मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

देव गुरुङमाथि खनिए जनार्दन : कसको एजेन्ट भएर पार्टी फुटाउनु भयो ?*

शुक्रबार, १० असोज २०८२, २१ : २४
शुक्रबार, १० असोज २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी फुटाउने बेलामा कसको एजेन्ट हुनुहुन्थ्यो भन्दै महासचिव देव गुरुङमाथि प्रश्न गरेका छन्।

शुक्रबार केन्द्रीय समिति  बैठक समापनअघि आफ्नो धारणा राख्दै शर्माले भने, ’म महासचिव कमरेडलाई मात्र सोध्न चाहन्छु। भएको ठुलो र बहुमतको पार्टीलाई कसको एजेन्ट भएर  फुटाउनु भयो ?’ गुरुङले नेतृत्वबारे प्रश्न उठाउँदा साम्राज्यवादी एजेन्डा हुने धारणा राखेपछि शर्माले यस्तो कटाक्ष गरेको बताइएको छ । 

विगतमा मोहन वैद्यले माओवादी पार्टी फुटाउँदा गुरुङको पनि महत्त्वपूर्ण भूमिका थियो । तर पछि गुरुङ माओवादीमै फर्किएका थिए ।

यसैगरी शर्माले पार्टीभित्र उठेका बहसलाई रोक्नु उचित नहुने भन्दै नेतृत्वसम्बन्धी प्रश्न आफूले दुई वर्षदेखि निरन्तर उठाउँदै आएको स्मरण गराए। उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले पटक–पटक सङ्गठनात्मक जिम्मेवारी हस्तान्तरण गरेर वैचारिक तथा राजनीतिक नेतृत्वमा सीमित रहन सुझाव दिएको बताए ।

समाजवादी क्रान्तिप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै शर्माले उदार अर्थनीति र दलाल पुँजीपतिसँगको सहकार्यले पार्टीलाई समाजवादतर्फ लैजान नसक्ने बताए। ’उदार पुँजीवाद समातेर समाजवादी क्रान्ति सम्भव हुँदैन। त्यसैले मैले नीति परिवर्तनको सवाल उठाएको हुँ,’ उनले भने।

संविधान ‘मुर्छित’ अवस्थामा पुगेको टिप्पणी गर्दै उनले राष्ट्रियता र सीमाको सङ्कटलाई प्राथमिक एजेन्डा बनाउनुपर्ने धारणा राखे। साथै पार्टी पुनर्गठन र महाधिवेशन अपरिहार्य रहेको भन्दै शर्माले भने, ’महाधिवेशन बिना पार्टी निर्माण सम्भव छैन। तर अध्यक्षको दस्ताबेजमा महाधिवेशनबारे प्रष्ट प्रतिबद्धता छैन।’

शर्माले पार्टीभित्र प्रश्न उठाउने र बहस गर्ने संस्कारलाई नै एकताको आधार ठहर गर्दै भने, ’प्रश्न नउठाई कुन एकता ? एकता भनेको विचार, बहस र शुद्धीकरणकै आधारमा हुन्छ।’

*समाचारमा एजेन्ट शब्द हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप