बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाढी पहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान

अवरुद्ध सडक खुलाउने कार्य सरकारको उच्च प्राथमिकता छ : मन्त्री घिसिङ
बुधबार, २२ असोज २०८२, ०९ : १२
बुधबार, २२ असोज २०८२

सारांश

  • बाढी पहिरोबाट क्षति भएका सडक संरचना पुनर्निर्माणका लागि १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान छ।
  • मन्त्रीका अनुसार, सडक सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको छ र नियमित अनुगमन भइरहेको छ।
  • यस वर्षको मनसुनजन्य विपद्बाट मेची राजमार्गमा सबैभन्दा बढी क्षति पुगेको छ।

काठमाडौँ ।  बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बाढी पहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवम् मन्त्रालयकातर्फ नियमित अनुगमन भइरहेको मन्त्री घिसिङले उल्लेख गरे । 

यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट-मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झन्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ । 

त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप