फेरिँदै कैलाशको मुहारः स्थानीयको ‘आँगनमै’ कालोपत्र सडक
सारांश
- कैलाश गाउँपालिकामा सडक विस्तार र स्तरोन्नतिको काम भइरहेको छ, जसले स्थानीयलाई राहत दिनेछ।
- गाउँपालिकामा कृषि क्षेत्रको प्रभुत्व छ, तर बेरोजगारी र वैदेशिक रोजगारीको समस्या छ।
- सडक निर्माणले हेटौँडासम्मको यात्रा सहज बनाउनेछ, कृषि उपजले बजार पाउनेछ र शिक्षा र स्वास्थ्यमा पहुँच बढ्नेछ।
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट मात्र ४५ किलोमिटरको दूरीमा छ कैलाश गाउँपालिका । दूरी नजिकै भए पनि पर्यटकीय हिसाबले अत्यन्त महत्त्वपूर्ण यो ठाउँ पूर्वाधार विकासमा भने कोशौं टाढा छ ।
मकवानपुरको यो गाउँपालिकामा कालोपत्रे सडक नै थिएनन्, कच्ची सडकहरू पनि सिजनमा मात्र चल्ने गर्थे, हिउँदभरि चलेका सडक वर्षा लागेलगत्तै बन्द हुने गरेका थिए ।
वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे बाटो यहाँका नागरिकको नियति बनेको थियो, तर अहिले यो चित्र फेरिँदै छ । संघ, प्रदेश र स्थानीय सरकारको त्रिपक्षीय सहकार्यमा सञ्चालित सडक विस्तार र स्तरोन्नतिको महाभियानले कैलाशमा आशाको किरण जगाएको छ ।

बेरोजगारी र वैदेशिक रोजगारी
२४ हजार ३६२ जनसंख्या रहेको यो गाउँपालिकाको आर्थिक तथा सामाजिक संरचनामा कृषि क्षेत्रको एकल प्रभुत्व छ । गाउँपालिकाको कुल जनसंख्यामा ११ हजारभन्दा बढी व्यक्ति कृषि पेसामा संलग्न छन् ।
उद्यमशीलता र औद्योगिक क्षेत्र शून्य रहेको यहाँ बेरोजगारी र वैदेशिक रोजगारी जानेहरू नै बढी छन् । गाउँपालिकाका ११ हजार ६३ जना प्रत्यक्ष रुपमा कृषिमा आश्रित हुँदा ५९१ व्यक्ति पूर्ण रूपमा बेरोजगार छन् ।
कैलाशमा कृषिबाहेक ठुलो संख्या ज्याला मजदुरीमा निर्भर छ । गाउँपालिकामा ६११ जना ज्याला मजदुर र ३१९ जना यातायात मजदुर छन् । ४९४ जना वैदेशिक रोजगारीमा छन् ।
कैलाशमा १० जना मात्र उद्यमी छन् भने औद्योगिक मजदुरको संख्या २६ छ । गाउँपालिकामा ८६ जना सरकारी कर्मचारी, ७९ जना शिक्षक र ८६ जना गैरसरकारी संस्थामा कार्यरत छन् । कैलाशमा १ हजार ६२४ महिला गृहिणीका रूपमा छन् भने १६२ जना केही न केही स्थानीय काम गरेर स्वरोजगार बनेका छन् ।
_c0wRTMLdS4.jpg)
विकासको केन्द्रविन्दुः कालिकाटार जोड्ने सडक
पालिकाले चुनियाँ–नामटार–मोटरबाटोको निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ, जुन पालिकाको कालिकाटार जोड्ने मुख्य सडक हो ।
जसअन्तर्गत प्रदेश सरकारको १८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन सात किलोमिटर लामो भाल्टार–वनझाक्री सडक खण्डको स्तरीकरणको काम कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले भने, ‘प्रदेश सरकारको लगानीमा भइरहेको काम लगभग सकिन लागेको छ ।’
उनका अनुसार बाँकी खण्डको निर्माण संघीय सरकार र गाउँपालिकाको संयुक्त बजेटबाट बढेको छ । अहिले तीव्र गतिमा ग्राभेल ओछ्याउने काम भइरहेको र आगामी वर्षसम्म यो सडकलाई कालोपत्रे गर्ने लक्ष्य लिइएको उनले बताए ।
_bCjOGd7EWe.jpg)
यो सडक निर्माण सम्पन्न भएपछि कैलाशका बासिन्दाको हेटौंडासम्मको यात्रा सहज र छिटो मात्र हुने छैन, कृषि उपजले सजिलै बजार पाउनेछ भने स्वास्थ्य र शिक्षासम्मको पहुँचलाई सरल बनाउनेछ । गाउँपालिका १० वटा वडामा विभक्त छ । भौगोलिक रूपमा माथिल्लो र तल्लो भेगमा बाँडिएको छ । सडक सञ्जालको विस्तारपछि यी दुवै भूभागलाई पालिकाको मुकामसँग त जोडिने छ, विकासको प्रतिफल सबै नागरिकसम्म समान रूपमा पुग्ने पालिकाले विश्वास गरेको छ ।
‘सडक सञ्जालको विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका क्षेत्रमा नयाँ सम्भावनाका ढोकाहरू खुल्ने र विकट कैलाश साँच्चिकै सुगम र समृद्ध बन्ने छ,’ अध्यक्ष मोक्तानले आशा व्यक्त गरे । विकाससँगै गाउँपालिकामा नयाँ चुनौतीहरू पनि देखिन थालेका छन् । कैलाशको माथिल्लो भेगमा पर्ने गोगने–गैरीगाउँ मोटरबाटो निर्माणका लागि ४० करोड रुपैयाँको ठेक्का सम्झौता भइसके पनि सडक डिभिजन कार्यालयबाट भोगचलनको अनुमति प्राप्त भएको छैन, जसका कारण काम बढ्न नसकेको उनले बताए । प्रशासनिक अवरोधहरूले विकासको गतिलाई सुस्त बनाउने जोखिम रहेको उनको भनाइ थियो ।
‘गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै न्यून हुनु विकासका लागि अर्को चुनौती हो,’ मोक्तानले भने, ‘पालिकाले आफ्नो सीमित बजेटबाट सानातिना पूर्वाधार निर्माण गरे पनि ठुला र रणनीतिक महत्त्वका आयोजनाहरूका लागि संघ र प्रदेश सरकारकै मुख ताक्नुपर्ने बाध्यता छ ।’

यहाँको आन्तरिक आम्दानीले कर्मचारीलाई तलब खुवाउन पनि धौधौ पर्ने अवस्था छ । ‘त्यसैले हामीले संघ र प्रदेश सरकारसँग निरन्तर समन्वय गरेर ठुला योजनाहरू भित्र्याइरहेका छौँ,’ मोक्तालने थपे ।
तर अब वर्षौंदेखि धुलो र हिलोमा सास्ती खेपेका स्थानीयवासी आफ्नो आँगनमा कालोपत्र सडक हुने भएपछि उत्साहित पनि छन् । सडक स्तरोन्नतिको काम सुरु भएसँगै आफूहरूको दैनिकीमा सकारात्मक परिवर्तनको आशा पलाएको कैलाश–१० का माणिकलाल तामाङ बताउँछन् ।
‘पहिला बिरामी पर्दा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता थियो, गाडी चल्ने बाटो भए पनि यात्रा निकै कष्टकर थियो,’ उनी भन्छन्, ‘अहिले बाटो बन्न थालेपछि हामीलाई ठुलो राहत मिलेको छ । अब हाम्रा छोराछोरीले सहरमा जस्तै सुविधा पाउनेछन् र गाउँ छोडेर जाने क्रम पनि घट्नेछ भन्ने विश्वास छ ।’
_S6JDRBjEru.jpg)
सडक सञ्जालको विस्तारले बसाइँसराइको दरलाई न्यूनीकरण गर्ने र गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने उनले विश्वास व्यक्त गरे ।
त्रिभुवन राजपथको चुनियाँदेखि कैलाश गाउँपालिकाको केन्द्र कालिकाटार २१ किलोमिटर दूरीमा छ । चुनियाँ–नामटार–कालिकाटार सडक २०३७ सालदेखि चलनचल्तीमा रहे पनि हालसम्म स्तरीकरण नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए ।

_oAGCWferCC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण