बुटवल–गोरुसिङ्गे सडक निर्माणमा भौतिक प्रगति जम्मा १५ प्रतिशत
सारांश
- बुटवल-गोरुसिङ्गे सडक विस्तारको काम हालसम्म १५ प्रतिशत मात्रै सम्पन्न भएको छ।
- सडक विस्तारको काम वर्षा, जेनजी आन्दोलन र चाडपर्वका कारण प्रभावित भएको छ।
- सडकखण्डमा पुल, कल्भर्ट, अन्डरपास, नाली र वालहरूको निर्माण कार्य भइरहेको छ।
बुटवल । गत वर्ष माघ १० गते शिलान्यास भएको बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम हालसम्म १५ प्रतिशत सम्पन्न भएको छ । वित्तीय प्रगति १२ जम्मा प्रतिशत भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलदेखि चन्द्रौटासम्म ६९ किलोमिटर सडकमध्ये पहिलो चरणमा बुटवल–गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटरमा काम चलिरहेको छ । सरकारले चन्द्रौटासम्मको बाँकी १९ किलोमिटर सडक विस्तारको प्रक्रिया पनि अगाडि बढाउने तयारी गरेको छ ।
अहिले निर्माणको ठेक्का लागेको ५० किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ– बुटवलदेखि कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्मको २५ किलोमिटर ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड ६ दशकपछि विस्तार गर्न लागिएको हो । यसका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले ठेक्का लिएका छन् ।
१३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँमा काम पूरा गर्नेगरी गत असार १३ गते ठेक्का लगाइएको थियो । ठेक्का लागेको मितिले ३ वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ ।
वर्षा, जेनजी आन्दोलन र चाडपर्वका कारण काम प्रभावित
बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक आयोजनाका प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार वर्षायाम, त्यसपछि जेनजी आन्दोलन र दसैँ–तिहारजस्ता चाडपर्वका कारण कामदार अभाव भएको छ ।
_Y8yF0vtnN6.jpg)
उनका अनुसार सामान्यतया ८ सयजति कामदार हुने ठाउँमा अहिले १५० देखि २०० जनामात्रै कामदार छन् । काम तीव्र गतिमा हुँदा प्रतिमहिना ३ देखि ४ प्रतिशतसम्म सडक निर्माणको काम अगाडि बढ्ने भए पनि पछिल्लो एक महिना निर्माणको काम सुस्ताएको उनले उल्लेख गरिन् ।
उनले असार–साउनमा झरीले प्रभावित होला कि भनेर सुस्त–सुस्त काम गरिएकोमा त्यसपछि जेनजी आन्दोलनका कारण कामकाज प्रभावित भएको जिकिर गरिन् । त्यसपछि दसैँ–तिहार र छठ पर्वका कारण मजदुर अभाव भएको उनको भनाइ छ ।
न्यौपानेले छठ सकिएको दुई–तीन दिनपछि सडक निर्माणको कामले तीव्रता पाउने रातोपाटीलाई बताइन् । समयमै काम सक्नका लागि दैनिक एक हजारजति मजदुर आवश्यक पर्ने उनको भनाइ छ ।
सडक विस्तार कार्य अन्तर्गत पुल, कल्भर्ट, अन्डरपास, नाली र वालहरूको निर्माण कार्य चलिरहेको छ । सडक खण्डका लागि पहिल्यै तयार पारिएका प्रिकास्ट ड्रेन (नाली) का संरचना सडक किनारमा भण्डारण गरिएको छ । पुलहरूमा पाइलिङ र फाउन्डेसनका काम पूरा भएर अन्डरपास, एनिमल क्रसिङ, तीन प्रकारका वाल, पुलका संरचना निर्माणका काम भइरहेका छन् ।
_ylHWVnFZr8.jpg)
अहिले बुटवलदेखि गोरुसिङ्गेसम्म दुई खण्डमा विभाजन गरेर आरसीसी रिटेनिङ वाल, बक्स कल्भर्ट, बक्स ब्रिज, एनिमल क्रसिङ स्ट्रक्चर र पुलहरूको फाउन्डेसनको काम धमाधम भइरहेको छ ।
न्यौपानेले भनिन्, ‘सडक निर्माण मजदुरका कारणले रोकिए पनि पुल र कल्भर्ट निर्माणको काम भने धमाधम चलिरहेको छ ।’
यो सडक खण्डमा सबैभन्दा लामो पुल बाणगंगा नदीमा बनिरहेको छ, जसको लम्बाई ३०० मिटर छ । पुलको सबैभन्दा जटिल काम पूरा भएको र अब बाँकी कामका लागि तयारी संरचनाहरू ल्याएर फटाफट जडान गर्न मिल्ने गरी आधार तयार भएको न्यौपानेले बताइन् ।
नदीजन्य पदार्थको अभाव हुने संकेत
छठ पर्वपछि धमाधम निर्माण कार्य अघि बढाउने भनिए पनि आवश्यक नदीजन्य पदार्थ ल्याउने ठाउँको अझै टुङ्गो लागेको छैन । बुटवल–गोरुसिङ्गे सडकको लागि मुख्य स्रोत तिनाउ र दानव नदी रहे पनि स्थानीय तहले यसबारे प्रक्रिया अघि बढाएका छैनन् ।
_p20tAT862z.jpg)
आयोजना प्रमुख कुशलता न्यौपानेले देशमा अन्य ठाउँमा जस्तै यहाँ पनि नदीजन्य पदार्थको अभाव हुने सक्ने चिन्ता प्रकट गरिन् । उनले मुख्य स्रोत तिनाउ र दानव नदीको नदीजन्य पदार्थ भए पनि स्थानीय तहले चासो नदिँदा समस्या आउने सम्भावना देखिएको बताइन् ।
अन्य सडकभन्दा यहाँ यात्रुलाई सास्ती कम
बुटवल–नारायणगढ सडक खण्डमा दुईतिर सडक भत्काउने, जथाभाबी तरिकाबाट निर्माण सामग्री राख्दा सास्ती व्यहोरेका यात्रुहरूलाई बुटवल–गोरुसिङ्गे सडकमा भने कम सास्ती रहेको अनुभव भएको छ ।
_UlXTWU4JpM.jpg)
तिनाउ पश्चिम पर्ने बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक चारलेनमा विस्तार गर्दा अन्य सडक निर्माणमा जस्तो जथाभाबी खनेर नभत्काई दुवैतर्फको छेउबाट विस्तार गरिएको छ । जसले गर्दा पूर्व–पश्चिम खण्डमा पर्ने यो सडकमा यात्रा गर्ने सवारी र यात्रुलाई कम सास्ती भएको यो सडक हुँदै बस चलाउने चालक हरिबहादुर कार्की बताउँछन् ।
अहिले विस्तार भइरहेको सडक खण्डमा ६ ठाउँमा ‘भेहिकल अन्डरपास’ बनाइने भएको छ । बाक्लो बस्ती भएका सहरी क्षेत्रका चोकहरूमा सडकलाई ५० मिटरमा फराकिलो बनाइने र रणनीतिक सडकहरू जोडिने क्षेत्रमा अध्ययन पश्चात गाडी नै वारपार गर्न मिल्ने गरी ‘भेहिकल अन्डरपास’ निर्माण गरिने आयोजनाले जनाएको छ ।
_A3NKzoFiQb.jpg)
रुपन्देहीको जीतगढी–बेलबास चोक, नयाँगाउँ चोक, तामनगर चोक, सैनामैनाका मुर्गिया बजार र बुद्धनगर चोक तथा कपिलवस्तुको चार नम्बर जीतपुर चोकमा यस्ता ‘भेहिकल अन्डरपास’ बन्ने छन् । यस्तै, सडक खण्डमा करिब १९ वटा अन्डर र ओभरपासका पुल पैदल यात्रुका लागि बनाइने छ ।
अहिले निर्माण कम्पनीले पुल बनाउने तिनै चोकहरूमा माटो परीक्षण गरिरहेको जनाएको छ ।
_g9IdPdCeFn.jpg)
सडक खण्डमा वन क्षेत्र पनि पर्ने भएकाले वन्यजन्तुमैत्री बनाउने गरी डिजाइनका काम भइरहेका छन् । यो सडकअन्तर्गत सालझन्डी–पिपरा खण्डमा जंगल क्षेत्र छ । बनगाई–गोरुसिङ्गेसडक खण्डमा पनि जंगल क्षेत्र पर्छ । विस्तारपछि सडक फराकिलो हुने र सवारीसाधनको गति पनि बढी हुने हुँदा वन्यजन्तु आवतजावत गर्दा अवरोध नहोस् र उनीहरूलाई कुनै प्रकारको क्षति नहोस् भनेर अन्डरपाससहित सडक विस्तार गर्न लागिएको प्रमुख इन्जिनियर न्यौपानेको भनाइ छ ।
_cPkWF0DBXn.jpg)
जंगल क्षेत्रमा १९ वटा एनिमल अन्डरपास बनाइने भएको छ । १९ मध्ये सालझन्डी–पिपरा खण्डमा चार वटा निर्माण भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण