तत्काल कसैलाई कार्यवाहक दिने पक्षमा छैनन् देउवा
सारांश
- शेरबहादुर देउवाले कार्यवाहक सभापति दिने विषयमा कुनै छलफल नभएको बताएका छन्।
- मंसिर मसान्तमा कार्यकाल सकिने भएपछि देउवा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छन्।
- केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने सम्भावना रहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल कसैलाई कार्यवाहक नदिने बताएका छन् । कार्यवाहक सभापति दिएर महाधिवेशनमा जाने विषयमा चर्चा परिचर्चा भइरहँदा देउवाको सचिवालयले अहिलेसम्म कार्यवाहक दिने विषयमा कुनै छलफल नै नभएको बताएको हो ।
देउवाका स्वकीय सचिव भानु देउवाले कार्यवाहक दिने विषयमा कुनै छलफल नै नभएको बताए । ‘अहिलेसम्म कार्यवाहक दिने विषयमा छलफल नै भएको छैन,’ स्वकीय सचिव भानुले रातोपाटीसँग भने, ‘तयारी पनि केही गरिएको छैन ।’
मंगलबार बोलाइएको केन्द्रीय समिति बैठकमा भने देउवा उपस्थित हुनेछन् । गत भदौ २४ को जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीबाट कुटिएका सभापति देउवा अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । स्वकीय सचिव भानुले मंगलबारको केन्द्रीय समिति बैठकमा देउवा सहभागी हुने जानकारी दिए ।
बैठकमा उपस्थित भएर सम्बोधन गर्ने देउवाको तयारी छ । पार्टीका एक पदाधिकारीका अनुसार बैठक लामो समयसम्म चल्यो भने आफू उपस्थित भएर सम्बोधन गर्ने र बैठकभरका लागि मात्रै कार्यवाहक दिनसक्ने विषयमा भने कुराकानी भइरहेको छ । तर, महाधिवेशन नहुञ्जेलसम्मका लागि कार्यवाहक दिने सोचमा देउवा नरहेको ती पदाधिकारीले रातोपाटीलाई बताए ।
आगामी मंसिर मसान्तमा देउवाको चार वर्षे कार्यकाल समाप्त हुँदै छ । देउवा अब पार्टी विधान अनुसार सभापतिमा दोहोरिन पाउँदैनन् । देउवा स्वयंले गत वर्षदेखि नै आफूले राजनीतिमा अब अवकाश लिने बेला भएको बताउँदै आएका छन् ।
मंगलबार बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने र त्यो महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने पक्षमा देउवा रहेका उनलाई पछिल्लो समय भेटेका नेताहरू बताउँछन् ।
जेनजी आन्दोलनपछि गत भदौ २८ गते, असोज ३ गते र असोज २३ गतेदेखि दैनिक रूपमा बसिरहेको पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समिति बैठकको सभापतित्व उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको मुख्य एजेन्डा महाधिवेशन छ ।
प्रवक्ता डा. प्रकाश शरण महतले शनिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले कार्यवाहक दिने विषयमा कुनै चर्चा नभएको बताएका थिए ।
तर, पूर्वउपसभपाति विमलेन्द्र निधि र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भने देउवाले कार्यवाहकको जिम्मेवारी दिनुपर्ने बताइरहेका छन् ।
देउवाका विश्वासपात्र मानिने केन्द्रीय सदस्य उदयशमशेर राणाले आइतबार महाधिवेशन गर्ने गरी कार्यवाहकको जिम्मेवारी दिन सभापति देउवालाई सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण