बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बैंक

बैंकमा तरलता थुप्रिँदा घट्यो बैंकहरूको नाफा

सबैभन्दा धेरै नाफा सिद्धार्थ बैंकले कमायो
सोमबार, ०३ कात्तिक २०८२, १४ : १०
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • चालु आर्थिक वर्षको सुरुको दुई महिनामा बैंकहरूको नाफा ६.१५ प्रतिशतले घटेको छ।
  • १० वटा बैंकको नाफा घटेको छ भने अन्यको बढेको छ, जसमध्ये हिमालयन बैंकको नाफामा सबैभन्दा धेरै गिरावट आएको छ।
  • बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था भएपनि झण्डै ११ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह हुन नसकेको अवस्था छ।

काठमाडौँ । बैंकहरूको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा बैंकहरूको नाफा ६.१५ प्रतिशतले घटेको हो । यो अवधिमा २० वाणिज्य बैंकमध्ये १० वटाको नाफा घट्दा बाँकी बैंकको नाफा भने बढेको छ ।

यस अवधिमा नाफा घट्ने बैंकहरूमा क्रमशः हिमालयन बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्रभु बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक र कुमारी बैंक रहेका छन् । 

त्यस्तै, नाफा बढ्ने बैंकहरूमा सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइन बैंक, एभरेष्ट बैंक, प्राइम कमर्शियल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । 

हाल बैंकिङ क्षेत्रमा ७४ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गरी ५६ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । यो अनुसार कुल सीडी रेसियो ७४.६६ प्रतिशत रहेको देखिन्छ । बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था बमोजिम अझै बैंकहरूले १५.३४ प्रतिशत अर्थात् झण्डै ११ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न पाउने अवस्था छ, जुन प्रवाह हुन नसकेर बसेको छ । सोही कारण अधिकांश बैंकको नाफा घटेको देखिन्छ । 

  • कुन बैंकको नाफा कति?  

नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनासम्म वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्षको यही अवधिमा १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएामा थिए ।

यो अवधिमा ग्लोबल आईएमई बैंकले १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष बैंकले  जबकि यस बैंकको नाफा गत आवको तुलनामा ३.९७ प्रतिशतले घटेको छ ।

त्यस्तै, नबिलको नाफा पनि २०.०९ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको थियो । 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ४१ करोड २८ लाख रुपैयाँ थियो । यो १५.५१ प्रतिशतको गिरावट हो । 

त्यस्तै, कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ कमाएको छ । गत वर्ष १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्षको नाफा २.६० प्रतिशत कम हो । 

प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको भन्दा ७.३५ प्रतिशत बढी हो । गत वर्षको यही अवधिमा उक्त बैंकले ९७ करोड ४६ लाख रुपैयाँ कमाएको थियो । 

यसैगरी, एनएमबीले १ अर्ब ३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यो नाफा ७८ करोड २ लाखमा सीमित थियो । यो वर्ष बैंकले ३२.१४ प्रतिशत नाफा बढाएको देखिन्छ । 

नाफाको आधारमा एभरेष्ट बैंक आठौँ स्थानमा रहेको छ । उक्त बैंकले यो अवधिमा ९१ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ जुन गत वर्षभन्दा १०.५७ प्रतिशत बढी हो । गत वर्ष बैंकको नाफा ८२ करोड ५५ लाख रुपैयाँ रहेको थियो । 

राष्ट्रिय वाणिज्य बैंकको नाफा समेत यो अवधिमा सामान्य बढेको छ । बैंकले ०.६३ प्रतिशत नाफा बढाउँदै २ महिनामा नाफा ८८ करोड ५५ लाख कायम गरेको हो । गत वर्ष बैंकले ८८ करोड ३ लाख रुपैयाँ कमाएको थियो । 

सिद्धार्थ बैंकले ८४ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बैंकले ६० करोड ५६ लाख रुपैयाँ कमाएको थियो । यो आधारमा बैंकको नाफा ४०.१८ प्रतिशतले बढेको देखिन्छ ।

नेपाल बैंक ८४ करोड २८ लाख नाफा कमाएको छ । गत वर्ष ६७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष नाफामा २४.२७ प्रतिशत वृद्धि हासिल गरेको हो । 

सानिमा बैंकले ७२ करोड १५ लाख नाफा कमाएको छ । गत वर्ष ६८ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष नाफामा ४.६८ प्रतिशत वृद्धि भएको हो । 

प्रभु बैंकको नाफा यो अवधिमा २५.९८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा नाफा ६७ करोड ६० लाख कायम गरेको हो । गत वर्ष बैंकले ९१ करोड ३२ लाख रुपैयाँ कमाएको थियो । 

कृषि विकास बैंकको नाफा ५८ करोड ९८ लाख रुपैयाँमा सीमित छ । गत वर्ष यो नाफा ८८ करोड ७० लाख थियो । यो वर्ष बैंकले ३३.५० प्रतिशत नाफा घटाएको देखिन्छ । 

सिटिजन्स बैंकको नाफा यो अवधिमा सामान्य गिरावट आएको छ । बैंकले ५.४६ प्रतिशत नाफा घटाउँदै दुई महिनामा नाफा ५५ करोड ७६ लाख कायम गरेको हो । गत वर्ष बैंकले ५८ करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५३ करोड २२ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको भन्दा १२.२२ प्रतिशत कम हो । गत वर्षको यही अवधिमा उक्त बैंकले ६० करोड ६२ लाख रुपैयाँ कमाएको थियो ।

एनआईसी एसिया बैंकले ४९ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा ५७ करोड ७५ लाख रुपैयाँ थियो । यो १४.२६ प्रतिशतको गिरावट हो ।

त्यस्तै, माछापुच्छ्रे बैंकले ४८ करोड १९ लाख रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्षको नाफा २२.८० प्रतिशत बढी हो । 

कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ कमाएको छ । गत वर्ष १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्षको नाफा २.६० प्रतिशत कम हो । 

हिमालयन बैंकको नाफा यो अवधिमा सबैभन्दा धेरैले घटेको छ । बैंकले ६८.२६ प्रतिशत नाफा घटाउँदै दुई महिनामा नाफा ३७ करोड ७ लाखमा सीमित भएको हो । गत वर्ष बैंकले १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ कमाएको थियो ।

यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंक नेपाल एसबीआई बैंक रहेको छ । उक्त बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा ५३ करोड ३९ लाख रुपैयाँ कमाएको थियो । यो वर्ष बैंकको नाफा ३३.५९ प्रतिशतले घटेको हो । 

  • कस्तो रहला बैंकको त्रैमास?

अहिले बैंकको पहिलो त्रैमास सकिएको छ । पहिलो त्रैमास सकिएको एक साताभित्र बैंकले वित्तीय विवरण प्रकाशन गर्नै पर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । यद्यपि अहिले तिहार बिदा सुरु भइसकेकोले यो समय केही पर सर्न सक्नेछ । 

बैंकहरूले त्रैमासिक रूपमा अघिल्लो ऋणको ब्याज तथा किस्ता उठाउने गर्छन् । यही अवधिमा उठेका वा नउठेका कर्जाको आधारमा बैंकले थप प्रोभिजनिङ गर्ने तथा निष्क्रिय कर्जा कायम गरी यसबापतथ इम्पेरिमेन्ट चार्जको रकम कायम गर्ने गर्छन् । त्यसैले त्रैमासको अन्त्यमा देखिने वित्तीय विवरण अन्य समयको भन्दा केही फरक हुने गर्छ । 

यद्यपि ब्याज आम्दानी, ब्याज खर्च, कर्मचारी तथा कार्यालय सञ्चालन खर्च लगायत सूचकमा सामान्यतया ठुलो परिवर्तन नहुने भएकोले नाफाको ठुलो हिस्सा यी सूचकले निर्धारण गर्ने गर्छन् । त्यसैले राष्ट्र बैंकले सार्वजनिक गरेको दोस्रो महिना बैंकहरूको उक्त रिपोर्टले पहिलो त्रैमास (तेस्रो महिना)को रिपोर्टको अवस्थालाई धेरै हदसम्म देखाउन सक्ने बैंकरहरू बताउँछन् ।

यो आर्थिक वर्षको सुरुमै देखिएको राजनीतिक उतारचढाव, प्राकृतिक प्रकोप लगायत असहजताका कारण बैंकहरूले ब्याज तथा कर्जा किस्ता उठाउने विषयमा प्रेसर देखिएको उनीहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप