बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

सभामुखसँग एमालेले भन्यो- संसद् पुनर्स्थापना, कांग्रेस निर्वाचनबाट नभाग्ने

बुधबार, २९ असोज २०८२, १२ : २१
बुधबार, २९ असोज २०८२

सारांश

  • प्रतिनिधिसभा विघटनबारे कांग्रेस र एमालेबीच फरक धारणा देखिएको छ।
  • कांग्रेसले निर्वाचनको तयारी गर्ने र सर्वोच्चको फैसला मान्ने बताएको छ।
  • एमालेले भने प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको जनाएको छ।

काठमाडौँ । प्रतिनिधिसभा विघटनका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका फरक–फरक धारणा आएका छन् । सभामुख देवराज घिमिरेले बुधबार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग गरेको छलफलमा कांग्रेस र एमालेका फरक फरक धारणा आएका हुन् ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको छलफलमा सहभागी विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सर्वोच्च अदालतमा रिट पुगिसकेको जानकारी आएको बताउँदै सर्वोच्चको व्याख्या र आदेशलाई मान्दै सरकारले घोषणा गरेको निर्वाचनको तयारी पनि थाल्ने बताए ।

‘आठ दलका प्रमुख सचेतकले संसद् विघटन असंवैधानिक भनिसकेका छौँ । पार्टीको दसैंअघि बसेको कार्यसम्पादन समिति बैठकले असंवैधानिक भनिसकेको छ तर कांग्रेस लोकतान्त्रिक पार्टी हो, त्यसैले निर्वाचनबाट भाग्दैन । सर्वोच्चको फैसला सम्मान गर्छ,’ घिमिरेले भने ।

सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने निर्णय गरे पनि सम्मान गर्ने घिमिरेको भनाइ थियो ।

यता नेकपा एमालेका विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक महेश बर्तौलाले भने प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको बताए । वर्तमान सुशीला कार्की नेतृत्वको सरकार निर्वाचन गराउने बाटोमा नगएको उनको भनाइ छ ।

‘अहिले देश संवैधानिक मार्गभन्दा बाहिर छ । एउटा निर्वाचन, अर्को प्रतिनिधिसभा पुनर्स्थापना नै बाटोमा ल्याउने विधि हो,’ बर्तौलाले भने, ‘निर्वाचन गराउने अवस्थामा सरकार छैन । गृह प्रशासन नै दलका नेतालाई गिज्याउँदै हिँड्न थालेको छ । राजनीतिक पार्टीले आफ्नो विचार लिएर जनताका बीचमा जान पाउँछन् । लुटेका हतियार ल्याउन सरकारलाई चासो छैन । त्यसकारणले गर्दा प्रतिनिधिसभा पुरस्थापना जरुरी छ ।’

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले निर्वाचनको तयारीमा आफूहरू रहेको बताए । निर्वाचनमा जाने निर्णय पार्टीले गरिसकेको उनको भनाइ थियो ।

सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापना विषयमा राजनीतिक दलका नेताहरूसँग राय माग्न बैठक बोलाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप