बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
ऊर्जा क्षेत्रमा संकट

जलविद्युत् आयोजना सधैँ बाढीपहिरोको मारमा, यो वर्ष पनि करोडौँको क्षति

इलामका १३ वटा हाइड्रोपावरका उत्पादन तत्काललाई बन्द
आइतबार, १९ असोज २०८२, १९ : २९
आइतबार, १९ असोज २०८२

सारांश

  • अविरल वर्षाका कारण बाढी र पहिरो आई देशैभरका राजमार्गहरूमा क्षति पुगेको छ र ४९ जनाको ज्यान गएको छ।
  • जलविद्युत् आयोजनाहरूमा पनि बाढीका कारण क्षति पुगेको छ, जसले गर्दा उत्पादन बन्द भएको छ र करोडौंको क्षति भएको छ।
  • विद्युत प्राधिकरणले बिजुली आपूर्ति सुचारु गर्न काम गरिरहेको छ, तर कतिपय स्थानमा अझै समस्या देखिएको छ।

काठमाडौँ । गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो बिर्साउने गरी यो वर्ष पनि शुक्रबारदेखि शनिबार बेलुकासम्म वर्षा भयो । 

निरन्तरको वर्षापछि आएको बाढी पहिरोका कारण देशैभरका राजमार्गहरू क्षतिग्रस्त भएका छन् भने ४९ जनाले ज्यान गुमाएका छन् । गत वर्षको यस्तै मौसमी विपद्का कारण दुई सयभन्दा बढीले ज्यान गुमाएका थिए । 

यसरी यो वर्ष पनि असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका खोला नदीमा आएको बाढीबाट सडक पूर्वाधारहरू क्षति ग्रस्त बनेका छन् । हरेक वर्षका बाढी पहिरोले सडक पूर्वाधार मात्रै नभएर जविद्युत् आयोजनाहरूमा समेत ठुलो क्षति हुने गरेको छ ।  

विगतजस्तै यो वर्ष पनि वर्षा सुरु भएसँगै रसुवागढीमा आएको बाढीले सबैभन्दा बढी क्षति जलविद्युत् आयोजनाहरूमा पारेको थियो । त्यस्तै शुक्रबार र शनिबार निरन्तर रूपमा परेको बाढी पहिरोका कारण जलविद्युत् आयोजनाहरूको भौतिक संरचनामा करोडौँको क्षति भएको प्रारम्भिक तथ्यांक आएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जलविद्युत् आयोजनाहरूमा पनि क्षति पुगेको जानकारी दिए । उनका अनुसार मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा १० करोड बराबर क्षति भएको छ । 

मन्त्री घिसिङका अनुसार सिँचाइ प्रणालीको बाँध क्षेत्रमा नदीमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, मूल नहर र शाखा नहरका गेट समयमै खोलिएकाले सिँचाइ प्रणालीमा भने धेरै क्षति हुन पाएन । तर सुनकोशीको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको निर्माणाधीन बाँधस्थल भने डुबानमा परेको उनले बताए । 

मन्त्री  घिसिङका अनुसार खराब मौसमका कारण पछिल्लो दुई दिनदेखि विभिन्न स्थानमा बिजुली जाने समस्या छ । ‘कुनै ठाउँमा पोल ढलेको छ, कुनै ठाउँमा तार चुटिएको छ । जसले गर्दा समस्या देखिएको हो । तर त्यो ठुलो समस्यो होइन । अहिले प्राधिकरणको टोलीले निरन्तर रूपमा विद्युत् अवरुद्ध हुन नदिन काम गरिरहेको छ,' उनले भने, 'विद्युत जाने अवस्था छैन र जाँदैन ।’ 

मन्त्री घिसिङले अहिले विद्युत् उत्पादन बढी र बिजुलीको खपत पनि कम रहेकाले अपुग भनेे नभएको बताए । खराब मौसम र बाढी पहिरोका कारण केही जलविद्युत् आयोजनामा समस्या हुँदा प्राविधिक समस्याका कारण बिजुली जाने समस्या देखिएको उनको भनाइ थियो । ‘समस्या देखिएका ठाउँमा समाधानका लागि काम पनि भइरहेको छ,' उनले भने, 'लामो समय उक्त समस्या रहँदैन ।’

ऊर्जा मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढी पहिरोले इलामका १३ वटा हाइड्रोपावरका उत्पादन तत्काललाई बन्द भएका छन् । ती आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प नै हुन पुगेको हो । जसअनुसार ४ दशमलव ५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला,जोगमाइखोला, तल्लो जोगमाई माइवेनीलगायत छन् । 

त्यस्तै पाँचथर इलाम र सिन्धुपाल्चोकका निर्माणाधीन हाइड्रोपावर पनि प्रभावित भएका छन् । निर्माणाधीन पाँच हाइड्रो पावरमध्ये चार वटाको उत्पादन डिले हुने मन्त्रालयले जनाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले पनि १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द भएको जनाएको छ । यस्तै निर्माणाधीन अवस्थाका ९३ मेगावाट क्षमताका ५ वटा आयोजना बाढीले क्षति पुर्‍याएको इप्पानको भनाइ छ । 

गत असार २३ गते मंगलबार बिहान चीनबाट आएको बाढीले नेपाल–चीन जोड्ने प्रमुख नाका रसुवागढीको मितेरी पुल बगाएको थियो । उक्त बाढीले पनि २५० मेगावाटका आयोजनाहरूको विद्युत् उत्पादन बन्द भएको थियो । 

बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्समा पूर्ण रूपमा क्षति भएको थियो ।  त्यस्तै उक्त बाढीकै कारण चिलिमे जलविद्युत् आयोजना, ⁠त्रिशुली–३ बी हब सबस्टेसनमा खोलाले धार परिवर्तन गरी सबस्टेसनभित्र छिरेको र हालसम्म १३२ केभीको बेलगायत संरचनामा क्षति पुगेको थियो । ⁠त्रिशुली–३ ए जलविद्युत् आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको थियो । 

त्रिशुली करिडोरको त्रिशुली–३ ए, देवीघाट, रसुवागढी, त्रिशुलीलगायत निजी क्षेत्रको अपर मैलुङ टाडी गरी लगभग २ सय ५० मेगावाट विद्युत् प्रणालीबाट बिच्छेद भएको थियो । उक्त बाढीले १११ मेगावाटको रसुवागढी, २१.१ मेगावाटको चिलिमे, ६० मेगावाटको त्रिशुली–३ ए, २१ मेगावाटको त्रिशुली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको प्राधिकरणले जनाएको थियो ।

क्षति हुनेमा निजी क्षेत्रका आयोजनाको १० मेगावाट विद्युत् उत्पादन बन्द भएका थिए । अन्य सबै सरकारी आयोजनाहरू थिए । 

प्राधिकरणको आयोजनामा छैन क्षति,आंशिक क्षतिमा ९५ प्रतिशत रिकभर 

वर्षाका कारण खोलामा पानीको सतह बढेपछि प्राधिकरणले शनिबार ३ वटा आयोजनाको उत्पादन बन्द गरेको थियो । खोलामा लेदो आएपछि त्रिशुली श्री ए, देवीघाट जलविद्युत् केन्द्र र सुनकोसी जलविद्युत् केन्द्रको पावर हाउस बन्द भए पनि सबै आयोजनाहरू सुचारु भएका कार्यकारी निर्देशक मनोज सिलवालले बताए । वर्षाले धेरै क्षेत्रमा आयोजना र प्रसारण लाइनमा समस्या आए पनि ९५ प्रतिशत क्षेत्रमा विद्युत् सुचारु भइसकेका उनले जानकारी दिए । 

'अन्य पनि आजसम्म सबै पुन रूपमा सुचारु गर्ने अवस्थामा छौँ, सबैभन्दा बढी तराई क्षेत्रमा विद्युत् प्रभावित भएको थियो,' सिलवालले भने, 'अहिले विरगञ्ज,सिमरा,रौतहट लगायतका क्षेत्रमा विद्युत् सुचारु गरिएको छ ।’

क्षति पुगेका आयोजना खोलामा पानीको सतह कम भएपछि सञ्चालन गरिने उनले बताए । ‘बाढीका कारण अहिलेसम्म हाम्रा कुनै पनि आयोजनामा क्षति पुगेको छैन, खोलामा पानीको सतह बढेको कारण बन्द गरिएका आयोजनामा पनि अहिलेसम्म कुनै क्षति भएको खबर छैन,' उनले भने, 'ती आयोजना जोखिम कम भएपछि सञ्चालनमा आउँछन् ।’ 

काठमाडौँ उपत्यकामा बिजुली आपूर्तिमा कुनै समस्या नरहेको बताएका उनले सिन्धुली,रामेछाप,दोलखालगायत क्षेत्रमा समस्या आए पनि समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए । 

सबैभन्दा बढी सिन्धुलीमा समस्या भए पनि अहिले निरन्तर रूपमा काम भइरहेको उनको भनाइ थियो । त्यस्तै ललितपुरको दक्षिणी क्षेत्रमा केही समस्या देखिएकाले त्यसलाई समाधान गर्ने काम भइरहेको उनले बतताए । 

जलविद्युत् आयोजनामा बर्सेनि क्षति

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा बाढीका कारण जलविद्युत् क्षेत्रले अर्बौँ नोक्सानी बेहोरिरहेको छ । नदी र खोलाभित्रै जलविद्युत् आयोजनाहरू हुने भएकाले उच्च जोखिममा रहने गर्छन् ।

असार २३ र असोज ११ र १२ गतेको जस्तै २०८० असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले जलविद्युत् आयोजनामा क्षति हुँदा ८ अर्ब ८४ करोडभन्दा बढी नोक्सानी भएको थियो । 

बाढीपहिराबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठुलो मारमा पर्नुको साथै अर्बौं लगानी जोखिममा परेको थियो ।

त्यो वेलामा २५ मेगावाटको ‘काबेली बी’ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको थियो । २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत् आयोजनामा एक अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । 

त्यस्तै ४.७ मेगावाटको अपर पिलुवा–२ जलविद्युत् आयोजनामा ९० करोड, १४.९ मेगावाट क्षमताको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनामा ९५ करोड,  हेवा खोला जलविद्युत् आयोजनामा ८० करोड, ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत् आयोजनामा ५० करोड ,९.७ मेगावाटको इङ्ग्वा खोलामा पनि ५० करोड बराबरको क्षति भएको थियो । 

त्योभन्दा पहिला २०७८ असारमा पनि बाढीका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा १० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो । उक्त वर्ष बाढीले सबैभन्दा बढी मादी करिडोर र दोर्दी करिडोरका जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । 

त्यस्तै, गत वर्षको असोजमा आएको बाढीले विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । 

इप्पानले सार्वजनिक गरेको विवरण अनुसार मान्डु हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, तल्लो हेवाखोला जलविद्युत आयोजना, सोलु दुधकोशी जलविद्युत् आयोजना, माइखोला जलविद्युत् आयोजना, सुपरन्यादी जलविद्युत् आयोजना लगायतमा आयोजनामा क्षति भएको थियो ।

त्यस्तै, माथिल्लो तामाकोशीमा पनि ठुलो क्षति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप