि, स्पेनले युरोको फाइनलमा इङ्गल्यान्डसँग पेनाल्टीमा हारेको थियो र बार्सिलोनाले पनि मे महिनामा च्याम्पियन्स लिगको फाइनलमा आर्सनलसँग हार बेहोरेको थियो । इङ्गल्यान्डको विजयी टोलीबाट कुनै एक खेलाडी स्पष्ट रूपमा उत्कृष्ट नभएको हुँदा बोनमाती वा उनका टिममेट तथा दुई पटककी विजेता अलेक्सिया पुटेलासलाई यसबाट फाइदा पुग्न सक्छ ।
इङ्गल्यान्डको टोलीबाट लुसी ब्रोन्ज, गोलकिपर हन्ना ह्याम्पटन, अलेसिया रुसो र कप्तान लियाम विलियमसन सहित क्लोई केली पनि मनोनित भएका छन् ।
सबैभन्दा धेरै बालोन डी’ओर कसले जितेका छन्
यो पुरस्कार लामो समयसम्म लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चस्वमा थियो । मेस्सीले आठ पटक र रोनाल्डोले पाँच पटक यो पुरस्कार जितेका छन् । २००८ देखि २०२३ सम्म उनीहरू दुई जनाले १३ पटक यो पुरस्कार जितेका थिए ।
मेस्सीले आफ्नो आठौँ पुरस्कार २०२३ मा जितेका थिए भने रोनाल्डोले २०१७ मा आफ्नो पाँचौँ पुरस्कार जितेका थिए ।
बालोन डी’ओरका अन्य विधा
–पुरुषतर्फको कोपा ट्रफी (उत्कृष्ट युवा खेलाडी)
–महिलातर्फको कोपा ट्रफी (उत्कृष्ट युवा खेलाडी)
–पुरुषतर्फको याशिन ट्रफी (उत्कृष्ट गोलकिपर)
–महिलातर्फको याशिन ट्रफी (उत्कृष्ट गोलकिपर)
–पुरुषतर्फको गर्ड मुलर ट्रफी (सर्वाधिक गोलकर्ता)
–महिलातर्फको गर्ड मुलर ट्रफी (सर्वाधिक गोलकर्ता)
–पुरुषतर्फको जोहान क्रोइफ ट्रफी (उत्कृष्ट प्रशिक्षक)
–महिलातर्फको जोहान क्रोइफ ट्रफी (उत्कृष्ट प्रशिक्षक)
–पुरुषतर्फको वर्षको उत्कृष्ट क्लब
–महिलातर्फको वर्षको उत्कृष्ट क्लब
–सक्रेटिस अवार्ड (मानवीय कार्यका लागि)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण