शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पुष्प मेलाको चौथो दिनः एक करोड तीन लाखको कारोबार, ३४ हजारले गरे अवलोकन

शनिबार, ०१ कात्तिक २०८२, १९ : ००
शनिबार, ०१ कात्तिक २०८२

काठमाडौँ । ललितपुरको जावलाखेलमा १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी चार दिनदेखि जारी छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जारी प्रदर्शनीमा शनिबारसम्म ३४ हजार ८०० भन्दा बढीले अवलोकन गरेका छन् । असोज २९ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन सात हजार २०० जना, दोस्रो दिन सात हजार ५०० जना, तेस्रो दिन आठ हजार ६०० जना र चौथो दिन अर्थात् आज शनिबार ११ हजार ५०० जनाले अवलोकन गरेका एसोसिएसनले जनाएको छ । 

चार दिनमा ३४ हजार ८०० जनाले अवलोकन गर्दा एक करोड तीन लाख रुपैयाँभन्दा बढीको कारोबार भएको एसोसिएसनको भनाइ छ । शनिबार भएकाले अन्य दिनको तुलनामा बढी अवलोकनकर्ता आएका र सोहीअनुसार कारोबार भएको एसोसिएसनले जनाएको छ । 

शनिबार बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल र बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले मेला अवलोकन गरेका थिए । भोलि आइतबारसम्म चल्ने मेलामा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने तथा एक करोड तीस लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अनुमान छ । नजिकिँदै गरेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । 

गोदावरी फूलको एक मात्र बृहत् प्रदर्शनी रहेको यस मेलामा व्यावसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरू रहेका छन् । विगत वर्षझैँ यस वर्ष पनि गोदावरी फूलको चार विधा (मिनिएचर, रिफ्लेक्स, स्पाइडर र इनकर्भ) मा प्रतिस्पर्धा गराइएको थियो । 

देशभरका ५२ जिल्लामा करिब २७० हेक्टरमा पुष्प खेती हुँदै आएको छ । हाल एक हजार २३५ भन्दा बढी व्यवसायी यस क्षेत्रमा संलग्न छन् र करिब ५३ हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । 

पुष्प व्यवसायमा करिब आठ अर्ब ८३ करोड रुपैयाँ लगानी भएको अनुमान छ । वार्षिक कारोबार तीन अर्ब ३७ करोड रुपैयाँ पुगेको फ्यानले जनाएको छ । आयोजकका अनुसार पुष्प बजारमा हरेक वर्ष १० देखि १५ प्रतिशतले माग बढ्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप