बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
कथा

नढोगिएका खुट्टा र हत्या

शनिबार, ११ असोज २०८२, १३ : ००
शनिबार, ११ असोज २०८२

सारांश

  • विवाहको परम्परा र संस्कारप्रति असन्तुष्ट झुलनको कथा, जसले सासूको खुट्टा ढोग्न अस्वीकार गरिन्।
  • विवाहपछि झुलनले सासू र लोग्नेको व्यवहारबाट पीडा भोग्नुपर्‍यो, जसले गर्दा उनीमाथि हिंसा भयो।
  • अन्ततः, झुलनको रहस्यमय मृत्यु भयो, जसले परम्परागत मान्यता र महिलामाथि हुने हिंसालाई उजागर गर्यो।

दुलाहाका घरबाट केटी माग्न आएको थाहा पाएदेखि नै उत्साहित भएकी झुलन आफ्नो विवाहको दिन नजिकिँदै गएपछि त्यसैत्यसै पुतलीझैँ फुर्फर उडेकी छन् । पँधेरामा जाँदा साथीहरूले जिस्काएर हैरान पारेका छन् । घाँसका भारी कस्दै गर्दा त्यस्तै । सँगै मेलापात हिँड्ने साथीहरूको अनुहारमा उनको जस्तो चमक छैन । 

पढाइमा भन्दा अरु कुरामा रमाउने झुलनको बानीले पढन्ते केटाकेटीहरू निकटका साथी हुन सकेका छैनन् । यिनै मेलापातका साथीहरू भए पुग्यो उनलाई, कोही चाहिँदैन जस्तो गर्छिन् । यिनैसँग कुरा मिल्छ, मन मिल्छ । ठुलो सपना सजाएकी छैनन् उनले जीवनमा । धेरै पढ्ने, धनाढ्य नारी बन्ने, देश विदेश घुम्ने— यस्ता कुरा उनी सपनामा पनि चिताउँदिनन् । 

उनका परिवारमा सबै सदस्य उनीभन्दा भिन्न छन् । बाआमा नै वकालती पेसामा लागेका, सहरमा ठुलो घर पनि छ । बाआमासँग यिनको खै के मिल्दैन कुन्नि ? गाउँमा हजुरबुबा–हजुरआमासँगै बसेर हुर्किएकी । 

सहर बस्ने आमाले लिन नआएकी पनि होइनन्, हप्ता दिनसम्म सहरमा टिक्न नसकी फर्किएकी रे तर बुबाले हजुरबुबा र हजुरआमाको बुढेसकालकी साथी भएकी छ भनेर छाडिदिएका रहेछन् । यस छोरीको भविष्य कसरी बित्ला भन्ने बारेमा पनि दुवै असाध्यै चिन्तित हुँदा रहेछन् र बारम्बार लिन पनि आइरहन्छन् । 

झुलन भने प्रकृतिमै झुलिएकी हुन् या के हो ? उनलाई यिनै ग्रामीण परिवेशमा मेलापातको जिन्दगी मन परेर होला, सहरको नामै सुन्ने मन हुँदैन ।

विवाह त सहरमै हुँदै छ । यसपालि उनले के सोचिन् खै ? सदाजस्तो गाउँमै बिहे गर्ने अड्डी लिन सकिनन्, सजिलै स्विकारिन् । केटोले पनि एक नजरमै उनलाई मन पराएछ । केटाका बाबुआमाले सहरमा नबसे हामीलाई गाह्रो हुन्छ, पहिल्यै यस कुरामा सजग गराउनु नि भनेर केटालाई सिकाएका थिए रे । केटाले बाआमाले राखेका कुनै पनि सर्तको पालना नगरेको अर्थात् नभनेको भन्दै गुनासो गर्दै थे अनि झुलनका बुबासँग केटाका बुबाले सर्त बँधाएका थिए, बुहारी सहरमै बसेर हाम्रो सेवामा जुट्नुपर्ने । 

सासूको खुट्टामा धेरैबेर अडिएको उनको टाउको नराम्ररी जोतियो । उनी बेहोसमा लडेकी रहिछन् भन्ने सबैले थाहा पाए, सबैतिर हल्लीखल्ली मच्चियो । 

झुलन भने पढाइमा अब्बल नभए पनि परम्परागत संस्कार र बेथितिको विरोधमा खरै उत्रन्थिन् । उनले दसैँमा टीको लगाउने बेलामा हजुरबा र हजुरआमाले नातिनीहरू सबैको खुट्टा ढोगेको देखेर गाली गर्थिन् । ‘आफूभन्दा सानाको पनि हजुरहरूले सम्मान गर्ने हो त ? माया गरे भइहाल्यो नि । त्यही पनि शिरमा भगवान् हुन्छन्, भन्छन् । दुनियाँतिर कुल्चिएर हिँड्ने गोडालाई किन यसरी ढोग्नुपर्ने ?’ भन्दै झगडा गर्थिन् । 

‘हाम्रो संस्कार नै यस्तै छ । कन्यालाई देवी मान्छन्’ भन्ने उनीहरूको जवाफमा दुनियाँका छोरीचेलीहरूमाथि गरिने अपराधका घटना आफ्नैले गरेको उदाहरण ल्याएर नतमस्तक बनाइदिन्थिन् । उनीसँग तर्क गर्न नसकेको भन्दै सबै चुप लाग्थे । 

यज्ञमा दुलाहासँगै बसेकी झुलनलाई विभिन्न कर्म सकिएपछि पण्डितले श्रीमान् मानेर खुट्टामा ढोग्न अह्राए । उनी के सोच्दै थिइन् कुन्नि ? लत्रिएको साडीको फेरलाई दियोको आगोले टिपेपछि सबैको ध्यान त्यतै खिचियो । अनि सम्भावित घटनाबाट बेलैमा जोगिएको भन्दै पहिले देख्नेप्रति सबैको स्याबासीले हल्लीखल्ली बढायो । 

परम्परा अनुसार घरमा भित्रिएकी दुलहीको मुख हेर्न आफन्तहरूको भिड लाग्यो । सबैलाई नाता सम्बन्धका आधारमा रोलक्रम अनुसार ढोग्दै माइतीबाट ल्याइएको उपहार थमाउने कार्यक्रम सुरु भयो । बडो मलिनो अनुहार लगाएर झुलनले बेहुलाको अनुहारमा एकोहोरो हेरिरहिन् । आफ्नो हेराइको भाव उनले बुझेजस्तो मानिनन् । 

माइतीमा खुट्टामा ढोग्ने परम्पराको खुलेर विरोध गर्ने झुलन यहाँ बडो फसादमा परेकी थिइन् । त्यस कुराका बारेमा बुझ्ने कोही छ कि भनेर सायद उनका चनाखा आँखाले यताउति कसैलाई खोजिरहेझैँ देखियो । त्यो नौलो ठाउँ, नयाँ मान्छेको भिडभाडमा आफ्नो विचार र भावना बुझ्ने कोही नदेखेपछि उनले पुनः लोग्नेमा आशाको दियो घोप्ट्याएकी थिइन् । यसपटक पनि केही बुझेको प्रतिक्रिया पाइनन् ।

त्यसपछि वरपर लागेको नारी भिडबाट यी सासू, यी नन्द, यी अमाजू, यी फुपू भन्दै माइतीबाट पठाइएको उपहार दिँदै खुट्टामा ढोग्न आदेश आइरह्यो । ती आफन्त भनिने नारीहरू लामबद्ध भएर उनको ढोगाइलाई पर्खिरहेको उनलाई महसुस भयो । 

कसैको अनुहारै नहेरी उनी टोलाएर धेरैबेर बसिरहिन् । तर पनि त्यस भिडले बारम्बार उनलाई एक्लो हुन दिएन, हराउन दिएन, उपाय सोच्न दिएन, न कुनैले उनलाई भो छाडिदेउ यस्तो ढोगभेटका कुरा भनेर नै साथ दिए । 

ससुराले ‘नमस्कार गरे भइहाल्छ नि । किन खुट्टामै ढोग्नुपर्‍यो ? तिमीहरू पनि पुराना कुरा गर्छौ । फेरि दिनहुँ भेटिनेलाई कहिलेकाहीँ भेटिएको मान्छेजस्तो के नमस्कार गरिरहने ! कतै गएर लामो समयपछि भेटिँदा नमस्कार गर्नु राम्रो हो । त्यसै गर बुहारी । यिनीहरू आजका जमानाका भएर पनि पुरानो विचार धाराका छन्’ भने । त्यसपछि भने झुलनलाई ठुलो आँट आयो ।

उनले आँखाभरि आँसु पारेर फेरि पनि तिनै लोग्नेको अनुहारको भाव पढिन् । उनले उल्टो ‘ल ल छिटो गर’ भन्ने आदेश दिए । अब उनी केही बोल्नै नसकी झुकिन्, झुकिरहिन् । 

सासूको खुट्टामा धेरैबेर अडिएको उनको टाउको नराम्ररी जोतियो । उनी बेहोसमा लडेकी रहिछन् भन्ने सबैले थाहा पाए, सबैतिर हल्लीखल्ली मच्चियो । 

कसैले बिहानदेखि केही नखाएकी हुनाले कमजोर भई लडेकी भने । कसैले क्षयरोग रहेछ फिर्ता गरिदिनेसम्म भने । कसैले अलच्छिनी रहिछ, शुभकार्यमा अनिष्ट जनाई भने । कसैले कतै गर्भवती त छैन, कि कसैको नासो बोकेर आएकी छ ! पनि भने । 

भन्नेले जेजे भने पनि उनको कानमा परेन । सायद झुलन हजुरबुबालाई सधैँ ढोगेर मात्र उठ्ने आफ्नी हजुरआमालाई गाली गर्दै थिइन् कि या त बुढा र नातिनीका फोहोरी खुट्टाको पानी खाएर व्रत तोड्ने हजुरआमाको संस्कारमाथि प्रश्न उठाउँदै थिइन् कुन्नि ? 

धेरैबेरको खैलाबैलापछि झुलनको सिन्दूर छोपिएको शिरमा पानीको फोहोरा हालिरहे आइमाईहरूले । तिनीहरूलाई ढोग्न नपरोस् भनेर सायद भाकल गरिरहेकी झुलन ब्युँझिन चाहन्नथिन् क्यारे । धेरैबेरसम्म होसमा आइनन् । 

होसमा आउँदा उनको बेहुलीको सजावट त सपना बने । अस्पतालको हरियो कपडामा बेरिएर सिटिस्क्यानको मेसिनमा लमतन्न अवस्थामा उनले आफूलाई पाइन् । उनको वरपर कोही थिएनन् । ढोकामा आँखा पुगे, त्यस चेपबाट उनकी आमाले चियाएर उनैतिर हेरिरहेकी थिइन् । 

विवाहको कर्मकाण्ड सकिएको हुनाले राम्रोसँग निको नभइन्जेल माइतीमै बसोस् भन्ने घरपक्षको सल्लाह अनुसार झुलन आमाको काखमा सहरमै सुस्ताइन् । गाउँबाट सहर आउने रहर नबोकेकी र आमाबाट टाढै भएर हुर्किएकी झुलनले हजुरआमाका जस्तै क्रियाकलाप आमामा पनि पाइन् । 

छोरी भनेर आफूलाई खुट्टामा ढोगेर संक्रान्तिको टीका लगाइदिएकी अनि हरेक बिहान बुवालाई ढोगेर मात्र उठेकी आमामा हजुरआमाका क्रियाकलापको तुलना गर्न थालिन् । आफ्नी आमालाई यस सम्बन्धमा सचेत गराउने अभिप्राय थियो उनीमा । 

कुरा पनि गरिन् तर आमाबाट ‘यो हाम्रो रीतिरिवाज हो छोरी । यसलाई मान्नुपर्छ । अस्ति एक दिन मलाई तिम्रो बाबासँग रिस उठेको थियो अनि त्यत्तिकै उठेँ । उहाँले हप्ता दिनसम्म मलाई नानाथरी आरोप लगाउनुभयो । म कोसँग पल्किएँ रे । अन्तै पोइल जान लागेको रे, आदि आदि । तिमीलाई के सुनाउँ त्यस्ता कुरा । छाडिदेउ । बरु नकराई उनीहरूले जे भन्छन्, त्यही मान्यो भने सकियो । तनावै हुन्न’ भन्ने जवाफ पाइन् । 

आमाले दिएको जवाफले उनको मनमा छुरी रोपियो । उनी झनै पिरोलिइन् । 

‘आमाबुवाले उल्टो हजुरलाई यसरी ढोग्ने चलन भएको भए पनि उहाँले सजिलै ढोग्न मान्नुहुन्थ्यो होला त ? उहाँहरूले जे भन्यो त्यही गर्ने हामी खुरुखुरु ? तपाईंजस्तो पढेलेखेकी आमाले त यस्तो निरीह बनेर गर्नुहुन्छ भने हजुरआमालाई के गाली गर्नु ?’ भनेर झुलनले सम्झाइन् । 

आमाले यस्ता कुरामा टाउको नदुखाउन र चलनलाई मान्दै फाइदा हुने कुरामा जोड दिइरहिन् । 

झुलनलाई केही सन्चो भएपछि उनका लोग्ने लिन आए । उनी सिँगारिएर घर गइन् । 

महिना दिनपछि उनी आफ्नो घरमा भित्रिइन् । यसपटक भने पहिलेजस्तो ढोग्नुपर्ने मान्छेको भिड थिएन, सासू मात्र थिइन् । उनले सासू र ससुरा दुवैलाई नमस्कार गरेर श्रीमान्को पछिपछि घरभित्र छिरिन् । श्रीमान्ले केही गरेनन् केवल आइपुगियो भने । 

सासूले मुख रातो पारेको झुलनलाई थाहा थियो । उनको नजरले सासूकै अनुहार नियालेको थियो । तर बिस्तारै बानी पार्ने उनको उद्देश्य थियो । कोठाभित्र झोला बिसाउँदै गर्दा उनले सासूले ससुरासँग भनेको सुनिन्— कस्ती ठाडी हो, ढोग्दै नढोगी गई ! त्यो कुरा झुलनका कानमा परे तर श्रीमान्को भने ध्यान कता थियो कुन्नि ?

भोलिपल्ट बिहानै बुहारीका रूपमा सबै काम सम्हाल्न उठ्न लागेकी झुलनलाई श्रीमान्को खुट्टा ढोग्नुपर्छ भन्ने चिन्ताले सतायो । ओछ्यानमा उठेर टोलाइरहिन् । श्रीमान् पनि ब्युँझै थिए तर केही बोलेका थिएनन् । 

आजैबाट नढोगेपछि सकियो । जस्तो बानी लाग्यो त्यस्तै हुने त हो नि भन्ने सोचेर नढोगेरै बाहिर निस्किन् । सासू पनि उठिसकेकी थिइन् । आमाले आफ्नी सासूको खुट्टामा बिहानै ढोग्ने गरेको नदेखेकी होइनन् तर जान्दाजान्दै उनले वास्तै गरिनन् र खुरुखुरु घरधन्दा र भान्साकै काममा लागिरहिन् । 

दिउँसो आफन्तहरू जमघट भए । सबैले बुहारीको चर्चा गरे । बिहेको दिनको कुरा निकाले । सासूले ‘रूपका घमण्डी आजकलका बुहारी साह्रै ठाडे’ भनेको सुनिन् झुलनले । अरू आइमाईले ‘मेरी बुहारी त कपाल ढाकेर हिँड्छे, बिहानै मलाई ढोग्छे, पूजा नगरी चिया पनि खान्न’ भन्दै थिए । धेरैले होमा हो मिलाए । तर सासूले आफ्नी बुहारी एकै दिनमा चिनेको भन्दै रुखो तरिकाले कुरा काटेको सुनिरहिन् झुलनले । 

बेलुकी आमा र छोराको यस विषयमा लामै गलफती चल्यो । तिमीले यस्तो गर्नुपर्छ भन्ने उपदेशहरू दुवैका मुखबाट आए । झुलनले हजुरआमासँग गर्ने तर्कलाई शालीन भएर भनिन् तर उनका कुराको कसैले समर्थन गरेनन् । 

ससुराले ‘नमस्कार गरे भइहाल्छ नि । किन खुट्टामै ढोग्नुपर्‍यो ? तिमीहरू पनि पुराना कुरा गर्छौ । फेरि दिनहुँ भेटिनेलाई कहिलेकाहीँ भेटिएको मान्छेजस्तो के नमस्कार गरिरहने ! कतै गएर लामो समयपछि भेटिँदा नमस्कार गर्नु राम्रो हो । त्यसै गर बुहारी । यिनीहरू आजका जमानाका भएर पनि पुरानो विचार धाराका छन्’ भने । त्यसपछि भने झुलनलाई ठुलो आँट आयो । 

बिस्तारै ससुरा र सासूको यसै निहुँमा झगडा परिरह्यो । हप्ता दिनसम्म खुब माया गरेर श्रीमान्ले पनि झुलनका शरीरसँग खेले । परम्पराको समर्थन र विरोध केही जनाएनन् । 

जब आमाले छोरालाई बुहारीले बिहान ढोगे वा नढोगेको, एकादशीको व्रतमा खुट्टाको जल खाए वा नखाएको चियो गर्न थालिन्, तब भने दुई एक भएर झुलनमाथि खनिन थाले । हुँदाहुँदै ती बलिष्ठ हात झुलनमाथि वज्रिन थाले । 

रमिते भएर हेर्ने समाजले उल्टो झुलनकै गल्ती देखे । ससुरा अवाक् भए । उनले न्यायका लागि ढोका ढकढकाउने निर्णय लिएर उज्यालोका पर्खाइमा चोटैचोट बोकेको शरीर र मन लिएर लोग्नेको ढोकामा लम्पसार बनेर रात काटिन् । 

भोलिपल्ट सबै ब्युँझे तर उनी ब्युँझिनन् । उनले सदाका लागि कति बेला आँखा चिम्लिन् भन्ने ती तीन प्राणीलाई थाहा भयो होला तर ससुराले पत्तो पाएनन् । अन्यायका लागि आवाज लिएर न्यायका ढोकामा पुग्ने योजना बुनेका उनका सपना चकनाचुर भए । 

(चेतना पत्रिकामा प्रकाशित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अम्बिका अर्याल
डा. अम्बिका अर्याल
लेखकबाट थप