बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपालको हिल्सा हुँदै छिटो र सस्तोमा कैलाश मानसरोवर तीर्थयात्रा

शुक्रबार, १७ असोज २०८२, १३ : ४३
शुक्रबार, १७ असोज २०८२

पूर्वीय सनातन सभ्यतामा कैलाश पर्वत एवं मानसरोवरलाई भगवान् श्रीमहादेव तथा पार्वतीको निवासस्थानका रूपमा मानिन्छ । त्यसैले यो स्थान अति पवित्रस्थल मानिन्छ । हिन्दु मात्र नभई बौद्ध, जैन, सिख, बेन, किराँत र मुष्लिम धर्मको सुफी समूहले पनि यसलाई पवित्रस्थल मादन्छन् ।

यो स्थल प्राकृतिक रूपमा शिवलिङ्गकै आकारमा रहेको छ । मानसरोवरको नजिकै रहेको राक्षस दहको जल भित्र–भित्रै मिसिएको छ भनिन्छ । यी दहको उत्तरबाट सिन्धुनदी, पश्चिमबाट झेलमनदी, पूर्वबाट ब्रह्मपुत्रनदी र दक्षिणबाट कर्णाली तथा महाकाली नदीहरू प्रवाहित भएका छन् भन्ने पनि पाइन्छ । यसले अर्थले यी नदीहरू पवित्र मानिन्छन् । यस सम्बन्धमा स्कन्दपुराणमाः‘आकाश लिङ्गमित्याहु पृथिवी तस्य पीठिका । आलयः सर्वदेवानां लयनालिङ्गमुच्यते ।। यसको अर्थ आकाशलाई लिङ्ग र पृथ्वीलाई त्यसको पिठिका बताइएको छ । यही शिवलिङ्ग नै समस्त देवताहरूको आलय हो, यसमा नै सबै लय हुन्छन्, यसैले यही आकाश र पृथिवीको समग्ररूपलाई लिङ्ग भनिएको हो’  भनिएको पाइन्छ ।

यसको वरिपरि शिवका १४ पार्षदका रूपमा १४ वटा साना हिमाल पनि रहेका छन् । कैलाश पर्वत हालसम्म कसैले पनि चढ्न सकेका छैनन् भनिन्छ । हाल यो पर्वत चढ्न चीन सरकारले प्रतिबन्ध नै लगाइएको छ रे ! कैलाश पर्वत घुम्ने तीर्थयात्रीले त्यहाँ ॐ ध्वनि गुञ्जिँदो रहेछ भनेको सुनियो । त्यसैगरी हरेकदिन ब्रह्ममुहूर्तमा शिव पार्वती कैलाशबाट मानसरोवर स्नान गर्नुहुन्छ भन्ने मान्यता पाइन्छ । केही तीर्थयात्रीले सोही मुहूर्तमा एउटा प्रकाशपुञ्ज कैलाशबाट मानसरोवर आएको र गएको देखियो भनेको पनि सुनियो । कसैले मध्यरातमा मानसरोवरमा बत्ती बलेको देखियो पनि भने । त्यसर्थ आफ्नो पवित्र तीर्थस्थलमा गएर दर्शन गर्ने वा आफ्नो भाव चढाउने इच्छा सबैमा हुन्छ नै । यसैले परापूर्वकालदेखि यो तीर्थस्थल  तीर्थयात्रीहरूको  प्राथमिकतामा परेको पाइन्छ । 

सो स्थान हिमालयको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्दछ । त्यसैले यात्रागर्न चीन सरकारको भिसा चाहिन्छ । यो स्थल जेठ–भाद्रसम्ममात्र खुला रहन्छ । नेपाल तर्फबाट हिमालपारि जाने तीर्थयात्रीलाई यहाँको आवागमन पनि कठिनाइ छ । यसरी त्यहाँ चार महिनामात्र खुल्ने, भिसा चाहिने, दुर्गमस्थानको अवस्थिति, आवागमनको कठिनाइ आदि चुनौतीका रूपमा छन् । उल्लेखित चुनौतीमध्ये भिसाका बारेमा चीन सरकारमा अनुरोध गर्न सकिन्छ । यातायात नेपालतर्फबाट सहज बनाउन सकिएला । तर दुर्गम र हिमाच्छादिता प्रकृतिको कुरा हो । 

हाल सो स्थानमा जान–आउन ३ वटा बाटा छन् । यसमा पहिलो काठमाडौँ–ल्हासा हवाईमार्ग हुँदै कैलाश जाँदा १० दिन र २ लाख लाग्दछ । यो मार्ग धेरै महँगो हुनाले हाल प्रयोगमा छैन । दोश्रोमा काठमाडौँ–रसुवागढी अनि चीनतर्फको केरुङ–साँगा हुँदै कैलाश पुग्ने ६०० किलोमिटर बाटो हो । यो बाटोबाट यात्रा गर्दा १० दिन र १ लाख ५० हजार भन्दा बढी खर्च लाग्छ । हाल यो मार्ग चालु छ । तेश्रोमा हुम्लाको हिल्सा हुँदै कैलाश–मानसरोवर जाने हो । चीन तर्फबाट जानेभन्दा यो मागबाट कम समय र खर्च लाग्ने देखिन्छ । यो लेखमा यही विषयलाई विश्लेषणका साथ प्रमाणित गर्ने कोसिस गरिएको छ । 

हुम्लाका स्थानीयहरूले परम्परागत रूपमा हिल्सा–ताक्लाकोट जाने–आउने र सानोतिनो व्यापार गरिराखेको पाइन्छ । यसै सिलसिलामाा २०८० सालदेखि हुम्लाको सिमिकोट–हिल्सा पनि राष्ट्रिय राजमार्गमा जोडिएको छ । यसर्थ सुर्खेत–सिमकोट २९५ र सिमिकोट–हिल्सा ९५ किलोमिटर यातायात चल्न थालेको छ । चीनतर्फ हिल्साको सीमापारीबाट–ताक्लाकोट–मानसरोवर–कैलाशसम्म १३० किलोमिटर पहिलादेखि नै यातायात चलेको हो । यसर्थ अब यो बाटोबाट कैलाश मानसरोवर तीर्थयात्रा गर्न सहज हुने देखिन्छ । 

२०८० असोज ११ (सेप्टेम्बर २३, २०२३) मा नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बाट चीनको साताव्यापी सरकारी भ्रमण भएको थियो । सोही क्रममा चीनको स्वाशासित क्षेत्र तिब्बतको कैलाश मानोसरवरको पनि भ्रमण भएको थियो । सोही अवसरमा तत्कालीन प्रधानमन्त्रीबाट अब हिल्साको बाटो भएर कैलाश मानसरोवर तीर्थयात्रा सहज भएको मन्तव्य उल्लेख थियो । सो मन्तव्य तल दिइएको छ । 

'अब नेपालको हुम्ला जिल्लाको हिल्सा हुँदै हिन्दुहरूको पवित्र स्थल कैलाश पर्वत र मानसारोवर तीर्थयात्रा सहज बनाउने व्यवस्था मिलाएकाछौँ । यसकालागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको छ । साथै अब सिमकोटबाट कैलाश मानसरोवर ओहोर दोहोर गर्न नेपालतर्फ गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढइने छ ।'

यसबारे राष्ट्रियस्तरका समाचारमाध्यमले पनि लेखेका थिए । 

1

प्राकृतिक शिवलिङ्ग रूपमा कैलाश पर्वत र मानसरोवर (गुगलबाट लिएको)

१. काठमाडौँबाट ल्हासा र साँगा हुँदै 
२. काठमाडौँबाट रसुवागढी केरुङ साँगा हुँदै र 
३. काठमाण्डबाट सुर्खेत हुम्लाको हिल्सा हुँदै 

हिल्सा–मानसरोवर–कैलाश यात्रा समय र खर्चः

यात्रा समयः काठमाडौँ–सुर्खेत, सुर्खेतबाट हवाइमार्गबाट सिमिकोट हुँदै हिल्सासम्म जान–आउन ४ दिन । हिल्सा हुँदै कैलाश–मानसरोवारको तीर्थयात्रा (जान, आउन, घुम्न ३ दिन) गरी जम्मा ७ दिनमा हिल्साको बाटो भएर जान आउन सकिने देहिन्छ । सुर्खेतबाट सिमिकोट स्थल यातायात प्रयोग गरेमा केही दिन बढि लाग्न सक्छ तर खर्च भने कम लाग्नस क्छ ।  

यात्राखर्चः काठमाडौँबाट सुर्खेतसम्म स्थल मार्गबाट करिब ५ हजार, सुर्खेतबाट हवाइ जहाजबाट यात्रा गर्दा ने.रु.  १५ हजार, र हिल्साबाट मानसरोवर–कैलाश जान–आउन ७–१० हजार गरी जम्मा ३० हजार लाग्ने देखिन्छ । 

mansarobar

माथिको गुगल नक्शामा कैलाश–मानसरोवर आवागमनका तीन वटा मार्ग सरल रेखामा देखाइएको छ ।

भिसा खर्चः नेपाली तीर्थयात्राकालागि ७ दिनको २०–२५ अमेरिकी डलर (३५०० रुपैयाँ।) लाग्ने देखिन्छ ।
होटल खर्चः नेपाली तीर्थयात्रीहरू केवल २ वा ३ दिनमात्र तिब्बतको होटल वा गेष्टहाउसमा बस्दाको खर्च १५ वा २० हजार रुपैयाँले पुग्न सक्छ । 
खाना तथा फुट्कर खर्चः चीन तर्फको खानाखर्च होटल खर्चमै रहेको हुन्छ । नेपालतर्फको खाना खर्च करिब १० हजार ।

यसरी हेर्दा ल्हासा तर्फबाट करिब २ लाख र १० दिन । केरुङतर्फबाट १ लाख ५० हजार र १० दिन । नेपालको हुम्ला तर्फबाट जम्मा ७ दिन र भिसासहित जम्मा ६०–७० हजार रुपैयाँ भन्दा पनि कम खर्च लाग्ने देखिन्छ । 

यो बाटोबाट यात्रा व्यवसायीहरूले तीर्थयात्रा व्यवसाय संचालन गर्दा चीन सरकारबाट तीर्थयात्रीको यात्रा अनुमति र भिसा लिनुपर्छ । यसैगरी नेपालतर्फ स्थल तथा हवाई व्यवसायीहरूसँग पनि समन्वय गर्नुपर्ने देखिन्छ । नेपाल सरकारबाट प्रचार प्रसारको आवश्यकता देखिन्छ । यस कार्यले गर्दा विकासमा पछाडि परेको कर्णाली क्षेत्र र समग्रमा नेपालको विकासमा ठुलो टेवा पुग्न सक्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप