बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अभिनेत्री आँचल शर्मासँग संवाद

‘सन्तानको रहर छ, तर करिअरको डर छ’

मलाई मेरो बारेमा गलत कुरा गर्लान्, फैलाउलान् वा लेख्लान् भन्ने डर छैन : आँचल शर्मा
मङ्गलबार, २८ असोज २०८२, ११ : ००
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • आँचल शर्माले आफ्नो फिल्मी यात्राको एक दशक पूरा गरिसकेकी छिन् र अब 'जेरी अन टप' लिएर आउँदैछिन्, जसमा उनी ग्ल्यामरस युवतीको भूमिकामा छिन्।
  • उनले अनमोल केसीसँगको अनुभव र महिलाप्रधान फिल्म बनाउने सोचबारे कुराकानी गरिन्, साथै थिएटरमा काम गर्ने इच्छा व्यक्त गरिन्।
  • आँचलले विवाह र सन्तानको बारेमा आफ्नो विचार राख्दै करिअर र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्ने कुरा गरिन्।

काठमाडौँ । २०७२ सालमा प्रदर्शनमा आएको फिल्म ‘नाइँ नभन्नु ल ४’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी आँचल शर्माले प्राय: फिल्मबाट सफलताको स्वाद चाखेकी छिन् । फिल्मी यात्राको एक दशक पूरा गरिसक्दा ऊर्जा र परिपक्वता दुवै लिएर अघि बढिरहेकी छिन् । 

आँचल अब ‘जेरी अन टप’ लिएर दर्शकमाझ आउँदैछिन् । फिल्ममा ‘श्रेया’ नामकी ग्ल्यामरस र स्वतन्त्र युवतीको भूमिकामा उनी छिन् । यो फिल्मको चरित्रलाई उनले आफ्नो वास्तविक स्वभावसँग मिल्दोजुल्दो पाएकी छिन् । फिल्ममा उनको जोडी बनेका छन् अभिनेता अनमोल केसी । 

आफ्ना विचार स्पष्ट रूपमा राख्न नडराउने, जुझारु र हक्की स्वभावकी आँचलको महिलाप्रधान फिल्म निर्माण गर्ने सोच छ । यसबाहेक थिएटरमा काम गर्न पनि उनको मन छ । पछिल्लो फिल्म, समग्र फिल्म करिअर लगायत विषयमा केन्द्रित रहेर अभिनेत्री आँचल शर्मासँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश : 

achal sharma (6)

  • तपाईंको फिल्मी यात्रा कस्तो चलिरहेको छ ?

मेरो फिल्मी यात्रा एकदमै राम्रो चलिरहेको छ । एकपछि अर्को फिल्ममा फरक भूमिकामा काम गर्ने अवसर पाइरहेकी छु । पछिल्लो समय फिल्म ‘जेरी अन टप’ को प्रचारप्रसारमा व्यस्त छु । तिहारसम्म यो फिल्ममै व्यस्त हुन्छु । त्यसपछि ‘झिंगे दाउ २’ को सुटिङमा जुट्नुपर्नेछ । मेरो अर्को फिल्म ‘एक मुठ्ठी बादल’ पनि छिट्टै रिलिजमा आउँछ होला, त्यसको प्रमोसनमा पनि लाग्नुपर्नेछ ।

  • ‘जेरी अन टप’ मा कस्तो भूमिकामा देख्न सकिन्छ ?

फिल्ममा मेरो चरित्रको नाम श्रेया हो, जो एक ग्ल्यामरस र स्वतन्त्र विचारकी युवती छिन् । उनी आफूलाई मनमा लागेको कुरा स्पष्ट बोल्न सक्छिन् । यो भूमिका मेरो व्यक्तिगत स्वभावसँग पनि अलि–अलि मिल्दोजुल्दो छ । यो चरित्रका लागि मैले धेरै प्रयास (एफर्ट) गर्नुपरेन, किनकि म जे छु, त्यसलाई नै फरक तरिकाले प्रस्तुत गर्दा पुग्थ्यो । निर्देशक सुयोग दाइले यसलाई भिन्न तवरबाट प्रस्तुत गर्नुभएको छ ।

उहाँका फिल्म हेर्दा एक किसिमको धारणा (जजमेन्ट) थियो । ‘जेरी अन टप’ बाट भने उहाँसँग प्रत्यक्ष काम गरेर अनुभव बटुल्ने अवसर मिल्यो ।
  • अनमोल केसीसँग पहिलो पटक स्क्रिन सेयर गर्दाको अनुभव कस्तो रह्यो ?

अनमोलबारे मिडियामा धेरै कुरा सुनिरहेकी हुन्थेँ । उहाँसँग विभिन्न कार्यक्रमहरूमा केही पटक भेट भएको थियो, तर त्यो हाइ–हेल्लोमै सीमित थियो । उहाँका फिल्म हेर्दा एक किसिमको धारणा (जजमेन्ट) थियो । ‘जेरी अन टप’ बाट भने उहाँसँग प्रत्यक्ष काम गरेर अनुभव बटुल्ने अवसर मिल्यो । म भनेको मनमा लागेको कुरा स्पष्ट भनिहाल्ने व्यक्ति हुँ, चित्त बुझ्यो भने बुझ्यो, बुझेन भने बुझेन । रिसायो भने रिसायो, हाँस उठ्यो भने हाँस उठ्यो । 

तर अनमोललाई बुझ्न अलिकति गाह्रो रहेछ । रिसाएको हो कि खुसी, उहाँको भित्री कुरा थाहा पाउन गाह्रो रहेछ । उनको बाहिरी प्रस्तुति सधैँ शान्त रहने रहेछ । यो कुरा मैले व्यक्तिगत रूपमा महसुस गर्न पाएँ । मैले उहाँको यो स्वभाव अपनाउने प्रयास पनि गरेँ, तर यो उमेरमा आएर आफ्नो बानी बदल्न गाह्रो हुँदो रहेछ । तर पनि मलाई उहाँको यो स्वभाव मनपर्‍यो ।

achal sharma (3)

  • अनमोलसँग फिल्म खेल्ने इच्छा त थियो होला ?

अनमोल केसीसँग काम गर्न पाए हुन्थ्यो भन्ने विशेष इच्छा त थिएन । तर अनमोलसँग काम गर्ने अवसर मिल्यो भने राम्रो हुन्छ भन्ने सोच चाहिँ मनमा थियो । किनकि अनमोल अहिलेको हटकेक हो । दर्शकमा उहाँको राम्रो क्रेज छ, जुन मैले उहाँसँग फिल्म अभिनय सिलसिलामा लुक्ला, नाम्चे जस्ता ठाउँमा अनुभव गर्न पाएँ । त्यसैले एक कलाकारको रूपमा यस्ता अभिनेतासँग काम गर्न पाए हुन्थ्यो भन्ने भावना मनको कुनै कुनामा थियो होला । मैले इच्छा जनाएकै त होइन, तर यो सम्भव भयो ।

हाम्रो उद्योगमा मानिसको विषयमा नराम्रा हल्लाहरू आउँदा दुःख लाग्छ । म के विश्वास गर्छु भने म अहिलेसम्म त्यस्तो अवस्थामा परेकी छैन, न त मैले भोगेकी छु ।
  • एकै फिल्ममा अनमोल र उहाँको बुबा भुवन केसीसँग काम गर्नुको अनुभव नि ?

भुवन सरसँग भने मेरा केही बानी मिल्दाजुल्दा लागे, किनकि उहाँ पनि मनमा लागेको कुरा स्पष्ट भन्ने अलिकति हक्की स्वभावको हुनुहुँदो रहेछ । उहाँ वरिष्ठ कलाकारसँग मैले धेरै कुरा सिक्न पाएँ । उहाँको फिटनेसबाट म निकै प्रभावित भए । अहिलेको अवस्थामा पनि आफूलाई त्यत्तिकै मेन्टेन गरिरहनुभएको छ । उहाँलाई हेरेर उमेर अनुमान गर्न सकिन्न ।

  • भुवनको रिल र रियल दुवैमा रोमान्टिक छवि छ, कतिपय काम गर्न डराउँछन् भनिन्छ नि ?

हाम्रो उद्योगमा मानिसको विषयमा नराम्रा हल्लाहरू आउँदा दुःख लाग्छ । म के विश्वास गर्छु भने म अहिलेसम्म त्यस्तो अवस्थामा परेकी छैन, न त मैले भोगेकी छु । त्यसैले मैले भोगेको कुरा मात्र निश्चितताका साथ भन्न सक्छु । म कस्तो छु भन्ने कुराले नै धेरै फरक पार्छ जस्तो लाग्छ । उहाँले मलाई ‘बाबु, छोरा’ भन्नुहुन्छ, म उहाँलाई ‘भुवन सर’ भन्छु । 

achal sharma (4)

हाम्रो सम्बन्ध विशुद्ध व्यावसायिक मात्र हो । उहाँलाई रोमान्टिक हिरो भनी दिइएको उपनाम ठिकै होला, तर पर्दाबाहिरको सम्बन्धमा मैले कस्तो प्रतिक्रिया दिन्छु भन्ने कुराले धेरै फरक पार्छ जस्तो लाग्छ । आफू स्पष्ट र दृढ भएपछि केही फरक पर्दैन ।

  • करिअरले १० वर्ष पूरा भयो । अब आफैँले फिल्म बोक्न सक्छु भन्ने लाग्दैन ?

त्यो सम्भव तब मात्र हुन्छ, जब मलाई धेरै आर्ट फिल्महरूबाट अफर आउँछ । किनकि त्यहाँ मैले महिलाप्रधान कथा, महिलाका पीडा, वेदना र महिलाको दृष्टिकोण (पर्सपेक्टिभ) देखाउन सक्छु । तर अहिले म जुन प्रकारका फिल्महरु गरिरहेकी छु, जहाँ मेरो चरित्र ग्ल्यामरस, बबली, लभर गर्लको हुन्छ । फिल्मको कथा पुरुष पात्रको दृष्टिकोणबाटै लेखिएको हुन्छ । मेरा लागि आफूले गर्ने हरेक चरित्र नायक हो । किनभने फिल्ममा कति सिन छ, कति भूमिका छ, नायक हाबी छ वा नायिका हाबी छ भन्नुभन्दा पनि मेरो कामबाट म सन्तुष्ट छु । तर यदि भोलि मलाई केन्द्रमा राखेर आर्ट फिल्महरू आयो भने त्यो गर्न मन छ । 

एक कलाकारको रूपमा कसलाई पो फिल्म बोक्न मन छैन र ? तर फिल्म बोक्नु पनि एक चुनौतीपूर्ण कुरा हो । यदि त्यस्तो अवसर आयो भने म खुसी छु र लिड गर्न तयार छु । 

मलाई पनि मार्गदर्शन गर्ने मान्छे नभएर र मैले धेरै मिडिया फेस गर्नुपर्ने भएर म विवादमा परेँ होला । तर ती विवादहरू मेरो चरित्रसँग जोडिएका थिएनन् ।
  • रियलमा जुझारु, हक्की स्वभावकी आँचललाई पर्दामा त्यस्तै रूपमा हेर्न पाए हुन्थ्यो नि ?

मलाई पनि त्यस्तै भूमिका मनपर्छ । धेरै म हक्की स्वभावकै भएर विवादमा तानिने गरेको भन्छन् । म त्यसलाई खण्डन गर्न चाहन्छु । किनभने करिअरको सुरुवाती चरणमा म १७ वर्षकी थिएँ, मलाई मार्गदर्शन (गाइड) गर्ने मानिसहरू थिएनन् । यदि अहिले पनि घरबाट स्कुल र स्कुलबाट घर मात्र जाने १७ वर्षीया बच्चीलाई मिडियामा ल्याइयो भने धेरै कुरा बोलिहाल्ला । जुन उचित नलाग्न सक्छ ।

मलाई पनि मार्गदर्शन गर्ने मान्छे नभएर र मैले धेरै मिडिया फेस गर्नुपर्ने भएर म विवादमा परेँ होला । तर ती विवादहरू मेरो चरित्रसँग जोडिएका थिएनन् । अहिले आएर बुझ्दैछु कि किन त्यस्तो भयो । कुन कुरा बोल्दा ठीक र कुन कुरा बोल्दा बेठीक भन्ने कुरामा । तर अहिले पनि म मनमा लागेका कुरा बोल्न डराउँदिनँ, किनकि मेरो हुर्काइ नै त्यसरी भएको हो । बुबाले त्यही सिकाउनु भयो । समाजले नराम्रो भन्ने कामहरूबाट म टाढा रहन्छु । मबाट त्यस्ता काम हुँदैन । 

त्यसैले डराउनु पर्दैन जस्तो लाग्छ । मलाई मेरो बारेमा गलत कुरा गर्लान्, फैलाउलान् वा लेख्लान् भन्ने डर छैन ।

achal sharma (5)

  • यो १० वर्षको अभिनय यात्रालाई फर्केर हेर्दा के पाएँ, के गुमाएँ जस्तो लाग्छ ?

मैले गुमाएको त केही छैन, पाएको धेरै छु । यो क्षेत्रमा नलागेको भए मलाई कसैले चिन्ने थिएनन् । फरक काम गरिन्थ्यो होला । यो पेसाले जे दिएको छ, त्यो अरु कुनैले दिँदैन जस्तो लाग्छ । मैले आफ्नो प्यासनलाई पछ्याउन पाएँ । यस क्षेत्रले मलाई दिएको मुख्य कुरा चाहिँ १७ वर्षको उमेरदेखि नै ५०–६० वर्ष उमेरका व्यक्तिहरूसँग सहकार्य गर्ने मौका पाए । उहाँहरुसँग सिक्ने पौका पाए । 

त्यसले मलाई भित्रैदेखि परिपक्व बनायो । मेरा साथीहरूले सोच्ने तरिका र मैले सोच्ने तरिकामा अब फरक छ । म उनीहरूभन्दा राम्रो छु भन्न खोजेकी होइन, तर अनुभवको हिसाबले धेरै कुरा बटुलेँ जस्तो लाग्छ ।

मलाई लाग्छ कलाकारको कला जीवन कहिल्यै सकिँदैन । उमेर अनुसार कलाकारले गर्ने भूमिका फरक होलान् ।
  • हालै एक कार्यक्रममा आफ्नो यात्रा सुरु भयो भन्नुभयो । भन्न खोजेको के थियो ?

१० वर्षको अभिनय यात्रामा म कति सफल भएँ वा खस्किएँ भन्ने कुरा होइन । त्यहाँ कार्यक्रममा १० वर्षपछि हिरोइनको करिअर सकिन्छ भनेर प्रश्न गरिएको थियो । त्यसको जवाफमा मैले यात्रा टुंगिने होइन, मेरो बल्ल सुरु भयो भनेको हो । किनकि म यो कुरा मान्दिनँ १० वा २० वर्षमा कलाकारको करिअर सकिन्छ । 

मलाई लाग्छ कलाकारको कला जीवन कहिल्यै सकिँदैन । उमेर अनुसार कलाकारले गर्ने भूमिका फरक होलान् । जस्तो, अबको १० वर्षपछि म स्कुल गर्लको भूमिकामा खेल्न नसकुँला, तर म मेरो उमेर अनुसारको चरित्र त निभाउन सक्छु । भुवन केसी सर नै अहिलेसम्म सक्रिय हुनुहुन्छ । कलाकारको यात्रा कहिल्यै टुंगिँदैन ।

achal sharma (2)

  • धेरै अभिनेत्री थिएटर प्रवेश गरिसके । तपाईंको पनि सोच छ कि ?

मलाई थिएटर गर्न (नाटकमा अभिनय गर्न) असाध्यै मन छ । मैले दयाहाङ दाइ (अभिनेता दयाहाङ राई)सँग कुरा पनि गरेकी थिएँ । विजय बराल दाइले पनि मलाई प्रस्ताव (अप्रोच) गर्नुभएको थियो । अस्ति कान्तिपुर थिएटरले ‘सकम्बरी’ नामक नाटकका लागि पनि प्रस्ताव गरेको थियो । 

मलाई थिएटरको अनुभव लिन असाध्यै मन लागेको पनि छ । कमर्सियल (व्यावसायिक) कलाकारहरूलाई थिएटर गाह्रो हुन्छ भन्ने एउटा सोच छ । मलाई के लाग्छ भने कलाकार भनेको कलाकार नै हो । यदि मैले अभिनय गर्न सक्छु र मलाई आफूमा विश्वास छ भने मैले थियटर पनि गर्न सक्छु । म त्यो प्रमाणित (प्रुफ) गर्न चाहन्छु । तर ‘जेरी अन टप’को छायांकनका कारण ‘सकम्बरी’ र विजय दाइको मण्डला थिएटरमा पनि काम गर्न पाइनँ । 

उदीपजी (श्रीमान् उदीप श्रेष्ठ) लाई हेर्छु, उहाँलाई पनि सन्तानको इच्छा छ । किनकि हामीबिच उमेरको अन्तर छ, त्यसैले पनि मन छ ।

यदि म खाली भएको भए, दुई–तीन महिना समय दिन सक्ने भए थिएटर गर्न मन छ । तर के भयो भने मैले व्यावसायिक बाटोलाई पहिलो प्राथमिकता दिनु परिरहेको छ । अब मेरो ‘झिंगे दाउ २’ को छायांकन छ । म ब्रेक लिएर थिएटर गरेर त्यसपछि ‘झिंगे दाउ २’ को छायांकन गर्छु भन्दा पनि सम्भव भएन । फिल्महरू पाइपलाइनमा भएको कारणले ब्रेक नै लिनुपर्ने अवस्थाले गर्दा थिएटर प्रवेश गर्न सकिरहेकी छैन ।

  • पछिल्लो समय धेरै अभिनेत्री निर्माता बनिसके, तपाईं कहिले बन्ने ?

फिल्म निर्माणमा आउने सोच मेरो पनि छ । म अहिले आएर बुझ्न थालेकी छु कि कलाकारहरू किन फिल्म निर्माण गर्छन् । मलाई फिल्ममार्फत धेरै कुरा देखाउन मन छ । मसँग के–के बलियोपन वा खुबी छ, त्यो अरू निर्माताहरूले त्यसरी सोचिदिनुहुन्न । खासगरी पुरुषप्रधान समाज छ र फिल्म क्षेत्रमा पनि त्यसकै प्रभाव हाबी छ । पुरुषले निर्देशन गर्दा, लेख्दा वा छायांकन गर्दा पुरुषको दृष्टिकोणबाटै कथा प्रस्तुत हुन्छ । 

फिल्मभित्र महिलाको दृष्टिकोण पाउनै गाह्रो छ । मलाई लाग्छ, हामी फिल्म निर्माणमा लाग्नुको कारण आफ्नो क्षमता, आफ्नो सकारात्मक पक्ष देखाउनु हो । साथै, देशमा महिलाले भोगेका वा पुरुषले भोगेका भए पनि यस्ता कुराहरूलाई अलि फरक तरिकाले प्रस्तुत गर्नुपर्छ भन्ने सोचले नै निर्माणमा लाग्ने हो । म पनि फिल्म निर्माणको तयारीमा छु ।

achal sharma (1)

  • अभिनेत्रीलाई विवाह अगाडि ‘विवाह कहिले गर्ने ?’ र विवाहपछि ‘बच्चा कहिले ?’ भन्ने प्रश्नले हैरान बनाउँछ भन्छन् । तपाईंलाई पनि पछ्याएकै होला नि ? 

हो, मलाई पनि यो प्रश्नले पछ्याउँदै आएको छ । मेरो परिवार फिल्मी पृष्ठभूमि (ब्याकग्राउन्ड)को नभए पनि उहाँहरूले ‘सन्तान’, ‘कान्छी’ जस्ता फिल्म निर्माण गर्नुभएको छ । त्यसैले फिल्म लाइन के हो, फिल्म कस्तो हो, अभिनेत्री के हो भनेर उहाँहरूलाई राम्रो थाहा छ । तर आफ्नो घरको कुरा आउँदा चाहिँ अलि फरक हुँदो रहेछ । 

पहिले विवाह वा अहिले सन्तानको दबाब चाहिँ छ । तर त्यो नराम्रो किसिमको दबाब होइन । उहाँहरू मेरो सन्तान भए खुसी हुनुहुन्छ । ‘बुढेसकाल लागिसक्यो नाति-नातिना हेर्न नपाउँला कि’ भन्ने चिन्ता उहाँहरुमा छ । म स्वाभाविक रूपमा उहाँहरूको निर्णयलाई मनन गर्छु र सम्मान गर्छु । 

म पनि जिस्किँदै अलिकति पछि सारिरहेकी छु । तर मलाई आमा बन्ने इच्छा पनि छ । मेरो प्राथमिकताहरू फरक छन्, सबैका आ–आफ्नै प्राथमिकता हुन्छन् । मेरो लागि कलाकार भन्दा पनि मेरो घर पहिलो खुसी हो । किनकि भोलिको मेरो जीवन क्षणिक त भन्दिनँ, तर कहाँ पुगिन्छ भन्ने टुंगो छैन । कति माथि पुगिन्छ, त्यो पनि थाहा छैन, एकदिन त तल झर्नै पर्ला नि । तर घर, परिवार, हाँसो र शान्ति  भनेको पारिवारिक कुरा हो । 

उदीपजी (श्रीमान् उदीप श्रेष्ठ) लाई हेर्छु, उहाँलाई पनि सन्तानको इच्छा छ । किनकि हामीबिच उमेरको अन्तर छ, त्यसैले पनि मन छ । तर सोच्छु, अझै समय भएको छैन कि ? म अझै बच्चा नै छु कि जस्तो लाग्छ । करिअर भन्दा पनि, मानसिक रूपमा म आमा बन्न तयार छैन । मलाई खासमा सुत्न असाध्यै मनलाग्छ दाइ । करिअरको चिन्ता पनि छैन, निद्रा प्यारो छ । अहिले म जहाँ पनि उडी–उडी हिँड्न पाएकी छु । 

चित्त बुझेका फिल्म खेल्न पाइन्छ । सन्तान भएपछि काममा ब्रेक लाग्ला कि भन्ने डर छ । २० वर्षपछि त्यो समयमा मैले आफ्नो क्षमतालाई प्रयोग गरिनँ भन्ने पछुतो भयो भने त्यो जीवनभर रहन्छ । एक पटकको जीवन हो, धेरै कुरा प्रयास गर्नु छ भन्ने हो । त्यसका लागि मात्र एक–दुई वर्ष समय लिउँ कि भन्ने हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप