शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बुद्ध एयरले काठमाडौँ–कोलकाता सिधा उडान पुनः सुरु गर्दै

मङ्गलबार, ०७ असोज २०८२, १६ : ३०
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको पश्चिम बङ्गालको राजधानी कोलकातामा सिधा उडान पुनः सञ्चालनमा ल्याउने भएको छ ।

कोभिड–१९ महामारीका कारण स्थगित भएको यो रुटमा कम्पनीले आगामी अक्टोबर १९ देखि पुनः उडान भर्न लागेको हो ।

कोलकाता–काठमाडौँ सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एक मात्र नेपाली विमान सेवा कम्पनी हो र हाल यो रुटमा उडान गर्ने एक्लो वायुसेवा पनि बुद्ध एयर रहेको कम्पनीले दाबी गरेको छ ।

उडान तालिका र भाडादर

कम्पनीका अनुसार सुरुवाती चरणमा साताको तीन दिन— आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुनेछ । काठमाडौँबाट बिहान ७ः०० बजे उडान भरी कोलकाता पुग्नेछ भने, कोलकाताबाट स्थानीय समय अनुसार बिहान ९ः२० बजे काठमाडौँका लागि उडान भर्ने तालिका छ ।

एटीआर–७२ जहाजमार्फत गरिने यस रुटको उडान अवधि करिब १ घण्टा ३५ मिनेटको हुनेछ । बुद्ध एयरले एकतर्फी भाडादर रु. १३ हजार ३५३ तोकेको छ ।

यात्रुहरूको समय र खर्च बचत गराउने उद्देश्यले बुद्ध एयरले उडानसँगै विभिन्न पर्यटकीय तथा धार्मिक प्याकेजहरू पनि सार्वजनिक गरेको छ । 

कम्पनीको भगिनी संस्था ‘बुद्ध होलिडेज’ मार्फत नेपालबाट भारत जाने यात्रुहरूका लागि जगन्नाथपुरी दर्शन, सुन्दरवन र गंगासागर लगायतका भ्रमण प्याकेजहरू सञ्चालन गरिनेछ । 

त्यस्तै, भारतबाट नेपाल आउन चाहने पर्यटकहरूका लागि पनि विशेष इनबाउन्ड प्याकेजहरू ल्याइएको छ । व्यापार, कामकाज वा पारिवारिक भ्रमणका अतिरिक्त कोलकाता उडानमार्फत भारतीय पर्यटन बजारलाई नेपाल भित्र्याई पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य कम्पनीले लिएको छ ।

यसअघि बुद्ध एयरले वि.सं. २०७६ वैशाख २ गतेदेखि कोलकाता उडान सुरु गरेको थियो । तर, कोभिड महामारीका कारण २०७६ मङ्सिर १६ गतेदेखि उडान स्थगित भएको थियो ।

आन्तरिक उडानमा दैनिक ६ दर्जनभन्दा बढी उडान भरिरहेको बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फ हाल भारतको वाराणसीमा साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान सञ्चालन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप