‘अस्थिरताले युवालाई निराश बनायो, अबको बाटो जलविद्युत्, पर्यटन र आईटी हो’
सारांश
- जेनजी आन्दोलनले युवा पुस्ताको असन्तुष्टि र परिवर्तनको चाहनालाई उजागर गरेको छ।
- युवा उद्यमी सगुन बोहराका अनुसार, राजनीतिक अस्थिरता र झन्झटिलो प्रशासनिक प्रक्रियाले युवाहरूलाई निराश बनाएको छ।
- बोहराले नेपालको आर्थिक विकासका लागि जलविद्युत्, पर्यटन र सूचना प्रविधिमा जोड दिनुपर्ने सुझाव दिएका छन्।
विराटनगर । गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ले देशको राजनीतिक र सामाजिक वृत्तमा तरङ्ग पैदा गरेको छ । यसले युवा पुस्तामा व्याप्त असन्तुष्टि, निराशा र परिवर्तनको तीव्र आकाङ्क्षालाई सतहमा ल्याइदिएको छ ।
७० वर्ष पुरानो औद्योगिक घराना ‘बोहरा ग्रुप’को विरासत सम्हालिरहेका युवा उद्यमी सगुन बोहरा पनि जेनजी पुस्ता नै हुन् ।
बेलायतबाट उद्यमशीलता र विश्व राजनीतिमा स्नातकोत्तर गरेका बोहराले युवाहरूको निराशाको जडदेखि नेपालले अपनाउनुपर्ने आर्थिक रणनीतिसम्मका विषयमा आफ्ना विचार राखेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश-
- हालैको जेनजी आन्दोलन र नेतृत्वमा युवा पुस्ता आउनुपर्छ भन्ने बहसलाई एक युवा उद्यमीको रूपमा तपाईं कसरी हेर्नुहुन्छ ?
यो आन्दोलन कुनै आकस्मिक घटना होइन । यो वर्षौंदेखि थुप्रिएको निराशा र राजनीतिक अस्थिरताको उपज हो । जब देशको प्रणालीले युवालाई भविष्यप्रति आश्वस्त पार्न सक्दैन, तब यस्तो विद्रोह स्वाभाविक हुन्छ । सरकारको अस्थिरताले निजी क्षेत्रलाई मात्र होइन, हरेक युवा, उद्यमी र विदेशमा रहेका नेपालीलाई समेत प्रभावित पारेको छ ।
देशमा यस्तो वातावरण बनाइएको छ कि घर छोडेर बाहिर गएपछि मात्र भविष्य सुरक्षित हुन्छ भन्ने सोच हाबी भएको छ । जेनजी आन्दोलन यही निराशाजनक धारणाविरुद्धको आक्रोश हो । यद्यपि, आन्दोलन जुन हिसाबले तोडफोड र हिंसातिर मोडियो, त्यो गलत थियो, तर यसको मूल सन्देश भनेको सरकार अब सुध्रिनुपर्छ, भ्रष्टाचार अन्त्य हुनुपर्छ र नीतिहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्छ भन्ने थियो । यो आन्दोलन आवश्यक थियो, तर यसको स्वरूप रचनात्मक हुनुपर्थ्यो ।
- तपाईंले युवाहरूमाझ निराशा व्याप्त छ भन्नुभयो । नेपालमा उद्यम गर्न चाहने युवाहरूले सामना गर्नुपरेका मुख्य चुनौती के–के हुन् ?
आजको दिनमा कुनै युवालाई नेपालमा उद्यम गर्दा कस्तो छ भनेर सोध्ने हो भने एक शब्दमा उत्तर आउँछ ‘निराश’ । यसका पछाडि धेरै कारण छन् ।
पहिलो, हामीसँग काम गर्ने सहज वातावरण नै छैन । राजनीतिक अस्थिरताले गर्दा दीर्घकालीन नीति बन्दैनन् । सरकारले बजेट र नीतिहरू घोषणा गर्छ, तर त्यसको कार्यान्वयन र अनुगमन शून्यप्रायः छ ।
दोस्रो, हाम्रो प्रशासनिक प्रक्रिया अत्यन्तै झन्झटिलो छ । एउटा उद्यमीले आफ्नो समय र ऊर्जा नयाँ सिर्जना र व्यापार विस्तारमा लगाउनुपर्ने हो, तर यहाँ सरकारी कार्यालय र कागजी प्रक्रियामै अल्झिनुपर्छ ।
तेस्रो, यहाँ व्यावसायिकताको ठुलो कमी छ । कर्मचारीको अपेक्षा कहिल्यै पूरा नहुने खालको छ । आज एक वर्ष काम गरेपछि उसको सोच जहिले विदेश जाने नै हुन्छ । किनकि रोजगारीमा त्यो हिसाबको वृद्धि नहुँदा र मुनाफा नहुँदा मान्छेले त्यो हिसाबको तलब पनि दिन सकेको छैन । बाहिर ९ देखि ६ को काममा पूर्ण समर्पण हुन्छ, तर यहाँ कामप्रति त्यो लगाव र जिम्मेवारीबोध कमै देखिन्छ ।
चौथो, आर्थिक चुनौती छन् । बैंकिङ ब्याजदर चर्को छ । लगानीको सुरक्षा छैन र भूपरिवेष्टित देश हुनाले आयात–निर्यातको लागत अत्यधिक छ । यी सबै कारणले युवाहरू कि त विदेशिन्छन्, कि त देशमै बसेर पनि हतोत्साहित हुन्छन् । आज मैले पनि नेपालमा काम गर्ने वातावरण त्यति सहज र सजिलो पाएको छैन । हाम्रो सरकारले उद्योगलाई वा व्यापारलाई लक्षित गरेर कहिल्यै पनि सुधार गर्ने नीति ल्याएन । नेपालमा लगानीको सुरक्षा छैन । बैंकिङ सुधार वा मौद्रिक नीतिहरूमा पनि त्यति स्थायित्व हामी देख्दैनौँ । कोभिड सकिएपछि व्यापारिक क्षेत्रले भोगेको चुनौतीमा हामीले ठुला परिवर्तनहरू धेरै हे¥यौँ । जस्तोः राष्ट्र बैंकले चालु पुँजीमा ल्याएको निर्देशिका वा बढ्दो ब्याजदरको असर छ । त्यसैले युवा नफर्किने कारणहरूमा राजनीतिक अस्थिरता, व्यावसायिकताको कमी र तलबको स्तर प्रमुख हुन् ।
- तपाईंले विदेशमा पनि अध्ययन गर्नुभयो । त्यहाँको र यहाँको व्यापारिक प्रणालीमा के भिन्नता पाउनुभयो ?
आकाश–पातालको फरक छ । विकसित देशहरूमा प्रणालीले काम गर्छ । त्यहाँ नीतिहरू तथ्याङ्क र भविष्यको विश्लेषणमा आधारित हुन्छन् । जस्तै, त्यहाँ कुनै क्षेत्रको कामदारको तलब तोक्दा त्यो क्षेत्रको आम्दानी, खपत र आगामी ५–१० वर्षको रणनीतिक भविष्य हेरेर निर्धारण गरिन्छ । हाम्रोमा तदर्थवाद हाबी छ । जे चलिरहेको छ, त्यसैलाई निरन्तरता दिने प्रवृत्ति छ । उनीहरूले उद्योगलाई चाहिने पूर्वाधार र सहज वातावरण बनाइदिन्छन् । जस्तो, उनीहरूको बैंकिङ ब्याजदर १–२ प्रतिशत हुँदा हाम्रोमा १०–१२ प्रतिशत पुग्छ । हामी भूपरिवेष्टित भएकाले एउटा कन्टेनर सामान निर्यात गर्दा नै तीन गुणा बढी लागत पर्छ । यस्तो अवस्थामा विश्व बजारमा प्रतिस्पर्धा गर्न असम्भव प्रायः हुन्छ ।
- यी तमाम चुनौतीका बिच नेपालले अब समाउनुपर्ने बाटो के हो ? राज्यले केमा ध्यान केन्द्रित गर्नुपर्छ ?
हामीले सबैभन्दा पहिले आफ्नो शक्ति र कमजोरी चिन्नुपर्छ । हामी औद्योगिक उत्पादनमा भन्दा सेवा र प्राकृतिक स्रोतमा बलियो छौँ । मेरो विचारमा, अबको १० वर्षमा नेपालले तीन वटा क्षेत्रमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ । पहिलो जलविद्युत् हो । यो हाम्रो सबैभन्दा ठुलो शक्ति हो । ऊर्जामा आत्मनिर्भर बन्दै निर्यात गर्न सके देशको अर्थतन्त्रले काँचुली फेर्छ । दोस्रोमा पर्यटन हो । हाम्रो प्राकृतिक र सांस्कृतिक सम्पदा अतुलनीय छ । यसको सही व्यवस्थापन र प्रवर्द्धन गर्न सके यो विदेशी मुद्रा आर्जनको दिगो स्रोत बन्न सक्छ । तेस्रोमा सूचना प्रविधि (आईटी) हो । यो यस्तो क्षेत्र हो जहाँ भौतिक पूर्वाधारको खासै बाधा हुँदैन । हाम्रा युवाहरू आईटीमा अब्बल छन् । उनीहरूलाई देशमै अवसर सिर्जना गर्न सके हामी सफ्टवेयर र आईटी सेवा निर्यात गरेर अर्बौं कमाउन सक्छौँ । बाहिर गएर आईटी पढ्ने ६०–६५ प्रतिशत युवालाई यहीँ टिकाउन सक्नुपर्छ ।
कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, तर यसमा पनि सरकारको कार्यान्वयन पक्ष शून्य छ । किसानले समयमा मल र बिउ पाउँदैनन् । हामीसँग ‘कोल्ड स्टोरेज’ जस्ता सामान्य पूर्वाधार छैनन्, जसले गर्दा उत्पादन खेर जान्छ । यी क्षेत्रलाई प्राथमिकतामा राखेर राजनीतिक स्थायित्व कायम गर्न सकेमात्र देश अघि बढ्छ । हामीलाई अब भाषण होइन, परिणाम चाहिएको छ ।
- के आशावादी हुने ठाउँ नै छैन त ?
अवश्य छ । मान्छेले आशा कहिल्यै छोड्नु हुँदैन । व्यक्तिगत जीवन होस् वा देशको भविष्य, आशाले नै हामीलाई अघि बढ्न ऊर्जा दिन्छ । मलाई लाग्छ, हामी सबै नेपाली अहिले एक प्रकारको आशावादी मोडमा छौँ । नयाँ पुस्ता सचेत भएको छ, पुराना संरचनाहरूमाथि प्रश्न उठेको छ । हामीलाई वास्तविक प्रजातन्त्र चाहिएको छ, जहाँ शक्तिको विकेन्द्रीकरण होस् । प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाएर केन्द्रले नीतिगत र रणनीतिक विषयमा मात्र ध्यान दिनुपर्छ । जबसम्म एउटा कृषि फार्मको उद्घाटन गर्न पनि प्रधानमन्त्री नै पुग्नुपर्ने अवस्था रहन्छ, तबसम्म देशको विकास हुँदैन । यदि नयाँ सोचका साथ राजनीतिक स्थिरता कायम गर्न सकियो भने नेपालसँग अगाडि बढ्ने अपार सम्भावना छ । हामी युवाहरू निराश भए पनि हरेश खाएका छैनौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण