मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विदेशको बसाइ र नेपालका चाडपर्वमा प्रेम

सोमबार, ०३ कात्तिक २०८२, १३ : ०९
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • अमेरिकामा नेपाली समुदायले चाडपर्व र संस्कृतिलाई कायम राखेको देखियो, जहाँ दशैं र तिज जस्ता पर्वहरू मनाइन्छ।
  • विदेशमा रहेका नेपालीहरूले नेपालको माया र संस्कृतिलाई बिर्सेका छैनन्, तर उनीहरूले दुवै देशका चाडपर्वलाई मिलाएर मनाउने गरेका छन्।
  • लेखकले नेपालमा सुशासन र समृद्धिको लागि युवा पुस्ताको प्रयास र विदेशमा रहेका नेपालीहरूको देशप्रतिको मायालाई उजागर गरेकी छिन्।

हामी अभिभावकलाई लाग्ने गर्छ, छोराछोरी बिदेसिए । नेपालका संस्कार र संस्कृतिहरू जस्तै चाडपर्व, भाषा, राष्ट्रिय गान आदि सबै बिर्सिए । नेपालको माया नै छैन । तर हामीले आशङ्का गरेजस्तो अमेरिकामा भने देखिएन ।

मैले २०२५ को सेप्टेम्बर–अक्टोबरको कुरा गर्दैछु । त्यतिबेला हामी अमेरिकाको रोड आइल्याण्ड राज्यको वारिङ्टनमा थियौँ । त्यहाँ “नेपाल अमेरिका एसोसिएसन अफ रोड आइल्याण्ड” भन्ने संस्था रहेछ । सोही संस्थाले दसैँ २०२५ को शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो । हामी पनि उक्त कार्यक्रममा सामेल हुने मौका मिल्यो ।

कार्यक्रममा धेरै जनाको सहभागिता थियो । नेपालको राष्ट्रिय गान केटाकेटीहरूले समेत गाए । नेपाली गीतमा नाचगान गर्न तँछाड–मछाड थियो । पहिलाभन्दा यसपटकको दशैंमा नयाँ विधा थपिएछ— त्यो हो नाटक । रामायणका पात्र दशरथ, कौसल्या, राम, सीता, लक्ष्मण, रावण बनेर भूमिका निभाएर देखाए । आपसमा दशैंको शुभकामना आदान–प्रदान भयो । कविता वाचन र मन्तव्यहरू प्रकट भए । आ–आफ्ना घरका जमरा कति, कस्ता र कत्रा भए भनेर एकआपसमा गफ गर्दै गरेको पनि सुनिन्थ्यो । अर्कोतिर लहरै नेपाली खाना राखिएको थियो । अक्सर महिलाहरू नेपाली पोसाकमा सजिएका थिए । केटाकेटीको पोसाक पनि कार्यक्रम सुहाउँदो थियो । यो देख्दा आफू नेपालमै छु जस्तो लाग्यो । मन प्रफुल्ल भयो । आँखा रसाए ।

साँच्चै भन्नुपर्दा आजकल नेपालमा चाडबाडको रौनक पहिलेजस्तो छैन । आफ्नो केटाकेटी बेलाको त कुरै नगरौँ । हाम्रै केटाकेटी साना छँदाको जस्तो पनि छेउ नै छैन । अचेल सबैका हातहातमा मोबाइल छन् । गाउँघरका साथीको पनि कसैलाई मतलब छैन । वल्लो–पल्लो घरका बच्चाको न त स्कुल एउटै छ, न कसैका मामाघर एकैतिर । कोही मेचीका, कोही महाकालीका छन् । छिमेकी बच्चा पनि नचिन्नेजस्तै छ । घरमा केटाकेटी नहुनेका घरमा त चहलपहल हुने कुरै आएन ।

तैपनि दशैंमा घर र मन्दिरमा पूजाआजा बढेको देखिन्छ । शङ्खको आवाज प्रायः सबैका घरमा सुनिन्छ । जे होस्, चाडबाड भनेपछि केही न केही फरक भने पर्छ ।

फेरि कुरा अमेरिकातर्फ नै मोडौँ । कुनै वर्ष दशैंको समय पारेर कसैका अभिभावक अमेरिकामा हुन्छन् । जसका आमाबाबु त्यहाँ भए पनि आफ्नै जस्तो मानेर टीका लगाउने प्रचलन रहेछ । कसैका घरमा जमरा राख्न विधि नपुग्न सक्छ । जमरा राखेर पूजा गरेका घरमा लिन आएको देखियो । त्यो पनि राम्रो लाग्यो । यस वर्ष हाम्रो दसैँ अमेरिकामै भएकोले हाम्रो घरमा दिनभर चहलपहल भइरह्यो ।

यसै वर्षको तीजमा पनि हामी अमेरिकाकै सियाटलमा भतिजीकहाँ थियौँ । त्यहाँको नेपाली समाजले पनि तीजको कार्यक्रम गरेको रहेछ । त्यहाँको कार्यक्रममा म पनि सामेल भएकी थिएँ । कार्यक्रम नेपालको भन्दा केही फरक थिएन । पोसाकलगायत नाच, गीत र खाना सबै उस्तै ।

नेपालबाहिर बसेका नेपालीहरूले विक्रम सम्बतको नयाँ वर्ष पनि मनाउँछन् । बरु आजकल नेपालमा वैशाख १ गतेभन्दा जनवरी १ मनाउन प्राथमिकता दिएको पाइन्छ । बाहिर बस्नेहरूले फागु पूर्णिमा, तीज, दसैँ र तिहारलाई विशेष महत्त्व दिएको देखिन्छ । आमाबाबुको मुख हेर्ने कार्यक्रम पनि नेपाल र अमेरिका दुवै तिर मनाइएका हुन्छन् ।

वास्तवमा, देशबाहिर रहे पनि आफ्नो धर्म–संस्कृति छोड्ने कुरा आएको छैन । नेपालका चाडबाड पनि मनाउन मन लाग्ने, अमेरिकाका चाडबाड पनि मान्नैपर्ने । केटाकेटीहरूका लागि अमेरिकाका चाडबाडको महत्त्व हुन्छ— मिति थाहा हुन्छ, स्कुल–कलेजमा बिदा हुन्छ । दुवै थरी चाडबाडको समय व्यवस्थापन गर्न अभिभावकलाई हम्मेहम्मे पर्न सक्छ । केटाकेटीलाई भने दुवैथरी चाडबाड रमाइलो लाग्ने नै भयो । यसरी हेर्दा बाहिर बस्नेलाई चाडबाडको दोहोरो जिम्मेवारी देखियो ।

यति देखिरहँदा भन्न मन लाग्छ— आफ्नो जन्मस्थानका सांस्कृतिक प्रचलन कायम राखुन् । केटाकेटीहरूमा नेपालको माया भरिदिउन् । भाषा र भेष सिकाउँदै र बुझाउँदै जाउन् । समय समयमा नेपाल देखाउन् । नेपालको विकासका लागि धन र मन लगानी गरुन् । देश र बाबुआमालाई आवश्यक पर्दा भौतिक उपस्थिति अर्थात् समयले साथ दिउन् । अन्त्यमा, आफ्नो क्षमता अनुसार शिक्षा र धन आर्जन गरी आफ्नै देशमा फर्किउन् ।

वास्तवमा, छोराछोरी विदेश पठाएर नेपालमा एक्लै बस्ने रहर कुनै अभिभावकको हुँदैन । नेपाल प्राकृतिक सम्पदाले धनी छ । राम्रो हावापानी भएको, योगभूमि र ज्ञानभूमिको देश भन्छौँ र हो पनि । तर विधिको विडम्बना, उच्च शिक्षा आर्जन र रोजगारीका लागि युवावर्ग विदेश जानुपरेको छ । विदेशमा रहे पनि सधैं बाहिर बस्ने रहर खासै हुँदैन रहेछ । यस्ता कुरा विभिन्न जमघटमा सुनिन्छ ।

गएको भदौ महिनामा नेपालमा जेनेरेशन–जीले आन्दोलन गरे । चाहना सुख, शान्ति एवम् समृद्धिको नै हो । यसका लागि सुशासन र भ्रष्टाचार निवारण मुख्य एजेन्डा थियो । यो नै अहिले सबैको आवश्यकता र माग हो । यसकै आधार तयार गर्न युवावर्ग जुटेको छ । यसैका कारण हाल नेपालमा सरकार परिवर्तन भएको छ । व्यवस्थाका साथै अवस्था परिवर्तन पनि होला । बाहिर बस्नेले यस आन्दोलन पश्चात् हुने परिवर्तनलाई धेरै आसाका साथ हेरेका छन् ।

नेपालभित्र र बाहिर सबैको चाहना एउटै छ— देशमा बसेर उन्नतिको दीर्घकालीन अवसर देख्न सकियोस् । शिक्षा, स्वास्थ्य र व्यवसाय सञ्चालन सहज सरल बनोस् । आधुनिक जमाना सुहाउँदो जीवन सहज रूपमा चलाउन सक्ने वातावरण बनोस् ।

अन्त्यमा, देशमा सुशासनयुक्त वातावरण बनाउने काम नेपालमा रहेका युवा र वयस्कहरूको त हुँदै हो । देशबाहिर रहनेले पनि काँधमा काँध मिलाएर विकास गर्ने दिन आएको छ । हाम्रो आदर्श वाक्य हो— जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । त्यसैले जन्मभूमिको सेवाका लागि कर्म गर्नु मनुष्यको परम धर्म हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप