बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
इतिहास

२०३६ सालको पञ्चायतविरोधी त्यो विद्यार्थी आन्दोलन र बलबहादुर केसी

शुक्रबार, १७ असोज २०८२, १४ : ००
शुक्रबार, १७ असोज २०८२

सारांश

  • २०३६ सालको पञ्चायत विरोधी आन्दोलनमा बलबहादुर केसीको नेतृत्वदायी भूमिका थियो।
  • बीपी कोइरालाको नेपाल फिर्ती र सक्रियताले पञ्चायत विरोधी जनमत बलियो बनायो।
  • जनमत संग्रह घोषणा भएपछि केसीको नेतृत्वमा कांग्रेसले बहुदलको पक्षमा जनमत सिर्जना गर्यो।

काठमाडौँ । बलियो पञ्चायती दमन र शाही शासनकालको कालो बादल मडारिइरहेको समयमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्याम्पसमा बलबहादुर केसीले राजनीतिशास्त्रमा एमए अध्ययन गरिरहेका थिए । 

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध केसी २०३६ सालमा भएको पञ्चायतविरोधी विद्यार्थी आन्दोलनको नेतृत्वकर्तामध्ये एक हुन् । 

कांग्रेस नेताहरू प्रजातन्त्र पुनःस्थापनाको एजेन्डासहित निर्वासनमा छँदा, मुलुकभित्र पञ्चायती व्यवस्थाविरुद्ध नयाँ जनमत बलियो बन्दै थियो । त्यसका लागि विद्यार्थीहरूले संघर्ष गरिरहेका थिए । त्यसको नेतृत्व केसीले गरिरहेका थिए । त्यही आन्दोलनमा नेतृत्वदायी भूमिका निभाएका कारण केसी पछि प्रजातान्त्रिक आन्दोलनको अग्रगामी सिपाहीको रूपमा स्थापित भए । 

२०३३ साल पुस १६ गते कांग्रेस सभापति विश्वेश्वरप्रसाद (बीपी) कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर भारत निर्वासनबाट नेपाल फकिए । तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते खोसेको प्रजातन्त्र फर्काउने संकल्प बोकेर फर्केका बीपीको आगमनले पञ्चायतबाट ओइलाएको कांग्रेसको संगठनमा नयाँ रक्तसञ्चार भयो । राजनीतिक चेतना भएका आम मानिसको चासोको केन्द्र बनेका बीपीले मेलमिलापको नीति र समसामयिक राजनीतिक परिस्थितिबारे जनचेतना जगाउन देशव्यापी दौडाहाको कार्यक्रम तय गरे ।

बीपीले कार्यक्रम सम्बोधन गर्न नपाएपनि उनको नेपाल फिर्ती र सक्रियताले पञ्चायतविरोधी जनमत झन् बलियो बन्दै गयो । दमनबाट पिल्सिएका विद्यार्थी, मजदुर, शिक्षक, किसान सबै पञ्चायत विरोधी मोर्चामा समाहित हुने क्रम बढ्दो थियो ।

पार्टीको पक्षमा जनलहर ल्याउन देशव्यापी दौडाहापोखराबाटसुरुवात हुने भएपछि हजारौं मानिस बीपीका विचार सुन्न पोखरा ओइरिए । तर, दमनकारी पञ्चायती प्रशासनले यो जनलहरलाई रोक्न भरमग्दुर प्रयास गर्‍यो र बीपीका राजनीतिक सिपाही केसी, बीपीकी भाञ्जी मुक्तासहित सयौं कार्यकर्तालाई प्रशासनले तनहुँमा पक्राउ गरी एउटै कोठामा राख्यो । 

‘पोखरामा बीपीको कार्यक्रम बिथोल्न तत्कालीन अञ्चलाधीश र सीडीओले अनौठो हत्कण्डा अपनाए, एयरपोर्टको रनवेमा सयौं मानिसलाई सुताएर बीपी चढेको प्लेनलाई अवतरण गर्नै दिइएन । हामीलाई तनहुँमै पक्राउ गरेर थुन्यो,’ केसीले रातोपाटीसँगको कुराकानीमा भने । अवतरण गर्ने स्थानमा मानिस सुतेकाले ल्यान्ड गर्न ठाउँ नभएको जानकारी दिएर प्लेन फर्काइएपछि पोखराको कार्यक्रम रद्द भयो । केसीका अनुसार त्यसको एक सातापछि विराटनगरमा गर्ने तय भएको कार्यक्रममा पनि पञ्चायतले पोखरा फर्मुला दोहोर्‍याउँदै रनवेमा भरौटेहरूलाई सुताएर बीपी चढेको हवाइजहाजलाई अवतरण गर्न दिएन । 

बीपीले कार्यक्रम सम्बोधन गर्न नपाएपनि उनको नेपाल फिर्ती र सक्रियताले पञ्चायतविरोधी जनमत झन् बलियो बन्दै गयो । दमनबाट पिल्सिएका विद्यार्थी, मजदुर, शिक्षक, किसान सबै पञ्चायत विरोधी मोर्चामा समाहित हुने क्रम बढ्दो थियो ।

नेपालमा पञ्चायतविरोधी आन्दोलन भइरहँदा २०३५ चैत २१ गते पाकिस्तानमा सैनिक ‘कू’ गरी राष्ट्रपति जुल्फीकर अली भुट्टोलाई फाँसी दिइयो । केसीले त्यो घटनालाई प्रजातान्त्रिक चेतनामाथि गरिएको ‘सय प्रतिशत अप्रजातान्त्रिक’ हमलाका रूपमा लिए । त्यो घटनाले केसीलाई सैनिक कदमको विरोधमा उत्रिने अठोटमा पुर्‍यायो ।

तीन जनाको नेतृत्वमा माग समेटिएका पर्चा, पम्प्लेट बाँड्दै कोणसभा गरियो । भुट्टोको फाँसीविरुद्ध ज्ञापनपत्र बुझाउन त्रिचन्द्र क्याम्पसबाट जुलुस लिएर पाकिस्तानी दूतावास जाने सहमति भयो ।

एक्लैको विरोध प्रभावकारी नहुने निष्कर्षसहित केसीले नेकपा माक्र्सवादीनिकट शरणविक्रम मल्ल र फेडेरेसन–सोभियत संघ समर्थित नेकपा मानन्धरनिकट कैलाश कार्कीसँग कीर्तिपुरमा बैठक गरे । बैठकमा आन्दोलन गर्ने सहमति भयो । ३५ बुँदे माग तय गरियो । उनीहरूको निष्कर्ष थियो, ‘पञ्चायतविरुद्ध आक्रमण गर्ने मौका यही हो ।’ 

तीन जनाको नेतृत्वमा माग समेटिएका पर्चा, पम्प्लेट बाँड्दै कोणसभा गरियो । भुट्टोको फाँसीविरुद्ध ज्ञापनपत्र बुझाउन त्रिचन्द्र क्याम्पसबाट जुलुस लिएर पाकिस्तानी दूतावास जाने सहमति भयो । सरकारले उनीहरूको आन्दोलनबारे सूचना लिन दर्जनौं गुप्तचर खटाएकाले त्यो योजनाबारे सरकार जानकार थियो ।

  • प्रहरीसँग केसीको त्यो पौँठेजोरी 

जुलुसको दिन बिहानैदेखि सरकारले आन्दोलन दमन गर्न ठुलो संख्यामा प्रहरी खटायो । तर, प्रहरीसँग पौंठाजोरी खेल्न अभ्यस्त भइसकेका केसीलाईअसर गर्नुको सट्टा ऊर्जा थप्यो । त्यसअघि नै २०२९ सालदेखि २०३२ सालसम्म जैसीदेवलमा राजा वीरेन्द्रको राज्य अभिषेकको पूर्वाद्र्धमा भएको बम काण्डमा संलग्न रहेको आरोपमा केसी तीन वर्ष जेल बसिसकेका थिए । नरबहादुर कार्की र शिव कंगालको योजनाअनुसार उनी महेन्द्ररत्न क्याम्पसमा भएको त्यो काण्डमा सहभागी थिए । २०२७ सालमा भएको घम्साघम्सीपछि प्रहरीसँगको झडपमा केसीलाई कुनै डर लाग्दैनथ्यो । 

केसीको नेतृत्वमा लाजिम्पाटमा रहेको पाकिस्तानी राजदूतावासमा ज्ञापनपत्र बुझाउन निस्केको जुलुस त्रिचन्द्र क्याम्पसको ढोकाबाट उत्तरतर्फ मोडियो ।

केसी भन्छन्, ‘२०२७ सालको काण्डमा प्रहरी अधिकारी डीबी लामाले केरकार गर्दै आफ्नै बाबुलाई पक्रेर डबल प्रमोसन पाएको उदाहरण दिए । पञ्चायतलाई सहयोग गरे जे माग्यो त्यही पाउने आश देखाएर फकाउने प्रयास गरे । तर, आश र धम्कीलाई कुनै वास्ता नगरी आफ्नो यात्रालाई निरन्तरता दिए ।’ 

केसीमाथि केरकार गर्ने लामा पछि प्रहरी महानिरीक्षक पनि बने । त्यो केरकारपछि आफू प्रजातान्त्रिक आन्दोलनको सिपाहीका रूपमा खारिएको र प्रहरीसँग डर लाग्न छोडेको बताउँछन् । 

केसीको नेतृत्वमा लाजिम्पाटमा रहेको पाकिस्तानी राजदूतावासमा ज्ञापनपत्र बुझाउन निस्केको जुलुस त्रिचन्द्र क्याम्पसको ढोकाबाट उत्तरतर्फ मोडियो । जुलुस दरबारको दक्षिणढोकामा पुग्दा सयौं दंगा प्रहरी चेन बनाएर उभिएका थिए । केसीले पछि फर्केर हेर्दा पुरै दरबारमार्ग जुलुसले भरिएको देखे र त्यो संख्याले उनमा झन ऊर्जा थप्यो । 

जुलुस केशरमहल हुँदै उत्तरतर्फ अघि बढ्दै थियो । दरबारको पश्चिम गेटमा अघिभन्दा धेरै दंगा खटाइएको थियो, पर्खालबाहिर सुरक्षाकर्मी घेरा हालेर बसेका थिए । लैनचौर हुँदै लाजिम्पाटमा रहेको पाकिस्तानी दूतावासमा पुगेर ज्ञापनपत्र बुझाउने रूट तय भएको थियो । जुलुस लैनचौर पुग्दा प्रहरीले बाटो छेकेपछि केसी दोधारमा परे, ‘त्यहीँ नाराबाजी गरेर बस्ने कि पुलिसको अवरोध तोड्ने ?’ 

त्यसदिन केसीलाई प्रहरीले पक्राउ गरेपछि पञ्चायतविरोधी आन्दोलन सरकारले नियन्त्रण गर्नै नसक्ने अवस्थामा पुग्यो । आन्दोलन हिजोभन्दा आज, आजभन्दा भोलि सशक्त हुँदै गएको आन्दोलन काठमाडौँ उपत्यकामा मात्रै नभई जिल्लाजिल्लामा पनि फैलन थाल्यो ।

प्रहरीको अवरोध तोड्न हिम्मत गरे नेता बन्ने निष्कर्षसहित केसी बार छिचोलेर अघि जाने निष्कर्षमा पुगे ।केसी नेतृत्वको जुलुस लैनचौरको दोबाटोमा पुग्नेबित्तिकै प्रहरीले लाठीचार्ज गर्न सुरु गर्‍यो । पञ्चायतको बर्बर दमनका पछाडि केही लागेन, केसीलाई प्रहरीले नियन्त्रणमा लियो । आन्दोलनका लागि तीन विद्यार्थी संगठनले बनाएको आन्दोलन स्टेरिङ कमिटीको संयोजक भएकाले केसीलाई प्रहरीले निशाना बनायो । त्यसपछि आफूलाई सेन्ट्रल जेलमा लगेर थुनिएको र तैपनिसम्पर्क सूत्रमार्फत सूचना आदानप्रदान गरिरहेको केसी बताउँछन् । 

  • केसीको गिरफ्तारी पनि आन्दोलन उत्कर्षमा

त्यसदिन केसीलाई प्रहरीले पक्राउ गरेपछि पञ्चायतविरोधी आन्दोलन सरकारले नियन्त्रण गर्नै नसक्ने अवस्थामा पुग्यो । आन्दोलन हिजोभन्दा आज, आजभन्दा भोलि सशक्त हुँदै गएको आन्दोलन काठमाडौँ उपत्यकामा मात्रै नभई जिल्लाजिल्लामा पनि फैलन थाल्यो । प्रमुख माग केसीको निःशर्त रिहाइ बनेपछि सरकारले उनलाई छाड्यो र माग पूरा गर्न सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश घनेन्द्रबहादुर सिंह संयोजक, सुरेन्द्रबहादुर बस्नेतलगायत सदस्य रहेको उच्चस्तरीय शाही आयोग गठन गर्‍यो । 

आन्दोलनकारीको वार्ता समितिमा केसी संयोजक बने । वार्ता स्थल राष्ट्रिय सभा गृहमा तोकिएको थियो । सिनियर ‘बुढाहरू’ लाई सरकारले आफूहरूसँग वार्ता गर्न पठाएकाले विजेताको रूपमा प्रस्तुत हुने तयारी गरेको केसी सम्झन्छन् । ‘रौंबराबर पनि सम्झौता गर्न तयार थिएनौं,’ केसी भन्छन्, ‘वार्तामा हाम्रा चर्का कुरा सुनेर शाही आयोगका बुढाहरू चकित पर्थे ।’ वार्तासँगसँगै विद्यार्थीहरूले आन्दोलन जारी राखेका थिए । विद्यार्थीहरूले आन्दोलनलाई वार्ताको निहुँमा सेलाइदिने दाउ सरकारले गरेको हुनसक्ने निष्कर्षसहित आन्दोलन र वार्ता समानान्तर रूपमा अघि बढाएका थिए । 

  • बीपीको‘गो अहेड’ आदेश

वार्ता चलिरहेको बेलामा आन्दोलनलाई वार्ताको माध्यमबाट चाँडो सुल्झाउन आदेश बीपीले दिए । तर, त्रय नेतामध्ये गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले केसीलाई आन्दोलन अझ सशक्त बनाउन भनिरहेका थिए । ‘कसको आदेश मान्ने ?’ केसी द्विविधामा परे । त्यसपछि आँट गरेर केसीले कांग्रेस सभापतिकृष्णप्रसाद भट्टराई (किसुनजी) ‘आन्दोलनबारे नेताहरू एक हुनुपर्‍यो’ भन्दै अनुरोध गरे । 

पञ्चायतविरुद्ध आन्दोलनमा होमिएकोे कांग्रेस अघि बढेपछि पञ्चायत र राजा नै झुक्ने लगभग निश्चितजस्तै थियो ।

केसीका अनुसार त्यसपछि तीन नेताले छलफल गरे । छलफलमा बीपीले विद्यार्थीहरू धर्मराउने शंका व्यक्त गर्दै आन्दोलन रोक्ने प्रस्ताव गरे । तर, गणेशमानले आत्तिनुपर्ने अवस्था नरहेकाले आन्दोलन जारी राख्नुपर्ने बताए । सिंहको भनाइपछि बीपीले भने, ‘आन्दोलन उपयोगी हुन सक्छ, सम्भावित षडयन्त्रबाट जोगिन पनि आन्दोलन स्थगन गर्न जरुरी छ ।’ छलफलमा गणेशमान, किसुनजी एकातिर, बीपी अर्कोतिर भएपछि सभापति किसुनजीले द्विविधाको अन्त्य गर्दै ‘केटाहरू जब्बर रहेकाले तलमाथि नगर्ने’ बताए । किसुनजीको कुरामा बीपी पनि सहमत भएपछि केसीलाई बोलाएर किसुनजीले भने, ‘बलबहादुर गो अहेड ।’

नाराबाजी गर्ने, बुरुकबुरुक उफ्रिने, प्रहरीसँग भिड्ने उमेरकालाई किसुनजीले किन त्यत्रो भर गरे भन्दै केसीले आफूले गहिरिएर सोचेको बताउँछन् । त्यसपछिको आफ्नो निष्कर्ष स्मरण गर्दै केसी भन्छन्, ‘जैसीदेवल काण्डमा जेल पर्दा म तीन वर्षसम्म किसुनजीसँग बस्न पाएको थिएँ । म उहाँकै स्कुलमा हुर्केको राजनीतिक विद्यार्थी हुँ । उहाँकै प्रोत्साहनले मैले जेलमा नै पढेर बीएसम्म पास गरेँ । मेरो गुरु पनि हो किसुनजी, त्यसैले मलाई विश्वास गर्नुभयो ।’ 

पञ्चायतविरुद्ध आन्दोलनमा होमिएकोे कांग्रेस अघि बढेपछि पञ्चायत र राजा नै झुक्ने लगभग निश्चितजस्तै थियो । त्यसै बेला आन्दोलनमा अनेरास्वविूय पाँचौ (तत्कालीन माले निकट) र क्रान्तिकारी नेकपा चौथो महाधिवेशन (मसाल) मिसिन खोजे । तर, केसीले मिसिन दिएनन् । ‘आन्दोलनको सुरुदेखि कैयौं दिनसम्म डिलमा बसेर रमिता हेर्ने ? जस लिने बेलामा अग्रपंक्तिमा उभिन खोज्ने अवसरवादीहरूलाई आन्दोलनमा ठाउँ छैन,’ केसीले उनीहरूलाई फर्काएको जवाफ सम्झन्छन् । त्यसपछि उनीहरू छुट्टै दुईथरी मिलेर केसीहरूको खिलाफमा संगठन गर्दै छिटपुट कार्यक्रम गरे ।

तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले स्ववतन्त्र विद्यार्थी युनियनको निर्वाचनलगायत विद्यार्थी आन्दोलनले राखेका सबै माग पूरा गर्ने प्रतिबद्धता जनाए । विद्यार्थीको नामबाट राजनीतिक उद्देश्य पूरा गर्न सुरु गरिएको आन्दोलनले राखेका माग पञ्चायती सरकारले पूरा गर्ने केसीले ठानेका थिएनन् । तर, वार्ता टोलीले शक्ति र सामथ्र्य देखेर माग सम्बोधन नगरे पञ्चायती व्यवस्था मात्र होइन, राजतन्त्र पनि तारो बन्ने निष्कर्ष निकाल्दै दरबारलाई जानकारी गराएको रहेछ । त्यसपछि सरकारले हत्तपत्त सम्झौता गरिहालेको केसी सम्झन्छन् । 

  • केसीमाथि कालोमोसोको त्यो अपमान

आफ्नो नेतृत्वमा नेविसंघले सफलता प्राप्त गरेपछि केसी हौसिएका थिए । त्यसपछि क्याम्पस क्याम्पसमा भाषण गर्दै उपलब्धिको जस लिने दौडाहामा लागे । दौडाहामै रहेको बेला कीर्तिपुरमा स्थानीयसमेत रहेको ठुलो जनसभालाई सम्बोधन गर्दै गर्दा केसीले भीडमा नियालेर हेर्दा माले, मसाल र मण्डले विद्यार्थीलाई देखे । त्यत्तिकैमा दक्षिणतिरबाट हुइकिएर कार्यक्रम स्थलतिर आएका ३/४ वटा ठूला बसबाट लाठी, खुकुरी, छुरा भिरेका केटाहरू ओर्लिए । एउटा हुल केसी भएकैतिर दौडँदै थियो । विद्यार्थीहरूमाथि अन्धाधुन्द आक्रमण भइरहेको थियो । त्यत्तिकैमा त्यो हुलले केसी र शरणविक्रमलाई घेरा हाली कुटपिट नगरीकनै बसमा हाल्यो । कैलाश कार्की भने भाग्न भ्याए । 

कीर्तिपुरबाट हुइकिएको बस ठमेल पुगेर रोकियो । केसी मल्ललाई अस्कल क्याम्पसमा ओरालेर केसीलाई पालेघरको छतमा चढाइयो । सामुन्नेमा टाउकै टाउका देखिन्थे । मल्ललाई पनि केसी भएकै ठाउँमा ल्याइयो । उनीहरूलाई ल्याउनुपूर्व साथीहरूलाई पनि सभा भनेर डाकिएको रहेछ । केसी र मल्ललाई ‘आन्दोलनकारी र सरकारबीच भएको सहमति धोका हो, हामी त्यो सहमति मान्दैनौं’ भन्ने नारा लगाउन भनिए पनि उनीहरूले त्यो मानेनन् । सामुन्नेमा कालोमोसो, जुत्ताका चाङ र थोत्रा बोरा राखिएको थियो । त्यो देखेर मल्ल अलिकति हच्किए ।

केसी अघि सरेर भाषण गर्दै उनीहरूले दिएको निर्देशन विपरीत, ‘हामीले जे गरेका छौं, ठीक गरेका छौं । विद्यार्थी हकहित विपरीत गरेका छैनौं’ भने । त्यत्तिकैमा पूर्व तयारी बमोजिम ‘धोकेबाज’ भनेर केसीमाथि जाइलागिहाले । केसी र मल्लविरुद्ध नाराबाजी सुरु भयो । उनीहरूको अनुहारभरि कालो मोसो दलियो । थोत्रा जुत्ताको माला लगाएर बोरा ओडाइ क्याम्पस बाहिर ठिक्क पारेर राखिएको सिमेन्ट बोक्ने तीनचक्के ठेलामा राखियो । त्यसपछि सोह्रखुट्टेतिर हुँदै सरस्वती क्याम्पस नजिकको चोकबाट ठमेलतिर छिराए । पछाडि हिडिरहेको भीडले धोकेबाज र सम्झौतावादी भन्दै नाराबाजी गरिरहे । ठेला इन्द्रचोक हुँदै पिपलबोट पुग्यो । पिपलबोटमा एकजना साथी शिवमधुकर पोखरेलले केसीलाई झम्टिएर जुत्ताको माला थुतेर हुर्याइदिए । तर, अनुहारमा कालोमोसो र शरीरमा बोराको लुगा छँदै थियो ।

कीर्तिपुर, अस्कल, ठमेल, इन्द्रचोक हुँदै पिपलबोटसम्म ताण्डव मच्चिँदासम्म पनि प्रहरी प्रशासन मौन भएर बसेको थियो । न्यूरोड गेटनेरको दोबाटोमा पुग्दा प्रहरी लाम लागेर बसेका थिए । बुझ्दा गोरखापत्र र आरएनएसीमा आगो लागिसकेकाले उनीहरूलाई तारो बनाइरहेका आन्दोलनकारीलाई रोक्न प्रहरी परिचालन भएको रहेछ । १२ बजे कीर्तिपुरको यो अराजक भीडको कब्जामा परेका केसी र मल्ललाई ५ बजे प्रहरीले उद्धार गरी रत्नपार्कस्थित अञ्चलाधीश कार्यालयमा लगेर २/३ घन्टामा छाडियो । त्यसदिन मल्ल र केसी केसीकै डेरामा सुते । 

  • आन्दोलन बन्यो जनमत संग्रहको आधारशिला

त्यसको भोलिपल्ट राजा वीरेन्द्रले पञ्चहरूलाई समेत जिल पारेर अप्रत्याशित रूपमा जनमत संग्रहको घोषणा गरिदिए । ‘सुधारिएको पञ्चायत कि बहुदलीय प्रजातन्त्र’ भन्ने विषयमा जनमत संग्रह हुने भयो । बीपीले राजाको त्यो कदमको तत्कालै स्वागत गरे तर राजाले बीपीसँगको छलफलपछि जनमत संग्रह घोषणा गरेका हुन् या आफैं, त्यो भने केसीले जानकारी पाएनन् । मेलमिलाप नीतिअनुसार पनि जनमत संग्रह मेल खाने प्रक्रिया जस्तो देखिएकाले बीपीले सबभन्दा पहिला स्वीकारेका हुन् कि भन्ने केसी अनुमान लगाउछन् । जनमत संग्रहको चुनावले देशभरि राजनीतिक गतिविधि तीव्र भई कांग्रेसको संगठन विस्तार हुने भएकाले पनि बीपी सहमत भए की भन्ने अड्कल केसीको थियो । 

जनमत संग्रहको घोषणा भएपछि बीपीले केसीहरूसँगको भेटमा भनेका थिए, ‘दरबारभित्र कम्युनिस्टहरू छिरेका छन्, सजिलै मेलमिलाप सफल हुन दिँदैनन्, राजा र कम्युनिस्टको गठबन्धन तोड्न पनि जनमतसंग्रह उपयोग गर्नुपर्छ ।’

२०३६ सालले केसीलाई ‘हिरो’ बनाएपछि नेतात्रयबाहेक अरूलाई केसीले खासै गन्दैनथे । ‘दोस्रो पुस्ताका विपीन कोइराला, शिवबहादुर बस्नेत, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्लेहरू भन्दा पार्टीमा मेरै जगजगी थियो,’ केसी सम्झिन्छन् । त्यही आन्दोलनमा केसीको ‘पर्फमेन्स’ देखेर कांग्रेसले नेविसंघको कार्यवाहक सभापति बनाइदियो । तीनै जना नेताले केसीलाई ‘प्रोजेक्सन’ गर्न थाले । त्यसपछि बहुदलको पक्षमा भोट माग्न केसी बीपीसँग दर्जनौं सभाहरूमा पुगे । 

जिल्लामा पनि बहुदलको पक्षमा लहर ल्याइयो । तर, प्रहरी, प्रशासन, सेनाको शक्ति मात्र होइन पञ्चायतले पैसाको खोलो बगाएपछि परिणाम चित्तबुझ्दो आएन । सरकारले ब्यालेट बक्स फुटाएर मतपत्र नै परिवर्तन गरेको सूचना आयो । जनमत संग्रह घोषणा भएपछि यही घोटाला गर्ने वचनबद्धतासाथ सूर्यबहादुर थापा प्रधानमन्त्री भएकाले त्यो हुनु स्वाभाविक थियो । निर्वाचन आयोगले घोषणा गरेको परिणाम अनुसार बहुदलको पक्षमा २० लाख र निर्दलको पक्षमा २४ लाख मत खसेको रहेछ ।

केसी भन्छन्, ‘त्यही जनमत संग्रहले हो २०४६ सालको आन्दोलनको बीजारोपण गरेको ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप