आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
एमाले केन्द्रीय कमिटी बैठक

ओलीको संसद् पुनर्स्थापना प्रस्तावमा एमालेभित्र मतभेद

चुनाव केन्द्रित हुनुपर्नेमा जोड
बुधबार, २९ असोज २०८२, २१ : ०९
बुधबार, २९ असोज २०८२

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको प्रस्ताव गरे।
  • केही केन्द्रीय कमिटी सदस्यहरूले भने निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।
  • विष्णु रिजाललगायतका सदस्यहरूले सुशीला कार्कीको सरकार खारेज गर्नुपर्ने तर्क राखे।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको प्रस्ताव गरे पनि केही केन्द्रीय कमिटी सदस्यहरूले भने निर्वाचनमा केन्द्रित हुनुपर्ने मत राखेका छन् ।

उनीहरुले फागुन २१ मा तोकिएको निर्वाचनमा पार्टी केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् ।

जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल गरेर पार्टीको धारणा बनाउन बुधबार सुरु भएको दसौँ बैठकमा अध्यक्ष केपी ओलीको विशेष प्रस्तावमाथि छलफलका क्रममा केही सदस्यहरूले प्रतिनिधि सभा पुनर्स्थापनामा नलागेर चुनावमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् । 

चुनावको पक्षमा धारणा राख्ने केन्द्रीय सदस्यहरूमा विष्णु रिजाल, हरि राई, सोम मिश्रलगायत रहेको एक केन्द्रीय सदस्यले बताए ।

‘हामीले प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्ने हो भने सुशीला कार्कीको सरकार खारेज गर्नुपर्छ’, रिजालको भनाई उद्धृत गर्दै ती सदस्यले भने, ‘किनभने सुशीला कार्कीको सरकार र प्रतिनिधि सभा पुनर्स्थापना सँगै जान सक्दैनन् ।’ 

रिजालले कार्की प्रतिनिधि सभा सदस्य समेत नरहेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वास गुमाएर वा सहभागी दलको समर्थन फिर्ता लिएर राजीनामा नदिएको बताएका थिए ।

‘खासमा भन्दा हामीले नसकेर सरकार छाडेको हो’, रिजालको भनाइ थियो ।   पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यले धारणा राखेकोमा विद्या भण्डारीको सदस्यताका बारेमा विद्यासुन्दर शाक्य, शर्मिला कार्की, सरिता न्यौपाने, हरि राईलगायतले बोलेका थिए । 

उनीहरुले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिएर पार्टीमा स्वागत गर्नुको विकल्प नरहेको धारणा राखेका थिए । ती बाहेक अन्य सदस्यहरूले भने अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावको समर्थनमा धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप