बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेसँग संवाद

‘निजी क्षेत्र गहिरो मानसिक आघातमा छ, यसपालिको दसैँ आशावादी बनेर मनाऔँ’

‘सरकारले घोषणा गरेका राहत प्याकेज सकारात्मक पहल’
बिहीबार, १६ असोज २०८२, ०९ : ००
बिहीबार, १६ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनपछिको राजनीतिक उथलपुथलले अर्थतन्त्रमा गहिरो असर गरेको छ, जसमा व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोडले क्षति पुर्‍यायो।
  • आन्दोलनका कारण निजी क्षेत्रको मनोबल कमजोर भएको र विदेशी लगानीकर्ताहरू लगानी गर्न हच्किएका छन्, जसले गर्दा आर्थिक क्षति पुगेको छ।
  • सरकारले राहत प्याकेज घोषणा गरे पनि निजी क्षेत्रको मनोबल उठाउन र भविष्यमा यस्ता घटना रोक्न ठोस कदम चाल्नुपर्ने देखिन्छ।

काठमाडौँ । हालैको जेनजी आन्दोलनपछिको राजनीतिक उथलपुथलले अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ । आन्दोलनका क्रममा व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड हुँदा ठुलो क्षति भएको छ । आर्थिक क्षति त छँदैछ, उद्योगी-व्यवसायीको मनोबल पनि कमजोर बनेको छ । 

आन्दोलनले निजी क्षेत्रमा पारेको असर, मनोबल उठाउन सरकारको भूमिका लगायत विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेसँग रातोपाटीकर्मी अनिष मिजारले गरेको कुराकानीको सम्पादित अंश :

  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसपछि सरकार परिवर्तनले देशमा नयाँ राजनीतिक परिदृश्य सिर्जना गरेको छ।यसलाई कसरी लिनुभएको छ ?  

आन्दोलनको सुरुवातका मागलाई हेर्दासुशासन कायम, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रताजस्ता विषय प्रमुख थिए। यी मागहरूलाई हामीले जायज र लोकतान्त्रिक प्रणालीका लागि आवश्यक नै मानेका थियौँ । सुरुवाती चरणमा आन्दोलनको प्रकृति शान्तिपूर्ण नै थियो र यसमा आम नागरिकको चासो र समर्थन पनि देखिएको थियो।

तर दुर्भाग्यवश, आन्दोलनलेपछि हिंसात्मक रूप लिन थाल्यो। यसले सार्वजनिक र निजी दुवै क्षेत्रका सम्पत्तिमा ठुलो क्षति पुर्‍यायो। भौतिक संरचना, व्यापारिक प्रतिष्ठानहरू र व्यक्तिगत सम्पत्तिहरूमा भएको तोडफोड र आगजनीले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पुर्‍यायो।

निजी क्षेत्र यस घटनाबाट गहिरो मानसिक आघातमा परेको छ। यसलाई हामी स्टेट अफ शकको अवस्थामा छौँ भन्न सक्छौँ।

हाम्रो प्रारम्भिक अनुमानअनुसार यस घटनाले कुल गार्हस्थ उत्पादनको करिब ४–५ प्रतिशतसम्म क्षति पुगेको देखिन्छ । जुन कुनै पनि विकासोन्मुख देशका लागि निकै ठूलो आर्थिक धक्का हो। यस्तो किसिमको क्षतिले तत्कालको आर्थिक गतिविधिहरूमा मात्र नभई दीर्घकालीन लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्छ। समग्रमा यसले देशमा अस्थिरता र अनिश्चितता बढाएको छ । जसले लगानीकर्ताहरूलाई हतोत्साहित गरेको छ।

  • जेनजी आन्दोलनका कारण भएको तोडफोड र आगजनीका घटनाले निजी क्षेत्रको मनोबलमा कस्तो असर पारेको छ?

निजी क्षेत्र यस घटनाबाट गहिरो मानसिक आघातमा परेको छ। यसलाई हामी स्टेट अफ शकको अवस्थामा छौँ भन्न सक्छौँ। यति छोटो अवधिमा भएको व्यापक विनाश र अवरोधले व्यावसायिक समुदायको आत्मविश्वासमा कमी आएको छ । 

विदेशी लगानीकर्ताहरू जो नेपालमा लगानी गर्न इच्छुक थिए, उनीहरू अहिले हच्किएका छन्। कतिपय अवस्थामा लगभग फाइनल भइसकेका ठुला डिलहरू पनि रद्द भएका छन्। 

अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविमा नकारात्मक असर परेको छ । भविष्यमा विदेशी लगानी आकर्षित गर्न थप चुनौती सिर्जना गरेको छ। 

प्रत्यक्ष क्षति बाहेक यसले समग्र आपूर्ति श्रृंखलालाई पनि प्रभावित गरेको छ। एउटा उद्योगमा क्षति पुग्दा त्यससँग जोडिएका साना सप्लायर्सहरू, कृषकहरू र अन्य व्यवसायहरूमा पनि नकारात्मक असर पर्छ। 

निजी सम्पत्तिमाथि भएको आक्रमणले उनीहरूमा डर र अनिश्चितता बढाएको छ। यसले नयाँ लगानीका योजनाहरू स्थगित भएका छन् र रोजगारी सिर्जनामा समेत नकारात्मक असर परेको छ। साना तथा मझौला व्यवसायीहरू, जसको पुँजी सीमित हुन्छ, उनीहरूलाई यो क्षतिले उठ्नै नसक्ने गरी असर गरेको छ।

पर्यटन क्षेत्रमा पनि यसको गम्भीर प्रभाव परेको छ। धेरै होटल बुकिङ रद्द भएका छन् र विदेशी पर्यटकहरूको आगमनमा उल्लेख्य कमी आएको छ। यसले पर्यटन उद्योगमा आश्रित हजारौँ व्यक्तिहरूको रोजगारीमा संकट निम्त्याएको छ।

प्रत्यक्ष क्षति बाहेक यसले समग्र आपूर्ति श्रृंखलालाई पनि प्रभावित गरेको छ। एउटा उद्योगमा क्षति पुग्दा त्यससँग जोडिएका साना सप्लायर्सहरू, कृषकहरू र अन्य व्यवसायहरूमा पनि नकारात्मक असर पर्छ। 

अप्रत्यक्ष रूपमा पनि ठुलो संख्यामा मानिसहरू बेरोजगार भएका छन्। निजी क्षेत्रको मनोबल बढाउन उनीहरूलाई राहत उपलब्ध गराउनु र भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुनिश्चितता गराउनु अहिलेको सरकार र सरोकारवाला निकायहरूको मुख्य प्राथमिकता हुनुपर्छ ।

  • सरकारले हालै घोषणा गरेका राहत प्याकेजहरूले निजी क्षेत्रको मनोबल उठाउन मद्दत गर्छ जस्तो लाग्छ?

सरकारले घोषणा गरेका राहत प्याकेजहरूलाई हामीले सकारात्मक पहलका रूपमा लिएका छौँ। यी कदमहरूले घाउमा मलम लगाउने काम गरेका छन्, तर यो पूर्ण समाधान होइन। यसले निजी क्षेत्रको मनोबललाई तत्कालै धेरै माथि उठाउन सक्ने अवस्था छैन।

निजी क्षेत्रले सरकारको प्रयासलाई समर्थन गर्छौँ र सरकारसँगको निरन्तर संवादमा छौँ। अर्थमन्त्री र अन्य सम्बन्धित मन्त्रीहरूसँगको छलफलमा हामीले निजी क्षेत्रले भोगेका कठिनाइर आवश्यक राहतका विषयमा जानकारी गराएका छौँ।

यो समस्याको दायरा निकै फराकिलो छ। प्रत्यक्ष क्षति भोगेका उद्योगहरूका अतिरिक्त, आपूर्ति श्रृंखलामा परेको असर र त्यसबाट प्रभावित भएका अन्य व्यवसायहरूलाई पनि सम्बोधन गर्नुपर्छ। 

विशेषगरी प्रभावित उद्योगहरूलाई तत्काल सहयोग (जस्तै- कर छुट, भन्सारमा छुट, ऋणको किस्ता सार्ने व्यवस्था) आवश्यक रहेकोमा हामीले जोड दिएका छौँ। उहाँहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ र केही विषयमा तत्कालै कार्यन्वयनको प्रक्रिया अगाडि बढेको छ।

तर यो समस्याको दायरा निकै फराकिलो छ। प्रत्यक्ष क्षति भोगेका उद्योगहरूका अतिरिक्त, आपूर्ति श्रृंखलामा परेको असर र त्यसबाट प्रभावित भएका अन्य व्यवसायहरूलाई पनि सम्बोधन गर्नुपर्छ। 

एउटा ठूलो उद्योगमा क्षति पुग्दा त्यसका साना सप्लायर्सहरू, कच्चा पदार्थ उपलब्ध गराउने कृषकहरू, यातायात व्यवसायीहरू लगायत धेरै पक्ष प्रभावित हुन्छन्। उनीहरुलाई पनि राहतको खाँचो छ।कानुन र व्यवस्थाको सुदृढीकरण तथा बलियो औद्योगिक सुरक्षा नीतिको आवश्यकता झनै बढेको छ। भविष्यमा यस्ता घटना नदोहोरिउन् भन्नका लागि दीर्घकालीन योजना बनाउनुपर्ने देखिएको छ । 

सरकारले व्यापार सहजीकरण प्याकेज ल्याउने कुरा पनि सकारात्मक छ, जसले व्यापारिक वातावरणलाई थप सहज बनाउने अपेक्षा गर्न सकिन्छ। सरकार यसमा सकारात्मक रूपमा अगाडि बढेको जस्तो देखिन्छ।तरवर्तमान सरकार अन्तरिम प्रकृतिको हो र यसको मुख्य म्यान्डेट चुनाव गराउने भएकाले धेरै लामो समयका लागि ठुला नीतिगत परिवर्तन गर्न सक्ने अवस्था छैन। 

यसकारणतत्कालका लागि मनोबल बढाउने र क्षतिपूर्ति दिने काममा जोड दिँदै भविष्यका लागि बलियो आधार तयार पार्नुपर्छ। निजी क्षेत्रको पूर्ण मनोबल पुनस्र्थापित गर्नका लागि राजनीतिक स्थिरता दिगो शान्ति र विश्वासिलो लगानीको वातावरण निर्माण हुनु अपरिहार्य छ।

  • नेपाल उद्योग परिसंघको अध्यक्षको रूपमा तपाईंका मुख्य कार्ययोजना के–के छन्, खासगरी अहिलेको चुनौतीपूर्ण परिस्थितिमा?

नेपाल उद्योग परिसंघको अध्यक्षको रूपमा मैले यो चुनौतीपूर्ण परिस्थितिमा विभिन्न कार्ययोजना बनाएको छु । जसलाई हामी दुई मुख्य रणनीतिमा केन्द्रित गरेका छौँ- तत्कालका समस्या समाधान गर्ने र दीर्घकालीन आर्थिक वृद्धिको आधार तयार गर्ने।

औद्योगिक क्षेत्र र व्यावसायिक प्रतिष्ठानहरूको सुरक्षा सुनिश्चित गर्न हामीले सरकारसँग बलियो सुरक्षा नीतिको माग गरेका छौँ।

परिसंघमा आवद्ध व्यवसायीहरुको खस्किएको मनोबललाई उठाउनु हाम्रो तत्कालको प्राथमिकता हो। यसका लागि हामी सरकारसँगको सहकार्यमा विभिन्न राहत प्याकेजहरूको कार्यन्वयनमा जोड दिइरहेका छौँ। प्रभावित व्यवसायीहरूलाई ऋणको किस्ता सार्ने,ब्याजदरमा सहुलियत दिने, कर छुट र भन्सार सहजीकरण जस्ता उपाय अपनाउन सरकारलाई निरन्तर घच्घचाइरहेका छौँ।

औद्योगिक क्षेत्र र व्यावसायिक प्रतिष्ठानहरूको सुरक्षा सुनिश्चित गर्न हामीले सरकारसँग बलियो सुरक्षा नीतिको माग गरेका छौँ। भविष्यमा यस्ता आन्दोलन हिंसात्मक नबनुन् भन्नका लागि कानुनी प्रावधानहरूलाई कडाइका साथ लागु गर्नुपर्छ।

आन्दोलनका कारण बिग्रिएको आपूर्ति श्रृंखलालाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग गर्ने र यसबाट प्रभावित भएका साना तथा मझौला व्यवसायलाई राहत उपलब्ध गराउन हामी काम गरिरहेका छौँ।परिसंघले ‘फेयर मार्केट’ को अवधारणालाई प्रवर्द्धन गर्न विस्तृत अध्ययन गरिरहेको छ । साथै आगामी १० वर्षका लागि देशको आर्थिक वृद्धिलाई कसरी तीव्र पार्ने भन्ने विषयमा एक रणनीतिक योजना तयार गर्दैछौँ। 

यस योजनाले कुन–कुन क्षेत्रमा लगानी गर्दा देशको समग्र अर्थतन्त्रलाई बढाउन, रोजगारी सिर्जना गर्न सकिन्छ र जीडीपीलाई माथि उठाउन सकिन्छ भन्ने कुराको पहिचान गर्नेछ। हामीले विभिन्न सेक्टरहरूलाई सूक्ष्म रूपमा विश्लेषण गरेर लगानीका सम्भावित क्षेत्र र आवश्यक नीतिगत सुधारहरू पहिचान गरिरहेका छौँ।

सीप विकास, गुणस्तरीय शिक्षा र समग्र मानव पुँजीको विकासमा लगानी गर्नु दीर्घकालीन आर्थिक वृद्धिको लागि अपरिहार्य छ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्ने उद्देश्यका साथ हामीले ‘मेक इन नेपाल, युज नेपाली’ अभियानलाई सक्रिय रूपमा अगाडि बढाएका छौँ। यस अभियानमार्फत हामी डोमेस्टिक इन्डस्ट्रीहरूलाई सहयोग गर्ने र उपभोक्ताहरूलाई स्वदेशी उत्पादनहरू प्रयोग गर्न प्रोत्साहित गर्ने काम गरिरहेका छौँ। यसले स्वदेशी उद्योगहरूलाई बलियो बनाउनुका साथै रोजगारी सिर्जनामा पनि मद्दत पुर्याकउनेछ।

सीप विकास, गुणस्तरीय शिक्षा र समग्र मानव पुँजीको विकासमा लगानी गर्नु दीर्घकालीन आर्थिक वृद्धिको लागि अपरिहार्य छ। हामी यस क्षेत्रमा आवश्यक नीतिगत सुधारका लागि सरकारसँग निरन्तर समन्वय गरिरहेका छौँ। कुनै एक मात्र उपायले सबै समस्या समाधान हुँदैन। यसकारण हामीले समग्र अर्थतन्त्रका सबै सेक्टरहरू र सब–सेक्टरहरूलाई एकीकृत रूपमा सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ। 

  • अध्यक्षको जिम्मेवारी सम्हालेको छोटो अवधिमै यो खालको अप्ठ्यारो परिस्थिति भोग्नुभयो। व्यक्तिगत रुपमा कस्तो महसुस भइरहेको छ ?

स्वाभाविक रूपमा केही असहज महसुस भएको छ। हामीले यसरी देशमा राजनीतिक अस्थिरता र त्यसबाट सिर्जित हिंसा र आर्थिक क्षतिको सामना गर्नुपर्ला भनेर सोचेका थिएनौँ। तरयस्तो अवस्थामा हात बाँधेर बस्ने छुट हामीलाई छैन।

यो वर्षको परिस्थिति फरक बन्यो । हालैका घटनाक्रमहरूले धनजनको ठुलो क्षति भएको छ, धेरै परिवारले आफ्ना सदस्य गुमाएका छन्, धेरैले आर्थिक रूपमा ठुलो नोक्सानी भोगेका छन्।

म व्यक्तिगत रूपमा यसलाई चुनौतीको रूपमा लिएर अगाडि बढिरहेको छु। मेरो लागि यो एउटा अवसर पनि हो, जहाँ मैले निजी क्षेत्रको नेतृत्व गर्दै देशलाई यो विषम परिस्थितिबाट बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेल्ने मौका पाएको छु।यो बेलामा मलाई झनै बढी काम गर्ने ऊर्जा मिलेको छ। म र हाम्रो टिमले सरकार, राजनीतिक दलहरू र अन्य सरोकारवाला निकायहरूसँग निरन्तर संवाद र सहकार्य गरिरहेका छौँ।

हाम्रो मुख्य ध्यान निजी क्षेत्रको मनोबल उकास्ने, क्षतिग्रस्त उद्योगहरूलाई पुनर्जीवन दिने, रोजगारी सिर्जना गर्ने र भविष्यका लागि बलियो आर्थिक आधार तयार गर्नेतर्फ केन्द्रित छ। हामीले अहिलेको परिस्थितिलाई एउटा सिकाइको रूपमा पनि लिएका छौँ, जसले हामीलाई भविष्यमा आउन सक्ने यस्तै चुनौतीहरूको सामना गर्न अझ बढी तयार बनाउनेछ।

  • यो कठिन परिस्थितिमा आफ्नो महान्चाड दसैँमनाउन पनि सकस भयो होइन?

दसैँ नेपालीहरूको सबैभन्दा ठुलो र महत्त्वपूर्ण चाड हो। यसको धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै छ। पारिवारिक पुनर्मिलन, अग्रजबाट आशीर्वाद लिने, शुभकामना आदानप्रदान गर्ने, भाइचारा बढाउने र सामाजिक सद्भाव कायम गर्ने अवसर दसैँले प्रदान गर्छ। यस पर्वको मूल मर्म र यसले दिने सकारात्मक ऊर्जा अत्यन्तै राम्रो छ।

तर यो वर्षको परिस्थिति फरक बन्यो । हालैका घटनाक्रमहरूले धनजनको ठुलो क्षति भएको छ, धेरै परिवारले आफ्ना सदस्य गुमाएका छन्, धेरैले आर्थिक रूपमा ठुलो नोक्सानी भोगेका छन्। यस्तो विषम परिस्थितिमा धेरै मानिस शोकमा छन्, आर्थिक दबाबमा छन्। मेरो हृदय ती परिवारहरूसँग छ, जसले यो आन्दोलनमा आफ्ना प्रियजन गुमाएका छन् । 

यस्तो अवस्थामा विगतका वर्षहरूमा जस्तो उल्लास, उमंग र भव्यताका साथ दसैँ मनाउन सक्ने स्थिति नहुन सक्छ। मानिसहरूले दसैँलाई सामान्य र संयमित ढंगले मनाउनेछन्। 

दसैँको मूल भावना आशा, सद्भाव र पारिवारिक बन्धन हो । यो कहिल्यै मर्नेछैन। यो चाडले हामीलाई कठिन परिस्थितिमा पनि एकजुट हुन र भविष्यप्रति आशावादी रहन प्रेरित गर्छ। यस वर्षको दसैँले हामीलाई विगतका दुःख र क्षतिहरूलाई सम्झेर भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि संकल्प गर्ने अवसर पनि दिनेछ। सबैले भविष्यप्रति आशा राख्दै, एकअर्कालाई सहयोग गर्दै दसैँ मनाउनुपर्छ । 

  • तपाईं दसैँ कसरी मनाउँदै आउनुभएको छ ? 

म व्यक्तिगत रूपमा दसैँ एकदमै सामान्य र परम्परागत तरिकाले मनाउँछु। मेरो परिवार (श्रीमती रछोराछोरी) सँग घरमै बसेर दसैँ मनाउने गर्छु । म खासै बाहिर कतै घुम्न जाँदिनँ वा विदेश यात्रा गर्दिनँ। दसैँको पहिलो दिन घटस्थापनादेखि नै घरमा पूजापाठ गरिन्छ।

फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीका दिनमा परिवारका सदस्यहरूबिच शुभकामना आदानप्रदान र आशीर्वाद लिनेदिने गरिन्छ । वर्षभरि भेटघाट नभएका आफन्तजनसँग पनि यसै अवसरमा भेटघाट हुन्छ, जसले सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।

विगत १०–१५ वर्षमा दसैँ मनाउने तरिकामा केही उल्लेखनीय फरक मैले पनि महसुस गरेको छु। त्यसबेला मानिसहरू आफ्नो घर वा गाउँमै बसेर परिवारसँग समय बिताउने गर्थे, तरपछिल्ला वर्षहरूमा दसैँको लामो बिदामा आफ्नो गच्छेले भ्याएसम्म देश-विदेश घुम्ने चलन बढेको छ । यसले पर्यटकीय गतिविधि बढाएपनि परिवारमा दसैँमा जमघटहरू कम हुन थालेका छन्।

पहिले दसैँमा नयाँ लुगाफाटा किन्ने, मिठोमसिनो खाने र सानोतिनो घुमफिर गर्ने चलन थियो। अहिले खर्च गर्ने प्रवृत्तिमा पनि परिवर्तन आएको छ। धेरै मानिस दसैँमा महँगा उपहारहरू किन्ने, ठुला पार्टी आयोजना गर्ने वा विदेश यात्रामा गएर ठुलो खर्च गर्न थालेका छन् । यसले चाडपर्वको मौलिकपन र सादगीपनमा कमी ल्याएको छ । 

हामी सानो हुँदा दसैँमा गाउँभरि, टोलभरि सबैको घरमा टीका लगाउन जाने र धेरै जनासँग भेटघाट गर्ने चलन थियो। मानिसहरू एकअर्काको घरमा गएर धेरै समय बिताउँथे। तरअहिले यो चलनमा कमी आएको छ। सहरीकरणसँगै मानिसहरूको व्यस्तता बढेको छ र सामाजिक सम्बन्धहरूमा पनि परिवर्तन आएको छ। 

पहिले शुभकामना आदानप्रदान गर्न भौतिक रूपमा नै भेट्नुपर्थ्यो ।अहिले मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग बढेको छ। दसैँको शुभकामना दिन, टाढाका आफन्तसँग भिडियो कल गर्न वा तस्बिरहरू साझा गर्न प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ। यसले गर्दा भौतिक दूरीका बाबजुद पनि मानिसहरू जोडिएका चाहिँ छन्। यी परिवर्तनहरूका बाबजुद, दशैँको मूल मर्म – परिवार, सद्भाव र खुसी – अझै पनि उत्तिकै महत्वपूर्ण छ। प्रविधि र आधुनिकताले दशैँ मनाउने तरिकामा केही बदलाव ल्याए पनि यसले नेपाली समाजमा ल्याउने सकारात्मक प्रभाव र एकताबद्धताको भावना अझै पनि उत्तिकै बलियो छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप