बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

यसकारण ट्रम्पले नपाउन सक्छन् नोबल शान्ति पुरस्कार

शुक्रबार, २४ असोज २०८२, ११ : ५०
शुक्रबार, २४ असोज २०८२

सारांश

  • यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा हुँदै गर्दा डोनाल्ड ट्रम्पले आफूले पुरस्कार पाउनुपर्ने दाबी गरेका थिए।
  • ट्रम्पले अन्तर्राष्ट्रिय सहयोग र निःशस्त्रीकरणमा लिएको दृष्टिकोण अल्फ्रेड नोबेलको विपरित रहेको र उनलाई पुरस्कार दिने सम्भावना कम रहेको बताइएको छ।
  • नोबेल शान्ति पुरस्कारको मापदण्डअनुसार ट्रम्पको व्यवहार नमिलेको र उनले आठ वटा युद्ध रोकेको तर्क गरेपनि समितिले उनलाई पुरस्कार दिने सम्भावना छैन।

काठमाडौँ । हरेक वर्ष क–कसले नोबेल पुरस्कार पाउँला भन्ने चासो विश्वभर हुन्छ । यस वर्ष पनि धेरैले नोबेल पुरस्कारको घोषणालाई व्यग्रताका साथ कुरिरहेका छन् । केही पुरस्कारको घोषणा भइसकेको छ ।

शुक्रबार नोबेल शान्ति पुरस्कारको घोषणा हुँदैछ । २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । राष्ट्रपति कार्यकाल सुरु भएको आठ महिना मात्रै हुँदा उनले सो पुरस्कार पाएपछि धेरैलाई अचम्म लागेको थियो । ओबामाले नोबेल पुरस्कार पाएकोमा अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले आश्चर्य व्यक्त गर्दै यसको लागि उच्च मापदण्ड हुनुपर्ने तर्क नै गरेको थियो ।

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौँदेखि नोबेल शान्ति पुरस्कारको कुरा गरिरहेका छन् । आफूले आठ वटा युद्ध रोकेको भन्दै उनले आफूले नोबेल शान्ति पुरस्कार पाउने पर्ने मुखै खोलेर बारम्बार भनेका छन् । ओबामाले केही गर्दै नगरी पुरस्कार दिइएको अनि आफूले आठ वटा युद्ध रोकिसकेको उनको तर्क थियो ।

ओबामाले देश बर्बाद गर्नका लागि शान्ति पुरस्कार दिइएको समेत ट्रम्पले भने । दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पले आफूलाई विश्वव्यापी शान्ति निर्माताको रूपमा प्रस्तुत गरेका थिए । कयौँ शान्ति सम्झौताहरूमा मध्यस्थकर्ताको भूमिका उल्लेख गर्दै र आफू पुरस्कार विजेताहरूमध्ये पर्ने उनले ठोकुवै गरेका थिए । 

तर के यस्ता दाबीकै आधारमा कसैले नोबेल शान्ति पुरस्कार पाउला त ? नर्वेली नोबेल समितिले शुक्रबार उनलाई पुरस्कार प्रदान गर्ने सम्भावना छैन । यसको कारण राजनीतिक पूर्वाग्रह पक्कै होइन । समिति अल्फ्रेड नोबेलको इच्छाद्वारा बाँधिएको एक स्वतन्त्र निकाय हो, जसले शान्ति, निःशस्त्रीकरण र अन्तर्राष्ट्रिय सहयोगलाई अगाडि बढाउनेहरूलाई सम्मान गर्दै आएको छ । ती मापदण्डहरूमा ट्रम्पको व्यवहार उल्टो छ ।

अन्तर्राष्ट्रिय सहयोगमा ट्रम्प प्रशासनले स्पष्ट रूपमा पृथकतावादी दृष्टिकोण अपनाएको छ । यस वर्षको सुरुमा ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन, पेरिस जलवायु सम्झौता र अन्तर्राष्ट्रिय कर सम्झौताहरूबाट अमेरिकालाई फिर्ता लिने कार्यकारी आदेशमा हस्ताक्षर गरे । यी निर्णयहरू बहुपक्षीय संलग्नताबाट टाढिने अनि अल्फ्रेड नोबेलको दृष्टिकोणको विपरीत छ । आफ्नो इच्छापत्रमा, नोबेलले ‘राष्ट्रहरू बीचको भ्रातृत्व’लाई प्रवर्द्धन गर्नमा जोड दिएका थिए । यो सिद्धान्तलाई पछि विशेष गरी संयुक्त राष्ट्र संघ मार्फत अन्तर्राष्ट्रिय सहयोगको लागि समर्थनको रूपमा व्याख्या गरिएको थियो । 

यसका एजेन्सीहरूले कयौँ शान्ति पुरस्कारहरू पाएका छन् । ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता प्रयासमा पनि नाटकीय रूपमा कटौती गर्यो, अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई भंग गर्यो । सुडानमा अनिकाल राहतदेखि उप–सहारा अफ्रिकामा खोप अभियानहरूसम्मका अर्बाैं डलरका कार्यक्रमहरू अनिश्चिततामा फसे । यसले २०३० सम्ममा १ करोड ४० लाख थप मृत्यु हुन सक्ने द ल्यान्सेटमा प्रकाशित अनुसन्धानले चेतावनी दिएको छ । मर्नेमा पाँच वर्ष मुनिका ४० लाख बालबालिकाहरू हुने भनिएको छ । यस्ता कार्यहरू फेरि राष्ट्रहरू बीच भ्रातृत्व र सहयोगलाई प्रवर्द्धन गर्ने अल्फ्रेड नोबेलको इच्छाको भावनाको विपरीत छन् ।

निःशस्त्रीकरणमा राष्ट्रपति ट्रम्पको दृष्टिकोण परम्परागत हतियार नियन्त्रण प्रयासहरूबाट अलग छ । पहिलो कार्यकालमा ट्रम्प प्रशासनले शीतयुद्धको समयमा रूससँगको आणविक हतियार नियन्त्रण सन्धिबाट अमेरिकालाई बाहिर निकालेको थियो । यसको विपरीत, अल्फ्रेड नोबेलको निःशस्त्रीकरणको दृष्टिकोणले हतियारको क्रमिक कटौती र राष्ट्रहरू बीच पारस्परिक विश्वास निर्माणमा जोड दिन्छ । 

शान्तिको सवालमा राष्ट्रपति ट्रम्पले शान्ति पहलहरूलाई समर्थन गर्न दृश्यात्मक कदम चालेका छन् । इजरायल र हमासले उनको गाजा शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएका छन्, जुन एक आशाजनक उपलब्धि हो । २०–बुँदे योजनामा ​​युद्धविराम, मानवीय सहायताको प्रवेश, र इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको रिहाइ समावेश छ । तर प्यालेस्टिनीहरूलाई वार्ताबाट बहिष्कार गरेको र द्वन्द्वको मूल कारणहरूलाई उचित रूपमा सम्बोधन नगरेको भन्दै यसले आलोचनाको सामना गरिरहेको छ । अल्फ्रेड नोबेलले पहिचान गर्न खोजेको जस्तो स्थायी, दिगो शान्ति देख्न बाँकी छ ।

घरेलु स्तरमा ट्रम्पका धेरै नीतिहरूले व्यवस्था र सुरक्षालाई जोड दिएको भएपनि उनका केही निर्णय विवादास्पद छन् । कोलम्बिया जिल्ला, क्यालिफोर्निया, टेनेसी र अन्यत्र उनले अशान्तिलाई शान्त पार्न राष्ट्रिय गार्ड तैनाथ गरे तर अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टिनी समर्थक प्रदर्शनहरूमा कारबाही गरे । नोबेल समितिले अल्फ्रेड नोबेलको दृष्टिकोणलाई मूर्त रूप दिने उम्मेदवारहरू खोजिरहेको छ भने यसले अरूलाई रोज्न सक्छ । 

ट्रम्पको उम्मेदवारीलाई हाइलाइट गर्न पैरवी प्रयासहरू भएका छन् । जसलाई इजरायल, पाकिस्तान, आर्मेनिया र अजरबैजान लगायत धेरै अन्तर्राष्ट्रिय नेताहरूले खुला रूपमा समर्थन गरेका छन् । तर नर्वेजियन नोबेल समितिसँग बलियो संस्थागत सुरक्षा व्यवस्था छ । यसको छलफल ५० वर्षसम्म गोप्य रहन्छ, यसको जनादेश अल्फ्रेड नोबेलको इच्छाद्वारा तय गरिएको छ, र पुरस्कारको अखण्डतालाई कायम राख्न यसका सदस्यहरू छानिएका छन् । बाह्य दबाबले यस वर्षको नतिजासहितका निर्णयलाई आकार दिने सम्भावना छैन ।

नोबेल शान्ति पुरस्कार अल्फ्रेड नोबेलको इच्छापत्र अनुसार, ‘अघिल्लो वर्ष मानवजातिलाई सबैभन्दा ठूलो फाइदा पु‍र्याउनेहरूलाई’ हरेक वर्ष दिइने पाँच पुरस्कारहरू मध्ये एक हो । शान्ति पुरस्कार लोकप्रियता वा वाचा वा शक्तिको मापन होइन, तर शान्ति, निःशस्त्रीकरण र सहयोगमा स्थायी योगदानको मापन हो । यो पुरस्कार पहिले पनि विवादास्पद व्यक्तिलाई नदिइएको भने होइन । 

भियतनाम युद्ध युद्धविरामको वार्तामा प्रयासका लागि १९७३ मा हेनरी किसिन्जर र ल डक थोलाई संयुक्त रुपमा पुरस्कारका दिइएको थियो । किसिञ्जरलाई पुरस्कार दिएको विरोधमा नोबेल समितिका दुई  सदस्यहरूले राजीनामा दिएका थिए । २००९ मा ओबामाले पुरस्कार पाउँदा शान्ति प्रवर्द्धन गर्न पर्याप्त काम गर्दै नगरेको व्यक्तिलाई पुरस्कार दिएको भन्दै समितिले आलोचना खेप्नु परेको थियो । ओबामालाई शान्ति पुरस्कार दिएकोमा नोबेल सचिव गेर लुन्डेस्ट्याडले पछि पछुतो व्यक्त गरेका थिए । यस वर्ष समितिले ट्रम्पलाई नै शािन्त पुरस्कार दिने घोषणा गर्यो भने पनि यो पुरस्कारका उनी पहिलो विवादास्पद विजेता भने पक्कै बन्ने छैनन् । एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप