उपद्रवलाई गौरविकरण गर्दै द्वन्द्वको खेती नगरौँ
सारांश
- राजनीतिक दलको नेतृत्व परिवर्तनको आवश्यकता, गुटवादी र भ्रष्टाचारको अन्त्य गरिनुपर्ने कुरामा जोड दिइएको छ।
- विभिन्न भ्रष्टाचारका काण्डहरू र राज्य संयन्त्रको कमजोरीबारे चर्चा गर्दै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने कुरा उठाइएको छ।
- देशको निकासका लागि विज्ञान, उत्पादन, स्वरोजगार, र नयाँ विदेश नीतिको आवश्यकता औंल्याइएको छ।
राजनीतिक दलको गुटवादी, नव-सामन्तवादी नेतृत्वले अब उपरान्त बिदा लिनुपर्छ। गल्तीको सजाय भोग्नुपर्छ र भविष्यको बाटो अवरुद्ध गर्नु हुँदैन। तर परिवर्तनले खोजेको विगत सच्याउने नाममा र कारबाहीको नाममा “मानव अधिकार प्रतिबद्धताका विरुद्ध कङ्गारु न्याय लागू गर्नुले शान्ति होइन, द्वन्द्व निर्माण गर्नेछ।
राज्यले अपराधको संरक्षण गर्नु पनि हुँदैन। परिवर्तनले ल्याउने उन्नयन हो, बदलावको माहौल होइन। हामीलाई असभ्य हुने अधिकार छैन, कानुनको निष्पक्ष र स्वच्छ पालन गर्ने कर्तव्य मात्र छ। कानुन हातमा लिन पाइँदैन। सुरक्षा निकायको मनोबल कमजोर बनाएर सार्वजनिक सुरक्षा कायम हुँदैन।
देशमा नागरिकको हत्या भएको र देश जलेको कुरा कदापि गौरवको विषय हुन सक्दैन। तर पनि क्रान्ति, विद्रोह र आन्दोलनमा हिंसा र उपद्रव हुन्छ। जहाँ मानिसको विवेकले काम गर्छ, त्यहाँ नोक्सानी स्वाभाविक हुन्छ। तर असल नागरिक भएको समाजले त्यस क्रान्ति, विद्रोह वा आन्दोलनलाई गौरविकरण (ग्लोरीफिकेसन) गर्दैन, उपलब्धिहरूलाई समाजको सेवामा रूपान्तरण गर्दै अघि बढ्छ।
आज नेपालीहरूले यही यथार्थलाई आत्मसात् गरेर अघि बढ्नुपर्छ। उपद्रवलाई गौरविकरण गर्दै द्वन्द्वको खेती गर्न उद्धत हुनु हाम्रो अनुभूति हो। हामीले हाम्रो भूराजनीतिलाई ख्याल गर्दै उन्नत निकासको बाटो खोज्नुपर्छ। त्यसर्थ, निम्न निकासका उपायमा राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।
१. नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, समाजवादी, जसपा र राप्रपा सबै दलका अध्यक्ष लगायत तपाईंहरूको केन्द्रीय कमिटीमा पटक–पटक रहनु भएका, पार्टीलाई विविध गुटमा विभाजित गरेर दलभित्र षड्यन्त्रको विशाल जन्जाल तयार गर्ने महारथ हासिल गर्नुभएका सबैलाई पार्टीका जिम्मेवार पदबाट बिदा दिएर, विशेष महाअधिवेशनबाट नयाँ नेतृत्व स्थापित गर्नुको कुनै विकल्प छैन। उहाँहरूको राम्रो कामको लागत राख्नुपर्छ र नराम्रो कामको पनि लागत राख्नुपर्छ। भारतीय कांग्रेसले यसो गर्न सकेन र बिजोग भयो। नेपाली कांग्रेसले यो बुझ्नुपर्छ। चिनियाँ कम्युनिस्ट पार्टीले माओकालको मूल्याङ्कन गर्दै आफूलाई नयाँ नेतृत्वमा लग्यो, आज त्यो चीन निर्माणमा सफल भयो।
कम्युनिस्टहरूले यो बुझ्नुपर्छ। वर्तमान युवा जनविद्रोहमा व्यापक घुसपैठ भयो, त्यो सबैलाई थाहा छ। तर आन्दोलन तपाईंहरूका विरुद्ध भएकै हो र सबै पुस्ताको समर्थन पनि थियो। सचेत नागरिक देश बनाउन विद्रोह चाहन्थे, तर अभद्र स्वार्थ बोकेका देश विरोधी समूहले देश जलाइदिए।
२. हिजो सत्तामा पटक–पटक पुगेका र पुग्न आएका केहीलाई “देशको माया होइन” केवल पदको मात्र माया लाग्यो। तपाईंहरू कोही पनि छैन जसले दृश्य–अदृश्य शक्तिको अगाडि घुँडा टेकेको छैन। फरक मात्र यो हो कि कसैका घर जले, कसैका जलेनन्। हरेक पार्टीका कोही न कोही अर्काको घर जलाउन लागे। यहींबेला राष्ट्रका धरोहर जलाउन विदेशी प्यादाहरू लागे र उद्धेलित युवा उनका गोटी बने। किन त्यसो भयो, राम्रोसँग ख्याल गर्नुहोस्—तपाईंहरूको विगतका कुसंस्कार हेर्नुहोस्।
(क) तपाईंहरूले निर्वाचनलाई पैसा र गुन्डाको बलमा अपवित्र पार्नुभयो कि भएन?
(ख) पैसा र छलछामबाट निर्वाचन जित्न सिडिओ, प्रहरी र न्यायाधीश प्रयोग गर्नुभयो कि भएन?
(ग) राजनीति दर्शनलाई हगनगौंडीमा फ्याक्नुभयो कि भएन?
(घ) ठेक्का लगाउँदा, आइजिपी नियुक्त गर्दा, सचिव नियुक्त गर्दा, राजदूत नियुक्त गर्दा, आयोगका अध्यक्ष नियुक्त गर्दा, न्यायाधीश नियुक्त गर्दा पैसा लिनुभयो कि भएन?
(ङ) आफ्नो वर्गीय आधार र सिद्धान्त छोडेर अपवित्र गठबन्धन बनाउनु भयो कि भएन? तपाईंहरूको वरिपरि विदेशी चम्चा थिए कि थिएनन्? पदबाट बाहिर बस्न नसक्ने चाप्लुसहरू पोस्नु भयो कि भएन?
यी अपराध महँगो थिए—राष्ट्रको सार्वभौमसत्ता र राज्य व्यवस्थाको आत्मनिर्णयको अधिकारका विरुद्ध। तपाईंहरूलाई जनताको कहिल्यै याद आएन। ६० किलोको माला ओढाउने चाप्लुसलाई पार्टीका मालिक र पार्टी बनाउने सोझा सिद्धान्तका कुरा गर्नेलाई माट्टितेल खन्याएर भगाउनुभयो। अतः यी घोर गल्ती र अन्यायका लागि तपाईंहरूले स्वेच्छाले पार्टीबाट बहिर्गमन गर्नुपर्छ।
३. २०४६ सालपछि विदेशी संस्था र सरकारको सल्लाहमा तपाईंहरूले राष्ट्रका सबै सार्वजनिक निगम र संस्थाहरू तथा उद्योग बेच्नुभयो, कमिसन खानुभयो। जेएनजी भाइ–बहिनीहरूले पनि तथ्यको खोजी गर्नुहोस्। जो आज विदेशी संस्थासँग जोडिएर आन्दोलन गर्दै हुनुहुन्छ, तपाईंहरूले माया गरेका ती संस्थाले नै यी नेतालाई बिगार्न भूमिका खेलेका हुन्। यी नेता उनीहरूको एनजिओको घोडा बनेका हुन्। उनले दिएका सबै पैसा आफ्नै गाडी, घर, यात्रा, तलबमा सिद्ध्याएर गए र यी नेताहरूलाई विलासी बनाए। भ्रष्टाचारको बीउ त यिनैले रोपे, जो आज तपाईंमाथि लगानी गर्दैछन्।
४. नेताज्यू, पजेरो काण्ड सहि थियो? ललिता निवास काण्ड सहि थियो? भुटानी शरणार्थी काण्ड, गिरीबन्धु काण्ड, वाइडबडी काण्ड, ओम्नीकाण्ड, सरकारी छापाखाना काण्ड, टेलिकम्युनिकेशनका अनेक काण्ड—यी सबै भए र तपाईंहरूले जनताको चित्त दुखेको कुरा ख्यालै गर्नुभएन। यी गल्ती स्वीकार गर्नुपर्छ। पैसा कसले खाए थाहा छैन। प्रधानमन्त्री भएकाहरूले खाएको थिएन होला मानौं, तर छानबिन गर्न किन दिनुभएन? अहिले सिंहदरबार र अन्य निकायमा आगो लगाउने मान्छेले अपराध गरेकै हो, तर जनताले थपडी मार्नुपर्ने अवस्था तपाईंहरूले निर्माण गर्नुभयो।
मानिसले चालक सवारी प्रमाणपत्रको डिजिटल कार्ड बनाउन कति समय भयो पैसा बुझाएको थाहा छ? राष्ट्रिय परिचयपत्र बनाउँदा मानिसलाई कति हैरानी भयो थाहा छ? परिचयपत्र बनाउँदा के–के सूचना मागियो थाहा छ? कति पटक मानिसले प्रमाणित गर्नु पर्ने हो, “म नेपाल नागरिक हुँ” भनेर? इम्बोस्ड नम्बरको नाटक देख्नुभयो? सबै नेपालीको व्यक्तिगत सूचना विदेशीले लिने योजना तपाईंलाई थाहा थिएन र? होइन, थाहा छ। यी सबैको पछाडि कमिसन छैन? छ।
तपाईंहरूले भन्सारमा भ्याट लगाउनुभयो कि लगाउनुभएन? यी सबै कुराले तपाईंहरूले आफ्ना दलहरूलाई यति कमजोर बनाउनु भयो कि पार्टीमा निर्भिक उत्तराधिकारी जन्मन नपाउने गरी बन्ध्याकरण गरियो।
५. तपाईंहरूको गुटवाद र पार्टीमा एकाधिकार कायम गर्ने नव–सामन्तवादले कति राम्रा, उन्नत, शिक्षित युवा पुस्ताको राजनीतिमा जीवन नास भयो थाहा छ? उनीहरू गरीब मात्र भएनन्, राजनीतिप्रति नै वितृष्णा भोगे। कतिले जीवन धान्न ठगी गर्न र बाउन्सर बन्नुपर्ने भयो। यी उर्बर दिमाग ध्वस्त पारेर आज तपाईंहरूले देशलाई कहाँ पुर्याउनु भयो?
६. झोले र दोक्ला बुद्धिजीवीलाई काखमा च्यापेर, आफ्नो स्वाभिमानमा बाँच्नेलाई कुकुर जस्तो लखेट्नुभयो। ती चम्चा आज ठाडो हात लगाएर तपाईंको घर जल्दा ताली पिट्दै छन्। निस्वार्थ, देशभक्त, र विज्ञ कर्मचारीको हुर्मत लिएको थाहा छ? कसलाई राजदूत, भिसी, डीन, आयोगका अध्यक्ष बनाइनुभएन? कहाँ पुर्याए ती मान्छे आज विश्वविद्यालयहरू? खोई ती मान्छे आज तपाईंका बेहालका दिनमा?
७. तपाईंहरू “रेशमका नयाँ लुगा लगाएका नांगो महाराजा” शैली र प्रवृत्तिमा मुग्ध रहनुभयो, एक वर्षअघिदेखि भैरहेको घटनाको कुनै सही मूल्याङ्कन पाउनुभएन।
८. अतः अब युवापुस्तालाई जिम्मा दिनुहोस्। तपाईंहरूको कुनै पार्टी अरू भन्दा कम छैन, नेताको सामन्तीपन निर्माणमा। तर आज बिगारेका ती पार्टी इतिहासका धरोहर हुन्, जनताको त्यागले निर्माण भएका।
९. अब देशले नयाँ नेतृत्वको निर्माण गर्नुपर्छ जसले विज्ञान, उत्पादन र स्वरोजगार निर्माण गर्ने शिक्षा, राष्ट्रिय सुरक्षा र जनताको आय सृजना गर्ने अर्थतन्त्र, विदेशी मित्रहरूसँग समान सहयोग र समान दूरी कायम गर्ने विदेश नीति, भारतसँगको सांस्कृतिक समिपता र चीनसँगको आर्थिक विकास सहकार्यको कूटनीतिक संस्कृति, विदेशी सहायताको दुर्व्यसनबाट मुक्त भई उत्पादनमा स्वनिर्भरता, युवाहरूद्वारा डिजिटल क्रान्तिको वातावरण, पर्यावरणीय ब्रिगेड बनाइ जंगल र कृषिको योगदानद्वारा राष्ट्रिय आम्दानी निर्माण र वातावरणको संरक्षण, राष्ट्रिय उत्पादनका लागि उत्पादन ब्रिगेड बनाइ देशलाई अघि लैजानुपर्छ।
निकम्मा, भ्रष्ट कर्मचारीतन्त्र जसले शासनमा बसेर देश विरोधी काम गर्छ, त्यसको पुनर्संरचना गर्नुपर्छ। आफू देशमा बसेर भ्रष्टाचार गर्ने र छोराछोरी विदेशी नागरिक बनाउनेको सम्पत्ति जाँच हुनै पर्छ। भ्रष्टाचार राजनीतिक दलमा विचार र नैतिकताको पुनर्जागरण भएपछि आफैं ठिक हुन्छ। अब युवाहरूले आविष्कार र डिजिटल क्रान्तिमा लाग्नुपर्छ। बौद्धिकहरूको नेतृत्वमा युवाहरूले लोकतन्त्रलाई “दलतन्त्रबाट झिकी नागरिक सर्वोच्चता” को मार्गबाट सामाजिक नागरिकतन्त्रको संस्थापनतर्फ लैजानुपर्छ।
अन्त्यमा भन्नै पर्छ, हाम्रो भविष्य हाम्रो वर्तमानले निर्माण गर्छ। निकास खोजौं, विनाश होइन। हाम्रो भूराजनीति हाम्रो अस्तित्वको अन्तिम कारण नबनोस्।
(संग्रौला, पूर्व महान्यायाधिवक्ता हुन्, यो सामग्री उनको फेसबुकबाट लिइएको हो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण