आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

यात्राको योजना बनाउँदा पहिलो प्रश्न हुन्छ, मौसम के कस्तो छ ?

आन्तरिक पर्यटनमा प्रतिकूल मौसमको प्रभाव

आइतबार, २६ असोज २०८२, १३ : १९
आइतबार, २६ असोज २०८२

यस वर्षको २३ भदौयता हामीले राजनीतिक परिवर्तन र प्राकृतिक  प्रकोपको सामना गर्‍यौँ । सामाजिक र सांस्कृतिक दृष्टिकोणले हामीकहाँ दसैँको विशेष महत्त्व छ । यो पर्वले नेपाली समाजमा उत्सव, मेलमिलाप र पुनर्मिलनको भावना जगाउनुका साथै आन्तरिक पर्यटनलाई पनि असाधारण उचाइमा पुर्‍याउने परम्पराजस्तै बनाएको छ । 

प्रत्येक वर्ष दसैँ सकिएलगत्तै परिवार वा साथीभाइसहित हजारौँ नेपाली देशका विभिन्न भागमा घुम्न निस्किन्छन् । कतै डाँडाका हरियाली, कतै तराईको न्यानो गाउँ त कतै सहरका रमाइला स्थलमा रमाउनेको सङ्ख्या निरन्तर बढिरहेकै थियो । यद्यपि पछिल्ला केही वर्षयता यो रमाइलो यात्रा र उत्साहलाई सबैको एक ‘साझा शत्रु’ले निरन्तर आक्रमण गरिरहेको छ, त्यो साझा शत्रु हो— प्रतिकूल मौसम वा असामयिक वर्षा । 

नेपालमा पछिल्ला दशक उल्लेखनीय रूपमा मौसमको चरित्रमा परिवर्तन देखिँदै आएको छ । जलवायु परिवर्तनको असरले होला, असोज र कात्तिकजस्ता स्थिर मौसम रहने महिनामा पनि अनियमित वर्षा हुन थालेको छ, जस कारण बाढी–पहिरो र हावाहुरीको जोखिम बढिरहेको छ । फलस्वरूप दसैँपछि सुरु हुने आन्तरिक पर्यटनको मुख्य सिजन नै सङ्कटमा परिरहेको छ ।

नेपालको सन्दर्भमा पर्यटन उद्योग प्रकृतिसँग सिधा जोडिएको क्षेत्र हो । प्रकृतिले साथ दिएन भने हामीकहाँ पर्यटनको सौन्दर्य र सम्भावना दुवै क्षीण हुन्छन् । हाम्रोजस्तो पर्वतीय देशमा प्रकृति वा मौसमको प्रभाव गहिरो हुनेरहेछ । काठमाडौँ–पोखरा, काठमाडौँ–दोलखा, काठमाडौँ–बर्दिबास, भैरहवा–पोखरा सडकखण्डदेखि देशका पूर्वदेखि पश्चिमका राजमार्गमा विशेषतः वर्षाको प्रभाव रहेको पाउँछौँ, जब अप्रत्याशित वर्षा हुन्छ, यात्रु वा पर्यटक बाटोमै अल्झिन्छन्, उडानहरू रद्द हुन्छन्, सडकहरू अवरुद्ध हुन्छन् र स्थानीय स्तरमै व्यवसाय ठप्प हुन्छ । यसले केवल पर्यटकको योजनालाई होइन; हजारौँ स्थानीय रोजगारी र आम्दानीलाई समेत ठुलो आघात पुर्‍याउँदै आएको छ ।

पर्यटनसम्बन्धी एक तथ्याङ्क अनुसार नेपालमा दसैँअघि र पछि हुने आन्तरिक पर्यटकको भ्रमणले हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको आन्तरिक कारोबार उत्पन्न गर्छ । जब मौसम प्रतिकूल हुन्छ, त्यस कारोबारको ठुलो हिस्सा नष्ट हुन्छ— होटल बुकिङ रद्द हुन्छन्, पर्यटकको बसाइ छोटिन्छ; गेस्टहाउस, रेस्टुरेन्ट, यातायात, गाइड, हस्तकला विक्रेता र स्थानीय किसान सबै प्रभावित हुने गरेका छन् ।

यस समस्याको मूल कारण ‘खराब मौसम’ मात्र होइन; जलवायु परिवर्तनको दुष्परिणाम सँगसँगै कमसल र मापदण्ड विपरीतका भौतिक संरचनाको निर्माण गरिनु पनि हो । यसमा निर्माण व्यवसायी, स्थानीय प्रतिनिधि र अनुगमन गर्ने राज्यका निकायको गैरजिम्मेवारपूर्ण कार्य जिम्मेवार छन् । पछिल्ला वर्ष नियाल्दा नेपालमा हिउँद र वर्षाको ढाँचा पूरै बिग्रिएको आभास हुन्छ । 

प्रत्येक वर्ष दसैँ सकिएलगत्तै परिवार वा साथीभाइसहित हजारौँ नेपाली देशका विभिन्न भागमा घुम्न निस्किन्छन् । पछिल्ला केही वर्षयता यो रमाइलो यात्रा र उत्साहलाई सबैको एक ‘साझा शत्रु’ले निरन्तर आक्रमण गरिरहेको छ, त्यो साझा शत्रु हो— प्रतिकूल मौसम वा असामयिक वर्षा ।

पहिले असार र साउनमा सीमित हुने झरी र वर्षा अब असोज र कात्तिकसम्म सर्दै गएको छ । हाम्रो मौसम प्रणालीमा आएको परिवर्तन, तापक्रम वृद्धि र वायुमण्डलीय अस्थिरताले वर्षाको समय र तीव्रता दुवैमा अप्रत्याशित परिवर्तन ल्याएको छ, यसले सबैभन्दा बढी पर्यटनलाई प्रभावित बनाएको छ । पर्वतीय क्षेत्रका पदमार्गमा पहिरो, बाटो कटान, नाली कटानजस्ता घटना सामान्य हुन थालेका छन् । हामी व्यवसायीका लागि पर्यटकको सुरक्षा सुनिश्चित गर्न कठिन भएको छ । नेपालले मौसमको अनिश्चितताविरुद्ध अब दीर्घकालीन रणनीति बनाउन नसके बाह्यसँगै आन्तरिक पर्यटनको स्थायित्व नै सङ्कटमा पर्न सक्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ ।

नेपालमा आन्तरिक पर्यटन बजारले हजारौँ साना–मझौला उद्यमीलाई स्वरोजगार तुल्याएको छ, ठुलो संख्यामा रोजगारी सिर्जना गरेको छ । ग्रामीण क्षेत्रका होमस्टे तथा रिसोर्ट, बाटोघाटो र मुकाममा रहेका होटल तथा लज, खाजा घर तथा रेस्टुरेन्ट, यातायात क्षेत्र, अन्य पर्यटन व्यवसाय, हस्तकला व्यवसाय सबै यही सिजनमा बढी चलायमान हुन्छन् । दसैँपछि आउने भिड नै व्यवसायीको वर्षभरिको मुख्य आम्दानीको स्रोत हुने गर्छ, तर जब असामयिक वर्षा, मौसम प्रतिकूलताले यात्रु घटाउँछ, ती साना–मझौला व्यवसायीलाई ऋण तिर्ने, कामदारको तलब–भत्ता दिने र पुनः लगानी र आफ्नो व्यवसायलाई अपग्रेड गर्ने कुरामा चुनौती आउने रहेछन् ।

सामान्य वर्षा र प्रतिकूलतामा पनि पोखरा, बुटवल वा नारायणघाटतर्फको यात्रामा ढिलाइ र जाम हुँदा पर्यटकले बिचैमा यात्रा रद्द गरेका थुप्रै उदाहरण हुन सक्छन् । जसले गर्दा एकै चेनमा जोडिएका व्यवसायलाई कति असर पुर्‍याउँछ होला ? त्यसको हिसाब सामान्य आउँदैन, होटलमा खाली कोठा रहन्छन्, यातायात स्थिर हुन्छ, दैनिक आम्दानी र खर्चमा ह्रास आउँछ, ठुला व्यापारीदेखि सामान्य किसान समेत प्रभावित हुन्छन् । यसरी हेर्दा मौसमको अस्थिरता केवल प्राकृतिक चुनौती होइन, यो आर्थिक अस्थिरताको कारण पनि बन्ने गरेको छ ।

नेपालमा दसैँपछि यात्रा गर्नु केवल मनोरञ्जन होइन, एक सामाजिक परम्परा पनि हो, धेरै परिवारका लागि यो त आत्मीय समय समेत हो । काठमाडौँ, पोखरा, नारायणगढ, बुटवल, नेपालगन्ज वा अन्य सहरमा बस्ने युवा तथा सन्तानले गाउँ फर्कने र परिवारसँग समय बिताउने, त्यसपछि घुमघाम गर्ने अवसर पनि हो, तर जब यात्रामा कठिनाइ आउँछ, पहिरो र बाढी आउँछ, उडान रद्द हुन्छ, त्यो उमङ्ग सबै हराउँदो रहेछ ।

मैले देखेको छु, धेरै आन्तरिक पर्यटक उल्लिखित कारणले यात्रा र घुमफिरको सट्टा सहरभित्रका मल, क्याफे, सामान्य पार्क वा गल्लीमा सीमित हुन थालेका छन् । यसले नेपालको ग्रामीण पर्यटनमा ठुलो चुनौती ल्याएको छ । गाउँमा बसोबास गर्दै होमस्टे चलाउने समुदायले यो परिवर्तन गम्भीर रूपमा महसुस गरिरहेका छन्, राजमार्ग छेउछाउ, पालिका मुकाम र जिल्ला मुकाममा व्यवसाय गर्ने हजारौँले व्यावसायिक सङ्कट महसुस गरेका छन् । मौसम र विपत्तिप्रति यात्रुहरूको मानसिक डरले गर्दा भ्रमणको संस्कार नै परिवर्तन हुने त होइन ? मानिस आजकल यात्राको योजना बनाउँदा पहिलो प्रश्न गर्छन्, मौसम के छ ? कस्तो छ ?

  • सरकारी नीति र संरचनात्मक कमजोरी

नेपालको पर्यटन ऐन र नीतिमा आन्तरिक पर्यटनलाई प्राथमिकता दिइने कुरा धेरैजसो त वक्तव्यबाजीमै सीमित रहँदै आएका छन् । यो कुराको चुनौती मैले हरेक दिन महसुस गर्दै आएको छु । बाह्य पर्यटकको सन्दर्भमा पनि निजी क्षेत्रझैँ राज्य कहिल्यै गम्भीर हुनै सकेन । योजनाहरुलाई कागजी खोस्टामा मात्र सीमित गराएको पाइन्छ । राज्यको तर्फबाट गतिलो पर्यटक लक्षित संरचनाको निर्माण नगण्य छ । आपत्कालीन सहायता संयन्त्र हेर्ने हो भने त्यो झनै कमजोर छ । यात्रा र यात्रीको सुरक्षाको अभाव छ । सडक, पुलहरू अझै पनि अस्थायी मर्मतमै भर पर्नुपर्छ । जीर्ण सार्वजनिक यातायात र चालक र सहचालकको व्यवहारको त कुरै नगरौँ । 

नेपालजस्तो भौगोलिक विविधता भएको देशमा प्रतिकूल मौसममा भरपर्दो सुरक्षाका संयन्त्र अनिवार्य हुनुपर्ने हो, न स्थानीय तहमा पर्याप्त चेतावनी प्रणाली छ, न त पर्यटन मन्त्रालयले निजी क्षेत्रसँग सहकार्यमा वैकल्पिक र नवीन योजना बनाउने जाँगर देखाउँछ ।

दसैँपछि हुने भिडलाई पर्यटन अवसरका रूपमा नियाल्नुको सट्टा हामीले यसलाई आकस्मिक व्यवस्थापन र जोखिमको रूपमा हेर्ने प्रवृत्ति बढेको छ । यस मानसिकताले पर्यटनको दिगोपन कसरी सम्भव होला ?

यो समस्याबाट उन्मुक्ति पाउन नेपालले तुरुन्तै केही व्यावहारिक र दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न, मौसम पूर्वानुमानको वैज्ञानिकता र द्रूत सूचना प्रवाहका लागि प्रविधि र मानव स्रोतमा लगानी आवश्यक छ ।  प्रत्येक आन्तरिक तथा बाह्य पर्यटकलाई एसएमएस, एप वा मिडियामार्फत यात्रा सुरक्षा सन्देश दिने व्यवस्था पनि प्रभावकारी हुन सक्छन् । 

यस्तै, सडक र पुलहरूको निर्माणमा मापदण्डको सुनिश्चिततासहित दीर्घकालीन पूर्वाधार निर्माण गरिनुपर्छ । वर्षा र विपत्को क्षति कम गर्न पहाडी क्षेत्रका सडकमा आधुनिक ड्रेनेज, ढल निकास र पर्खाल प्रणालीमा सुधार आवश्यक छ । आन्तरिक पर्यटन र यात्रामा पनि बिमाको अवधारणा ल्याएर पर्यटक र व्यवसायी दुवैलाई सुरक्षित महसुस गराउन सकिन्छ । वैकल्पिक पर्यटन अवधारणाको विकास गर्नुपर्छ । मौसम प्रतिकूल हुँदा पनि सञ्चालन गर्न सकिने सांस्कृतिक भ्रमण, स्थानीय खानपान र पाक्कलाको अनुभव, सुरक्षित तथा हरियाली स्थलको भ्रमण, प्रदेश स्तरबाटै इनडोर सांस्कृतिक गतिविधि जस्ता कार्यक्रम विस्तार गर्न सकिन्छ ।
नीति–निर्माणमा व्यवसायीको सहभागिता र व्यवसायीमैत्री लचिलो योजना आवश्यक छ । प्रत्येक प्रदेश र स्थानीय तहमा विपत्ति र मौसमीय जोखिम अनुसारको पर्यटन रणनीति बनाइनुपर्छ ।

मौसम मात्र होइन, हाम्रो क्यालेन्डर र पात्रो व्यवस्थापन पनि चुनौती हो, दसैँ अघि–पछिको समय यो एउटा विश्रामको समय हो, नेपाली जीवनको एउटा सांस्कृतिक उत्सव पनि हो, तर जब प्रकृति र राज्यको नीति दुवैले साथ दिँदैनन्, त्यो उत्सव होइन आर्थिक सङ्कटमा बदलिने रहेछ ।

प्रतिकूल मौसम हाम्रो नियन्त्रणमा नहोला, तर त्यसका असरलाई घटाउने योजना बनाउन सकिन्छ । नागरिक र पर्यटकको सुरक्षालाई प्राथमिकता दिने नीति अब ढिलो गर्नु हुँदैन ।

(भण्डारी प्रेसिडेन्ट ग्रुपका अध्यक्ष एवं होटल व्यवसायी महासङ्घ नेपालका महासचिव पर्यटन व्यवसायी हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टीआर भण्डारी ‘शङ्कर’
टीआर भण्डारी ‘शङ्कर’
लेखकबाट थप