मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धारा नेपालगन्ज म्याराथनको दर्ता खुल्यो

आइतबार, १२ असोज २०८२, १२ : ००
आइतबार, १२ असोज २०८२

सारांश

  • नेपालगन्ज म्याराथनको ११औँ संस्करणका लागि दर्ता खुला गरिएको छ, जसमा विभिन्न विधा समावेश छन्।
  • अर्लीबर्ड दर्तामा छुट र विजेतालाई नगद पुरस्कारको घोषणा, साथै अन्तर्राष्ट्रिय एक्सपोजरमा जोड दिइनेछ।
  • यस वर्ष हाफ म्याराथन थपिएको छ र धावकहरूलाई अन्तर्राष्ट्रिय दौडमा सहभागी गराइने तयारी छ।

नेपालगन्ज । मङ्सिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनको ११औँ संस्करणका लागि आइतवारदेखि दर्ता खुल्ला गरिएको छ ।

असोज मसान्तसम्मका लागि अर्लीबर्ड दर्ता अन्तर्गत हरेक दर्ता शुल्कमा २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ । यसवर्ष म्याराथन ४२–१९५ किमी पुरुष खुल्ला, हामफ म्याराथन २१–०९७ किमी पुरुष तथा महिला खुल्ला, १० किमी पुरुष तथा महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा (बाँके जिल्लास्तरीय), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा (बाँके जिल्ला बाहिरका), ५ किमी कर्पोरेट रन, ३ किमी किड्स रन (८ देखि १२ बर्ष उमेर समुह), ३ किमी अभिभावक फन रन (सबै पेशा एवं व्यवसायका दौड्न मिल्ने), ३ किमी ह्वीलचेयर रन समावेश गरिएको छ । 

वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यताप्राप्त नेपालको सहज रुट मानिने धारा नेपालगन्ज म्याराथन, हाफ म्याराथन र र १० किमीतर्फ शीर्ष दश जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी ५ किमीमा शीर्ष पाँच जनालाई र ३ किमीतर्फ शीर्ष तीन जनालाई नगदसहित पदक, प्रमाणपत्रले पुरस्कृत गरिनेछ । नगद पुरस्कारका बारेमा चाँडै घोषणा गरिनेछ । 

यसवर्ष आयोजकले नगद पुरस्कारभन्दा पनि अन्तर्राष्ट्रिय एक्सपोजरमा बढ्ता ध्यान दिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । नेपाली धावक तथा व्यवस्थापनमा संलग्न व्यक्तिहरूलाई विश्व स्तरीय सडक दौडको अनुभव लिन आवश्यक रहेको जनाउँदै आयोजकले त्यसतर्फ गृहकार्य गरेको रेस डाइरेक्टर गुरुङको भनाइ छ ।

यसवर्ष नयाँ विधाका रुपमा पुरुषतर्फ समेत हाफ म्याराथन थप गरिएको छ भने वाकाथनको ठाउँमा ३ किमी फन रन समावेश गरिएको छ । यसैबीच चाँडोभन्दा चाँडो दर्ता गर्नका लागि आयोजकले विभिन्न आकर्षक अफर दिने तयारी गरेको छ । 

आयोजक धारा नेपालगन्ज म्याराथनका लागि यती एयरलाइन्स अफिसियल एयरलाइन्स पार्टनरका रुपमा सम्झौता भइसकेको छ भने नेपालगन्ज म्याराथनसँग जोडिएका सदस्यहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर भिजिटका लागि विभिन्न अवसरहरू सिर्जना गर्ने क्रममा तीन वटा वर्ल्ड क्लास रनिङ इभेन्ट गरिरहेको बाङ्सेन रनिङ सिरिजसँग सम्झौता गरिएको छ । 

धारा नेपालगन्ज म्याराथनमा अफिसियल दुरीका विजेतालाई उनीहरुको प्रदर्शनका आधारमा विभिन्न देशमा हुने रनिङ इभेन्टमा सहभागी गराउने तयारी आयोजकको छ । त्यसका लागि गम्भीर गृहकार्य भइरहेको एम्सका नेपाल प्रतिनिधि एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।

‘धावकका लागि त अवसर हुन्छ नै, धारा नेपालगन्ज म्याराथनको अभियानमा समर्पित हरेकका लागि अवसर सिर्जना गर्दैछौं ।’ संस्थापक ठकुरीले भने—‘धारा नेपालगन्ज म्याराथन बाहिरबाट हेर्दा रनिङ इभेन्ट हो, तर यो आफैँमा समाज रूपान्तरणको अभियान हो ।’ 

दशक लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भई बृहत् शान्ति सम्झौता गरेको दिन मङ्सिर ५ लाई स्मरण गर्दै नेपालगन्जमा जातीय, धार्मिक र सम्प्रदायलाई एकै ठाउँमा ल्याउन प्रयास स्वरूप नेपालगन्ज याराथनले २०७२ मङ्सिरमा आफ्नो यात्रा आरम्भ गरेको थियो । कोभिड १९ महामारीका बेला खेल गतिविधि बन्द हुँदासमेत नेपाल सरकारको प्रोटोकल पालना गरी यात्रालाई निरन्तरता दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप