बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

मङ्गलबार, २८ असोज २०८२, ०५ : ४१
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • भोजपुरका तीन स्थानीय तहले मुन्दुम पदमार्ग अल्ट्रा ट्रेल रेस आयोजना गर्ने भएका छन्।
  • प्रतियोगिता हतुवागढीबाट सुरु भई रामप्रसाद राई हुँदै आमचोकमा गएर समापन हुनेछ, जसको दुरी करिब ६५ किलोमिटर रहनेछ।
  • प्रतियोगिताले स्थानीय संस्कृति, परिकार र पहिचानलाई देश विदेशमा चिनाउने अवसर प्रदान गर्नेछ।

भोजपुर । भोजपुरका तीन स्थानीय तहले संयुक्त रूपमा ‘मुन्दुम पदमार्ग अल्ट्रा ट्रेल रेस’ आयोजना गर्ने भएका छन् । मुन्दुम पदमार्गको प्रचारप्रसार र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाले प्रतियोगिता गर्न लागेका हुन् । 

आगामी मङ्सिर २० देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे सोमबार आमचोक गाउँपालिकाको आयोजनामा बालङखामा संयुक्त बैठक बसेर सोबारे जानकारी दिइएको हो ।

हतुवागढी–९ कोप्चेबाट सुरु हुने रेस आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्ज्याङ–कपासे–सेल्मे–पाँचधारे–तावाभञ्ज्याङसम्म करिव ६५ किलोमिटरमा सञ्चालन हुने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार बैठकमा कार्यक्रमलाई प्रभावकारी, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा तीनै गाउँपालिकाबीच कार्ययोजना तयार गरिएको छ ।

पर्यटन र खेलकुदलाई एकीकृत गर्दै सामुदायिक तथा साहसिक पर्यटन विकास गर्ने लक्ष्यसहित मुन्दुम अल्ट्रा ट्रेल रेस आयोजना गरिएको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । 

करिब ६५ किलोमिटर दूरीमा सञ्चालन हुने उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावकको सहभागिता रहने आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । प्रतियोगिताले यहाँको मौलिक संस्कृति, स्थानीय परिकार र पहिचानलाई देश विदेशमा चिनाउने अवसर मिल्ने उनको भनाइ छ । 

प्रतियोगिता सञ्चालनका लागि तीनै गाउँपालिकाले रु पाँच/पाँच लाखका दरले जम्मा रु १५ लाख बजेट विनियोजन गरेका छन् । हाल ग्रेटर मुन्दुम पदमार्गअन्तर्गत तीनै गाउँपालिकामा पदमार्ग निर्माण काम भइरहेको छ । पदमार्ग निर्माणले भविष्यमा भोजपुरलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने स्थानीय तहले विश्वास लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप