बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कृषक

पशुपालनमा एक सञ्चारकर्मीको लोभलाग्दो क्रान्ति

‘मान्छेको गुलामी गरेर नोकर बन्नुभन्दा पशुको गोठालो गरेर मालिक बन्नु महान्’
मङ्गलबार, १४ असोज २०८२, १३ : ००
मङ्गलबार, १४ असोज २०८२

सारांश

  • डिलाराम आचार्यले गाईभैँसी पालनबाट मासिक १ लाख ५० हजारभन्दा बढी कमाइ गर्छन्।
  • उनले दुध उत्पादन र बिक्री केन्द्र खोलेर स्वरोजगारको उदाहरण प्रस्तुत गरेका छन्।
  • आचार्यका अनुसार, स्वदेशमै मिहिनेत गरेर राम्रो आम्दानी गर्न सकिन्छ।

सुर्खेत । देशको माटोमा भविष्य नदेख्ने लाखौँ युवा विदेशतिर लर्को लाग्दा आफ्नै धर्तीमा पसिना सिँचेर आर्थिक उन्नति गरेका उदाहरणीय व्यक्तित्व पनि यही समाजमा छन् । सुर्खेतको लेकबेशी नगरपालिका–१०, मैनडाँडाका ३५ वर्षीय डिलाराम आचार्य तिनैमध्येका एक हुन्, जसले संघर्षलाई सफलतामा बदल्दै ‘यो देशमा केही हुँदैन’ भन्नेहरूका लागि दह्रो जबाफ दिएका छन् ।

गीत–संगीत र सञ्चार क्षेत्रमा ‘इच्छुक’ नामले चिनिने डिलारामले थुप्रै मौलिक लोकगीत गाएका छन् । वीरेन्द्रनगरको रेडियो जागरणमा लोक साहित्यसम्बन्धी कार्यक्रम चलाउने उनका हजारौँ श्रोता छन् । 

fm ma kam gardai ac

बाहिरबाट उनलाई सञ्चारकर्मी र कलाकर्मीका रूपमा चिने पनि भित्रभित्रै उनी माटोसँग गहिरो सम्बन्ध गाँसेका एक अगुवा कृषक हुन् । आफ्नै गाउँमा व्यावसायिक पशुपालन गरेर उनी कैयौँ युवाका लागि स्वदेशमै मेहनत गरे सफलतामा पुग्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।

गाउँमा उनको ‘मैनडाँडा कृषि तथा पशुपालन उद्योग’ नामको एउटा गाईभैँसी फार्म छ । यो फार्म अहिले २७ वटा गाईभैँसी, पाडापाडी र बाच्छाबाच्छीको घर बनेको छ । १६ वटा माउ गाईभैँसी (११ भैँसी, ५ गाई), एउटा राँगो, दश वटा साना पाडापाडी/बाच्छाबाच्छी र १ हल गोरुले भरिएको यो फार्म डिलारामको अथक मेहनतको प्रतिफल हो ।

  • मासिक करिब डेढ लाख आम्दानी

कुनैवेला डिलारामको परिवार परम्परागत खेतीपातीमा निर्भर थियो, तर अहिले त्यसैलाई व्यावसायिक बनाउँदै मासिक करिब डेढ लाख आम्दानी गर्छन् उनी । उनको मुहारमा सन्तुष्टिको चमक देखिन्छ । उनको फार्मबाट अहिले दैनिक ९० देखि ११० लिटरसम्म ताजा दुध उत्पादन हुन्छ, जुन प्रतिलिटर १०० रुपैयाँका दरले विक्री हुन्छ । 

दुध ढुवानी र विक्रीमा उनलाई कुनै समस्या छैन । १४ किलोमिटर टाढा रहेको प्रदेश राजधानी वीरेन्द्रनगरसम्म दुध पुर्‍याउन अटोको व्यवस्था छ । उनको फार्ममा मासिक र दैनिक ज्यालादारी गरी ५ जनाले रोजगारी पाएका छन् । 

सबै कर्मचारी खर्च र दानापानी खर्च कटाएर दुधबाट मात्रै मासिक १ लाखभन्दा बढी खुद बचत गर्न सफल भएका छन् । ‘यसबाट बैंकको किस्ता तिर्छु र व्यवसायमा थप लगानी बढाउँदै छु,’ उनले भने ।

photo (4)

डिलाराम दुध उत्पादनमा मात्र सीमित छैनन्, उनी आफैँ विक्री वितरणको काम पनि गर्छन् । ०८१ असोजबाट उनले वीरेन्द्रनगरको सनिहल लाइनमा आफ्नै ‘आचार्य दुध विक्री केन्द्र’ सञ्चालनमा ल्याएका छन् । अढाई लाख लगानीमा उक्त व्यवसाय सञ्चालनमा ल्याएको उनले बताए ।

त्यहाँ उनको फार्म र अन्य किसानको गरी दैनिक १५० लिटरभन्दा बढी दुधको व्यापार हुन्छ । यो विक्री केन्द्र उनकी श्रीमती शान्ति आचार्यले सम्हालेकी छन् । डिलाराम गाउँमा श्रम गरेर दुध उत्पादनमा रमाइरहेका छन् भने सहरमा उनकी श्रीमती दुध बेचेर । दुवैतिरको आर्थिक जिम्मेवारी भने शान्तिले नै मिलाउँछिन् ।

डिलाराम भन्छन्, ‘म त श्रममन्त्री हुँ, मेरो अर्थमन्त्री त उनै हुन् क्या !’ उनका अनुसार विक्री केन्द्रबाट मासिक ७०–८० हजार रुपैयाँ आम्दानी हुन्छ । यसरी हिसाब गर्दा दुध उत्पादनदेखि विक्रीसम्मको सबै खर्च कटाएर उनको कुल मासिक बचतमात्रै १ लाख ५० हजारभन्दा माथि पुग्छ । यही आम्दानीबाट उनी आफ्ना तीन छोरीको पढाइलेखाइ र घरखर्चका साथै व्यवसायलाई थप विस्तार गर्दैै लैजान सफल भएका छन् ।

  • बिहान साढे ३ बजेदेखि सुरु हुन्छ दैनिकी

डिलारामलाई पशुपालनमै अथाह आत्मसन्तुष्टि मिलेको छ । उनको दैनिकी हरेक दिन बिहान साढे ३ बजेदेखि सुरु हुन्छ । बिहान ६ बजेसम्म भैँसी दुहुने, दुध सङ्कलन गर्ने कार्यमा उनको समय बित्छ । सडकको सहज सुविधा नहुँदा उनी आफैँ दुधका क्यान मोटरसाइकलमा बोकेर अटो चल्ने मूल सडकसम्म पुर्‍याउँछन् । 

त्यसपछि खाजा खाएर घाँस काट्ने तालिका हुन्छ, जुन दिउँसो १२–१ बजेसम्म चल्छ । खाना खाएर एक–डेढ घण्टा आराम गरेपछि फेरि दुध दुहुने, पुर्‍याउने र घाँस काट्ने काम दोहोरिन्छ । 

डिलाराम भन्छन्, ‘गोठभित्र मल फाल्ने, सफा गर्ने, दानापानी खुवाउने र घाँस पेल्ने कामका लागि एक जना स्थायी कर्मचारी राखेको छु । बाहिरको घाँस व्यवस्थापन म आफैँ गर्छु ।’

ghas

व्यवसायबाट आर्जित आम्दानीबाट उनले थुप्रै आधुनिक उपकरण खरिद गरेका छन् । सानो हाते पावर ट्रयाक्टर, जोत्ने मेसिन, झाडी फाँड्ने र घाँस काट्ने मेसिन साथै दुई वटा मोटरसाइकल उनले किनेका छन् ।

१० वर्षअघि उनले वीरेन्द्रनगरमा घडेरी जोडिसकेका थिए । उनले भने, ‘घर, जग्गामा पैसा फसाउनुभन्दा व्यवसाय बढाउनु राम्रो भन्ने मेरो सोच छ । पुरानो घर छँदैछ । अहिले बजारमा ठुलो घर बनाउने सोच पनि छैन ।’ बरु अहिलेको मुख्य समस्या दानाको छ, त्यसलाई आफैँ व्यवस्थापन गर्न पाए हुन्थ्यो भन्नेमा उनी केन्द्रित छन् ।

डिलारामको परिवारको आर्थिक अवस्था कमजोर थियो । बुबाआमाले अल्लो, निगालोका सामग्री, परम्परागत कृषि तथा पशुपालनबाट जीविकोपार्जन गर्दै आएका थिए । सानैदेखि परिवारले गाई, भैँसी, बाख्रा पाले पनि त्यो खाँचो टार्ने हिसाबले मात्रै केन्द्रित थियो । उनको परिवार ०६१ सालमा साविक साटाखानी–४, मैनडाँडा (हाल लेकबेशी–१०) मा बसाइँ सर्‍यो । त्यहाँ पनि खेतीपाती र पशुपालन निरन्तर चल्यो । 

डिलाराम पढाइभन्दा घरको काममा बढी केन्द्रित हुन्थे । उनले भने, ‘माध्यमिक तह उत्तीर्ण पश्चात् पढाइलाई निरन्तरता दिन सकिनँ । सानैदेखि नै मेरो रहर पशु व्यवसाय र खेतीपातीतिरै थियो । पढेर जागिर खाने वा वैदेशिक रोजगारीमा जाने भन्ने कुरा मेरो दिमागमा कहिल्यै आएन, त्यो रहर नै भएन ।’

०६८ सालमा उनले परिवारबाट छुट्टिएर छुट्टै गृहस्थी थाले । उनको भागमा एउटा भैँसी, पाडो, २ बाख्रा, १ गोरु, ४ हजार नगद र २३ कट्ठा जमिन परेको थियो । यहीँबाट उनको व्यावसायिक पशुपालनको यात्रा सुरु भयो । तत्कालै मामामार्फत ५० हजार ऋण लिएर उनले अर्को भैँसी थपे ।

डिलारामले भने, ‘सुरुवाती दिनमा गोठ कच्ची थियो, सडकको सुविधा थिएन । दैनिक १०–१२ किलोमिटर टाढा धुलियाबिटसम्म दुध आफैँले टाउकोमा बोकेर पुर्‍याउनुपर्ने अवस्था थियो ।’ 

पछि आफैँले बालुवा सङ्कलन गरेर नयाँ गोठ बनाएको उनको भनाइ छ । साना किसान कृषि सहकारीबाट ९ प्रतिशत ब्याजमा ऋण लिएर उनले व्यवसाय विस्तार गरे । उनले कृषि विकास बैंकबाट सहुलियत कर्जा लिएर नयाँ गोठ निर्माण र थप भैँसी खरिद गरे । गत वर्ष २० लाखको लघु उद्यम कर्जा लिएर व्यवसायलाई थप व्यवस्थित बनाएको उनी बताउँछन् ।

डिलारामको अबको लक्ष्य यही व्यवसायलाई अझ फराकिलो बनाउने हो । ‘नयाँ प्रविधि उपयोग गर्दै थोरै लगानीमा धेरै आम्दानी कसरी गर्न सकिन्छ भन्नेमा म केन्द्रित छु,’ उनले भने, ‘आगामी वर्षसम्म दैनिक २०० लिटर दुध उत्पादन गर्ने मेरो लक्ष्य छ ।’ 

त्यसका लागि यही व्यवसायबाट भएको आम्दानी लगानी गर्ने उनले बताए । उनलाई घाँसको पनि कुनै समस्या छैन । आफ्नै बारीमा उन्नत जातका घाँस लगाएका छन् र घाँस खेती पनि विस्तार भइरहेको छ । अब गोबर, मलमूत्र पनि विक्री गर्ने उनको योजना छ ।

  • ‘स्वदेशमा कमाइ हुँदैन भन्ने भाष्य गलत’

अहिले धेरै युवाको गुनासो हुन्छ– देश खत्तम भयो, बर्बाद भयो, यो देशमा केही पनि हुँदैन ।

डिलाराम यो भाष्य गलत रहेको बताउँछन् । उनले भने, ‘देश खत्तम होइन, यस्तो भाष्य रटान गर्ने युवाहरूको सोच खत्तम हो ।’

उनका अनुसार देशमा केही छैन भन्ने अनि बाहिर ६ महिना काम गरेर कमाएको पैसा ल्याएर घरमा ६ महिना खाने, फेरि ऋण गरेर बाहिर जाने प्रवृत्तिले कसैको भविष्य राम्रो हुँदैन । आफ्ना खेतबारी बाँझो राखेर ठुला महल बनाउनमा लगानी गर्ने, अनि ऋणको दलदलमा फसेर घरमा बस्नै नपाउने प्रवृत्तिले कसैलाई फाइदा नगर्ने उनको भनाइ छ ।

‘ठुला घर बनाउनुभन्दा बरु भैँसी पाले खेतबारी पनि भरिन्थ्यो, उत्पादन हुन्थ्यो,’ उनले भने, ‘श्रीमान् विदेश गए श्रीमती घरमा बेरोजगार बस्ने, परिवारका अरु सदस्य मोबाइल चलाएर बस्छन् । एउटाको कमाइमा भर परेर कसरी हुन्छ उन्नति ?’

photo

लाखौँ लगानी गरेर विदेशमा गएर त्यहाँको दास बन्नुभन्दा त्यही लगानी आफ्नै देशमा गरे महिनाको १–२ लाख सहजै कमाउन सकिने डिलारामको भनाइ छ । उनले भने, ‘आफ्नै माटोमा खेल्ने हो, माटोसँग साइनो जोड्नै पर्छ । माटोसँग जति खेल्छौँ, त्यति नै सफल हुन सक्छौँ ।’

अर्काको देशमा गएर श्रमिक हुनुभन्दा आफ्नै देशको मालिक हुनुपर्छ भन्ने धारणा उनको छ । ‘मान्छेको गुलामी गरेर नोकर बन्नुभन्दा पशुको गोठालो गरेर आफ्नै भाग्यको मालिक बन्नु महान् हो,’ उनले भने ।

आचार्यको सोच पैसा कमाएर करोडपति बन्नेमात्रै छैन । बरु, आफ्नो बुबाआमाले दुःख गरेर जोडेको माटोमा सुन फलाउने हो । उनले भने, ‘पैसा नफले पनि पेसा फलोस्, आत्मसन्तुष्टि मिलोस् भन्ने चाहना छ ।’

  • कृषकका समस्या 

डिलारामलाई पशुपालनबाट सन्तोषमात्र मिलेको छैन, त्यहाँ दुःख र समस्या पनि उस्तै छन् । मुख्य समस्या बाटोको असुविधा हो । उनको फार्म राजधानी वीरेन्द्रनगरबाट १४ किलोमिटरको दुरीमा छ । फार्मबाट वीरेन्द्रनगरसम्म दुध ल्याउन ढुवानी खर्च धेरै लाग्ने उनको भनाइ छ । सामान्य पानी पर्दा पनि बाटो बिग्रिने, पहिरो जाने समस्याले कहिलेकाहीँ ठुलो नोक्सान हुने उनले बताए ।

derima

डिलारामका अनुसार विद्युत्को पनि ठुलो समस्या छ । दिनमा १०–१५ पटक बत्ती जाने, लो भोल्टेज हुनेजस्ता समस्याले पनि सास्ती दिने उनले बताए । ‘मेरो व्यवसाय विद्युत्मा निर्भर छ, विद्युत् नहुँदा दैनिक १० लिटरसम्म दुध उत्पादन घट्छ,’ उनले रातोपाटीसँग भने, ‘राज्यले नियमित विद्युत् आपूर्ति र व्यवस्थित सडक उपलब्ध गराउनुपर्छ ।’ 

पोहोर साल प्रदेश सरकारले खुलाएको दुध उत्पादन प्रोत्साहन कार्यक्रममा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने भनिएको थियो, तर कागजात नमिलेको भन्दै आफूलाई ‘अयोग्य’ ठहर गरिएको उनको गुनासो छ । उनले भने, ‘वास्तविक किसानलाई प्रोत्साहन दिने हो भने स्थलगत अनुगमन गरेर दिनुपर्छ, कागजपत्र मिलाएर होइन ।’

राज्यले लगानी नै गर्ने हो भने भौतिक पूर्वाधारको सुविधा र ब्याज तिर्न नपर्ने गरी ऋण दिनुपर्ने डिलाराम बताउँछन् । बजारीकरणमा पनि राज्यले विशेष पहल गर्नुपर्ने उनले बताए । पशु प्राविधिकको अभावले किसानले ठुलो क्षति बेहोर्नुपरेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप