शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
चेतावनी

बालबालिकाको ज्यान लिने खोकीको औषधिबारे सरकारको चेतावनी

नेपालमा ‘कोल्ड्रिफ कफ सिरप’ दर्ता छैन
मङ्गलबार, २१ असोज २०८२, १९ : ४३
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • भारतमा कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु भएपछि नेपालमा पनि सावधानी अपनाउन निर्देशन दिइएको छ।
  • विभागले इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल मिसावट भएका औषधिहरूबाट जोगिन र दर्ता भएका औषधि मात्र प्रयोग गर्न आग्रह गरेको छ।
  • उत्पादकहरूलाई कच्चा पदार्थ मान्यताप्राप्त बिक्रेताबाट खरिद गर्न र प्रत्येक ब्याचमा विषालु पदार्थको परीक्षण गर्न निर्देशन दिइएको छ।

काठमाडौँ । भारतमा कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु भएका घटनाहरू सार्वजनिक भएपछि नेपाल औषधि व्यवस्था विभागले उत्पादक, वितरक, चिकित्सक र उपभोक्तालाई गम्भीर हुन निर्देशन दिएको छ। विभागले बालबालिकाको ज्यान लिने खतरा रहेका ‘कोल्ड्रिफ कफ सिरप’ लगायतका खोकीका औषधिबारे विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

विभागले मंगलबार सूचना जारी गर्दै भारतमा उत्पादन गरिएका केही कफ सिरपमा इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल नामक विषालु पदार्थ फेला परेको र यसको सेवनबाट १८ बालबालिकाको मृत्यु भएको जनाएको छ। नेपालमा ‘कोल्ड्रिफ कफ सिरप’ दर्ता नभएको जानकारी दिँदै विभागले यस्ता विषाक्त पदार्थ मिसावट भएका औषधिबारे यसअघि पनि चेतावनी जारी गरेको उल्लेख गरेको छ।

विश्व स्वास्थ्य संगठनको वर्किङ डकुमेन्ट अनुसार तरल औषधिको उत्पादनमा इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोलको मात्रा परीक्षण गर्न निर्देशन दिँदै विभागले औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू (प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल र ग्लिसरिन/ग्लिसेरिन) मान्यताप्राप्त बिक्रेताबाट मात्र खरिद गर्न उत्पादकहरूलाई निर्देशन दिएको छ। उत्पादन अघि तोकिएको विधिअनुसार परीक्षण गर्नुपर्ने र उत्पादन भइसकेपछि पनि प्रत्येक ब्याचमा विषालु पदार्थको परीक्षण गरेर मात्र बजारमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

नेपालमा आयात हुने तरल खोकीका औषधिहरूका प्रत्येक ब्याचमा इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल मिसावट नभएको प्रमाणित गर्न आयातकर्तालाई निर्देशन दिइएको छ। परीक्षणपछि मात्र औषधि आयात र बिक्री गर्न पाइने व्यवस्था गरिएको छ।

फार्मेसी र औषधि पसललाई विभागमा दर्ता भएका औषधिहरू मात्र बिक्री वितरण गर्न आग्रह गरिएको छ भने चिकित्सकलाई दर्ता भएका औषधिहरू मात्र सिफारिस गर्न भनिएको छ। दुई वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणका आधारमा मात्र गर्न सुझाव दिइएको छ।

विभागले बालबालिकालाई कुनै पनि खोकीको औषधि चिकित्सकको सल्लाहबमोजिम मात्र प्रयोग गर्न, औषधिको लेबलमा उल्लेखित जानकारी राम्ररी पढ्न र विभागमा दर्ता भएका औषधि मात्र प्रयोग गर्न आग्रह गरेको छ।

cough syrup 82.06.21_o8YZZigP6D_4v0b7ky_g5DeDVLl6L_kh7lyzg

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप