शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय शिक्षक दिवस : शिक्षा, मानवता र विश्व चेतनाको पुनर्जागरण

आइतबार, १९ असोज २०८२, १५ : ३३
आइतबार, १९ असोज २०८२

हरेक वर्ष अक्टोबर ५ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाइन्छ । यो दिन कुनै साधारण औपचारिकता होइन, बरु मानव सभ्यताको गहिरो आत्मासँग सम्बन्धित उत्सव हो । शिक्षाका माध्यमबाट समाजलाई उज्यालो बनाउने र चेतनाको पुनर्जागरण गर्ने शिक्षकप्रति कृतज्ञता प्रकट गर्ने अवसर हो यो । शिक्षक मात्र पेसा होइन मानवीय मूल्य, विवेक र विचारको निर्माण गर्ने माध्यम पनि हो । आजको विश्व विविध राजनीतिक, आर्थिक र सांस्कृतिक सङ्कटबाट जुधिरहेको छ, तसर्थ शिक्षकहरूको भूमिका अझ गहिरो र विश्वव्यापी रूपमा अर्थपूर्ण बनेको छ । 

सन् १९९४ मा युनेस्को र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को संयुक्त पहलबाट अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाउन सुरु गरियो । यसको मूलमा सन् १९६६ मा स्वीकृत आईएलओ/युनेस्को सिफारिस छ, जसले शिक्षकहरूको अधिकार, पेसागत हैसियत, तलब, तालिम र सुरक्षाको अन्तर्राष्ट्रिय मानक तय गर्‍यो । यो दिवसले शिक्षकको योगदानको स्मरण मात्र गर्दैन; शिक्षाको गुणस्तर, न्याय र समान अवसर सुनिश्चित गर्ने साझा प्रतिबद्धतालाई समेत जगाउँछ । शिक्षकहरूको सम्मान भनेको समाजको नैतिक चेतनाको स्तर मापन गर्ने सूचक हो, जुन देशमा शिक्षकको सम्मान हुन्छ, त्यहाँ ज्ञान र विकासको जग बलियो हुन्छ । 

शिक्षक ज्ञानका मात्र वाहक होइनन्; उनीहरू मानवीय चेतनाका मूर्तिकार हुन् । उनीहरूले विद्यार्थीलाई केवल अक्षर सिकाउँदैनन्; बरु सोच्ने, प्रश्न गर्ने र विवेकपूर्ण निर्णय लिने क्षमता विकास गर्छन् । शिक्षकले विद्यार्थीलाई केवल पुस्तकमुखी होइन, जीवनमुखी दृष्टिकोण दिन्छन् । उनीहरू नै ती व्यक्ति हुन् जो एउटा बालकको अन्तर्मनमा सुप्त क्षमतालाई जगाउँछन् र उसको जीवनमा अर्थपूर्णता भर्छन् । यही कारणले शिक्षकलाई द्वितीय अभिभावक मात्र होइन, मानव निर्माणकर्ता पनि भनिन्छ । 

नेपालको सन्दर्भमा शिक्षकको भूमिका अझ संवेदनशील र गम्भीर छ । ग्रामीण र दुर्गम क्षेत्रका विद्यालयमा शिक्षकले सीमित स्रोत–साधनका बिच पनि शिक्षाको ज्योति बालिरहेका छन् । उनीहरू कहिलेकाहीँ शिक्षक मात्र होइन; समाजसेवी, स्वास्थ्य सल्लाहकार र समुदायका अगुवा पनि बन्छन् । यिनीहरूको जीवन चुनौतीले भरिएको छ; न्यून पारिश्रमिक, अस्थायी नियुक्ति, तालिमको अभाव र बढ्दो प्रशासनिक दबाबबिच पनि उनीहरूले शिक्षाको जिम्मेवारी पूरा गर्न छाडेका छैनन् । 

नेपालमा शिक्षा नीति धेरैजसो केन्द्रीकृत र औपचारिक संरचनामा सीमित छ । स्थानीय सन्दर्भ, भाषिक विविधता र सांस्कृतिक यथार्थलाई कम महत्त्व दिइँदा शिक्षाको सार कमजोर बनेको छ । शिक्षकलाई नीति निर्माणमा सहभागी नगराउँदा विद्यालयहरू प्रायः आदेश पालक संस्थाजस्ता बनेका छन् । यसले शिक्षणलाई आत्मनिर्भर र सिर्जनशील बन्न दिएको छैन । शिक्षकहरूको वास्तविक अनुभव, आवश्यकतालाई सुनेर मात्र शिक्षा सुधार सम्भव हुन्छ, तर नीति अझै पनि माथिबाट थोपारिएको सुधारजस्तो छ, जसले शिक्षकको स्वायत्ततालाई सीमित बनाएको छ । 

शिक्षकहरूको आर्थिक स्थिति पनि गम्भीर रूपमा विचार गर्नुपर्ने विषय हो । शिक्षण पेसा देशका धेरै भागमा आर्थिक रूपमा कमजोर पेसा बनेको छ । न्यून तलब र अस्थिर रोजगारीका कारण धेरै शिक्षक असन्तुष्ट र निराश छन् । त्यस्तै, राजनीतिक हस्तक्षेप र भागबन्डाले असल र क्षमतावान् शिक्षकको मनोबल ध्वस्त बनाउँदै गएको देखिन्छ । शिक्षा प्रणालीले शिक्षकको जीवन गुणस्तरलाई बेवास्ता गरेको छ । जसले गर्दा पेसामा दीर्घकालीन समर्पण घट्दै गएको छ । शिक्षाको गुणस्तर तब मात्रै सुधारिन्छ जब शिक्षक आत्मसम्मानपूर्वक, सुरक्षित र प्रेरित महसुस गर्छन् । 

अन्तर्राष्ट्रिय शिक्षक दिवसले शिक्षकको भूमिकालाई मानव विकासको मुटुका रूपमा पुनः परिभाषित गर्छ । शिक्षकविना कुनै पनि समाजले न्याय, समानता र शान्तिको आधार निर्माण गर्न सक्दैन । शिक्षकले विद्यार्थीलाई केवल ज्ञान होइन, मूल्य सिकाउँछन्— सत्य बोल्न, गलतको विरोध गर्न, सहिष्णु बन्न र सहअस्तित्वको अभ्यास गर्न ।

कोभिड–१९ महामारीले शिक्षकहरूको वास्तविकता विश्वव्यापी रूपमा उजागर गर्‍यो । विद्यालयहरू बन्द हुँदा शिक्षा ठप्प हुन सक्थ्यो, तर शिक्षकहरूको समर्पणले त्यो रोके । धेरै शिक्षकले आफ्नै खर्चमा अनलाइन सिकाइ सञ्चालन गरे, मोबाइल नेटवर्क प्रयोग गरे र प्रविधिको सीमित पहुँचबिच पनि विद्यार्थीलाई निरन्तर सिकाइमा जोडिरहे, तर यसबाट अर्को प्रश्न पनि उठ्छ— शिक्षकहरूले यो जिम्मेवारी किन आफ्नै काँधमा लिनुपर्‍यो ? किन राज्यले आवश्यक प्रविधि, तालिम र सहयोग प्रदान गर्न सकेन ? यो स्थिति शिक्षा प्रणालीको असमानता र संरचनात्मक कमजोरीको प्रमाण हो । 

आज शिक्षा केवल कक्षाकोठा र पाठ्यपुस्तकमा सीमित छैन । कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्रविधि र विश्वव्यापी सूचना पहुँचले शिक्षणको स्वरूप रूपान्तरण गरेको छ । यस सन्दर्भमा शिक्षकको भूमिका सूचना दिनेबाट सिकाइका सहयात्रीमा रूपान्तरण भएको छ । विद्यार्थीमा आलोचनात्मक सोच, सिर्जनात्मकता र सामाजिक जिम्मेवारी विकास गर्न शिक्षक स्वयंले पनि निरन्तर सिक्नुपर्छ, तर नेपालको शिक्षण प्रणाली अझै पनि परीक्षा केन्द्रित र पाठ्यपुस्तक निर्भर छ । शिक्षकहरूलाई नियम पालन गर्ने कर्मचारीका रूपमा हेर्ने परिपाटीले नवप्रवर्तन र स्वतन्त्र सोचको संस्कृतिलाई रोकिरहेको छ । 

अन्तर्राष्ट्रिय शिक्षक दिवसले शिक्षकको भूमिकालाई मानव विकासको मुटुका रूपमा पुनः परिभाषित गर्छ । शिक्षकविना कुनै पनि समाजले न्याय, समानता र शान्तिको आधार निर्माण गर्न सक्दैन । शिक्षकले विद्यार्थीलाई केवल ज्ञान होइन, मूल्य सिकाउँछन्— सत्य बोल्न, गलतको विरोध गर्न, सहिष्णु बन्न र सहअस्तित्वको अभ्यास गर्न । उनीहरू नै ती व्यक्ति हुन् जसले भविष्यका नागरिकमा विवेक, करुणा र आलोचनात्मक चेतनाको बिउ रोप्छन् । 

शिक्षकहरू विश्व शान्ति र मानवताका संवाहक पनि हुन् । जब शिक्षकले विद्यार्थीलाई विविधतामा एकता, सहिष्णुता र परस्पर सम्मानको मूल्य सिकाउँछन्, तब त्यसको प्रभाव विद्यालयको पर्खाल नाघेर समाजसम्म पुग्छ । शिक्षकले वर्गको सीमाबाट राष्ट्र र मानवताको साझा चेतनासम्मको यात्रा तय गर्न सहयोग गर्छन् । यही कारणले शिक्षा मानवताको साझा सम्पत्ति हो र शिक्षक त्यस सम्पत्तिका संरक्षक हुन् । 

विडम्बना यो छ कि शिक्षकलाई विश्वका धेरै ठाउँमा अझै पनि सम्मानभन्दा बढी जिम्मेवारी थोपरिएको छ । उनीहरूलाई राजनीतिक हस्तक्षेप, प्रशासनिक बोझ र सामाजिक बेवास्ताबिच पनि काम गर्न बाध्य पारिएको छ । झोले मानसिकता भएका राजनीतिक दल निकटका केही शिक्षकले शिक्षण र शिक्षकहरूकै बदनाम गरेका छन् । त्यसैले सम्पूर्ण राजनीतिक दल निकट शिक्षक तथा कर्मचारी सङ्घ सङ्गठनहरू खारेज गरी शिक्षण पेसा र शिक्षण क्षेत्रलाई मर्यादित र पवित्र बनाउनु अति आवश्यक भइसकेको छ । शिक्षकलाई केवल कर्तव्य पालनकर्ता होइन, नीति निर्माणमा सहभागी नागरिकका रूपमा मान्यता दिनु अत्यावश्यक छ । शिक्षकको आवाज सुन्ने प्रणाली विकास नभएसम्म शिक्षा सुधारको कुरा खोक्रो रहन्छ । 

शिक्षक सम्मान भनेको केवल पुरस्कार वितरण होइन; नीति, व्यवहार र जीवनस्तरमा समान रूपले परिवर्तन ल्याउने कुरा हो । शिक्षकले आत्मसम्मानसहित बाँच्न पाउने अवस्था सिर्जना गर्न सके मात्र उनीहरूले विद्यार्थीलाई पनि समान रूपले प्रेरित गर्न सक्छन् । आर्थिक सुरक्षा, पेसागत स्वायत्तता र निरन्तर व्यावसायिक विकासका अवसरहरू सुनिश्चित गर्नुपर्छ । शिक्षकलाई नीतिगत रूपमा सबल बनाउने कार्यक्रम कार्यान्वयन नगरी शिक्षा सुधारको नारा अर्थहीन हुन्छ । 

शिक्षकको सम्मान भनेको केवल व्यक्तिगत होइन, सामूहिक सामाजिक जिम्मेवारी हो । अभिभावक, समुदाय र मिडियाले शिक्षकको भूमिकालाई आदर र सहकार्यका साथ हेर्नुपर्छ । विद्यालय र समाजबिचको दूरी घटाउन शिक्षकलाई मध्यस्थको रूपमा सशक्त बनाइनुपर्छ । शिक्षकको प्रयास तब मात्र सफल हुन्छन् जब समाजले उनीहरूलाई विश्वास गर्छन् र उनीहरूको आवाजलाई सुन्छन् । 

शिक्षक मानव सभ्यताको मेरुदण्ड हुन् । उनीहरूको योगदान पुस्ताँै पुस्ता स्मरण रहन्छ । उनीहरूले समाजमा चेतनाको ज्योति बाल्छन्, माया र सहिष्णुताको संस्कार रोप्छन् र भावी पुस्तामा जिम्मेवारी र विवेकको चेतना जगाउँछन् । अन्तर्राष्ट्रिय शिक्षक दिवसले शिक्षाविना शान्ति सम्भव छैन, शिक्षकविना मानवता सम्भव छैन भन्ने सन्देश दिन्छ । 

शिक्षकलाई सम्मान गर्नु भनेको केवल उसको श्रमको मूल्य तिर्नु होइन, भविष्यका लागि लगानी गर्नु पनि हो । जब शिक्षक सुरक्षित, सशक्त र सम्मानित हुन्छन्, तब मात्र उनीहरूले समाजमा विवेक, माया र शान्तिको मूल्य प्रसार गर्न सक्छन् । शिक्षक नै ती अदृश्य शक्ति हुन्, जसले अज्ञान र ज्ञानबिचको पुल निर्माण गर्छन् । उनीहरूले भूत र भविष्यलाई जोड्छन् र विश्वलाई एउटै परिवारको रूपमा देख्न प्रेरित गर्छन् । 

त्यसैले अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाउनु भनेको केवल औपचारिकता होइन, मानव सभ्यताको आत्मा पुनः जगाउने प्रक्रिया हो । जब शिक्षकको सम्मान र शिक्षाको गुणस्तरमा समान लगानी हुन्छ, तब मात्रै विश्व शान्ति, सद्भाव र समृद्धिको सपना यथार्थमा परिणत हुन्छ । शिक्षकप्रति कृतज्ञता प्रकट गर्नु भनेको भविष्यका पुस्ताको सुनिश्चितता गर्नु हो । शिक्षक नै ज्ञानका दीप हुन्, जसको उज्यालोले अन्धकार मेटाउँछ र जसको चेतनाले मानवताको बाटो देखाउँछ । 
(साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर सिंह साउद
डम्मर सिंह साउद
लेखकबाट थप