मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

जेनजीको निसानामा कांग्रेस–कम्युनिस्टका ‘बेबी बुमर्स’

को कहिले सत्तामा आए ?
मङ्गलबार, २१ असोज २०८२, १६ : ३०
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • जेनजी समूहको विद्रोहका कारण केपी ओली नेतृत्वको सरकार ढल्यो, जसले राज्यका संरचनाहरूमा क्षति पुर्‍यायो।
  • विद्रोहपछि राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस सुरु भयो, तर ठोस निष्कर्ष आएको छैन।
  • विभिन्न नेताहरूको राजनीतिक जीवन र योगदानबारे चर्चा गरिएको छ, जसमा मदन भण्डारी, मनमोहन अधिकारीलगायतका व्यक्तित्व छन्।

काठमाडौँ । भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी समूहले गरेको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढल्यो । जेनजी विद्रोहले सत्तामात्र ढलेन, राज्यका प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका भौतिक संरचना ध्वस्त भयो ।

प्रजातन्त्र बहालीपछि पटक–पटक राज्यसत्तामा बसेका नेताहरू नेपाली सेनाको संरक्षणमा भाग्नुपर्‍यो । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आफ्नै निवासमा आन्दोलनकारीबाट कुटिए । राजनीतिक दलका कार्यालय, नेताहरूको निजी निवास, सार्वजनिक सम्पत्ति र व्यावसायिक प्रतिष्ठानहरू आगजनीबाट ध्वस्त भए ।

जेनजी विद्रोह पश्चात् राजनीतिक दलहरूभित्र नेतृत्व हस्तान्तरण तथा पार्टी पुनर्गठनको बहस तीव्र भइरहेको छ । यद्यपि स्वेच्छाले नेतृत्व छाड्ने, पार्टी पुनर्गठन गर्ने विषयमा नेताहरूले ठोस निष्कर्ष सार्वजनिक गरेका छैनन् ।

निरंकुश राजतन्त्र ढाल्न मुख्य भूमिका खेलेको नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीमा रहेका सबै सदस्यले स्वेच्छिक अवकाश लिनुपर्ने दबाब पार्टीभित्र बढ्दै गएको छ । जेनजी विद्रोहपछि माओवादीले सबै समितिमा जेनजी समूहको २५ प्रतिशत प्रतिनिधित्व गराउने गरी आन्तरिक छलफल गरिरहेको छ । यसै विषयमा निर्णय लिन माओवादीले सोमबार आयोजक समितिको सचिवालय बैठक बोलायो । बुधबार फेरि बैठक बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।

यसअघि असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकमा नेताहरूले नेतृत्व हस्तान्तरण गर्न प्रचण्डमाथि दबाब बढाएका थिए । यद्यपि प्रचण्डले आगामी महाधिवेशनमा पुनः नेतृत्वमा आउने वा नआउनेबारे केही बोलेका छैनन् ।

यता जेनजी विद्रोहपछिको परिस्थितिबारे छलफल गर्न नेकपा एमालेले असोज २७–२९ मा केन्द्रीय समिति बैठक बोलाएको छ । नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र अन्तरविरोध चर्किंदै गएको वेला जेनजी विद्रोहपछि अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व छाड्न थप दबाब परेको छ । ओलीले भदौ २०–२२ मा सम्पन्न विधान महाधिवेशनबाट पार्टीको ११ औँ महाधिवेशनमा फेरि अध्यक्ष बन्न सहज हुने गरी विधान संशोधन गराएका थिए । ओलीलाई चुनौती दिनेगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा सक्रिय भएपछि अन्तरसंघर्ष उत्कर्षमा पुगेको थियो । अब बस्ने केन्द्रीय समिति बैठकमा नेतृत्व हस्तान्तरण गर्न ओलीलाई थप दबाब दिने तयारीमा नेताहरू छन् । बैठकले ‘अर्ली महाधिवेशन’को मिति घोषणा गर्न सक्ने नेताहरूको भनाइ छ ।

देशकै सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले पनि जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल गर्न असोज २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सभापति देउवामाथि पनि नेतृत्व हस्तान्तरणका लागि महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरूले दबाब दिइरहेका छन् । अहिलेकै नेतृत्वबाट पार्टी अगाडि बढ्न नसक्ने भन्दै जेनजीको भावना अनुसार पार्टी पुनर्गठनको तयारीमा युवा लागेका छन् ।

यसैगरी एमालेबाट चोइटिएको दल एकीकृत समाजवादीभित्र पनि पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तीव्र भएको छ । महासचिव घनश्याम भुसाल आफैँ यथास्थितिमा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेका छन् ।

नेपालको इतिहासमा २००७ सालमा १०४ वर्षीय जहानियाँ राणाशासन, २०४६ सालमा ३० वर्षे निरंकुश पञ्चायती व्यवस्था र २०६२/६३ सालमा सक्रिय राजतन्त्रविरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका यी दलहरू युवा पुस्ताका मनोभावना, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सकारात्मक हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा अहिले प्रतिरक्षाको अवस्थामा पुगेका छन् ।

पार्टी सत्ता र शासन सत्तामा जनविश्वास गुमाएका यी दलहरू अहिले अस्तित्व रक्षाको सङ्कटमा फसेका छन् । यद्यपि यी दलका प्रमुख नेताहरूको राजनीतिक पृष्ठभूमि संघर्षपूर्ण देखिन्छ । आ–आफ्ना पार्टीका विचार, दर्शन, सिद्धान्तबाट निर्देशित नेताहरू सक्रिय राजनीतिमा किशोर अवस्थादेखि नै लागेका देखिन्छन् । तर पार्टी नेतृत्व र शासन सत्तामा भने उनीहरू फरक–फरक उमेरमा पुगेको देखिन्छ ।

कांग्रेस र कम्युनिस्टका पहिलो पुस्ताका नेताहरू सबै ‘द ग्रेटेस्ट जेनेरेशन’ अर्थात् सन् १९०१ देखि १९२७ उमेर समूहभित्र पर्छन् । यो पुस्ताका अधिकांशको निधन भइसकेको छ । ठुल्ठुला विद्रोह, सशस्त्र संघर्ष, पारिवारिक विछोड, अभावमा हुर्किएको यो पुस्ताले आन्दोलन र संघर्षमै जीवन बिताए ।

२०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि पालैपालो पार्टी र राजकीय सत्तामा पुगेका कांग्रेस/कम्युनिस्ट नेताहरू ‘बेबी बुमर्स’ अर्थात् सन् १९४६ देखि १९६४ भित्र जन्मिएको उमेर समूहका छन् । नेपालमा प्रजातन्त्र स्थापनापछि यही पुस्ता पार्टी र देशको शासन सत्तामा कब्जा जमाएर बस्दै आएको थियो, जुन पुस्ता जेनजीको निसानामा परेको छ ।

  • मदन भण्डारी

२००९ साल असार १४ गते ताप्लेजुङ ढुंगेसाँघुमा जन्मिएका मदन भण्डारी नेपालको वामपन्थी आन्दोलनका निकै लोकप्रिय नेता हुन् । २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरेका उनी २०२८ सालमा पुष्पलालसँग भेट भएपछि राजनीतिमा लागेका हुन् ।

२०३० सालमा पार्टीका पूर्णकालीन कार्याकर्ता बनेकाा भण्डारी २०३५ सालमा मालेका केन्द्रीय सदस्य, २०४१ सालमा पोलिटब्युरो सदस्य, २०४६ सालमा महासचिव बने । उनी पार्टी महासचिव बन्दा जम्मा ३७ वर्षका थिए ।

भण्डारी २०४७ सालमा एमालेको महासचिव बने । २०४८ सालमा काठमाडौँ–१ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर उनी चर्चामा आएका थिए । एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को सूत्रधार रहेका उनको २०५० साल जेठ ३ गते रहस्यमय दासढुंगा दुर्घटनामा निधन भयो ।

  • मनमोहन अधिकारी

१९७७ साल जेठ २८ काठमाडौँको लाजिम्पाटमा जन्मिएका मनमोहन अधिकारी २०५१ सालमा दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने । अधिकारीको ९ महिने शासनकाल लोकप्रिय रह्यो । उनी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए ।

अधिकारी २००८ सालमा ३१ वर्षको उमेरमा नेकपाको महासचिव बने । २०४७ सालमा उनी एमालेको अध्यक्ष भए । २०५६ साल वैशाख १३ गते अधिकारीको निधन भयो । 

  • झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनाल २००६ साल चैत ६ गते इलामको साँखेजुंगमा जन्मिएका थिए । २०२६ सालमा नेकपाको सदस्यता लिएका उनी २०३९ सालमा तत्कालीन मालेका महासचिव बने । खनाल २०४८, २०५१, २०६४, २०७०, २०७४ सालमा सम्पन्न निर्वाचनमा इलाम–१ बाट विजयी भए । २०४७ सालको अन्तरिम सरकारमा उनी कृषिमन्त्री बने । २०६५ सालमा एमाले अध्यक्ष बनेका उनी २०६७ सालमा प्रधानमन्त्री बने । २०७८ साल भदौमा एमाले विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता छन् । जेनजीको निसानामा उनको घरपरिवार समेत पर्‍यो ।

  • केपी ओली

२००८ साल फागुन ११ गते तेह्रथुमको इवा गाउँमा जन्मिएका केपी शर्मा ओली २०२२ सालमा वामपन्थी राजनीतिमा लागे । ओलीले २०२६ सालमा नेकपाको सदस्यता लिए । २०५१ सालमा गृहमन्त्री, २०६३ सालमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका उनी २०७१, २०७८ सालमा भएको महाधिवेशनबाट लगातार पार्टी अध्यक्ष बने । २०७२, २०७४, २०८१ सालमा चार पटक प्रधानमन्त्री भएका उनी २०७२ सालमा भारतले लगाएको नाकाबन्दीविरुद्ध उभिएर राष्ट्रवादी छवि बनाउन सफल भए । ओली पछिल्लो कार्यकाल अलोप्रिय बने । जेनजी विद्रोहका कारण उनी सत्ता छोड्न बाध्य भए ।

  • माधवकुमार नेपाल

२००९ साल फागुन २६ गते रौतहटको गौरमा जन्मिएका माधवकुमार नेपालले २०२६ सालमा नेकपाको सदस्यता लिएका थिए । २०५० सालमा मदन भण्डारीको निधन पश्चात् एमालेको कार्यवाहक महासचिव बनेका उनी २०५४ सालमा भएको छैटौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भए । २०५१ सालमा रक्षामन्त्री भएका उनी २०६६ सालमा प्रधानमन्त्री भए । दुई–दुई क्षेत्रबाट पराजित भएर पनि नेपाल प्रधानमन्त्री बन्न सफल भएका थिए । उनी कार्यवाहक महासचिव हुँदा जम्मा ४१ वर्षका थिए । २०७८ सालदेखि उनी नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् ।

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’

२०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्डले २०२८ सालमा नेकपाको सदस्यता लिएका थिए । उनी २०४५ सालमा नेकपा मसालका महामन्त्री भए । २०५२ सालमा जनयुद्धको सर्वोच्च कमाण्डर, २०५७ सालमा नेकपा माओवादीको अध्यक्ष भएका उनी २०६४, २०७०, २०७४ र २०७९ सालमा संविधान सभा तथा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । २०६५, २०७३, २०७९ सालमा गरी प्रचण्ड तीन पटक प्रधानमन्त्री भए ।

  • डा. बाबुराम भट्टराई

२०११ साल असार ४ गते गोरखाको खोप्लाङमा जन्मिएका बाबुराम भट्टराई माओवादी जनयुद्धका प्रमुख नेतामध्ये एक हुन् । उनी २०६८ सालमा प्रधानमन्त्री भए । उनले २०३७ सालमा नेकपाको सदस्यता लिएका थिए । माओवादीमा तेस्रो वरीयताको नेता रहेका भट्टराई २०७२ देखि वैकल्पिक नयाँ शक्ति अभियानमा लागे । उनी संघीय समाजवादी, जसपा नेपाल, नेसपा हुँदै नेसपा नयाँ शक्तिका अध्यक्ष रहे । जेनजी विद्रोहपछि उनले पार्टी अध्यक्ष त्याग गरेका छन् ।

  • पुष्पलाल श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका थिए । उनी महासचिव हुँदा जम्मा २५ वर्षका थिए । उनले १९९८ सालमा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाजसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरे । २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारका लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलालले गरेका थिए । २००६ सालमा नेकपाको संस्थापक महासचिव भएका उनको २०३५ सालमा निधन भयो । पुष्पलालले बसालेको जगमा उभिएर अहिले दर्जनौँ कम्युनिस्ट पार्टी बनेका छन् ।

  • विश्वेश्वर प्रसाद कोइराला 

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला १९७१ साल भदौ २४ गते भारत प्रवासमा जन्मिएका थिए । अंग्रेजविरुद्धको भारत छोड अभियानमा सक्रिय रहेका बेला उनलाई १९८६ सालमा ब्रिटिस सरकारले तीन महिना जेल हालेको थियो । उनले २००३ सालमा नेपाली कांग्रेस स्थापना गरे । त्यतिवेला कोइराला जम्मा ३२ वर्षका थिए । २०१५ सालमा उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । प्रधानमन्त्री हुँदा उनी ४४ वर्षका थिए । २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका उनको २०३९ सालमा निधन भयो ।

  • कृष्णप्रसाद भट्टराई

सन्त नेताको छवि बनाएका कृष्णप्रसाद भट्टराई १९८१ सालमा भारतको बनारसमा जन्मिएका हुन् । उनी पनि अंग्रेजविरुद्ध भारत छोड आन्दोलनमा सक्रिय सहभागी भए । उनी २०१५ सालमा सभामुख भए । सभामुख हुँदा उनी ३४ वर्षका थिए । २०४७ सालमा अन्तरिम प्रधानमन्त्री भएका भट्टराईकै नेतृत्वमा प्रजातान्त्रिक संविधान बन्यो । २०५६ सालमा उनी दोस्रोपटक प्रधानमन्त्री भए । २०३४ देखि २०४८ सालसम्म भट्टराई नेपाली कांग्रेसको कार्यवाहक सभापति भए । २०४८ सालमा भएको आठौँ महाधिवेशनमा उनी सर्वसम्मत सभापति भए । २०६७ साल फागुन २० गते उनको निधन भयो ।

  • गणेशमान सिंह

गणेशमान सिंहको जन्म १९७२ साल कात्तिक २४ गते काठमाडौँमा भएको थियो । १९८४ सालमा दरबार हाइस्कुलमा कक्षा ६ मा पढ्दा राणाका छोराछोरीलाई आदर नगरेकोमा उनी निष्कासित भए । उनी १९९७ सालमा राष्ट्रिय प्रजापरिषद् सदस्य भए । नेपाली कांग्रेसको संस्थापक सदस्य रहेका सिंह २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर भए । उनको २०५४ सालमा निधन भयो ।

  • गिरिजाप्रसाद कोइराला

१९८१ असार १८ गते भारतको बिहारमा जन्मिएका गिरिजाप्रसाद कोइरालाले २००४ सालमा मजदुर आन्दोलनको नेतृत्व गरेका थिए । पञ्चायतविरुद्ध आन्दोलनको क्रममा उनी जेल परे । २०४८ सालमा प्रधानमन्त्री भएका कोइराला २०५३, २०५५, २०५६ र २०६३ सालमा प्रधानमन्त्री भए । २०६२/६३ सालको जनआन्दोलन–२ को नेतृत्व गरेका उनी २०५३ सालदेखि २०६६ सालसम्म नेपाली कांग्रेसको सभापति रहे । उनको २०६६ साल चैत ७ गते निधन भयो ।

  • सुशील कोइराला

१९९६ सालमा विराटनगरमा जन्मेका सुशील कोइराला २०१० सालदेखि नै राजनीतिमा सक्रिय रहे । गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेसको कार्यवाहक सभापति रहेका उनी २०६७ सालमा १२ औँ महाधिवेशनबाट पार्टी सभापति भए । संघीय गणतन्त्र नेपालको संविधान लेखनको नेतृत्व गरेका  कोइराला २०७० सालमा प्रधानमन्त्री भए । २०७२ साल माघमा उनको निधन भयो ।

  • शेरबहादुर देउवा

देउवा २००३ साल जेठ ३१ गते डडेल्धुरामा जन्मिएका थिए । २०१७ सालदेखि राजनीतिमा सक्रिय भएका उनी २०२८ सालमा नेविसंघको सभापति भए । २०४८ सालदेखि हरेक निर्वाचनमा विजयी हुने देउवा एक्ला सदस्य हुन् । उनी २०५२, २०५८, २०६१, २०७४ र २०७८ सालमा प्रधानमन्त्री भए । २०४८ सालमा ४५ वर्षको उमेरमा उनी गृहमन्त्री भए । ४९ वर्षको उमेरमा उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए । अर्को वर्ष असारमा प्रधानमन्त्री बन्ने लोभमा रहेका देउवा जेनजी विद्रोहको निसानामा परे । जेनजीद्वारा निर्घात कुटपिटमा परेका उनको जीवनको उत्तराद्र्धमा घर समेत आगजनीबाट ध्वस्त भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप