दसैँ बिदामा घुम्न कहाँ जाने ? यी हुन सक्छन् उत्कृष्ट १० गन्तव्य
सारांश
- दसैँ बिदामा घुम्न जाने योजना बनाउनेहरूका लागि विभिन्न गन्तव्यहरू सिफारिस गरिएको छ, जसमा हिमाल ट्रेकिङ र राष्ट्रिय निकुञ्जहरू समावेश छन्।
- लेखमा मर्दी हिमाल ट्रेकिङ, पोखरा, चैनपुर-खप्तड, चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज, कोशी टप्पु, सन्दकपुर, भुजुङ गाउँ, ढोरपाटन सिकार आरक्ष, अपी हिमाल बेसक्याम्प र रारा ताल जस्ता स्थानहरूको बारेमा जानकारी दिइएको छ।
- यात्रा गर्दा मौसम पूर्वानुमान, बाटोको अवस्था, आपतकालीन सम्पर्क र सुरक्षाका उपायहरूमा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गरिएको छ।
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ सुरु भइसकेको छ । दसैँ मिठो खाने, राम्रो लगाउने, आफन्तसँग भेटघाट गर्ने मात्र नभई पछिल्लो समय घुमघाम गर्ने चाड पनि बनेको छ । केही वर्षयता त दसैँको लामो बिदाको सदुपयोग गर्न नेपालीहरू विदेश घुम्न पनि गइरहेका छन् ।
यद्यपि नेपालमै राम्रा गन्तव्यहरू छन्, जहाँ कम खर्चमा घुमघाम गर्न सकिन्छ । दसैँ बिदामा घुम्न जाने योजना बनाउनेहरूका लागि रातोपाटीले पर्यटन विज्ञहरूसँगको कुराकानीका आधारमा १० उत्कृष्ट गन्तव्य तयार पारेको छ । बदलिँदो मौसम, खर्च, समय र रुचिको आधारमा तयार पारिएका यी गन्तव्य उत्कृष्ट हुन सक्छन् ।
मर्दी हिमाल ट्रेकिङ
पछिल्लो समय नेपाली र विदेशी दुवै पर्यटकमाझ अत्यधिक लोकप्रिय बनेको मर्दी हिमाल ट्रेकिङ ३ देखि ५ दिनमा पूरा गर्न सकिने छोटो र तुलनात्मक रूपमा सजिलो पदयात्रा हो । अन्नपूर्ण बेसक्याम्पको तुलनामा कम उचाइ र सहज पदयात्रा भएकाले यो दसैँको बिदामा परिवार वा साथीहरूसँग घुम्न जानेका लागि उपयुक्त छ ।

माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण, हिमालचुलीजस्ता हिमालका मनमोहक दृश्यहरू, घना जंगल र हरियाली यहाँका मुख्य आकर्षण हुन् । छोटो समयमा हिमाल हेर्ने र हिउँ खेल्ने रहर पूरा गर्न यो ट्रेकिङ उत्तम मानिन्छ ।
पोखरा
दसैँमा मात्रै होइन, अरू बेला पनि पोखरा नेपालीहरूको सदाबहार पर्यटकीय गन्तव्य हो । यो सबैखाले पर्यटकका लागि सहज र आकर्षक गन्तव्य हो । पाँचतारे होटलदेखि सस्तो लजसम्मको व्यवस्था भएको यो सहरमा सफा र शान्त वातावरण पाइन्छ । आँखै अगाडि टलक्क टल्केका हिमाल देखिने पोखराबाट सराङकोट, धम्पुस, घान्द्रुक, शान्ति–स्तुपाजस्ता स्थानमा एक दिनका छोटा हाइकिङ रुटले यसलाई अझ बढी आकर्षक बनाएका छन् ।
_qqACNmVLKc.jpg)
प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्रा फ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङजस्ता अनेक रोमाञ्चक गतिविधिमा यहाँ सहभागिता जनाउन सकिन्छ ।
चैनपुर–खप्तड
बझाङको चैनपुर, शाह तथा ठकुरी वंशको उद्गम भूमि, ग्रामीण जनजीवन र पुराना शैलीका आकर्षक घरहरूका लागि प्रख्यात छ । यहाँको कोदोबारीमा बोडीका कोसा खाँदै हिँड्दा थकानको अनुभव नै हुँदैन । चैनपुरबाट दुई दिनकै यात्रामा भूस्वर्गका नामबाट चिनिने खप्तड पुगिन्छ, जहाँका लोभलाग्दा पाटनले यात्रा अविस्मरणीय बनाउँछ । खुलेको मौसममा खप्तडको प्रकृति निकै आकर्षक देखिन्छ ।

चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज
वन्यजन्तु र प्रकृतिको अनुभव गर्न चाहनेहरूका लागि चितवन र बर्दिया राष्ट्रिय निकुञ्जहरू उत्कृष्ट गन्तव्य हुन् । नेपालको सबैभन्दा पुरानो चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती र विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको घर हो । यहाँ हात्ती सफारी, जीप सफारी, डुङ्गा सफारी र पैदल सफारीको माध्यमबाट वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।

यस्तै सुदूरपश्चिममा अवस्थित बर्दिया राष्ट्रिय निकुञ्ज पाटेबाघको उच्च घनत्वका लागि चिनिन्छ । वास्तविक जंगल अनुभवका लागि यो निकुञ्ज धेरैको रोजाइमा पर्छ । दुवै निकुञ्जमा स्थानीय थारु संस्कृति र जीवनशैलीको अनुभव पनि लिन सकिन्छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष
पूर्वी नेपालको सुनसरी र सप्तरी जिल्लामा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष चरा अवलोकनका लागि विश्वभर प्रसिद्ध छ । यहाँ ५०० भन्दा बढी प्रजातिका चराहरू, दुर्लभ अर्ना (जंगली भैंसी) लगायत पाइन्छन् । प्रकृतिप्रेमी र शान्त वातावरणमा समय बिताउन चाहनेका लागि यो एक उत्तम स्थान हो । दसैँको समयमा यहाँको मौसम पनि अनुकूल हुन्छ । साथै, यहाँबाट नजिकै पर्ने धरान, इटहरी र विराटनगरजस्ता ठुला सहरसमेत घुमघाम गर्न सकिन्छ ।
सन्दकपुर, इलाम
इलामको सन्दकपुर नेपाल र भारतको सिमानामा पर्ने एक उच्च पहाडी क्षेत्र हो । यो विशेषगरी रेडपाण्डा (रातो हाब्रे)को बासस्थानका लागि चिनिन्छ । सन्दकपुरबाट सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

इलामको कन्याम चिया बगानको हरियालीको आनन्द लिँदै सन्दकपुरसम्मको यात्राले प्रकृति, वन्यजन्तु र चिया पर्यटनको बेजोड अनुभव प्रदान गर्छ ।
भुजुङ गाउँ, लमजुङ
लमजुङको भुजुङ गाउँ नेपालको प्रमुख गुरुङ गाउँहरूमध्ये एक हो । यो ठाउँ होमस्टे पर्यटनका लागि प्रख्यात छ । यहाँको जीवन्त गुरुङ संस्कृति, परम्परागत घरहरू, न्यानो आतिथ्य सत्कार र स्थानीय परिकारहरूले पर्यटकलाई विशेष अनुभव दिन्छ ।

घलेगाउँको बाटो हुँदै भुजुङ जान सकिन्छ । यहाँ मह सिकार अवलोकन गर्ने दुर्लभ अवसर पनि प्राप्त गर्न सकिन्छ ।
ढोरपाटन सिकार आरक्ष
नेपालको एक मात्र सिकार आरक्ष, ढोरपाटन बागलुङ, म्याग्दी र रुकुम जिल्लामा फैलिएको छ । यो आरक्ष सिकारका लागि मात्र नभई यसको प्राकृतिक सौन्दर्य र पदयात्राका लागि पनि महत्त्वपूर्ण छ । यहाँ निलो भेडा, हिउँ चितुवा, मृग, भालु र विभिन्न चराचुरुङ्गी पाइन्छन् । पोखराबाट ३ दिनमा पुगेर फर्किन सकिने यो गन्तव्य कम पैदल हिँड्न चाहने तर फरक अनुभव खोज्नेका लागि उपयुक्त छ ।

अपी हिमाल बेसक्याम्प
सुदूरपश्चिम प्रदेशको दार्चुलामा अवस्थित अपि हिमाल बेसक्याम्प नेपालको एक नयाँ र कम एक्सप्लोर भएको पदयात्रा गन्तव्य हो । यस क्षेत्रले प्राकृतिक सुन्दरता, उच्च हिमाली दृश्यहरू र शान्त वातावरण प्रदान गर्छ । अपि हिमाल सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमाल हो र पदयात्रा प्रेमीहरूका लागि दुर्गम र प्राचीन हिमाली क्षेत्रको अनुभव प्रदान गर्छ ।

रारा ताल
नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध रारा ताल निकै मनमोहक छ । वि.सं. २०२० सालमा तत्कालीन राजा महेन्द्र शाहले ‘स्वर्गकी अप्सरा’ समेत भनेर नामकरण गरेको यो ताल १०.८ वर्ग किलोमिटरमा फैलिएको छ । समुद्र सतहबाट २ हजार ९९० मिटरको उचाइमा रहेको रारा ताल जान पछिल्लो समय सहज हुँदै गइरहेको छ ।
मौसम राम्रो भए काठमाडौंबाट करिब ३० घण्टामै जुम्ला सदरमुकाम पुगेर त्यहाँबाट ६–७ घण्टाको यात्रापछि रारा पुग्न सकिन्छ । राराबाहेक पनि मुगुमा कोटेराजदरबार, चंखेली हिमाल, दुधे दहसहित पाँचवटा ताल र अन्य धेरै साना–ठुला ताल, कुण्ड र झरना पनि छन् ।
दसैँको लामो बिदालाई यी विविध गन्तव्यहरूमा बिताएर नेपालीहरूले नयाँ ऊर्जा, ज्ञान र अविस्मरणीय पलहरू प्राप्त गर्न सक्छन् । चाहे त्यो हिमालको सुन्दरता होस्, वन्यजन्तुको रोमाञ्चकता होस्, सांस्कृतिक विविधता होस् वा शान्त प्राकृतिक स्थल, नेपालमा हरेकका लागि दसैँको बिदा मनाउने कुनै न कुनै विशेष ठाउँ आवश्यक छ ।
दसैँ बिदामा यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा
मौसम विज्ञान विभागका अनुसार दसैँको समयमा हिँड्दा मौसमको जानकारी लिएर मात्रै हिँड्नुपर्ने अवस्था छ । देशभर विभिन्न स्थानमा पानी पर्ने र त्यसका कारण बाटो अवरुद्ध हुन सक्ने समेत सम्भावना रहेको छ । यात्रामा निस्कने पर्यटकहरूलाई विशेष सावधानी अपनाउन र निम्न कुराहरूमा ध्यान दिन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान : यात्राको योजना बनाउनुअघि मौसम पूर्वानुमान अनिवार्य रूपमा हेर्नुहोस् र सोहीअनुसार तयारी गर्नुहोस् ।
बाटोको अवस्था : दुर्गम वा पहाडी क्षेत्रमा यात्रा गर्दा स्थानीय प्रशासन, प्रहरी वा यातायात कार्यालयसँग बाटोको अवस्थाबारे जानकारी लिनुहोस् । पहिरो गएका वा अवरुद्ध भएका बाटोमा जोखिमपूर्ण यात्रा नगर्नुहोस् ।
आपतकालीन सम्पर्क : आपतकालीन अवस्थाका लागि आवश्यक पर्ने सम्पर्क नम्बरहरू (प्रहरी, अस्पताल, उद्धार सेवा, आफन्त) साथमा राख्नुहोस् ।
सामानको तयारी : मौसम परिवर्तन हुन सक्ने भएकाले हल्का तर न्यानो कपडा, रेनकोट वा छाता अनिवार्य रूपमा बोक्नुहोस् । पर्याप्त पानी र सुक्खा खाद्य सामग्री पनि साथमा राख्नु उपयुक्त हुन्छ ।
सुरक्षित यात्रा : अनावश्यक जोखिम नलिनुहोस् । विशेषगरी चिप्लो बाटो वा खराब मौसममा सवारी चलाउँदा वा हिँड्दा अत्यधिक सावधानी अपनाउनुहोस् । रातको समयमा यात्रा नगर्नुहोस् ।
स्थानीयको सहयोग : कुनै समस्या परेमा वा बाटोबारे जानकारी चाहिएमा स्थानीय बासिन्दासँग सहयोग माग्न नहिचकिचाउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण