बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

मनसुन प्रतिकार्य कमान्ड पोष्ट बैठक : ८ बुँदे निर्णय सार्वजनिक (निर्णयसहित)

आइतबार, १९ असोज २०८२, १७ : ३७
आइतबार, १९ असोज २०८२

सारांश

  • भारी वर्षाका कारण देशमा विपद् व्यवस्थापनबारे छलफल गर्न बैठक बस्यो।
  • बैठकले मृतकका परिवारलाई राहत र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गर्यो।
  • जोखिमयुक्त सडकमा रात्रिकालीन बस सेवा बन्द गर्न र अवरुद्ध सेवा सुचारु गर्न निर्देशन दिइयो।

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा उत्पन्न मनसुनजन्य विपद् र त्यसबाट प्रभावित जनजीवनबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमान्ड पोष्टको बैठक आइतबार सिंहदरबारमा बसेको छ। बैठकले राहत, उद्धार र पुनर्स्थापनासम्बन्धी आठ बुँदे निर्णय सार्वजनिक गरेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा असोज १७ गतेदेखि परेको अविरल वर्षाबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डअनुसार राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ।

त्यस्तै, मनसुनजन्य विपद् प्रभावितहरूका खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ। प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गर्न पनि बैठकले निर्णय गरेको छ।

विपद् प्रभावित व्यक्तिहरूको राहत, स्थानान्तरण तथा पुनर्स्थापना कार्य शीघ्र सम्पन्न गर्न स्थानीय तह र सरोकारवाला निकायलाई अनुरोध गरिएको छ। साथै, जोखिमयुक्त सडकहरूमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न र नगर्न दिन स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ।

अवरुद्ध सडकहरू तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सडक विभागलाई पत्राचार गर्ने, अत्यावश्यक सेवा तथा यात्रुवाहक सवारीसाधनहरूको आवागमन स्थानीय प्रशासनबिचको समन्वयमा सुचारु गर्न निर्देशन दिइएको छ।

त्यसैगरी, अवरुद्ध खानेपानी, विद्युत् र सञ्चार सेवाहरू पुनः सञ्चालन गर्न सम्बन्धित सेवा प्रदायक संस्थाहरूलाई आवश्यक कार्य तत्काल गर्न लेखी पठाइएको छ।

यसैबीच प्राधिकरणका कार्यकारी प्रमुख भट्टले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्ड बमोजिम तत्काल दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

त्यसैगरि घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय भएको उनले बताए । 

553411192_1905087496717227_2460235937880800672_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप