बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित

मङ्गलबार, ३० असार २०८३, २३ : १६
मङ्गलबार, ३० असार २०८३

गण्डकी । गण्डकी प्रदेशका ११ वटै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घाेषित भएका छन् । पछिल्लो पटक यही असार २५ गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ ।

केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताए। जन्मदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको उनको भनाइ छ ।

पहिलो पटक २०७५ सालमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेपछि बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको हो।

जन्मदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको खोप अधिकृत लम्सालले बताए।

कोही पनि बालबालिका खोप पाउनबाट वञ्चित हुनु नपरोस् भनेर हरेक वर्ष वैशाख महिनालाई खोप महिना घोषणा गरी ‘खोज र खोप’ अभियान सञ्चालन गर्ने गरिएको छ।

खोप कार्यक्रमलाई तीनै तहका सरकारले प्राथमिकता दिँदै आएका छन् । मातृ तथा नवशिशु मृत्युदर घटाउन पूर्ण खोप अभियानले सहयोग पुर्याइरहेको खोप अधिकृत लम्सालको भनाइ छ । प्रदेशका झण्डै २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप