बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

पशुपतिनाथबाट महत्त्वपूर्ण घोषणा गर्दैछु : दुर्गा प्रसाईं

सोमबार, २७ असोज २०८२, १५ : ३८
सोमबार, २७ असोज २०८२

सारांश

  • दुर्गा प्रसाईंले वर्तमान सरकार नटिक्ने र देशमा राजाको आवश्यकता रहेको बताए।
  • उनले हिन्दु राष्ट्र स्थापनाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको र सडकको सरकार घोषणा गर्ने बताए।
  • प्रसाईंले वर्तमान संविधानप्रति असन्तुष्टि जनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह निवास पुग्ने दिन आउने दाबी गरे।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन्।

 सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशमा राजाको आवश्यकता अपरिहार्य रहेको बताए। 'राजा भनेको सबैलाई जोडेर राख्ने हो,' उनले भने, 'धर्म भनेको देशको संविधान जस्तै हो। हामीलाई यस्तो संविधान चाहिँदैन।' उनले वर्तमान संविधानले देशलाई केही नदिएको आरोप लगाउँदै अब नागरिकहरू पूर्वराजा ज्ञानेन्द्र शाह निवास निर्मल निवास पुग्ने दिन आउँदै गरेको दाबी गरे।

प्रसाईंले हालैको राजनीतिक घटनाक्रम र सरकार गठनप्रति तीव्र आक्रोश व्यक्त गरे। उनले सुशीला कार्की नेतृत्वको सरकारलाई लक्षित गर्दै भने, 'यो सरकार टिक्दै टिक्दैन, यो डलरमा आएको हो,' उनले आफ्नो आन्दोलनलाई कसैले रोक्न नसक्ने समेत दाबी गरे।

उनले आफ्नो अभियान हिन्दु राष्ट्र स्थापनाका लागि भएको र त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए। 'यो देशमा हिन्दु राष्ट्र, गर्दन जाओस्, कायम गराएर छाड्छु,' प्रसाईले भने। उनले आफू प्रधानमन्त्री भएको भए २४ घण्टाभित्र ४०० जना भ्रष्टाचारीलाई कारबाही गरिसक्ने भन्दै कडा अभिव्यक्ति दिए।

पत्रकारको प्रश्नमा उनले पशुपतिनाथबाट एउटा महत्त्वपूर्ण घोषणा गर्न लागेको जानकारी दिए। 'आज एउटा घोषणा गर्दैछौं,' उनले भने, 'सडकको सरकार घोषणा हुँदैछ। विस्तृत जानकारीका लागि पशुपतिमा आउनुहोस्।' यति भन्दै उनी पशुपतिनाथ मन्दिरतर्फ लागेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप