मंसिरमा महाधिवेशन गर्ने एमाले र माओवादीको घोषणा, अलमलमा कांग्रेस
सारांश
- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेका छन्, जेनजी विद्रोहका कारण राजनीति अस्थिर भएपछि।
- एमालेले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ, भने माओवादीले पनि विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ।
- नेपाली कांग्रेस भने महाधिवेशनबारे अलमलमा छ, केन्द्रीय समिति बैठकले नियमित वा विशेष महाधिवेशनबारे निर्णय गर्नेछ।
काठमाडौँ । भदौ २३ र २४ गते जेनजी विद्रोहका कारण देशको राजनीति उथलपुथल भएपछि दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिरको अन्त्यमा महाधिवेशन गर्ने निर्णय गरेका छन् ।
एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले मंसिरको अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय ग¥यो । स्थान र समयबारे केन्द्रीय समिति बैठकले निर्णय लिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
सचिवालय बैठकले तयार गरेको एजेन्डाबारे निर्णय लिन असोज २९ गते एमालेले केन्द्रीय समिति बैठक बोलाएको छ । जेनजी विद्रोहका कारण अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको थियो । पार्टीभित्र नेतृत्व हस्तान्तरण गर्नुपर्ने चर्को आवाज उठेपछि ओलीले बैठक बोलाएका थिए ।
सत्ता गुमाएको एक महिनामा बसेको बैठकमा केही नेताहरूले ओलीको राजीनामा मागेका थिए, तर जबाफमा आफूले पार्टी र देशको हित विपरीत कुनै काम नगरेकाले राजीनामा नदिने अडान ओलीले लिए । उनले नेतृत्व हस्तान्तरणसम्बन्धी बहस महाधिवेशनबाटै टुङ्गो लगाउने भनेपछि तत्कालका लागि विवाद साम्य भएको छ ।
उपमहासचिव ज्ञवालीले नेतृत्वको विकल्पमा केही नेताहरूले कुरा उठाए पनि बाहिर आएजस्तो कित्ताकाट नभएको जिकिर गरे । ‘पार्टीभित्र मतान्तर हुँदा मिडिया म्यानुपुलेट गर्ने धेरै हुन्छन् । नेताहरूबिच कित्ताकाट भएको विषय सही होइन । यद्यपि यसपटक खुलेर आफूलाई लागेका कुरा कमरेडहरूले गर्नुभयो,’ उनले भने ।
नेतृत्वको विकल्पको बारेमा पनि कतिपयले कुरा उठाएको ज्ञवालीको भनाइ छ । उनले भने, ‘छलफलमा आउने कुरा निर्णय होइन । अन्तिममा हामीले जे गर्छौं, त्यही निर्णय हो । मन माझामाझ गर्नेगरी कुनै कमरेडले सवा घण्टासम्म विचार राख्नुभयो । जीवन्त छलफलले साझा निष्कर्ष निकालेका छौँ ।’
एमालेको भदौ २०–२३ मा सम्पन्न विधान महाधिवेशनले ७० वर्षे उमेरहद र दुई कार्यकाल रहने व्यवस्था खारेज गरी ओलीलाई नै अध्यक्ष बनाउनेगरी विधान संशोधन गरेको थियो । पार्टीभित्र झाङ्गिँदै गएको अन्तरसंघर्षका कारण निकै दबाबमा रहेका ओलीले महाधिवेशन गर्ने घोषणसँगै राहत महसुुस गरेका छन् ।
एमालेमा जस्तै नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषयमा तीव्र मतभेद देखिएको माओवादीले मौजुदा केन्द्रीय समिति विघटन गरी मंसिरको अन्त्यतिर विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेको छ । जेनजी विद्रोह अघिदेखि नै नेतृत्व छाड्न निकै दबाबमा परेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ९ र १० गते केन्द्रीय समिति बैठक बोलाएका थिए ।
बैठकमा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायत नेताहरूले कार्यवाहक दिएर महाधिवेशनमा जानुपर्ने सुझाव दिएका थिए, तर बहुमत सदस्यहरूले प्रचण्डकै संयोजकत्वमा महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।
यद्यपि विशेष महाधिवेशन गर्ने भनिए पनि प्रचण्डले पार्टी एकतामा जोड दिएका छन् । केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा रहेका दलहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरेको थियो । मंसिरमा एकता महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा बहस जारी रहेको नेता हरिबोल गजुरेलले बताए ।
‘पार्टी एकताको विषयमा समाजवादी मोर्चामा रहेका दलहरू र अन्य वामपन्थी घटकहरूसँग पहल भइरहेको छ । एकता महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा बहस जारी नै छ । अहिले एकीकृत समाजवादी र नेकपाको बैठक चलिरहेको हुनाले उनीहरूको निर्णय आएपछि पार्टीको बैठक बस्छ’, उनले भने ।
प्रचण्डले अहिलेसम्म एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता प्रक्रिया सकारात्मक रहेको पार्टीलाई जानकारी गराएका छन् । विप्लवले नेतृत्व गरेको नेकपासँग पनि एकता प्रक्रियामा जोड्न पहल भइरहेको गजुरेलले बताए ।
एमाले र माओवादीले महाधिवेशन घोषणा गरिसक्दा देशकै सबैभन्दा पुरानो तथा आफूलाई लोकतान्त्रिक पार्टी दाबी गर्ने नेपाली कांग्रेस नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा अलमलमा देखिएको छ । जेनजी विद्रोहका वेला आफ्नै निवास बुढानीलकण्ठमा कुटिएका सभापति शेरबहादुर देउवा असोज २३ गतेदेखि दैनिक रूपमा बसिरहेको पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समिति बैठकमा उपस्थित भएनन् ।
देउवाको अनुपस्थितिमा बैठकको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको मुख्य एजेन्डा महाधिवेशन छ । केन्द्रीय समिति बैठकको सभापतित्व देउवाले नै गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । बैठकमा कार्यवाहक दिने विषयमा कुनै धारणा नआएको उनले जिकिर गरेका छन् ।
कार्यसमिति बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीमा कार्यवाहक सभापतिको जिम्मेवारी दिनुपर्ने धारणा राखेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व हस्तान्तरण र पार्टी रुपान्तरणका लागि विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका थिए ।
कांग्रेसको विधान अनुसार नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने हुन्छ । विशेष अवस्थामा एक वर्ष कार्यकाल थप गर्न पाउने वैधानिक व्यवस्था छ । विशेष महाधिवेशनमा जाने कि नियमित महाधिवेशन भन्ने विषय केन्द्रीय समिति बैठकले नै टुङ्ग्याउने नेताहरूले बताएका छन् ।
कांग्रेस र एमालेको महाधिवेशन २०७८ साल मंसिरमा भएको थियो भने माओवादीको सोही वर्ष पुसमा सम्पन्न भएको थियो । जेनजी विद्रोह नभएको भए यी तीन वटै पार्टी २०८३ मा महाधिवेशन गर्ने तयारीमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण