सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

दसैँअघि प्रदेशसभा नबोलाउन दलहरूको सुझाव, पहिले सभा हल खोज्न आग्रह

कटहरी कृषि बजार र विराटनगरको वीरेन्द्र सभागृहबारे छलफल
मङ्गलबार, ०७ असोज २०८२, १७ : ४१
मङ्गलबार, ०७ असोज २०८२

विराटनगर । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कोशी प्रदेशको प्रदेशसभा हलमा तत्काल बैठक बस्न नसक्ने भएपछि विकल्पको खोजी सुरु भएको छ ।

जसका लागि कटहरीमा रहेको कृषि बजारको भवन तथा विराटनगरको विरेन्द्र सभागृहलाई विकल्पको रूपमा प्रयोग गर्नेबारे छलफल सुरु भएको छ ।

पछिल्लो राजनीतिक परिस्थिति र प्रदेशसभा बोलाउने या नबोलाउने भन्ने विषयमा मंगलबार कोशी प्रदेशका राजनीतिक दलहरूबिच छलफल भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको बैठकले तत्काल प्रदेश सभाको बैठक बोलाउन सक्ने अवस्था नरहेको निष्कर्ष पनि निकालेको छ । बैठकले दसैँअघि प्रदेश सभाको अधिवेशन बोलाउन असम्भव रहेको भन्दै दसैँपछि मात्रै अर्के बैठक बसेर निर्णय लिने सहमति गरेको छ ।

बैठकले उपयुक्त सभा हलको वैकल्पिक व्यवस्था तत्काल गर्न र त्यसका लागि आवश्यक बजेटको प्रबन्ध मिलाउन प्रदेश सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

प्रदेश सभाको बैठक अब कहाँ गर्ने भन्ने नै समस्या छ । जसले गर्दा पनि तत्कालै प्रदेशसभा बैठक बोलाउन सक्ने अवस्था छैन,’बैठकमा सहभागी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले भने ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पनि दसैँअघि बैठक बस्न सक्ने परिस्थिति नरहेको साझा धारणा राखेको बताए । चाडपर्व नजिकिएको र सभा हलको व्यवस्थापन नभइसकेको अवस्थामा तत्काल बैठक बोलाउनु सान्दर्भिक नहुनेमा दलहरूको एकमत थियो,’ उनले भने । 

मन्त्री राईले यसअघि बैठक बस्दै आएको स्थानमा आगजनी भएको र बैठक राख्न सक्ने अवस्था नरहेको भन्दै नयाँ ठाउँ खोज्नुपर्ने अवस्था आएको बताए ।

बैठकमा मोरङको कटहरीस्थित कृषि बजार, विराटनगरको वीरेन्द्र सभागृह लगायतका केही सम्भावित स्थानबारे छलफल भएको छ,’ राईले भने । 

प्रदेश सभाको बैठक कहिले बस्ने भन्ने अन्तिम निर्णय दसैँपछि बस्ने अर्के बैठकले गर्ने मन्त्री भण्डारीले बताए । फेरि दसैँ पछाडि बैठक बसेर अनि निर्णय गर्ने,’ उनले भने । यदि कुनै अत्यावश्यक परिस्थिति सिर्जना भएमा दसैँ र तिहारको बीचमा बैठक बस्न सकिने, नभए तिहारपछि मात्रै बस्ने सम्भावना पनि रहेको नेताहरूले बताएका छन् । 

बैठकमा प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना राई, सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिब्थेप, माओवादीकी प्रमुख सचेतक गीता तिम्सिना, नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक विद्या चाम्लिङ, एमाले सांसद तिलचनपाठकलगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप