बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

दिल्ली टेस्ट : क्लिन स्वीपबाट भारत ५८ रनले टाढा

सोमबार, २७ असोज २०८२, २० : २१
सोमबार, २७ असोज २०८२

काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको दिल्ली टेस्टमा २–० को क्लिन स्वीपबाट घरेलु टोली भारत जम्मा ५८ रनले मात्र टाढा छ ।

१ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको भारतीय टोलीले चौथो दिनको समाप्तिमा एक विकेट गुमाएर ६३ रन बनाइसकेको छ। केएल राहुल २५ र साई सुदर्शन ३० रनमा अविजित छन् ।

उनीहरूबिच अर्धशतकीय साझेदारी भइसकेको छ। यसअघि ओपनर यशस्वी जैसवाल ८ रन बनाएर आउट भए ।

फलोअन खेलिरहेको वेस्ट इन्डिजको टोलीले दोस्रो पारीमा ३ सय ९० रन बनाएर अलआउट भयो। एक समय वेस्ट इन्डिजमाथि पारीको हारको खतरा मडारिएको थियो, तर जोन क्याम्पबेल (११५ रन) र शाई होप (१०३ रन) ले उत्कृष्ट शतक बनाएर त्यो खतरा टारे। उनीहरूले तेस्रो विकेटका लागि १७७ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

पछिल्लो क्रममा जस्टिन ग्रीभ्स (५० रन) र जायडन सील्स (३२ रन) ले पनि जुझारु ब्याटिङ गर्दै १०औँ विकेटका लागि ११३ बलमा ७९ रनको साझेदारी गरेर भारतलाई लामो समयसम्म विकेटबाट वञ्चित राखेका थिए ।

भारतका लागि जसप्रीत बुमराह र कुलदीप यादवले ३–३ विकेट लिए। मोहम्मद सिराजले दुई विकेट हात पारे भने रवीन्द्र जडेजा र वाशिङ्टन सुन्दरले १–१ विकेट बाँडे ।

यसअघि, वेस्ट इन्डिज पहिलो पारीमा २ सय ४८ रनमा समेटिएको थियो। भारतले आफ्नो पहिलो पारी ५१८/५ को स्कोरमा इनिङ्स घोषणा गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप