दसैँ बिदामा राजधानीका प्रमुख अस्पतालहरूले कसरी दिँदैछन् सेवा ?
सारांश
- दसैँ पर्वमा स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई बिरामीलाई सहज सेवा दिन निर्देशन दिएको छ।
- काठमाडौँका प्रमुख अस्पतालहरूले दसैँभरि अत्यावश्यक स्वास्थ्य सेवाहरू सञ्चालन गर्ने योजना बनाएका छन्।
- स्वास्थ्य विज्ञहरूले दसैँमा खानपान र सरसफाइमा ध्यान दिन र सरुवा रोगको जोखिमबारे सचेत रहन आग्रह गरेका छन्।
काठमाडौँ । हिन्दु नेपालीहरूको महान् पर्व दसैँलाई खानपानको पर्वको रूपमा पनि लिइन्छ । तर, खानपानमा उचित ध्यान नदिँदा विभिन्न खालको स्वास्थ्य समस्या आउन सक्छन् । साथसाथै विभिन्न कारणले आकस्मिक स्वास्थ्य समस्या पनि देखिन सक्छ ।
यस्तै समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै अस्पताल, प्रतिष्ठान स्वास्थ्य संस्थाहरूलाई बिरामीलाई सहज सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।
दसैँ-तिहार लगायतका चाडपर्वका अवसरमा नागरिकले सहजै स्वास्थ्य सेवा पाउने वातावरण बनाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उपलब्ध जनशक्ति र स्रोतसाधनलाई व्यवस्थित तथा प्रभावकारी रूपमा उपयोग गरी बिदाका दिनहरूमा समेत आंशिक रूपमा नियमित सेवा सञ्चालन गर्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको उनको भनाइ छ ।
सोहीअनुसार दसैँ बिदाको समयमा राजधानीका प्रमुख अस्पतालहरूले स्वास्थ्य सेवा प्रदान गर्नका लागि आफ्नो योजना तय गरेका छन् ।
सिभिल अस्पतालका निर्देशक डा मोहन चन्द्र रेग्मीले दसैँ अवधिभर अत्यावश्यक स्वास्थ्य सेवाहरू निरन्तर सञ्चालन गरिने रातोपाटीलाई बताए । इमर्जेन्सी, आइसीयु र इन्डोर भर्ना सेवाहरू २४सै घण्टा उपलब्ध हुने उनको भनाइ छ ।
‘नियमित शल्यक्रिया, ओपिडी र अन्य सामान्य जाँचका सेवाहरू भने दसैँको पाँच अर्थात् सोमबारदेखि शुक्रबारसम्म बन्द हुन्छ,’ उनले भने । तोकिएको सेवा उपलब्ध गराउन अस्पतालले बिदाको समयमा पनि जनशक्तिको उचित व्यवस्थापन मिलाएको डा. रेग्मीले बताए ।
‘२४सै घण्टा ड्युटीमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोली उपलब्ध हुनेछ’, निर्देशक डा.रेग्मीले भने । रेग्मीका अनुसार सिभिल अस्पतालमा जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये एक जना बिरामी अझै आइसियुमै उपचाररत रहेका छन् । घाइतेको अवस्था सुधार नभएकाले उनलाई डिस्चार्ज नगरिने र दसैँमा पनि अस्पतालमै रहेर उपचार गराइने उनले बताए ।
यसैगरी राष्ट्रिय ट्रमा सेन्टरले दसैँ बिदामा पनि नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने जनाएको छ । सेन्टरका निर्देशक डा. बद्री रिजालले चाडपर्वको बिदा अवधिभर ट्रमा सेन्टरका सबै सेवाहरू निरन्तर सञ्चालनमा रहने बताए ।
विशेषज्ञ चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मीहरूले निरन्तर सेवा प्रदान गर्ने जानकारी दिँदै उनले यसका लागि प्रत्येक विभागले आफ्ना चिकित्सकहरूको ड्युटी तालिका बनाएको बताए । उनका अनुसार रेसिडेन्ट डाक्टरहरूले नियमित सेवा दिनेछन् भने कन्सल्टेन्ट डाक्टरहरू राउन्डमा बस्नेछन् । आवश्यक परेमा आकस्मिक शल्यक्रियाका लागि स्वास्थ्यकर्मी तुरुन्तै उपलब्ध हुने डा. रिजालले सुनाए ।
यसैगरी, नर्सिङ कर्मचारीहरूको पनि रोटेसन प्रणाली अनुसार ड्युटी तोकिएको छ । ल्याब, एक्स–रे लगायतका आवश्यक अन्य सेवाहरू दसैँ अवधिभर सञ्चालनमा रहने उनको भनाइ छ ।
अस्पताल व्यवस्थापनले काठमाडौँ उपत्यकामा रहेका कर्मचारीहरूले दसैँ तिहारमा बिदा नलिई आफ्नो पालोमा काम गर्नेगरी आपसी समन्वयमा ड्युटी तालिका तयार पारेको उनले बताए ।
यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जले दसैँ बिदामा आकस्मिक सेवालाई जारी राखेपनि ओपिडी भने तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।
यद्यपि आकस्मिक र भर्ना भएका बिरामीहरूको सेवालाई निरन्तरता दिने अस्पतालका सूचना अधिकारी कालीप्रसाद रायले जानकारी दिए । ‘अस्पतालको इमर्जेन्सी २४सै घण्टा खुला हुन्छ । अस्पतालमा भर्ना भएका बिरामीहरूको इन्डोर पेसेन्टको सेवा जारी रहनेछ,’ सूचना अधिकारी रायले भने ।
उनले ओपिडी सेवा तीन दिनका लागि प्रभावित भएपनि बिरामीको अवस्था हेरी आवश्यक जाँच र उपचार भने उपलब्ध गराउने स्पष्ट पारे । दसैँ अवधिमा कर्मचारी व्यवस्थापनका लागि सिफ्ट प्रणाली अपनाइएको उनले बताए । डाक्टर, नर्स, प्राविधिक र फर्मासिस्टसहितका सबै स्वास्थ्यकर्मीहरू सिफ्ट अनुसार २४सै घण्टा ड्युटीमा खटिने उनको भनाइ छ ।
यस्तै, टिचिङ अस्पतालमा जेनजी आन्दोलनका क्रममा घाइते भएका सात जना बिरामी उपचाररत रहेका छन् ।
यस्तै दसैँमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक सेवा सुचारु रहने छ भने ओपीडी बन्द रहनेछ । निर्देशक डा रवि शाक्यले दसैँमा पाटन अस्पतालले आफ्ना अत्यावश्यक सेवाहरूलाई निरन्तरता दिने बताए । निर्देशक शाक्यका अनुसार आकस्मिक तथा भर्ना भएका बिरामीहरूको उपचार सेवा दसैँ अवधिभर पनि नियमित रूपमा सञ्चालनमा रहन्छ ।
अस्पतालको इमर्जेन्सी सेवा चौबीसै घण्टा पूर्णरूपमा सञ्चालनमा रहने भन्दै उनले बिरामीहरूको अवस्था जस्तोसुकै भए पनि आकस्मिक कक्षमा उपचार उपलब्ध हुने बताए । यस्तै अस्पतालमा भर्ना भएका बिरामीहरूका लागि आवश्यक सेवा तथा हेरचाह नियमित रहने उनको भनाइ छ ।
यस्तै बहिरङ्ग सेवा भने अष्टमीदेखि शनिबारसम्म बन्द रहनेछ । यस्तै, अस्पतालमा अहिले जेनजी आन्दोलनका तीन जना घाइते उपचाररत छन् । ‘उहाँहरू दसैँ अवधिभर अस्पतालमै उपचाररत हुनुहुन्छ, उहाँहरूको थप शल्यक्रिया वा निरन्तर निगरानीको आवश्यकता छ,’ उनले भने ।
यस्तै वीर अस्पतालमा दसैँ बिदा अवधिभर ओपिडी बन्द भएपनि आकस्मिक सेवा पूर्ण सञ्चालन रहने छ । अस्पतालका निर्देशक डाक्टर दिलीप पौडेलले भने, ‘वार्डमा रहेका बिरामीहरूको उपचार निरन्तर भइरहन्छ भने सबै आवश्यक सेवाहरू पनि उपलब्ध हुन्छन् ।’ यद्यपि, ओपिडी सेवा भने सोमबारदेखि शुक्रबारसम्म गरी पाँच दिनका लागि बन्द गरिएको उनले बताए ।
कुनै समस्या वा गाह्रो परेमा बिरामीहरूले इमर्जेन्सीबाट सेवा लिन सक्ने उनले बताए । इमर्जेन्सीमा स्वास्थ्यकर्मीहरूले पालैपालो गरेर सेवा दिने व्यवस्था मिलाइएको निर्देशक डा.पौडेलले बताए ।
यसैगरी शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले फूलपातीदेखि एकादशीसम्म ओपीडी सेवा बन्द गर्ने भएको छ । यस्तै, इमर्जेन्सी तथा आकस्मिक सेवा भने २४ घण्टा सञ्चालन रहने हृदय केन्द्रले सूचनामार्फत जानकारी दिएको छ । अस्पतालले बिदाको अवधिमा मुटुसम्बन्धी कुनै स्वास्थ्य सम्बन्धी समस्या देखिएमा तत्काल आकस्मिक कक्षमा उपचारका लागि आउन आग्रह गरेको हो ।
सचेत रहन आग्रह
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन अत्यधिक खानपान र सरसफाइमा ध्यान नदिए दसैँको बेला विभिन्न सरुवा रोगसँगै अन्य रोगहरूको जोखिम हुनसक्ने बताउँछन् ।
डा पुनका अनुसार दसैँको समयको खानपानले विशेषगरी दीर्घरोग भएका व्यक्तिहरूलाई समस्या निम्त्याउन सक्छ । त्यसैले उच्च रक्तचाप, मधुमेह, युरिक एसिड वा ग्यास्ट्राइटिस जस्ता समस्या भएकाहरूले विशेष सावधानी अपनाउनुपर्छ ।
मीठो मानिने अमिलो, पिरो, चिल्लो र गुलियो खानेकुराहरूमा विशेष ध्यान दिनुपर्ने पुनको भनाइ छ । आज एक दिन खाँदा के हुन्छ भन्दै अत्यधिक खानेकुरा सेवन गर्दा स्वास्थ्य समस्या बढ्ने उनले बताए । यस्तो बेला तोकेको मात्रा र विधि अनुसार मात्र खानुपर्नेमा डा पुनको जोड छ ।

यस्तै, चाडपर्वको समयमा फुड पोइजनिङ धेरैलाई हुने गरेको उनले बताए । ‘दसैँमा एकै पटक धेरै खानेकुरा पकाएर ढङ्गले बाहिर राख्दा फुड पोइजनिङको समस्या देखिन सक्छ । यसबाट झाडाबान्ता हुने सम्भावना बढी हुन्छ । त्यसैले, खानेकुराको सरसफाइ र भण्डारणमा उचित ध्यान दिन आवश्यक छ’, उनले भने ।
यस्तै, वर्तमान समयमा विभिन्न किसिम सरुवा रोगहरू जोखिम कायम छ । त्यसमाथि चाडबाडमा मानिसको आवतजावत बढी हुँदा सरुवा रोगहरूको सङ्क्रमणको जोखिम उच्च हुने चिकित्सकहरूको भनाइ छ। वीरगन्ज लगायतका क्षेत्रमा अझै पनि हैजा सङ्क्रमण कायम रहेको छ भने हाल जापानी इन्सेफलाइटिस तराईदेखि पहाडी जिल्लाहरू समेत देखिएकाले सचेत रहन आवश्यक रहेको डा पुनको भनाइ छ । डा पुनले डेंगु र स्क्रब टाइफसको जोखिम समेत रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
-
एक गोल नखाई स्पेन क्वार्टरफाइनलमा प्रवेश गर्दा बने यस्ता कीर्तिमान
-
दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण