मकवानपुरमा मतदाता नामावली दर्तामा युवाको उत्साह
सारांश
- आगामी निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा मतदाता नामावली सङ्कलन अभियान तीव्र पारिएको छ, जसमा हालसम्म ८०० भन्दा बढीले नाम दर्ता गराएका छन्।
- निर्वाचन अधिकृतका अनुसार, अधिकांश दर्ता गराउनेहरू २५ वर्ष मुनिका युवायुवती छन्, र अनलाइन प्रणालीले प्रक्रियालाई सहज बनाएको छ।
- कार्यालयले कात्तिक ३० गतेसम्म दर्ताको समयसीमा तोकेको छ, र अब आफ्नो बसोबास क्षेत्र नजिकै नाम दर्ता गर्न सकिनेछ।
मकवानपुर । आगामी फागुन २१ कालागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा मतदाता नामावली सङ्कलन अभियान तीव्र बनेको छ । हालसम्म ८०० भन्दा बढी नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराइसकेका छन् ।
प्रदेश निर्वाचन कार्यालय, हेटौंडाका निर्वाचन अधिकृत हरिप्रसाद ढकालका अनुसार सोमबारसम्म मकवानपुरमा ८३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । सोमबारमात्रै १६८ जनाले आफ्नो विवरण दर्ता गराएको उनले जानकारी दिए । उनका अनुसार दर्ता गराउनेमा अधिकांश २५ वर्ष मुनिका युवायुवती छन् ।
‘शैक्षिक संस्थाहरूमा बिदा भएको समयमा उमेर पुगेका विद्यार्थीहरू फुर्सदको सदुपयोग गर्दै मतदाता नामावली दर्तामा सक्रिय सहभागी भइरहेका छन्,’ निर्वाचन अधिकृत ढकालले भने । उनका अनुसार नयाँ नाम दर्तासँगै पुराना विवरण सच्याउने, व्यक्तिगत विवरण अद्यावधिक गर्ने र स्थान परिवर्तनका कार्य पनि एकैसाथ भइरहेको छ ।
निर्वाचन कार्यालयले यसपालिबाट अनलाइन प्रणाली पनि सुरु गरेकाले मतदाता नामावली दर्ता प्रक्रिया थप सहज बनेको निर्वाचन अधिकृत ढकालको भनाइ छ ।
‘नागरिकले घरमै बसेर अनलाइन फारम भरेर नाम दर्ता प्रक्रिया सुरु गर्न सक्छन्, तर अन्तिम चरणमा स्थानीय निर्वाचन कार्यालयमा पुगेर फोटो खिचाउने र बायोमेट्रिक गर्नुपर्ने हुन्छ,’ उनले स्पष्ट पारे ।
ढकालका अनुसार अब मतदाता नामावली दर्ता गर्न आफ्नै गृह जिल्ला पुग्नुपर्ने बाध्यता छैन, जसले गर्दा आफ्नो बसोबास क्षेत्र नजिकको निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ ।
निर्वाचन अधिकृत ढकालले आगामी कात्तिक ३० गतेसम्म दर्ताको समयसीमा तोकिएको जानकारी दिँदै योग्य नागरिक सबैलाई निर्धारित अवधिभित्र आफ्नो नाम दर्ता गराइसक्न आग्रह पनि गरे ।
२०७९ मंसिरमा सम्पन्न अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरमा दुई वटा संघीय निर्वाचन क्षेत्र थिए । त्यतिवेला जिल्लाभर कुल मतदाताको संख्या दुईलाख ९४ हजार ९१९ रहेको थियो । तीमध्ये महिला मतदाताको संख्या एकलाख ४४ हजार ९५९, पुरुष मतदाताको संख्या १ लाख ४९ हजार ९५४ र अन्य मतदाताको संख्या ६ जना थियो ।
हाल सरकारद्वारा संशोधित मतदाता नामावली ऐन अनुसार अब निर्वाचन घोषणा भइसकेपछि पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । यस अनुसार १८ वर्ष उमेर पूरा गरेका सबै नागरिकले निर्वाचनअघि आगामी कार्तिक ३० गतेसम्ममा आफ्नो नाम दर्ता गराउन पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण