प्रचण्डले एक दिनमै बैठक टुङ्ग्याउन खोजेपछि नारायणकाजीले उठाए फरक मतको कुरा
सारांश
- माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा फरक प्रस्ताव राख्ने विषयमा अध्यक्ष प्रचण्ड र नेताहरूबीच सवालजवाफ भएको छ।
- प्रचण्डले बैठक एक दिन मात्र राख्ने भनेपछि उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका थिए र फरक प्रस्तावमाथि छलफलको माग गरेका थिए।
- बैठकमा प्रचण्डले ९ वटा एजेन्डा पेस गरेका थिए, जसमा विशेष महाधिवेशन र फागुन २१ गते आम निर्वाचन गर्ने विषयहरू समावेश छन्।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा फरक प्रस्ताव राख्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शीर्ष नेताहरूबिच सवालजवाफ भएको छ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले समय अभावको कारण देखाउँदै फरक प्रस्ताव राख्न अस्वीकार गरेपछि सवालजवाफ भएको हो ।
एक स्थायी समिति सदस्यका अनुसार प्रचण्डले बैठकका लागि ९ वटा एजेन्डा पेस गरेका थिए । तर केन्द्रीय समिति बैठक भोलि एक दिन मात्र राख्ने भनेपछि उपमहासचिव जनार्दन शर्माले असहमति राखेका थिए । फरक प्रस्तावमाथि पनि छलफल गर्नुपर्ने भएकाले एक दिनले नपुग्ने कुरा उठाएका थिए ।
यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि फरक मत राख्न पाउनुपर्ने बताएका थिए । असोज ५ गते बसेको पदाधिकारी बैठकमा उपमहासचिव शर्माले श्रेष्ठलाई कार्यवाहक दिएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका थिए ।
‘अध्यक्षले सुरुमा एजेन्डा राख्नुभयो । त्यसपछि केही छ भने समूहगत रूपमा आफ्ना धारणा राख्नुभयो । तर वरिष्ठ उपाध्यक्षले फरक प्रस्ताव ल्याउन पाउनु पर्यो नि भन्नुभयो । जवाफमा अध्यक्षले केही छ भने समूहगत रूपबाट ल्याउनोस् भन्नुभयो । अध्यक्षले बैठक एक दिनभन्दा बढी लम्ब्याउन सकिँदैन भन्नुभयो,’ ती नेताले रातोपाटीलाई भने ।
उपमहासचिव शर्माले एक दिनमा भ्याइँदैन दुई दिन गरौँ भन्दा पनि प्रचण्डले अस्वीकार गरेको ती नेताले बताए । ‘अहिले यस्तो विषम परिस्थितिमा केन्द्रीय समिति बैठक नराखेको भए पनि हुन्थ्यो । राखेपछि कम्तीमा फरक प्रस्तावमाथि पनि छलफल गर्नुपर्छ । एक दिनले भ्याउँदैन कम्तीमा दुई दिन गर्नुपर्यो भन्नुभयो । तर उहाँले जे छ समूहबाट नै ल्याउनोस् भन्नुभयो’, ती नेताको भनाइ छ ।
बैठकमा प्रचण्डले अन्य विषय केही नबोलेको नेताहरूले बताएका छन् । स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको ९ वटा एजेन्डा अनुमोदन गर्दै सकिएको छ ।
प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्तावमाथि छलफल गर्ने, विशेष महाधिवेशन गर्ने, फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायत एजेन्डा रहेका अनुमोदन भएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । प्रचण्डकै नेतृत्वमा विशेष महाधिवेशनमा जाने प्रस्ताव तय भएको उनले बताए ।
‘प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने प्रस्ताव भोलिको बैठकमा पेस हुन्छ । अन्य विषयका केही छलफल भएन । वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक दिन उठेको प्रश्नमा केन्द्रीय समितिमै बोल्ने भन्नुभएको छ’, गजुरेलले भने । पदाधिकारी बैठकमा श्रेष्ठ, शर्मा लगायत अधिकांशले पद छोड्न दबाब दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण