‘म पारिजातसँग प्रभावित छु’
सारांश
- इलामकी ज्योति जङ्गल लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छिन् र साहित्यमा समेत सक्रिय छिन्।
- उनले विभिन्न विधामा लेख्दै आएकी छिन्, जसमा उनको रुचिका बारेमा कुराकानी गरिएको छ।
- उनले पुस्तकप्रतिको आफ्नो लगाव र पछिल्लो समयका कृतिहरूबारे समेत चर्चा गरेकी छिन्।
इलामकी ज्योति जङ्गल लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छिन् । २०४८ सालमा कविता लेखनबाट साहित्यमा प्रवेश गरेकी उनले कथा, कविता, गजल, गीत, निबन्ध लेखिरहेकी छिन् ।
पहिलो पटक २०६२ सालमा ‘पहाडको मन’ कविता सङ्ग्रहमार्फत पाठकको मझेरीमा पाइला टेकेकी थिइन उनले । जङ्गलको गजल सङ्ग्रह, ‘अक्षरमा तिमी’ (२०६५), कविता सङ्ग्रह, मुक्त समय (२०६९), आधा शिर उचालेर (२०७९), ‘अन अ फ्लाइट’ (२०८२) का साथै छाया (२०७४) कथा सङ्ग्रह प्रकाशित छन् ।
यस पटक रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलामा हामीले उनै ज्योति जङ्गललाई निम्त्याएका छौँ । साहित्यका विविध आयामबारे रमा सुवेदीले गरेको कुराकानी ।
- तपाईंमा पुस्तकप्रतिको आकर्षण कहिलेदेखि सुरु भयो ?
कक्षा नौ–दशमा पढ्ने बेलैमा कोर्सका भन्दा बाहिरका किताब पढ्ने इच्छा हुन्थ्यो । तिनताका हिन्दी उपन्यासहरू पाइन्थे । भाषामा राम्रो दक्खल नभए पनि जानी–नजानी ती उपन्यास पढ्थे । गाउँ घरमा क–कससँग किताब हुन्थ्यो, मागेर पढ्ने चलन थियो । विद्यार्थी जीवनमा पढ्ने रहर भए पनि सधैँ त्यो सम्भव हुँदैनथ्यो । साहित्यिक पत्रिकामा मधुपर्क निकै कहलिएको पत्रिका थियो । तर त्यसको मूल्य १० रुपियाँ थियो । सधैँ कहाँबाट पैसा पाउनु । आफू आर्थिक रूपमा बलियो हुन थालेपछि नियमित किन्न थालियो ।
जहाँ गए पनि ब्यागमा एउटा किताब कहिल्यै छुट्दैनथ्यो । किताब नै साथी भएपछि धेरै साथी पनि चाहिँदैनथ्यो । त्यसैले पढ्न मन लागेका किताबहरू किन्ने मामिलामा मैले ‘कम्प्रोमाइज’ गरिन । बरु लुगामा धेरै रहर रहेन । त्यहाँबाट विकसित हुँदै आएको मेरो पढ्ने रहर आजप्रयन्त मेटिएको छैन । त्यसैले त आजका दिन पनि बजार जाने बित्तिकै किताब किनिहाल्छु । किताब नयाँ हुन् वा पुरानो त्यसमा ज्ञान हुन्छ नै ।
मलाई चाहिँ एउटा अठोट गरिएको, सङ्घर्षले शब्दहरू उनिएको किताबहरू मनपर्छ । तर म नेपाली भाषाको आख्यानबाट खासै सन्तुष्ट छैन । हामी अझै पनि परम्परागत धारमै अल्झिरहेका छौँ । ५० वर्ष, ८० वर्ष अगाडि जस्तो कथा लेखिन्थ्यो, त्यसबाट हामीले उम्किन सकेकै छैनौँ । हात–मुख जोड्न अप्ठेरो परिरहेको समयमा एउटा लेखकले के सोच्छ होला ?
- तपाईं सरकारी जागिरे हुनुहुन्छ । बच्चाबच्ची, घर परिवारको जिम्मेवारीबिच पनि पढ्नका लागि कसरी समय निकालिरहनु भएको छ ?
एउटी महिलाले सन्तानै पाए पनि नुहाइ–धुवाइ गर्ने, चिटिक्क परेर हिँड्ने काम त त्याग्दिनन् नि । किताब पढ्नु पनि त्यस्तै हो । पठनलाई मैले जीवनको अभिन्न अङ्ग बनाएकी छु । म एकैचोटी धेरै किताब पढिरहेकी हुन्छु । पढ्नका लागि भनेर भान्सामा, लाइब्रेरीमा, ब्यागमा, अफिसमा किताबहरू राखिरहेको छु । म जतिबेला जहाँ हुन्छु त्यहीँ भएको किताब पल्ट्याएर पढ्न थाल्छु । अलिक ध्यान दिएर पढ्नुपर्ने किताब चाहिँ लाइब्रेरीमा शान्तिपूर्वक बसेर पढ्छु ।
कतिपय आख्यानहरू त फररर पाना पल्टाउँदै जाँदा सिद्धिने पनि हुन्छन् । ती चाहिँ म अफिसमा पढ्छु । अनि कहीँ कतै जानु छ, गाडी वा कोही मान्छेलाई कुर्नु छ भने त्यसका लागि छुट्टै किताब ब्यागमा बोकेकी हुन्छु । त्यसैले पढ्नका लागि एक्स्ट्रा समय निकाल्नुपर्छ भन्ने मलाई लाग्दैन । थाकेको बेला पनि एउटा किताब पल्टायो भने एक दुई पाना पढेपछि मेरो थकाइ त्यतिकै मेटिन्छ । कुनै पुस्तक औधी मन परेको छ भने त सारा काम त्यागेर त्यसैलाई पढ्न बस्छु । डा. नवराज केसीको ‘शून्यको मूल्य’ पुस्तकले मलाई त्यस्तै बनाई दियो ।
- पछिल्लो समय कस्ता पुस्तक पढ्दै हुनुहुन्छ ? भर्खरै पढी सिध्याउनु भएको पुस्तक कुन थियो र कस्तो लाग्यो ?
मैले भर्खरै पढेर सकाएको उमा सुवेदीको उपन्यास ‘परिधि’ हो । मलाई सामाजिक संरचनामा जेलिएका उकुसमुकुसहरूबाट फुत्त बाहिर निस्किएर नयाँ कुराहरू पढ्न मन लाग्छ । यो दुनियाँमा आफूलाई हराएर अनि आफूलाई एकछिन भए पनि बिर्सिन सक्ने खालको भएकाले मलाई यो उपन्यास राम्रो लाग्यो । यो पढेर कसैको जीवनले त्यति ठुलो फड्को नमार्ला, मनोविज्ञान, धारणाहरू परिवर्तन नहोला । तर यसमा प्रयोग गरिएको छ ।
रोनाधोना, दुःख, तित्ताता, बदला, आँसुभन्दा बाहिरको कथा छ यसमा । यो कृति पढेपछि मलाई नेपाली आख्यानमा एउटा नयाँ खालको मोड आएको आभास भइरह्यो । सधैं रोनाधोनामै अल्झिन्छन् भनेर महिला साहित्यकारले आरोप खेप्नु पर्छ । समाजले जे दिएको हो, त्यही त पाउँछ नि भन्ने कुरा हामी भुल्छौँ । तर यो कृति ती सबै कुराबाट बाहिर आएर लेखिएको छ ।
- सानै उमेरदेखि तपाईं किताबप्रति आकर्षित हुनुभयो । त्यतिखेर तपाईंले पढेको सबभन्दा मोटो खालको किताब कुन थियो र त्यो पुस्तक कस्तो लाग्यो ?
मैले सबभन्दा पहिले पढेको मोटो किताब त माधवी नै हो । मैले जानेर बुझेर पढेको । हुन् त महाभारत, रामायण पनि नजानी–नजानी पढियो । तर अभिरुचि साथ पढेको माधवी नै हो । सुरुमा छिचोल्न निकै कठिन भयो । यसमा संस्कृतका विभिन्न शब्दहरू प्रयोग भएका छन् । केही शब्द हेर्न त शब्दकोश नै पल्टाउनु पर्यो । धार्मिक परि–परिखण्डले गर्दा किताब अलिक क्लिष्ट पनि छ । तर शैली एकदमै मिठो ।
म त महेन्द्रलाई धन्यवाद दिन्छु । उनले मदनमणि दीक्षितलाई जेल हालिदिए र यो पुस्तक जन्मियो । त्यतिबेलासम्म दीक्षित पत्रकारितामै व्यस्त थिए । त्यो कृति पढेपछि म त्यसप्रति अनुग्रहित भएँ । नेपाली साहित्यले बाहिर देखाउने किताब भनेकै त्यही हो जस्तो लाग्छ ।
- ‘माधवी’ बाहेक अन्य कुन–कुन पुस्तक तपाईंले बारम्बार दोहर्याएर पढ्नु भयो त ?
माधवी त मैले तीन पटक दोहर्याएर पढेको हो । अर्को पुस्तक चाहिँ सुम्निमा हो । आजका दिन पनि मलाई जब दिक्क लाग्छ म सुम्निमाको संसारमा छिर्छु । सुम्निमा त मेरो भारी बिसाउने चौतारी हो । त्यसका पात्रहरू, तिनका संवाद, कुण्ठा जसरी प्रस्तुत त्यो भएका छन्, त्यसले मेरो मन मस्तिष्कलाई हिर्काइरहन्छ । सोमदत्त आध्यात्मिक छन् तर यसमा पनि कति ठुलो द्वन्द्व छ ।
ऊ भौतिकवादी हो कि आध्यात्मवादी ? अध्यात्म भनेर हिँडे पनि मनभित्रको यौन कुण्ठा कस्तो हुँदो रहेछ भन्ने कुरा मैले पहिलो त्यसैबाट थाहा पाएँ । शरीर बलियो कि अध्यात्म बलियो भन्ने प्रश्नबिच पनि द्वन्द्व छ । आफ्नै मासु लुछेर, काटेर अग्नि होम गरेको व्यक्ति पनि आखिरमा यौन कुण्ठाबाट मुक्त भएको छैन ।
- तपाईँलाई मनपरेको कुनै विदेशी पुस्तकको नाम लिनुपर्यो भने कुन–कुन सम्झिनु हुन्छ ? त्यसमा खास के थियो ?
मैले यतिबेला सम्झिने ग्राब्रियल गार्सिया मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्यूड’ हो । यो किताबले पनि मलाई माधवीले जस्तै तानेको थियो । पहिलो पल्ट पढ्दाखेरि त लगभग २५ प्रतिशत मात्रै बुझेँ होला । हामी नेपाली पढिरहेको मान्छे । भाषाको गहिराइमा पुग्न हामीलाई केही समय लाग्नु स्वाभाविक पनि हो । अनि त्यसमा एकदमै धेरै पात्रहरू छन् ।
उपन्यास पढी रहेकी छु तर राम्ररी बुझिरहेकी छैन तथापि बिचमै पढ्न छाडिन । उपन्यासको उर्सुला भन्ने पात्र अहिले पनि सम्झना आउँछ मलाई । उसले आँखा नदेखेको कति वर्ष भइसकेको हुन्छ, तर कसैले चालै पाउँदैनन् । आफू मर्नु अघि नै उसले बाकस तयार पारेको एकदमै गजब लागेको थियो मलाई । अन्य कृतिको नाम लिनु पर्दा ‘हाफ अ लाइफ’, ‘वोल्गा से गंगा तक’ भन्छु म ।
- नेपाली लेखकलाई सम्झनु पर्दा ?
मलाई ध्रुवचन्द्र गौतमको शैली औधी मन पर्छ । उहाँले कथा, उपन्यास, नाटक, नियात्रा गरी लेख्न बाँकी केही छैन । त्यतिका धेरै व्यङ्ग्य छन् तर सबै स्वेतव्यङ्ग्य । महिलालाई नराम्रो कहीँ भनेका छैनन् । बनावटी केही पनि हुँदैन । एकदमै भुईँ मान्छेको कुरा उहाँले समात्नु हुन्छ । पाठकका रूपमा मैले अरूका कृतिमा पनि नचाहिने गरी उहाँको शैली खोज्न पुग्दो रहेछु ।
- तपाईंको सोच नै बदलिदिने पुस्तक छ ?
पारिजातका निबन्धात्मक लेखहरू छन् । ती पढिसकेपछि मैले आफूलाई अलिकति सामाजिक बनाउनुपर्ने रहेछ भन्ने सिकेँ । अनि समाजलाई कसरी हेर्नुपर्ने रहेछ भन्ने पनि थाहा पाए । एउटा साहित्यकारको अध्ययन कस्तो हुनु पर्ने रहेछ, पात्रहरूलाई कसरी हेर्नु पर्दो रहेछ ? भन्ने विषयमा मेरो सोच नै फेरियो । सुरुमा त मैले उनको फाटफुट कृति पढेकी थिए । पछि सबै विस्तृत रूपमा पढेँ ।
सीमान्तकृत वर्गको मान्छेलाई कसरी हेरिएको छ ? आफ्नो मनलाई कसरी हेरिएको छ ? आफ्नो बुबासँगको, साथीसँगको, अफिस आउने–जाने कारिन्दासँगको सम्बन्ध पनि छ त्यहाँ । प्रत्येक पात्रलाई यति मिहिन ढङ्गले केलाएर लेखिएको छ नि, त्यो देख्दा अहिलेसम्म मैले त आफूलाई मात्रै पो लेखिरहेको रहेछु भन्ने बोध भयो । हामीले सीमान्तकृत र गरिबलाई दयाको कोणबाट हेरिरहेका हुन्छौँ । तर उनले पात्रको दुःखलाई गौरवपूर्ण ढङ्गले प्रस्तुत गरेकी छन् ।
उनको सम्पूर्ण लेखन नै रोमाञ्चक लाग्छ । उनको त्यो बौद्धिकता, लेखन शैली अनि व्यक्तित्व सबैले मलाई प्रभावित पारेको छ । कतिपय अवस्थामा आफैप्रति कति कमजोर धरातल रहेछ मेरो भन्ने पनि लाग्यो । हामीले उनको नाम मात्रै सुन्यौँ, देख्न वा सङ्गत गर्न पाएनौँ । त्यो समयको साक्षी म पनि हुन पाएको भए, उनीसँग सङ्गत गर्न पाएको भए भन्ने लाग्दो रहेछ ।
- तपाईंले निरन्तर दुई–तीनवटा विधामा लेखि रहनुभएको छ । कुनै पनि विधामा लेख्नलाई के कुराले प्रेरित गर्छ ?
सुरुमा वेथिति वा अन्यायले लेख्न झक्झकाउँथ्यो । कसैले दुःख पाइरहेको छ, तर आफ्ना लागि आवाज उठाउन सक्दैन भने कसैले त बोलिदिनु पर्यो होइन । आफू नारी भएर वा एउटी आमा, काकी, भाउजू भएकाले लैङ्गिक असमानता विरुद्धको शक्तिले लेख्न प्रेरित गर्यो ।
तर अहिले अलिक भिन्न छ । लेखन अलिखित जिम्मेवारी बनेको छ । विधा अनुसारको ‘क्लिक’ गर्ने कुराहरू पनि छ । कवितालाई आफ्नो व्यक्तिगत अनुभूति, संवेदना जस्ता कुराहरूले असर गर्छ । कथा, उपन्यास अथवा निबन्धहरू कुनै पात्र ठोक्किएपछि मात्रै लेख्ने गरेकी छु । त्यसैले प्रेरित गर्छ ।
- आख्यान र गैरआख्यानमध्ये तपाईंको रुचि केमा बढी छ ?
कविता पठन रुचि भन्दा पनि मास्तिर छ । जुनसुकै शैलीका कविता पनि मन पर्छ । यसलाई म ठ्याक्कै यही हो भनेर व्यक्त गर्न सक्दिन । आख्यानमा, कथा र उपन्यास दुवै बराबरी पढ्छु । ‘खुसी रहन गर्नुपर्ने उपाय’ जस्ता किताबहरू मलाई मन पर्दैन । यससँगै अटोबायोग्राफी पनि मन पर्दैन । त्यसैले आत्मकथामा महात्मा गान्धी, कमला दास, अमृता प्रितमहरुको मात्रै आत्मकथा पढेकी छु ।
- पछिल्लो समय नेपालको पठन संस्कृति कस्तो पाउनु भएको छ ?
नेपालको पठन संस्कृति धेरै खस्किए जस्तो लाग्दैन । किताबहरू आउने क्रम जारी छ । पहिले भन्दा सङ्ख्या बढेकै छ । विश्वभर छरिएका नेपालीहरूका कथा बाहिरबाट प्रकाशित भइरहेकै छन् । यसका साथै ई–बूक र पीडीएफ पनि हाम्रो पठन संस्कृतिको हिस्सा बनेका छन् ।
- तपाईंको घरमा कति पुस्तक होलान् ?
हा... हा... त्यो त गनेकै छैन । लगभग ५–६ हजार पुस्तक होलान् ।
- पढिरहेको पुस्तक राम्रो लागेन भने आधामा छोड्ने बानी छ वा छैन ?
अहँ, त्यसरी छोड्दिनँ । जसरी पनि सिध्याएरै छोड्छु । तर कविताहरू चाहिँ सिध्याउने भन्ने हुँदैन । कविताहरू त सुरुप्प सुरुप्प कफी पिए जसरी पिउने हो । एक दिन एउटा, भोलिपल्ट अर्को, त्यसपछि फेरी अर्को... । यसबिच पुराना आख्यानहरू निकै रुचि मानेर पढ्छु ।
- पुस्तक नियमित रूपमै किन्नु हुन्छ वा के छ ?
नियमित रूपमा म किताब किन्दिन । पछिल्लो समय म झुक्किन छाडेकी छु । म एउटा किताब पनि दुई–तीन जना साथीहरूलाई सोधेँ किन्छु । आख्यान त झन् चार–पाँच जनालाई सोधेर मात्रै किन्छु ।
- तपाईं आफै कुनै दिन किताबमा रूपान्तरित हुन पाउनु भयो भने कुन किताबमा काँचुली फेरेको देख्न चाहनुहुन्छ ?
म कवि हु । मैले साहित्यमा पहिलो पाइला नै कविताबाट चालेको हो । कवितामा आफूलाई अभिव्यक्त गर्न मलाई धेरै सहज लाग्छ । मैले कथा पनि लेखेको छु । तर आख्यानको लागि म उपयुक्त मान्छे होइन । आख्यान लेख्न अलिक असहज महसुस हुन्छ । यो कुरा मलाई सायद प्रकृतिले पनि दिएको छैन होला । त्यसैले मैले आफूलाई कुनै कृतिको रूपमा काँचुली फेर्न पाउने हो भने म कविताको पुस्तक बनी दिन्थेँ ।
- अहिले कुनै कृतिमा काम गर्दै हुनुहुन्छ कि ?
म उपन्यासमा काम गर्दै छु । ड्राफ्ट सकेर एक–दुईजना साथीलाई पढ्न दिएकी छु । प्रतिक्रिया राम्रो छ । तर अझै चित्त बुझेको छैन । यससँगै दुई–चारवटा लामा कविता पनि लेखेकी छु । केही वर्ष भित्र लामा कविताको सङ्ग्रह प्रकाशित गर्ने सोच छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण