नयाँ पुस्ताका महिला क्रिकेटरको आँट र हौसला बनेकी रितु
सारांश
- रितु कनौजिया, ४४ वर्षकी, नेपाली महिला क्रिकेटको इतिहास हुन्, जसले क्रिकेटमै जीवन समर्पण गरेकी छिन्।
- उनले राष्ट्रिय टिमबाट ६ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिन् र हाल बैतडीमा नयाँ खेलाडी उत्पादनमा जुटेकी छन्।
- उनले एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड पाइन्, जसले उनलाई अझै क्रिकेटमै लागिरहन प्रेरणा दिएको छ।
धनगढी । ४४ वर्षीय रितु कनौजिया नेपाली महिला क्रिकेटको एक जीवित इतिहास हुन् । क्रिकेटमै जीवन समर्पित गरेकी उनी यो उमेरमा पनि मैदानमा उत्रिने जोस र जाँगर प्रदर्शन गरिरहेकी छन् ।
बैतडीको दशरथचन्द नगरपालिका–४, गढीकी रितुले २०६४ सालमा पहिलोपटक बैतडीमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता खेलिन् । अनेकौँ उतारचढावका बाबजुद उनी क्रिकेट मैदानबाट टाढिएकी छैनन् ।
‘मेरो त जीवन भनेकै क्रिकेट हो । पूरा जिन्दगी यसैमा सुम्पिएकी छु,’ रितुले भनिन् ।
रितुको क्रिकेट यात्रा बाल्यकालमा दाइहरूसँग खेल्दा सुरु भएको थियो । घर नजिकै बालमन्दिरको चौरमा दाइहरूसँग क्रिकेट खेल्ने उनी एक्ली केटी थिइन् । त्यो समय गाउँघरमा केटाहरूसँग मिसिएर छोरी मान्छेले क्रिकेट खेल्नुलाई सहज रूपमा लिइँदैनथ्यो । त्यसैले रितुलाई कतिपयले ‘केटाजस्तो भएर हिँड्छे, अब बिग्रिन्छे’ भनेर टिप्पणी गरे । गाउँघरमा उनको कुरा काट्नेहरू प्रशस्त थिए ।

रितुलाई त्यस्ता कुराले आफ्नो सपना पूरा गर्न रोकेन । बरु उनी आफ्नो मनोबल बढाउँदै सपना साकार पार्नतिर अझ बढी मेहनत गर्न थालिन् । प्रहरी सेवामा रहेका उनका बुबा र शिक्षक पेसामा रहेका काकाको प्रगतिशील सोचले उनलाई ठुलो आड दियो । उनीहरूले समाजको वास्ता नगरी रितुको सपना साकार पार्ने उडानका लागि पखेटाको भूमिका निर्वाह गरिदिए । बुबाले नै उनलाई खेल सामग्री जुटाइदिए ।
२५ वर्षको उमेरमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता खेलेकी रितु त्यहाँबाट क्षेत्रीय खेलका लागि काठमाडौँ पुगिन् । त्यसपछि उनी राष्ट्रिय टिममा छनोट भइन् । सोही वर्ष मलेसियामा भएको एसीसी महिला प्रतियोगितामा नेपाल दोस्रो हुँदा उनले ओपनिङ ब्याटिङ गर्नुका साथै बलिङमा पनि योगदान गरेकी थिइन् ।

पहिलो पटक राष्ट्रिय जर्सीमा देशको प्रतिनिधित्व गर्दाको त्यो क्षण रितुका लागि अविस्मरणीय थियो । त्यतिबेला महिला क्रिकेटको संरचना आजको जस्तो थिएन । स्रोत र साधनको निकै कमी थियो, तर खेलाडीहरूको जोस र देशका लागि केही गर्ने अठोट अतुलनीय थियो ।
२०६६ मा राष्ट्रिय महिला सिनियर टोलीको कप्तान बनेकी रितुले ६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले मलेसिया, चीन, थाइल्यान्ड र बंगलादेशमा भएका खेलमा नेपालको प्रतिनिधित्व गरिन् । १२ वर्ष सिनियर टिमबाट खेलेकी उनी विभागीय टोली एपीएफमा पनि आवद्ध भइन् । ६ वर्षअघि घुँडामा लागेको गहिरो चोटले उनलाई राष्ट्रिय टोलीबाट बाहिर बस्न बाध्य बनायो । त्यो चोट उनका लागि शारीरिक मात्र नभई मानसिक रूपमा पनि पीडादायी थियो, तर उनले हार मानिनन् ।
महिला क्रिकेटरहरू विभिन्न कारणले खेलबाट छिटै पलायन हुनुपर्ने बाध्यता भए पनि रितुले सबै चुनौतीको सामना गरेकी छन् । ४४ वर्षको उमेरमा पनि उनको जोस र जाँगरमा कुनै कमी आएको छैन । ‘मसँग फिटनेस लेभल छ । मैले आफ्नो गेममा राम्रो गरिरहेकी छु । मभन्दा राम्रो खेल्ने नयाँ खेलाडी आएपछि मात्र सन्न्यास लिन्छु,’ उनले भनिन् ।

त्यतिन्जेलसम्म अरुलाई सिकाउने मात्र होइन, आफू पनि खेलमा सक्रिय रहने उनको अठोट छ । गत वर्ष २०८१ मा धनगढीमा भएको प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा पनि उनी सहभागी थिइन् । उनले प्रधानमन्त्री कपका सबै संस्करण खेलेकी छन् ।
अहिले रितु आफ्नो गृह जिल्ला बैतडीमा नयाँ खेलाडी उत्पादनमा जुटेकी छन् । दशरथचन्द नगरपालिकाले उनलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । उनी सुन्दरखाली क्रिकेट मैदानमा युवा खेलाडीहरूलाई प्रशिक्षण दिइरहेकी छन्, जसमा महिला र पुरुष दुवै छन् । उनी खेलाडीहरूलाई प्राविधिक ज्ञानमात्र होइन, मानसिक रूपमा बलियो बन्न पनि सिकाउँछिन् ।
नगरपालिकाले प्रशिक्षकको नियुक्ति दिए पनि रितुको तलब सुविधा भने नियमित छैन । साउनमा उनको सम्झौतापत्र नवीकरण त भएको छ, तर अडिट नभएकाले तलब आएको छैन । रितुले क्रिकेटबाट नामबाहेक अन्य सुविधा खासै नपाएको गुनासो गरिन् । १६ वर्ष राष्ट्रिय टिममा रहँदा उनले डेढ वर्षमात्र तलब पाइन् । यद्यपि उनले क्रिकेटप्रतिको आफ्नो लगावलाई कहिल्यै कम हुन दिइनन् ।
खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको ‘छैटौँ एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड–२०८१’ मा रितुले ‘स्पेशल अवार्ड’ प्राप्त गरिन् । २५ हजार नगद पुरस्कारसहितको यो अवार्डले आफ्नो योगदानको कदर भएको महसुस गरेको उनले बताइन् । ‘यो अवार्डले मलाई अझै क्रिकेटमै लागिरहन प्रेरणा मिलेको छ । पुनः राष्ट्रिय टोलीबाट खेलेर सन्न्यास लिने सोचमा छु,’ उनले अवार्ड लिँदा भनेकी थिइन् ।

आफ्नो जीवन क्रिकेटमा समर्पित गर्दा रितुले व्यक्तिगत जीवनका धेरै पक्षलाई पछाडि छोडिन् । उनी अविवाहित छिन् र हाल आफ्ना अशक्त बुबाको हेरचाह गरिरहेकी छन् । उनी सानै छँदा आमाको निधन भयो । कोरोना महामारीका समयमा भाइको मृत्यु भयो । रितुका दुई दिदीबहिनी आफ्नो परिवारसँग भारतमा छन् । त्यसैले क्रिकेटसँगै बुबाको सहारा बनेर उनले पारिवारिक दायित्व पनि सम्हालेकी छन् ।
रितुको यो त्याग र समर्पणले उनलाई केवल एक खेलाडी मात्र नभई नेपाली महिला क्रिकेटको एक आदर्श व्यक्तित्वको रूपमा स्थापित गरेको छ ।
नेपाली क्रिकेटलाई अझै अघि बढाउनका लागि वडा, जिल्ला, प्रदेश र केन्द्रस्तरका प्रतियोगिता आयोजना हुनुपर्ने रितु बताउँछिन् । उनको सक्रियताले नयाँ खेलाडी पनि उत्साहित र प्रेरित छन् । उनीभन्दा पछि क्रिकेटमा लागेका बहिनीहरूले भन्ने गर्छन्, ‘दिदी ! तपाईं हुनुहुन्छ र त हामी पनि खेल्न आँट गर्छाैं ।’
उनीहरूको यही मायाले आफूलाई अझै खेल्ने र क्रिकेट क्षेत्रमा केही गर्ने जाँगर बढ्ने गरेको रितुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026