शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : अन्ततः अस्ताइसकेछन् विपिन जोशी, नियमित महाधिवेशनतिरै मोडिँदै कांग्रेस

सोमबार, २७ असोज २०८२, २२ : ००
सोमबार, २७ असोज २०८२

आज २०८२ असोज २७ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा अन्ततः अस्ताइसकेछन् विपिन जोशी, नियमित महाधिवेशनतिरै मोडिँदै कांग्रेस, जेनजी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जिङमाथि अनुसन्धान जारी, महराविरुद्ध अभियोगपत्र पेस, प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा एमाले अडिग लगायत छन् ।

१. अन्ततः अस्ताइसकेछन् विपिन जोशी
हमासको नियन्त्रणमा रहेको भनिएका विपिन जोशी अन्ततः जीवित नरहेको पुष्टि भएको छ । हमासले जोशी जीवित नरहेको सोमबार जानकारी दिएको हो ।

२. नियमित महाधिवेशनतिरै मोडिँदै कांग्रेस
नेपाली कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने बहस भइरहेको समयमा संस्थापन पक्ष र इतरपक्षकै कतिपय नेता नियमित महाधिवेशनकै पक्षमा खुल्न थालेका छन् । उनीहरू कार्यवाहक सभापति तोकेर नियमित महाधिवेशनमा जानुपर्ने तर्क गरिरहेका छन् ।

३. जेनजी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जिङमाथि अनुसन्धान जारी
जेनजी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जिङ दावामाथि प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान जारी राखेको छ । उनको घरबाट नक्कली पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

४. महराविरुद्ध अभियोगपत्र पेस
पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्ध सरकारी वकिलले अदालतमा अभियोगपत्र पेस गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।

५. प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा एमाले अडिग
नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अडिग देखिएको छ । सडक र अदालतबाट आफ्नो एजेन्डा स्थापनाका लागि अघि बढ्ने एमालेको निधो छ ।

६. निर्वाचनको पक्षमा खुल्यो एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले आफूलाई निर्वाचनको पक्षमा उभ्याएको छ । सचिवालय बैठकमार्फत एकीकृत समाजवादीले पार्टी एकताका लागि चलिरहेको वार्तालाई निष्कर्षमा पु¥याउने तथा निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको हो ।

७. लयमा फर्किने तयारीमा सर्वोच्च अदालत
जेनजी आन्दोलनबाट भौतिक संरचनामा क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका रिट बाहेक अन्य सेवा स्थगित गरेको सर्वोच्च अदालतले मंगलबार (भोलि)देखि नियमित रिट दर्तासहितका काम थाल्ने भएको हो ।

८. दलित समुदायबाट एआईजी हुने पहिलो बने विक
डम्बर विक दलित समुदायबाट नेपाल प्रहरीको एआईजी हुने पहिलो व्यक्ति भएका छन् । उनले प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागको जिम्मेवारी सम्हालेका छन् । 

९. दुर्गा प्रसाईंको दाबी– यो सरकार टिक्दैन
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन् ।

१०. अनुदान रोकिएपछि निर्यात उद्योगी–व्यवसायी चिन्तित
सरकारले एक दशकदेखि निर्यात उद्योगी व्यवसायीहरूलाई दिँदै आएको अनुदान खारेज गरेको छ । स्रोत अभावको कारण देखाउँदै सरकारले अनुदान खारेज गरेको हो । व्यवसायीहरूले सरकारको निर्णयले नेपालको विदेशी मुद्रा आर्जन र आयात प्रतिस्थापनमा गम्भीर असर पर्ने प्रतिक्रिया दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप