शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणाली

सोमबार, २७ असोज २०८२, १९ : १५
सोमबार, २७ असोज २०८२

काठमाडौं । वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) अब राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको National Identity Management Information Systems (NIDMIS) सँग औपचारिक रूपमा जोडिएको छ।

यो प्रणाली जोडिएसँगै अब वैदेशिक रोजगारका लागि अभिमुखीकरण तालिममा सहभागी हुने व्यक्तिको वास्तविक पहिचान अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत प्रमाणित हुनेछ।

यसअघि राहदानी बोकेको व्यक्ति नै तालिममा उपस्थित भएको वा बायोमेट्रिक प्रविष्टि गर्दा वास्तविक सेवाग्राही नै भएको हो कि होइन भन्ने सुनिश्चितता नहुने समस्या थियो।

गत भाद्र महिनामा वैदेशिक रोजगार विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच भएको संयुक्त निर्णयअनुसार सफ्टवेयर प्रदायक कम्पनी र प्राविधिक टोलीले सम्पूर्ण तयारी पूरा गरेपछि आगामी असोज २९ गते (बुधबार) देखि यो प्रणाली अनिवार्य रूपमा लागू हुने भएको हो।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार अब अभिमुखीकरण तालिममा ब्याच हाल्नुअघि वास्तविक व्यक्तिको पहिचान प्रमाणित हुनुपर्नेछ। व्यक्ति स्वयं उपस्थित भई कक्षामा सामेल हुनुपर्ने बाध्यकारी व्यवस्था लागू गरिएको उनले बताए।

भट्टराईका अनुसार पहिलो चरणमा अभिमुखीकरण तालिममा मात्र व्यक्ति पहिचान प्रणाली लागू गरिएको छ। आगामी चरणमा यो प्रणालीलाई क्रमशः श्रम स्वीकृति, स्वास्थ्य परीक्षण र अध्यागमन प्रक्रियासँग पनि आवद्ध गरिनेछ, जसले वैदेशिक रोजगारका सबै चरणमा वास्तविक व्यक्ति पहिचान सुनिश्चित गर्नेछ।

यस प्रणाली लागू भएपछि वैदेशिक रोजगारमा जाने व्यक्तिका तथ्यांक एकीकृत रूपमा प्राप्त गर्न सकिनेछ। साथै, तालिम प्रदायक संस्थाले वास्तविक सेवाग्राहीलाई मात्र तालिम दिनुपर्ने बाध्यता हुनेछ। तालिमका क्रममा गन्तव्य मुलुकको भौगोलिक, भाषिक, सांस्कृतिक र ट्राफिक नियम, यात्रा तयारी, कानुनी प्रक्रिया, कामदारका अधिकार–कर्तव्य र वित्तीय साक्षरताबारे विस्तृत जानकारी प्रदान गरिनेछ।

नयाँ प्रणालीको कार्यान्वयनले वैदेशिक रोजगारीलाई अझ सुरक्षित, पारदर्शी र मर्यादित बनाउन सहयोग पुग्ने विभागले जनाएको छ।

2082-6-26-PDOT

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप