वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
सारांश
- काठमाडौँ उपत्यकामा वर्षा रोकिएपछि जनजीवन सामान्य बन्दै गएको छ।
- लगातारको वर्षाले सडक र यातायात प्रभावित बनेकोमा, आइतबारदेखि मौसममा सुधार आएको छ ।
- उपत्यकाका बजार क्षेत्रमा मानिसहरूको भीड बढेको छ भने उपभोग्य सामग्री किनमेल गर्नेको संख्यामा वृद्धि भएको छ।
काठमाडौँ । केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।
अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ । उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौँका सडकमा गाडीको चाप बढेको छ भने सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ ।
शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौँको सडक नेटवर्क प्रभावित भए पनि हाल काठमाडौँका सबै प्रमुख सडक सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, ‘शुक्रबारदेखि परेको वर्षाका कारण यहाँको जनजीवन केही असामान्य बनेको थियो, आइतबारदेखि मौसममा सुधार आएको छ, सडकमा गाडीको चाप पनि सामान्य अवस्थामा फर्किएको देखिन्छ ।’
काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने नाकासहित नागढुङ्गा, अरनिको राजमार्ग, टोखा सडक खण्डलगायतका मार्ग नियमित सञ्चालन भइसकेका तथा पहिरोको अवरोधका कारण रोकिएका केही सवारीसाधन आवागमन पनि अहिले सञ्चालनमा आइसकेका प्रवक्ता सुवेदीले बताए ।
वर्षा रोकिएसँगै काठमाडौँका बजार क्षेत्रमा पनि मानिसहरूको भीड देखिन थालेको छ । अहिले दैनिक उपभोग्य लगायतका सामग्री किनमेल गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । असन, इन्द्रचोक, न्युरोड, पुरानो बानेश्वर, गोङ्गबुलगायतका व्यापारिक क्षेत्रमा उपभोक्ताको उपस्थिति बढ्दै गएको व्यवसायीले बताएका छन् ।
वर्षाका कारण जनजीवन असामान्य भएको काठमाडौँमा अहिले वर्षा रोकिएर घाम लागेपछि स्थानीय र व्यवसायीहरूले राहतको महसुस गरेका पुरानो बानेश्वरस्थित फेन्सी पसल सञ्चालक सरिता थापाले बताइन् । उनले भनिन्, ‘शनिबारसम्म यहाँका सडकमा हिँड्नै सक्ने अवस्था थिएन, आइतबारसम्म जताततै पानी जमेको अवस्था थियो, आज मौसम खुलेर घाम लागेकाले निकै सहज भएको छ ।’
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराईका भू–भागका स्थानमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण