विभेदको बार पन्छाउँदै प्रहरीको उच्च ओहदामा डम्बर विक
सारांश
- डम्बर विक, दाङको घर्ना गाउँका दलित परिवारबाट नेपाल प्रहरीको एआईजी बन्न सफल भएका छन्।
- बाल्यकालमा बुबाआमा गुमाएका र छुवाछुतको सामना गरेका विकले संघर्ष गर्दै प्रहरीमा नयाँ इतिहास बनाए।
- उनले इमान्दार अधिकृतको छवि बनाए र प्रहरी सेवामा धेरै सुधारको आवश्यकता रहेको बताए।
काठमाडौँ । दाङको घोराहीबाट दक्षिणमा रहेको घर्ना गाउँको सामान्य दलित परिवारमा जन्मेहुर्केका डम्बर विक नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका छन् ।
दलित समुदायबाट प्रहरीको एआईजी हुने उनी पहिलो अधिकृत हुन् । मन्त्रिपरिषद्को निर्णय अनुसार विक हाल प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत छन् ।
प्रहरीमा नयाँ इतिहास बनाएका विकको सङ्घर्ष बाल्यकालदेखि नै सुरु भएको थियो । कलिलो उमेरमा उनले बुवाआमा गुमाए । ६ कक्षामा पढ्दै गर्दा टुहुरो भएपछि उनलाई दाजु खड्गबहादुर सुनारले हुर्काए ।
उनको गाउँमा माध्यमिक तहको शिक्षाका लागि विद्यालय थिएन । त्यसका लागि उनी घोराही आउनुपर्यो । त्यहाँ डेरा लिएर उनी ८ कक्षामा पढ्न थाले । तर, जब घरबेटीले दलित भन्ने थाहा पाए, उनलाई ‘डेरा छाडेर जाऊ !’ भनियो ।
घरधनीले निकालेपछि कलिलो उमेरका विक घोराहीस्थित अर्का घरधनी थारु जिम्दारकहाँ पुगे । त्यहाँ उनले थारु जिम्दारको छोरालाई ट्युसन पढाउने थाले ।
डम्बरले स्कुलमै विभेद र बहिष्करण देखे । सरस्वती पूजा गर्ने बेलामा स्कुलमा अरू सबै साथीहरूले पूजा गरेपछि मात्र डम्बरको पालो आउँथ्यो । शिक्षकहरूले उनलाई छुट्टै राखेर अन्तिममा पूजा गराएको सम्झिँदै उनले डम्बरले भने, ‘पूजा गर्दा मनमनै भन्थेँ, सरस्वतिले मलाई विभेद नगरुन् अरूले विभेद गरेर फरक पर्दैन ।’
एसएलसी सकेर उच्च शिक्षा अध्ययन गर्न उनी काठमाडौँ आए । शंकरदेव क्याम्पसबाट आईकम र मीनभवनबाट बीकम गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयमा मास्टर डिग्री पुरा गरे । विक भन्छन्, ‘दाजुले गाउँबाट पठाएको खर्च लिएर पढाइ पूरा गरेँ ।
पढाइ सकेपछि डम्बरलाई दाइले सधैँ विदेश जान हुँदैन भनेर सम्झाइराख्थे । दाइकै सुझाव अनुसार २०५३ सालमा उनले राष्ट्रिय अनुसन्धान विभागको निरीक्षक पदमा फारम भरे । नाम पनि निस्कियो ।
तत्कालीन विद्रोही माओवादीले २०५८ मङ्सिर ८ मा दाङ आक्रमण गरेपछि सरकारले डम्बर सहितका अधिकृतहरूलाई प्रहरीमा स्थानान्तरण गर्ने निर्णय गर्यो । हतियार चलाउनु नपर्ने जागिरमा इन्ट्री भएका विकलाई हतियार चलाउन पठाउने निर्णय भएपछि तत्कालीन गुप्तचर प्रमुख देविराम शर्माले भनेका थिए, ‘अब कि गर्ने, कि मर्ने हो, तिमी पुलिसमा जाऊ ।’
त्यसपछि प्रहरीमा स्थानान्तरण भएका विक अहिले एआईजीको पदसम्म पुगेका छन् । असोज २४ मा एआईजीको फुली लगाउने कार्यक्रममा गाउँबाट आएका उनका दाजुले विकलाई भने, ‘भाइ, मेरो इच्छा पुरा गरिस् ।’
- विभेदको गहिराइ
फौजमा खुलेर कसैले छुवाछुत र विभेदको कुरा गरेनन् । तर, कुनै जिल्लामा जाँदा कुरा काट्दै भन्थे, ‘दलित डीएसपी पो आएको रहेछ ।’
जुनियर प्रहरीको बढुवा हुँदा सम्बन्धित इलाका र जिल्लामा फुली लगाइदिने प्रचलन हुन्छ । फुली लगाउने बेला दलितको हातबाट फुली लगाउन सकलदर्जा हिच्किचाएको कैयौँ घटना विकले महसुस गरे । रातोपाटीसँग कुरा गर्दै विकले भने, ‘थर परिवर्तन गरेर जिल्लामा जाऊँ कि जस्तो लाग्थ्यो ।’
थर विक नराखेर शाह वा अरू केही लेखेर जाने सोच उनको मनमा नआएको पनि होइन । उनले हजारौँ पल विभेदको गहिराइ मापन गरे । थरकै कारण सङ्घर्ष थप पेचिलो बन्यो तर, उनले सङ्घर्ष छाडेनन् ।
.._DzY6nkSwJO.jpg)
विभदेको बार पन्छाउँदै अघि बढ्दा अहिले उनी विशिष्ट श्रेणीको अधिकृत भएका छन् । डम्बर भन्छन्, ‘मलाई एआईजी बनाउँदा राज्यले निमुखालाई पनि न्याय दिने रहेछ भन्ने अनुभूति भएको छ ।’
इन्स्पेक्टर हुँदा २०५८ मा उनी सुर्खेतमा बसे । त्यसपछि २०६१–०६२ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको कमाण्ड गरे ।
डीएसपी हुँदा प्यूठान र ओखलढुंगा जिल्ला कमाण्ड गरेका विकले एसपी हुँदा धादिङको इन्चार्ज भएर काम गरे । इटालीबाट फर्म्ड पुलिसको कमाण्ड ट्रेनिङ गरेका डम्बरले यूएन मिसन इस्ट टिमोरमा १ वर्ष काम गरे ।
सुदूरपश्चिम प्रदेशको डीआईजी हुँदाहुँदै उनी एआईजीमा बढुवा भए । भन्छन्, ‘मेरो बढुवाको निर्णयसँगै सरकारले दलित समुदायको विश्वास लिने काम गरेको छ ।’
डम्बरमा पदको दम्भ र अहङ्कार कहिल्यै देखिएन । उनले ठुलो महत्त्वाकाङ्क्षा पनि पालेनन् । उनी भन्छन्, ‘गर्दै जाँदा यहाँ आइपुगेँ, मलाई संगठनले जहाँ खटायो त्यहाँ इमानदारितापूर्वक काम गरेँ ।’
- इमान्दार अधिकृत
दाजुले ‘विदेश जानु हुँदैन’ भनेको सम्झेर विकले सरकारी सेवा रोजे । प्रहरीमा आएर उनले इमान्दार अधिकृतको छवि बनाए । प्रहरीमा स्थानान्तरण भएपछि उनले कुनै कारबाही भोगेका छैनन् । भन्छन्, ‘मैले एउटा पनि स्पष्टीकरणको जवाफ दिनुपरेको छैन ।’
३० वर्षे सेवा अवधि कायमै रहेमा विक २०८३ पुसमा अवकाशमा जान्छन् । २९ वर्ष सेवा गर्दा उनले प्रहरीभित्र धेरै सुधारको आवश्यकता महसुस गरेका छन् । रातोपाटीसँग उनले भने, ‘जाँगर पार गरेर यहाँ आएपछि थाहा भयो, प्रहरीमा धेरै सुधार आवश्यक छ ।’
टिम वर्कमा विश्वास गर्ने विक नागरिक केन्द्रित काममा रमाउँछन् । नयाँ पुस्तालाई उनी भन्छन्, ‘देशलाई माया गर्नुपर्छ ।’
सेवा प्रवेश गरेपछि उनले आफ्नै समुदायकी वसन्ती देवी सुनारसँग विवाह गरे । सुनार त्यसबेला आईएलटिएस/टोफेलको शिक्षिक थिइन् । भारतको गुहावटीमा पढेकी सुनारले विवाहपछि सेभ द चिल्ड्रेनमा नाम निकालिन् । डम्बर भन्छन्, ‘श्रीमतीको पनि जागिर भएपछि हाम्रो गुजारा सहज हुन थाल्यो ।’
विक दम्पतीका एक छोरा छन् । छोराले परराष्ट्र सेवाको लिखित परीक्षामा नाम निकालेका छन् ।
डीएसपी भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्दा सन्तान विदेश पठाउनेहरूको पीडित देखेका विक भन्छन्, ‘त्यसैले मैले छोरालाई विदेश पठाउँदिनँ भन्ने सङ्कल्प गरेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण