बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खानपान

बदलिएका गाउँघर: दसैँमा मोही होइन, कोल्ड ड्रिङ्क

शुक्रबार, १७ असोज २०८२, १८ : ००
शुक्रबार, १७ असोज २०८२

सारांश

  • अस्ट्रेलियाबाट फर्केका विराजले मामाघरमा पुरानो स्वादको साटो चिसो पेय पदार्थ पाए, जसले उनलाई दुःखित बनायो।
  • गाउँघरमा रैथाने खाजाको सट्टा चाउचाउ, चिप्स र चिसो पेय पदार्थको चलन बढ्दै गएको छ, जसले पुरानो संस्कृतिलाई विस्थापित गर्दैछ।
  • जनसंख्या पलायन, आधुनिकता, क्रयशक्ति, बजारको पहुँच, विज्ञापन र कृषि प्रणालीमा आएको परिवर्तनले रैथाने परिकार घट्दै गएका छन्।

काठमाडौँ । अस्ट्रेलियामा तीन वर्ष बिताएर दसैँ मनाउन नेपाल फर्केका विराज लामिछानेको मनमा एउटा फरक उत्साह थियो । धादिङको मलेखु नजिकैको मामाघर जान पाउँदा उनलाई पुराना दिनको सम्झना ताजा हुन्थ्यो । बाल्यकालमा दसैँमा मामाघर जाँदा घरका गोठमा ३–४ वटा दुहुना गाईभैँसी हुन्थे, घरभरि दुध, दही, मोही र घिउको सुगन्धले मगमगाउँथ्यो । 

बिहान–बेलुका खाजाका रूपमा दही–चिउरा, मोही–मकै र साँझपख बेलाबेलामा घरमै पाकेको रोटी वा पुवा पाइन्थ्यो। मामाघरमा पुग्नेबित्तिकै माइजूले तातो दुध वा चिसो मोही दिएर स्वागत गर्थिन्। यसपटक पनि विराजले त्यस्तै स्वागत र रैथाने स्वादको अपेक्षा गरेका थिए ।

coca cola

तरउनको अपेक्षा विपरीतमामाघर पुग्नेबित्तिकै माइजूले फ्रिजबाट एउटा चिसो कोकको बोतल निकाल्दै भनिन्, ‘ल बाबु, यो चिसो खाऊ । हिँडेर आयौ, थकाइ लाग्यो होला ।’ विराजले लामो सास फेरे । उनलाई मनमनै लाग्यो,’ म त गाउँमा दही–मोही खोज्न आएको, यो त बजारमा जताततै पाइने चिज पो हो ।’ उनले गाउँमा दही–मोहीभन्दा धेरै चिसो पेय पदार्थ र तयारी खाजा पाउँदा अचम्म मान्नुभन्दा बढी दुःखी भए । 

उनको मामाघर मात्र होइन, पूरै मलेखु बजार र आसपासका गाउँहरूमा पनि दुधका परिकार डेरीमा मात्रै पाइने अवस्था आएको उनले महसुस गरे ।

‘पहिले पहिले मामाघर जाँदा गोठभरि गाईवस्तु हुन्थे, दुधको कमी हुँदैनथ्यो । दुध, दही, मोही त टन्न खाइन्थ्यो। तर अहिले मामाघरमा मामा र माइजू मात्रै हुनुहुन्छ । मामाका छोराछोरी सबै बजारमा बस्छन्। घरमा कोही नहुँदा गाईभैँसी पाल्न छोडेछन्,’ विराज सुनाउँछन् । 

यो कथा विराजको मात्र होइन, नेपालका हरेक ग्रामीण क्षेत्रमा तीव्र गतिमा यसरी खानपान संस्कृतिमा तीव्र परिवर्तन आइरहेको छ । 

  • गाउँको जीवनशैली नै बन्दै ‘जंक फुड’

मकवानपुरको कैलाश गाउँपालिका-९ का ७५ वर्षीय रामप्रसाद रेग्मी विगत सम्झँदै भन्छन्, ‘गाउँघरमा पहिले पहिले बिहान बेलुकाको खाजा भनेको रोटी, पुवा, मकै, भटमास, दही, मोही नै हुन्थ्यो। खेतमा काम गर्दा खाजाका रूपमा दही–चिउरा, गुन्द्रुक–ढिँडो वा रोटी खाने चलन थियो । चाडपर्वमा त झन् घरमै बनाएका सेलरोटी, फिनी रोटी, कुटेको चिउरा र मासुका परिकारले घरघरमा छुट्टै रौनक ल्याउँथ्यो । तर अहिले ती सबै कुरा इतिहास भइसकेजस्तो लाग्छ । अहिले त गाउँघरमा चाउचाउ, चाउमिन, बिस्कुट, चिप्स र विभिन्न प्रकारका चिसो पेय पदार्थहरू चलनमा छन् ।’

दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा त गाउँमा कार्टुनका कार्टुन चिसो पेय पदार्थ, चाउचाउ र तयारी बिस्कुट जाने गरेको स्थानीय व्यापारीहरू बताउँछन् । 

पृथ्वी राजमार्गमा दुई दशकदेखि किराना पसल चलाइरहेका चितवन भरतपुरका भरत गुरुङ भन्छन्, ‘पहिले पहिले सबैभन्दा धेरै बिक्री हुने भनेको चिउरा थियो। दसैँ र असारमा चिउराको गोदाम नै रित्तिन्थ्यो ।  मासुसँग चिउरा खाने चलन व्यापक थियो । तर अहिले धेरै जाने भनेको चिसो पेय पदार्थ, चाउचाउ र बिस्कुट हो । दसैँमा त एउटै परिवारलाई दुई कार्टुनसम्म चिसो बेचेको छु ।’ 

उनी अगाडि भन्छन्, ‘पहिले पहिले रक्सी भन्नाले घरमै बनाएको तीनपाने हुन्थ्यो, अहिले त विदेशी ब्रान्डका बियर, भोड्का, ह्विस्कीहरूले बजार पिटेका छन् ।’ 

उनका अनुसार अहिले गाउँघरमा पाउने बित्तिकै चिसो खुवाउने चलन बढेकाले पनि बियर र चिसो पेय पदार्थ धेरै जान्छ । ‘चिउरा त धेरै लगे १० किलो हो । धेरैजसो मानिसहरू बजारका डेरीबाट दही किनेर खान्छन्। घरमा पशुपालन गर्ने मानिसहरू घटेका छन्,’ गुरुङ भन्छन् ।

बाराको निजगढ नगरपालिकाका स्थानीय व्यापारी, सुशान्त थापाको पसलबाट यो दसैँमा सबैभन्दा धेरै बिकेको बियर र चिसो पेय पदार्थ नै हो । ‘गाउँघरमा अहिले चामल धेरैजसो डिलरबाट बोराका बोरा ल्याउँछन्। तर चिउराको खपत भने घटेको छ,’ उनी भन्छन्, ‘गाउँलेहरू पहिले जस्तो अब घरमा पाहुना आउँदा दही, मोही वा घरकै दुध दिँदैनन्, बरु फ्रिजमा राखेको चिसो बोतल निकालेर दिन्छन् । यो एउटा स्टेटस सिम्बोल भन्छन् । 

Kurkure

  • रैथाने परिकारको विस्थापनको कारण

गाउँका साना बजारमा सबैभन्दा धेरै बिक्री हुने पदार्थमा चिसो पेय पदार्थ, तयारी चाउचाउ, चिप्स, कुरकुरे जस्ता खानेकुरा नै हुन् । असारको रोपाइँमा होस् वा मङ्सिरको धान भित्र्याउने अवसरमा, अहिले गाउँदेखि सहरसम्म रैथाने खाजा हराउँदै गएको छ। पहिले पहिले दसैँ लगायत ठुला चाडपर्वमा रैथाने खानेकुराहरू चिउरा मासु, दही मोही, सेलरोटी, फिनी, खिर, गुन्द्रुक–ढिँडो जस्ता हुने गर्थ्यो । तर अहिले चाउचाउ, चिप्स, डिउ कोक, पेप्सी जस्ता जंक फुडहरू र विदेशी ब्रान्डका रक्सीहरू चलनमा आएका छन्।

रैथाने परिकारहरु विस्थापित हुँदै जानुका कारणहरुलाई यसरी केलाउन सकिन्छ । 

जनसंख्या पलायन र श्रमशक्तिको अभाव: गाउँबाट युवाहरू रोजगारीका लागि विदेश पलायन हुने क्रम तीव्र छ । नेपालमै रहेकाहरू पनि सहरबजारतिरै बसाइँ सर्ने गरेका छन् । यसले गाउँमा कृषि र पशुपालनका लागि श्रमशक्तिको अभाव सिर्जना भएको छ । घरमा वृद्धवृद्धा र बालबालिका मात्र हुँदा गाईभैँसी पाल्न र खेतीपाती गर्न मुस्किल छ। परिणाम स्वरूप, गाईभैँसी पाल्न छाडेपछि दुध, दही, मोहीको उत्पादन स्वतः घटेको छ ।

आधुनिकता र सुविधाको खोजी: ग्रामीण क्षेत्रमा पनि आधुनिकताको लहर पुगेको छ । मानिसहरू कम मेहनतमा छिटोछरितो काम गर्न रुचाउँछन् । दही जमाउन र मोही पार्न समय लाग्ने तर बजारमा तयार चिसो पेय पदार्थहरू तत्काल उपलब्ध हुने भएकाले मानिसहरूले सजिलो विकल्प रोज्न थालेका छन् । तयारी खाजाहरू पनि तत्काल खान मिल्ने र बोक्न सजिलो हुने भएकाले तिनको लोकप्रियता बढेको छ ।

बढ्दो क्रयशक्ति र रेमिट्यान्स : विदेशबाट आउने रेमिट्यान्सले ग्रामीण क्षेत्रका मानिसहरूको क्रयशक्ति बढाएको छ ।  पैसा भएपछि मानिसहरू नयाँ र महँगा वस्तु उपभोग गर्न चाहन्छन् । चिसो पेय पदार्थ र जंक फुडलाई धनी र आधुनिक मानिसहरूको उपभोग्य वस्तुको रूपमा हेर्ने प्रवृत्ति पनि एक कारण हो । 

बजारको पहुँच बढ्नु :सडक सञ्जालको विस्तारले ग्रामीण क्षेत्रमा पनि सहरबजारका वस्तुहरू सजिलै पुग्न थालेका छन् । किराना पसलहरूमा पहिले पाउन नसकिने विदेशी ब्रान्डका सामानहरू अब गाउँगाउँमा उपलब्ध छन् । यसले स्थानीय उत्पादनलाई विस्थापित गर्न मद्दत गरेको छ ।

मिडिया र विज्ञापनको प्रभाव: टेलिभिजन, इन्टरनेट र सामाजिक सञ्जालमा देखाइने चिसो पेय पदार्थ र जंक फुडका आकर्षक विज्ञापनहरूले ग्रामीण युवा र बालबालिकालाई निकै प्रभावित पारेका छन्। उनीहरूले ती वस्तुहरूलाई ‘कूल’ र ’आधुनिक’ मान्न थालेका छन् ।

कृषि प्रणालीमा परिवर्तन: नगदे बालीमा जोड दिने प्रवृत्ति र रासायनिक मलको प्रयोगले परम्परागत खेती प्रणालीमा असर पुर्‍याएको छ। यसले रैथाने बाली र खाद्यान्नको उत्पादनमा कमी ल्याएको छ।

  • स्वास्थ्यमा गम्भीर असर

रैथाने खानेकुराको ठाउँमा चिसो पेय पदार्थ र जंक फुडको बढ्दो प्रयोगले नेपालीहरूको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पारेको छ । पोषणविद् डा. अमिता शर्मा यस प्रवृत्तिलाई ‘समय बम’ को संज्ञा दिन्छिन् । ‘दही, मोही, चिउरा, मकै, भटमास जस्ता रैथाने परिकारहरूमा प्राकृतिक पौष्टिक तत्त्वहरू प्रोटिन, फाइबर र स्वस्थ कार्बोहाइड्रेट भरिपूर्ण हुन्छन्। यिनीहरूले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्छन् र रोग प्रतिरोधात्मक क्षमता बढाउँछन्,’ डा. शर्मा भन्छिन् ।

तर चिसो पेय पदार्थमा अत्यधिक मात्रामा चिनी र कृत्रिम रसायन हुन्छन् । यी पेय पदार्थ नियमित सेवन गर्दा मधुमेह, मोटोपन, दाँतको समस्या र मुटु रोगको जोखिम बढ्छ । त्यस्तै, चाउचाउ, चिप्स जस्ता जंक फुडहरूमा उच्च मात्रामा नुन, अस्वस्थ बोसो र कृत्रिम स्वादहरू हुन्छन् । यिनले उच्च रक्तचाप, कोलेस्टेरोल वृद्धि र पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छन् ।

सांस्कृतिक पहिचानको ह्रास: खानेकुराले कुनै पनि समाजको पहिचान बोकेको हुन्छ । दही, मोही, चिउरा, सेलरोटीजस्ता परिकारहरू नेपाली चाडपर्व, संस्कार र सामाजिक जमघटको अभिन्न अङ्ग हुन् । यी परिकारहरू घरमै बनाउने, एकअर्कालाई बाँडेर खाने र पाहुनालाई खुवाउने चलनले सामाजिक सद्भाव र पारिवारिक सम्बन्धलाई बलियो बनाउँथ्यो। जब यी परिकारहरू विस्थापित हुन्छन्, यसले हाम्रो सांस्कृतिक परम्परा र जीवनशैलीलाई नै कमजोर बनाउँछ।

समाजशास्त्री  रमेश खनाल भन्छन्, ‘रैथाने खानेकुराहरू हाम्रो पुर्खाको ज्ञान, अनुभव र जीवनशैलीको प्रतिफल हुन्। यिनले हामीलाई हाम्रो माटो, प्रकृति र संस्कृतिसँग जोड्छन् । जब हामी विदेशी र तयारी खानेकुरामा निर्भर हुन्छौं, तब हामी आफ्नो सांस्कृतिक जराबाट टाढिँदै जान्छौँ । चाडपर्वहरूमा पनि जंक फुड र चिसो पेय पदार्थको प्रयोगले परम्परागत रौनक र मौलिकता गुमाउँदै गएको छ ।’

रैथाने खानेकुराको उत्पादन र उपभोग घट्दा ग्रामीण अर्थतन्त्रमा पनि नकारात्मक असर परेको छ । गाईभैंसी पाल्ने किसानहरूले दूध, दही, मोही बेचेर आयआर्जन गर्थे । स्थानीय स्तरमा उत्पादन हुने मकै, भटमास, गहुँबाट विभिन्न खाजा परिकार बनाइन्थ्यो। यसले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्थ्यो र पैसा गाउँभित्रै घुम्थ्यो ।

तर अहिले विदेशी ब्रान्डका चिसो पेय पदार्थ र जंक फुड खरिद गर्दा पैसा देशबाहिर जान्छ । रैथाने खानको संस्कार देशभर घटिरहेका समस्या केवल खानपानको परिवर्तन मात्र होइन । यो नेपाली समाजको पहिचान, स्वास्थ्य र अर्थतन्त्रसँग जोडिएको गम्भीर चुनौती हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप