बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनमोलसँग फिल्म खेल्ने सपना छ – रोजी लामिछाने

बुधबार, १५ असोज २०८२, १३ : ३९
बुधबार, १५ असोज २०८२

सारांश

  • रोजी लामिछाने मोडलिङ र अभिनयमा सक्रिय छिन्, उनले अनमोल केसीसँग फिल्म खेल्ने सपना रहेको बताइन्।
  • २०१९ मा 'स्टाइल आइकन नेपाल' जितेपछि मोडलिङमा लागेकी रोजीले विभिन्न म्युजिक भिडियो, सिरियल र सर्ट फिल्ममा अभिनय गरिन्।
  • रोजीले अभिनयमा निखारता ल्याउन कान्तिपुर फिल्म एकेडेमी र एक्टर्स हब एकेडेमीमा प्रशिक्षण लिएकी हुन्।

काठमाडौँ । पछिल्लो समय मोडलिङमा आफ्नो भविष्य खोज्ने थुप्रै युवायुवती छन् । तीमध्ये एक हुन्, रोजी लामिछाने । सन् २०१९मा ‘स्टाइल आइकन नेपाल’को उपाधि जितेपछि मोडलिङमा होमिएकी लामिछाने अभिनयमा पनि त्यतिकै सक्रिय छिन् । म्युजिक भिडियो, टेलिसिरियल र सर्ट फिल्महरू समेत अभिनय गर्दै आएकी उनले हास्यश्रृंखला ‘सक्किगोनी’मा १० भाग अभिनय गरेकी थिइन् ।

विभिन्न प्रोजेक्टमा काम गर्दै गर्दा अभिनयमा निखार ल्याउन कान्तिपुर फिल्म एकेडेमी र एक्टर्स हब एकेडेमीमा अभिनय प्रशिक्षण लिएकी उनी अबको दिनमा ठुलोपर्दाको फिल्म खेल्न चाहन्छिन् । उनको अभिनेता अनमोल केसीसँग फिल्म गर्ने सपना छ । प्रस्तुत छ, रोजीसँगको कुराकानीको सम्पादित अंशः 

मोडलिङ र अभिनयको सुरुवात कहिले र कसरी भयो ?

–सन् २०१९ मा मोडलिङबाट आफ्नो करिअर सुरु गरेकी थिएँ । सुरुमा विभिन्न फेसन सोहरूमा भाग लिएँ । सन् २०२० मा ‘स्टाइल आइकन नेपाल’ नामक ब्युटी पेजेन्टमा शीर्ष उपाधि जितेपछि मेरो मोडलिङ यात्राले थप गति लियो । त्यसपछि मैले म्युजिक भिडियोहरूमा पनि काम गर्न थालेँ । २०२० बाट नै अभिनयमा पनि रुचि बढ्न थाल्यो । मोडलिङबाट केही अनुभव बटुलेपछि म अभिनयतिर लागेँ र सर्ट मुभी, सिरियलहरू र म्युजिक भिडियोमा काम गर्न थाले । 

मोडलिङप्रति समाजको दृष्टिकोण कस्तो छ ?

– मोडलिङलाई समाजले हेर्ने दृष्टिकोण दुई प्रकारको छ । सन् २०१९ तिर मैले मोडलिङ सुरु गरेको थिएँ, त्यतिबेला समाजमा मोडलिङलाई राम्रो नजरले हेरिँदैनथ्यो । ‘नक्कली झकली पार्छन्’ भन्नेजस्ता नकारात्मक धारणा थियो । पछिल्लो समय त्यो सोच बिस्तारै परिवर्तन भएको पाएकी छु । मान्छेहरू धेरै खुला भएका छन् । मिस नेपाल, मिस वल्र्ड जस्ता विभिन्न सौन्दर्य प्रतिभा स्थापित भएका छन् । विभिन्न मोडलिङ प्रतियोगिताहरू पनि आयोजना हुन थालेका छन् । त्यसैले पछिल्लो समय मोडलिङलाई धेरै अवसरको रूपमा पनि बुझ्न सकिन्छ । 

म्युजिक भिडियो र सिरियल अभिनय अनुभव कस्तो रह्यो ?

– म्युजिक भिडियो पनि मोडलिङअन्तर्गत नै पर्छ । मैले धेरै त होइन, करिब ६–७ वटा म्युजिक भिडियोमा काम गरेकी छु । पहिलो पटक म्युजिक भिडियो सन् २०२१ मा अभिनय गरेको थिए । गीतको बोल अहिले याद भएन । सिरियल भने ‘सक्किगोनी’मा १० एपिसोडमा काम गरेँ । सर्ट मुभीहरू पनि ८–९ वटा पुग्यो होला । 

कलाकारिताचाँहि किन रोज्नुभयो ?

– म सानैदेखि स्कुलमा अतिरिक्त क्रियाकलापहरूमा एकदमै सक्रिय थिएँ । ड्रामा र कम्पिटिसनहरूमा भाग लिन खुब मनपथ्र्यो । मोडलिङमा लागेपछि मलाई अभिनयको बारेमा थप जानकारी भयो र रुचि पनि बढ्दै गयो । एक्टिङ गर्दाखेरि आफ्नो वास्तविक चरित्रलाई छोडेर अरू फरक–फरक चरित्रमा पनि आफूलाई प्रस्तुत गर्न पाउनुको छुट्टै मजा र सन्तुष्टि हुन्छ भन्ने जानकारी पाए । फरक फरक जीवन बाँच्न र अनुभव गर्न कलाकारिताबाट सजिलो हुने मेरो बुझाई रहेको छ । 

अहिलेसम्म अभिनय अनुभव कस्तो रह्यो, के भविष्य छ ?

– अहिलेसम्मको अभिनय अनुभव राम्रै रह्यो । मलाई लाग्छ, यो ग्ल्यामर इन्डस्ट्रीमा करियर बनाउन चाहनेहरूले एकतर्फी सोचाइ राख्नु हुँदैन । यो प्यासनसँगै साइडमा ब्याकअप प्लान पनि सोच्नुपर्छ । यदि कोही लगनशील र धैर्यवान छ भने अभिनयमा करियर बनाउन सकिन्छ । तर, यसमा धेरै समय र मिहिनेत लाग्दो रहेछ । 

roji  (2)

कस्तो कलाकार भनेर चिनिन मन छ नि ?

– केही अगाडिसम्म अभिनेत्री बन्ने सोच थियो । जब मैले थिएटरमा अभिनय सिके । मेरो त्यो सोच परिवर्तन भएर क्यारेक्टर आर्टिस्ट तिर मोडियो । एउटा कलाकार तब मात्र सफल हुन्छ । जसले निर्देशकले खोजेको क्यारेक्टरमा आफूलाई फिट गर्न सक्छ । 

अभिनयमा सपना पनि छ कि ?

– अनमोल केसीसँग अभिनय गर्ने मेरो एउटा ‘हार्डकोर ड्रिम’ छ। ‘होस्टल’ फिल्मदेखि म उहाँको हरेक फिल्म हेर्दै आएकी छु । उहाँको कोरियन लुक्स र अभिनयले मलाई प्रभावित पारेको छ । अनमोल केसीसँग स्क्रिन सेयर गर्न चाहन्छु चाहे त्यो फिल्म होस् वा व्यावसायिक विज्ञापन । 

आफ्नो खराब बानी के लाग्छ ?

– म अलि बढी सोच्ने (ओभरथिङ्कर) व्यक्ति छु । यदि कुनै कुराले चित्त बुझेन भने म डाइरेक्ट भन्न सक्दिनँ । एकान्तमा बसेर आफैँसँग कुरा गर्ने बानी छ । कसैले चित्त दुखाएमा २–३ दिनसम्म नबोलेर बस्छु । यो बानी मेरो नराम्रो हो जस्तो लाग्छ । 

अन्य रुचिको विषय ?

– ट्राभलमा राम्रै रुचि छ । तर म त्यस्तो धेरै घुम्दिनँ । वर्षमा २–३ पटक परिवार र साथीहरूसँग घुमघाममा निस्किन्छु । मलाई हरियाली र नेचरसँग जोडिएका ठाउँहरू बढी मनपर्छ । फेसनमा पनि रुचि छ । म कुर्ता, टिसर्ट, सट्र्स जुनसुकै पहिरनमा पनि सहज महसुस गर्छु । 

roji  (5)

तपाईंप्रति परिवारले देखेको सपना अभिनय थियो त ?

– मेरो बाबा–ममी मलाई वकिल बनेको हेर्न चाहनुहुन्थ्यो, । त्यसैले मैले ब्याचलर्समा कानुन पढ्ने प्रयास गरेँ । तर, इन्ट्रेस्ट नभएकोले बिजनेसमा ब्याचलर्स गरेँ । अहिले उहाँहरू म खुसी भएको हेर्न चाहनुहुन्छ ।

राजनीतिमा पनि रुचि छ कि ? 

– राजनीतिमा मेरो कहिल्यै रुचि भएन । जेनजी आन्दोलनपछि धेरै समाचारहरू हेर्ने गरेकी छु । अलिअलि रुचि लाग्न र बुझ्न थालेकी छु । तर अहिलेसम्म भविष्यमा राजनीतिमा आउने सोच भने छैन है ।

प्रेम त पक्कै होला ? 

– अहिलेसम्म प्रेममा परेकी छैन । अहिले मेरो मुख्य फोकस करियरमा छ । कसरी भविष्य राम्रो बनाउने, कसरी सफल मानिस बन्ने तिरै मेरो ध्यान रहदै आएको छ । जीवनसाथीको सोच भने छ । घरपरिवारलाई सम्मान गर्ने, सहयोगी, मलाई बुझ्ने र मेरो करियरमा सपोर्ट गर्ने जीवन साथीको चाहना छ । 

roji  (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप