जेन–जी आन्दोलन : प्रतिगमनको खाल्डो कि यथास्थितिको गोलचक्कर ?
लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पछिल्लो दशक जनघात र राष्ट्रघातको ऐजेरुले यति नराम्रोसँग जेलियो कि लोकतन्त्र दलतन्त्रमा फेरियो, दलतन्त्र गुटतन्त्रमा फेरियो र गुटतन्त्र परिवारतन्त्रमा फेरियो । संसदीय पार्टीका प्रमुखहरू दलपति हुँदै दलाधिपतिमा फेरिए । समग्रमा भन्ने हो भने लोकतन्त्र राजाविनाको राजतन्त्रमै सीमित भयो ।
राजनीतिक आवरणमा प्रगतिशील देखिए पनि सारतत्त्वमा लोकतान्त्रिक गणतन्त्र राजतन्त्रकै विकसित शोषणकारी प्रणाली नै हो भन्ने कुराको निर्मम आत्मबोध गर्न नेपाली जनतालाई करिब दुई दशक पर्खनुपर्यो । लोकतन्त्रको जनघाती र राष्ट्रघाती सारतत्त्व तब जनसमक्ष उदाङ्गो बन्दै गयो; जब बेरोजगारी, महँगी, भ्रष्टाचार, कमिसन, विदेशी ऋणभार ‘लोकतन्त्रका आभूषण’ बन्न थाले; गाउँ–टोलदेखि बालुवाटार र सिंहदरबारसम्म सत्ता र शक्तिको आडमा सार्वजनिक सम्पत्ति दोहन र लुटपाटको संस्थागत गुन्डागर्दीले रजगज हुन थाल्यो; संसदमा प्रस्तावित र पारित धेरैजसो विधेयक, ऐन–कानुनको संशोधन र सन्धि–सम्झौताहरू देश र जनताको हितप्रतिकूल बन्दै गए; शासनाधिकारको सर्वोच्च संस्था संसद् र सांसदहरूको निरीहता एवं लाचारीपन देश र जनतामाथि भारी पर्दै गयो । राजनीति भनेको सत्ता र शक्तिको आडमा भ्रष्टाचार र कमिसनको स्वामित्व हडप्ने एउटा त्यस्तो खेलमा बदलियो, जसको व्यंग्यात्मक प्रस्तुति बन्न पुग्यो— ‘पोलिटिक्स इज डर्टी गेम’ ।
प्रत्येक महिना, हप्ता र झन्डै दिनहुँजसो हुने भ्रष्टाचार काण्डहरू र त्यसकै परिणाम हर क्षेत्रमा जनताले बेहोर्नुपरिरहेको कहरले जनतामा सरकारविरुद्ध मात्र नभएर समग्र राजनीतिविरुद्ध विद्रोहको बारुद जम्मा हुँदै गयो । समय क्रममा जनताको मन–मस्तिष्कमा बढिरहेको उक्त तिरस्कार एक विस्फोटक अभियान ‘नेपो किड्स’ हुँदै ‘जेन–जी आन्दोलन’मा संगठित भयो र ‘डेटोनेटिङ’को काम गर्यो– सामाजिक सञ्जालमाथि सरकारी प्रतिबन्धको घोषणाले । सत्ता–राजनीतिविरुद्ध विद्रोहको त्यो आगो विभिन्न रूप र स्तरको प्रज्वलन शृंखला अन्तर्गत नै भदौ २३–२४ को जेन–जी आन्दोलनमार्फत एक चरमोत्कर्ष बन्न पुग्यो ।
जेन–जी आन्दोलन त्यो भेल हो जसले ढाड र कुम जोडेका भ्रष्टाचार र कुशासनका दुई किनारालाई भत्काएर सतहमुनिको दलाल पुँजीवादी अनुत्पादक चट्टानलाई नेपाली जनतासामु सर्वाङ्ग उदाङ्गो बनाइदियो । सामान्यतः सबै खाले देशमा तथा विशेषतः नवऔपनिवेशिक देशहरूमा भूमण्डलीकृत पुँजीवादले आम जनतामाथि थोपरेको चरम जनघातविरुद्ध विभिन्न नाम र रूपमा अभिव्यक्त यो आँधी एक विश्वव्यापी जनविद्रोहको लहर हो । नेपालमा यो एक त्यस्तो नियमित आकस्मिकता हो, जहाँ एकादुई व्यक्ति वा समूहले चाहँदा वा नचाहँदा पनि यहाँको अनुत्पादक दलाल पुँजीवादी चट्टानको नग्नता सतहमा उजागर हुनु अनिवार्य थियो, जेन–जी आन्दोलन त्यसका लागि उत्प्रेरक बन्यो ।
वास्तवमा २०६२/६३ को दोस्रो जनआन्दोलनसँगै सामाजिक विद्रोहको भ्रूण बसिसकेको थियो । त्यो बेलाको राजनीतिक परिवर्तनलाई महाभारतको कथा ‘अश्वत्थामा मारियो’झैँ गरियो, जबकि कथा अनुसार पूर्ण वाक्यांश थियो– ‘मानिस हो कि हात्ती, अश्वत्थामा मारियो ।’ आखिर दुनियाँलाई सुनाउन खोजिएकै कुरा त्यति थियो, अश्वत्थामा मारियो, तर वास्तविकता ‘मानिस हो कि हात्ती हो’ भन्ने वाक्यांशमा अन्तर्निहित थियो । त्यसलाई योजनाबद्ध हल्ला (शंखध्वनि) गरेर ओझेल पारियो । ठिक त्यही शैलीमा संविधानसभाको प्रथम बैठकद्वारा राजतन्त्र अन्त्यको सुरम्य करतलमा दलाल पुँजीवादलाई भव्य संस्थागत गरियो ।
हुन त दोस्रो जनआन्दोलनको ऐतिहासिकता असाधारण थियो, जसले करिब अढाई सय वर्षको राजतन्त्र अन्त्यको कीर्तिमान आफूमा दर्ज गर्यो । जेन–जी आन्दोलन पनि त्यस्तै एक अर्को अद्वितीय घटनामा दर्ज भएको छ, जहाँ २७ घण्टाको अन्तरालमै विद्रोहसामु सत्ता धर्मरायो, सरकार झुक्यो अर्थात् सत्तासीनहरूले हात उठाए । परिणामस्वरूप पुरानो सरकार ढल्यो र एक नयाँ सरकार बन्यो । पुराना मान्छे अपदस्थ भए र नयाँ मान्छे सत्तासीन भए । इतिहासको विडम्बना के दोहोरियो भने जसरी दोस्रो जनआन्दोलन र विशेषतः त्यो बेलाको माओवादी जनयुद्धले जसरी आर्थिक–सामाजिक अग्रगमनका विषय अलग्गै राखेर केवल राजतन्त्र फाल्नुमै आफूलाई सीमित गर्यो, त्यसरी नै जेन–जी आन्दोलनमा पनि सरकार परिवर्तनको परिणामबाहेक शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, सामाजिक न्याय इत्यादि विषय ओझेल पारिए । अति विचारणीय कुरा के छ भने पुरानो सत्ताको सम्पूर्ण प्रणाली हिजोको झैँ आज पनि जस्ताको तस्तै यथावत् छ ।
पुरानो प्रणाली यथावत् रहिरहनुको अर्थ हो शोषणकारी प्रणाली (दलाल पुँजीवाद) कायमै रहनु । दलाल पुँजीवाद कायम रहनुको अर्थ हो, समयक्रममा नवदलाल वा नवखलनायकहरूको जन्म अझै खतरनाक तरिकाले दोहोरिने अवश्यम्भावितालाई स्वीकार गर्नु । किनकि भ्रष्टाचार वा कुशासन कुनै व्यक्ति विशेषको क्षमता वा कमजोरी मात्र नभएर त्यो मूलतः संरचनागत प्रवृत्ति अर्थात् उत्पादन पद्धतिद्वारा निरूपित सामाजिक संस्कृति हो । अतः भ्रष्टाचारको अन्त्य केवल व्यक्तिको अदलाबदली नभएर जनमुखी र स्वाधीन संरचनाको निर्माण हो ।
जेन–जी आन्दोलन त्यो भेल हो जसले ढाड र कुम जोडेका भ्रष्टाचार र कुशासनका दुई किनारालाई भत्काएर सतहमुनिको दलाल पुँजीवादी अनुत्पादक चट्टानलाई नेपाली जनतासामु सर्वाङ्ग उदाङ्गो बनाइदियो ।
आफ्ना कैयौँ अपूर्णताका बाबजुद जेन–जी आन्दोलनको सबैभन्दा प्रगतिशील पक्ष भनेको दलाल पुँजीवादी उदण्डतालाई सडकमा पछार्नु, उसको जनघाती र राष्ट्रघाती चेहरालाई जनसमक्ष नाङ्गेझार पार्नु हो । विश्वभर नवऔपनिवेशिक देशहरूको अर्थप्रणाली मूलतः दलाल पुँजीवादी रहेको छ, जसले देशमा उद्योग कारखाना खोल्नुको साटो विदेशीको सामान आयात गर्ने बजार बनाएर देशलाई परनिर्भर बनाइरहेको छ, देशको श्रमशक्ति देशभित्रै खपत गर्नुको साटो वैदेशिक रोजगार कम्पनीहरू खोलेर योजनाबद्ध विदेश पलायन गरिरहेको छ, भ्रष्टाचार र कुशासन यस खाले देशहरूको प्रमुख समस्या हो, जसका लागि राजनीति र राजनीतिक नेताहरू सबैभन्दा बढी जिम्मेवार हुन्छन् ।
नेपालको सन्दर्भमा यो तथ्यलाई जेन–जी आन्दोलनले सडकमा छताछुल्ल बनाइदिएको छ । पछिल्ला सार्वजनिक आँकडाहरूले बताए अनुसार नेपालका १० प्रतिशत धनीहरूको हातमा कुल सम्पत्तिको ३५ प्रतिशत थुप्रो लागेको छ, जबकि ४० प्रतिशत गरिबहरूको हातमा केवल १० प्रतिशत सम्पत्ति रहेको छ । विश्वव्यापी रूपमा हेर्दा यसको अनुपात १/९९ को रहेको छ । सीमित मानिस अति धनी हुने, श्रमिक वर्गमाथि चरम शोषण हुने र मध्यम तथा निम्नमध्यम वर्गीय तप्का निरन्तर सम्पत्ति गुमाउने प्रक्रियामा छन् । एकातिर सम्पत्तिको अति केन्द्रीकरण र अर्कोतिर तीव्र सर्वहाराकरण वर्तमान विश्व अर्थप्रणालीका दुई विपरीत र अनिवार्य विशेषता बन्न पुगेका छन् । परिणामतः कलर रिभोल्युसन वा जेन–जी आन्दोलन भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवाद र श्रमजीवी वर्गबिच लडाइँको मोर्चा बन्न गएका छन् । विडम्बना के छ भने यस खाले विद्रोहहरूलाई क्रान्तिकारी शक्तिहरूले नेतृत्व गर्ने नभएर उल्टो प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरूले नै उपयोग गरिरहेका छन् ।
नेपालको जेन–जी आन्दोलनको आधारभूत ‘मोटिभ’ थियो, ‘पोलिटिक्स इज डर्टी गेम’ । नवयुवा पुस्तामा राजनीति र राजनीतिक नेतृत्वविरुद्ध गहिरो घृणाभाव पैदा गर्न यो मोटिभेसनले गतिलो उत्प्रेरकको काम गर्यो । यतिसम्म कि राजनीतिभित्रको सच्चा स्वाभिमान र इमानदारी समेत यसैमा धुलिसात बन्यो । प्रत्येक पार्टी र पार्टीका हरेक राजनीतिकर्मी नैतिक रूपले कोही पनि दोषमुक्त रहेनन् । यही धरातलमा टेकेर जेन–जी गैरराजनीतिक विद्रोह आह्वान गरियो । विद्रोहका नाराहरू राजनीतिक हुँदाहुँदै पनि यसलाई ‘कभर्ड’ गरियो । तथापि जब विद्रोह सडकमा उत्रियो, तब नवयुवाहरूले यति छिटै बुझ्ने अवसर पाए कि यो आफैँमा भीषण राजनीति थियो । राजनीतिको इपिसेन्टरमा उभिएर उनीहरूले यो कुरा पनि बुझे कि राजनीति फोहोरी खेल हो भन्ने भाष्य आफैँमा अर्को खतरनाक रणनीति थियो । एउटा राजनीतिका विरुद्ध अर्को एक सुनियोजित राजनीति थियो । परिणामतः उनीहरूबाट कति नाटकीय ढंगले विद्रोहको स्वामित्व अपहरण गरियो भन्ने उनीहरू स्वयंको एक तितो भोगाइ बन्यो ।
जेन–जी आन्दोलनले अति निर्ममता र चर्को बलिदानको मूल्य भुक्तान गरेर ‘राजनीति भनेको नीतिहरूको पनि नीति हो’ भन्ने सच्चाइलाई सर्वाधिक स्थापित गरिदिएको छ; राजनीतिको वर्ग चरित्रका बारे गतिलो शिक्षा दिएको छ । सुगौली सन्धि र दिल्ली सम्झौताहरूले नेपाली राजनीतिको आत्मनिर्भरता र स्वाभिमानलाई कसरी निरन्तर कुठाराघात गर्दै आइरहेका छन् ? अनि, पुँजीवादी प्रणालीभित्र प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, नागरिकतन्त्र इत्यादि आवरणमा कसरी श्रमिक जनताको चरम शोषण हुने गर्छ भन्ने सत्यलाई थोरै भए पनि बुझ्ने–बुझाउने मौका दियो । नवयुवाहरूका लागि सबैभन्दा महत्त्वपूर्ण शिक्षा यो भयो कि स्पष्ट दृष्टिकोणविना जनताको विद्रोह र बलिदान कसरी षड्यन्त्रपूर्ण खपत हुन्छ ? सारतः जेन–जी आन्दोलनले सबैभन्दा धेरै आफू स्वयंलाई चिन्ने अवसर प्राप्त गर्यो, जसले राजनीति र वर्गभन्दा निकै टाढा रहेर सोच्ने गर्थ्यो ।
झन्डै प्रत्येक दशकको आसपासमा राजनीतिक विद्रोह र आन्दोलनको स्थिति झेल्ने बिरलै मध्येको एउटा मुलुक नेपाल हो । जहाँ प्रत्येकपटकका आन्दोलनमा केवल राजनीतिक आवरणमा हुने ‘डेन्टिङपेन्टिङ’बाहेक आर्थिक सम्बन्ध एकपछि अर्को शोषणकारी बन्दै आएको मुलुक पनि नेपाल नै हो । आफ्नो जीवनमा थोरै भए पनि सुख र समृद्धिको सपना बोकेर ती आन्दोलनमा समर्पित आम जनचाहनामाथि जहिल्यै धोका हुने स्थिति र आन्दोलनकारी तप्काकै एउटा सानो हिस्सा सत्ताधिकारी सम्भ्रान्त वर्गमा रूपान्तरण हुने निरन्तरको प्रक्रियाबाट आजित नेपाली समाजको विस्फोट हो, जेन–जी आन्दोलन । अधिकांश नेता र केही व्यावसायिक समूहका मानिसको घर–सम्पत्तिमाथि आगजनी र तोडफोड मूलतः भ्रष्टाचार र कुशासनविरुद्धको जनआक्रोश हो । कतिपय नेताहरूको घरबाट भेटिएका पैसाका बोराहरूले भ्रष्टाचार कुन हदसम्म चुलिएको रहेछ भन्ने तथ्यलाई अझ बलियो प्रमाणित गरिदिएको छ । बरु यस क्रममा नछोइएका भ्रष्ट प्रशासकहरू, संवैधानिक निकायका प्रमुखहरू र निजी वित्तीय क्षेत्रलाई भने भाग्यशाली नै ठान्नुपर्ने हुन्छ । भ्रष्टाचार र कुशासनविरुद्धको बलिदान र वीरतापूर्ण प्रदर्शन जेन–जी आन्दोलनको निकै उज्यालो पक्ष हो ।
जेन–जी आन्दोलनमा पानी वितरण गरेकै कारण वा सामाजिक सञ्जालमा ऐक्यबद्धता जनाएकै आधारमा जब सम्पूर्ण आन्दोलनको स्वामित्व नेपथ्यबाट हडप्ने गजबको काइदा देखापर्यो, सैनिक मुख्यालयसम्म पुग्दा ‘स्टेकहोल्डर’हरूको सूची थपिँदै गयो, राष्ट्र प्रमुख र सेनाका परमाधिपतिको जिम्मेवारीमा रहेका राष्ट्रपतिलाई समेत उछिनेर सेना प्रमुखबाट जनताको नाममा सम्बोधन गरिनु जेन–जी आन्दोलनको बिछट्टै अँध्यारो पाटो हो । सिंहदरबार, बालुवाटार र संसद् भवनमाथिको योजनाबद्ध आगजनीले यही अँध्यारो पाटोतिर संकेत गर्छ । एकातिर यही व्यवस्थाभित्रै रहेर सुशासनको माग गर्नु र अर्कोतिर व्यवस्थापिका संसद्को विघटन गर्नु, त्यसरी नै एकातिर संविधानको घाँटी छिनाएर सरकार गठन गर्नु र अर्कोतिर शरीरबाट अलग भइसकेको संविधानको टाउको जोडेर प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ घोषणा गर्नु विद्रोहका रहस्यमयी र गम्भीर विरोधाभास हुन् । यसले विद्रोहको नैतिकता, उद्देश्य र उपादेयतामाथि नै पेचिलो प्रश्न खडा गरेको छ ।
२००७ सालको आन्दोलनसँग जोडिएको दिल्ली सम्झौताबारे नेपाली कांग्रेस निरन्तर आलोच्य छ । भलै बीपी कोइरालाले निकै पछि मात्र ‘भारतमा बसेर क्रान्ति गर्दा क्रान्तिको आत्मनिर्भरता नरहेको’ आत्मसमीक्षा गरेका थिए । २०४६ सालको प्रथम जनआन्दोलन पनि आत्मनिर्भरताको प्रश्नबाट मुक्त हुन नसकेको इतिहास साक्षी छ । २०६२/६३ को दोस्रो जनआन्दोलनको आधारविन्दु मानिने बाह्रबुँदे सम्झौता झन् दिल्ली सम्झौताको दोस्रो संस्करण भनेर आलोचित छ । परिणामले पनि के साबित गरेको छ भने त्यो घटना नै माओवादी आन्दोलन पराजयको विशेष मोड थियो । इतिहासका यी अमिट दृष्टान्तहरूलाई साक्षी राखेर हेर्दा एवं आजसम्म विकसित घटना शृंखलाहरू र सार्वजनिक तथ्यहरूबाट के पुष्टि हुन्छ भने जेन–जी आन्दोलन प्रतिगमनको ‘झ्याप्ले खोला’बाट फर्किएर यथास्थितिको ‘चक्रपथ’मा अवतरित भएको छ ।
यो कुरा निश्चित हो कि यथास्थिति कुनै पनि हालतमा समाधान हुन सक्दैन । प्रतिगमन झन् भद्दा मजाक मात्र हो । भविष्य केवल अग्रगमन हो । एउटा सुनिश्चित कुरा के हो भने अग्रगमन र प्रतिगमनबिचको लडाइँमा यथास्थितिवादले कहिल्यै अग्रगमन स्वीकार गर्दैन । अन्तिम समयमा ऊ प्रतिगमनतिरै ढल्को लगाउने गर्छ । अतः नेपाली जनताका प्रत्येक आन्दोलन र विद्रोह अपहरणमा पर्दै आइरहेको तितो वास्तविकतालाई आत्मसात् गर्दै गम्भीर संक्रमणको यो घडीमा हर कुनै क्षेत्रमा आबद्ध सचेत, देशभक्त एवं क्रान्तिकारीले देशको स्वाधीनता र क्रान्तिको आत्मनिर्भरताका बारे ठन्डा दिमागले सोच्नु आजको आवश्यकता बन्न गएको छ । अग्रगमनको आवश्यकता र जेन–जी आन्दोलनको सच्चा मर्म अनुरूप आर्थिक–सामाजिक पुनर्संरचना गर्नु साझा ऐतिहासिक दायित्व बनेको छ ।
जेन–जी आन्दोलनमा पानी वितरण गरेकै कारण वा सामाजिक सञ्जालमा ऐक्यबद्धता जनाएकै आधारमा जब सम्पूर्ण आन्दोलनको स्वामित्व नेपथ्यबाट हडप्ने गजबको काइदा देखापर्यो, सैनिक मुख्यालयसम्म पुग्दा ‘स्टेकहोल्डर’हरूको सूची थपिँदै गयो, राष्ट्र प्रमुख र सेनाका परमाधिपतिको जिम्मेवारीमा रहेका राष्ट्रपतिलाई समेत उछिनेर सेना प्रमुखबाट जनताको नाममा सम्बोधन गरिनु जेन–जी आन्दोलनको बिछट्टै अँध्यारो पाटो हो ।
सच्चा लोकतन्त्र शासकीय स्वरूपको नौरंगी बहस वा निर्वाचनको नौटंकीपूर्ण हल्लामा मात्र सीमित हुन सक्दैन, लोकतन्त्रको सच्चाइ जनअधिकारको सुनिश्चितता हो । नेपाली समाजको वर्तमान सन्दर्भमा जनअधिकारका आधारभूत विषय हुन्— कृषि, उद्योग र आवासका लागि राज्यद्वारा निःशुल्क जमिनको व्यवस्था सुनिश्चित गर्नु; शिक्षा र स्वास्थ्यमा निजीकरणको पूर्ण अन्त्य घोषणा गर्नु; कृषिलाई आधुनिकीकरण र औद्योगिकीकरण गरेर प्रत्येक नागरिकलाई रोजगारीको सुनिश्चितता प्रदान गर्नु; निजी बैंक प्रणाली खारेज गरेर वित्तीय शोषणको अन्त्य गर्नु; कृषिजन्य उत्पादन राज्यद्वारा खरिद–बिक्रीको व्यवस्था लागु गर्नु; राज्यका सबै तहमा उत्पीडित तप्काको समुचित सहभागिता सुनिश्चित गर्नु इत्यादि ।
अर्को ज्वलन्त विषय भ्रष्टाचार रहेको छ, जसका बारे यथाशीघ्र अधिकारसम्पन्न सम्पत्ति छानबिन आयोग गठन गरेर राज्यको विशिष्ट ओहोदामा बसेका मानिसको सम्पत्ति छानबिन गरिनुपर्छ । उपर्युक्त सम्पूर्ण विषयको सुनिश्चितताका लागि निर्वाचन अगावै बलियो राष्ट्रिय सहमति कायम गर्नु अनिवार्य हुन्छ ।
अन्यथा प्रतिनिधिसभाको चुनाव यथास्थितिबाहेक केही पनि हुनेवाला छैन । त्यो केवल पिसाबको तातो हुन जान्छ । अझ भन्ने हो भने जेन–जी आन्दोलनको बलिदानमाथि खेलबाड हुन जान्छ । शान्ति, समृद्धि र सुशासनको जनचाहनामाथि कुठाराघात हुन जान्छ । प्रकारान्तरले अर्को विद्रोहको निम्तो हुन जान्छ । यसर्थ देशको स्वाधीनता र जनताको अधिकारप्रति समर्पित सबैले बल गर्नैपर्छ— जेन–जी आन्दोलन प्रतिगमनको खाल्डो वा यथास्थितिको गोलचक्कर नबनोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सभापति थापा रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा जाने
-
सुनको मूल्य सामान्य बढ्यो
-
अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्यो
-
कोशीका खानेपानी सचिवले ‘मैले हात उठाएँ’ भनेपछि सांसदले भने– झोला बोकेर जानु
-
फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण घोषणा
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण