हरिवंशको त्यो प्रस्ताव जसले सुमन कार्कीलाई बनायो कमेडी स्टार
सारांश
- सुमन कार्की एक हास्य कलाकार हुन्, जसले अभिनय, मिमिक्री र स्ट्यान्डअप कमेडी गर्छन्।
- उनी 'कमेडी नाइट विथ च्याम्पियन्स' मार्फत दर्शकमाझ लोकप्रिय छन् र विभिन्न पात्रहरू प्रस्तुत गर्छन्।
- कार्कीले हास्य यात्रा मोरङको रेडियोबाट सुरु गरेर राष्ट्रिय स्तरका कलाकार बन्ने सपना पूरा गरे।
काठमाडौँ । अभिनय, मिमिक्री र स्ट्यान्डअप कमेडी । हास्य कलाकारिताका तिनै विधामा पोख्त अहिलेको कोही कमेडियन छ भने सबैभन्दा पहिले सम्झिने नाम हो सुमन कार्की । उनले के गर्दैनन् ? नेता, अभिनेता, पत्रकारका हुबहु क्यारिकेचरदेखि रोस्टिङ र अभिनयसम्म सबै कला देखाएर दर्शकलाई पेट मिचिमिची हँसाउँछन् । अहिलेको व्यस्त र तनावपूर्ण दैनिकीमा दर्शकलाई हँसाएर मुड ‘फ्रेस’ गराउँछन् । मोरङ रतुवामाईको रेडियो स्टेसनमा रेडियो जक्की बन्दादेखि नै कमेडियन बन्ने उनको हुटहुटी थियो । काठमाडौँ आएर रेडियो अडियोमा काम गरेसँगै उनको सपनाले फैलिने मौका पायो ।
हाल ‘कमेडी नाइट विथ च्याम्पियनस’ मार्फत आफ्नो बहुमुखी प्रतिभा देखाउँदै सुमन दर्शकमाझ छाइरहेका छन् । २८ एपिसोड प्रसारण भएको यो शोको नयाँ सिजनमा उनले १०–१२ भन्दा बढी फरक पात्रहरूमा अभिनय गरिसके । हरेक हप्ता नयाँ नयाँ पात्र सिर्जना गर्नु कम्ती चुनौतीपूर्ण हुँदैन ।
यसैमध्येको ‘कर्किनी दिदी’ पात्र गत तीजमा दर्शकमाझ निकै लोकप्रिय बनेको थियो । मेक्सम गौडेलसँग मिलेर गरेको वृद्धवृद्धाको पात्र पनि दर्शकले निकै मन पराएका थिए । अभिनेता राजेश हमाल र पत्रकार ऋषि धमलाको क्यारिकेचरलाई दर्शकले औधी रुचाएका छन् । यसैबाट उनी नेपाली कमेडीमा स्थापित भएका हुन् भन्दा पनि हुन्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र कलाकार शिवहरि पौडेलको मिमिक्रीलाई पनि दर्शकले रुचाएका थिए ।
कमेडीका साथै सुमन गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स सिजन २’ को होस्ट पनि हुन् । नेपालभित्र र बाहिरका विभिन्न स्थानमा हुने साना–ठुला स्टेज शोहरूमा पनि उनी उत्तिकै सक्रिय छन् ।
बाल्यकालबाटै हास्य यात्रा
मोरङको रतुवामाई नगरपालिकाको एक गाउँमा जन्मिएका हुन् सुमन । ग्रामीण परिवेशमा हुर्किएकाले उनलाई रेडियोले निकै आकर्षित गर्थ्यो । रेडियोका नाटक, कथा र वक्तृत्व कलाले उनलाई लोभ्याउँथ्यो । रतुवामाईको महेन्द्र उच्च माविमा प्लस टु पढ्दै गर्दा त्यहाँ ‘रेडियो सुनसरी’ नामक नयाँ रेडियो स्टेसन खुल्यो । जुन उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो ।
रेडियोमा तालिमसहित काम गर्ने अवसरले उनको कलालाई अझ परिष्कृत गर्ने मौका दियो । कलेज र स्कुलका कार्यक्रमहरूमा सामान्य ‘स्ट्यान्ड अप’ गर्ने उनी रेडियोमा कमेडी कार्यक्रम सञ्चालन गर्न थाले । त्यसमा राष्ट्रिय स्तरका कलाकारहरूको क्यारिकेचर गर्ने र मौलिक कन्टेन्टहरू बनाउने अभ्यास गरे ।

‘रेडियोमा निरन्तरको काम र दर्शकहरूको मायाले मलाई राष्ट्रिय स्तरको कलाकार बन्ने हुटहुटी लाग्यो,’ सुमन सुनाउँछन्, ‘राष्ट्रिय स्तरको कलाकार बन्ने सपना बोकेर २०७२ सालको भूकम्पपछि काठमाडौँ छिरें ।’
काठमाडौँ त आए, तर उनले सपना देखेजस्तो विपनामा सहज थिएन । आफूलाई राम्रो कलाकार ठान्ने उनको काठमाडौँ आएपछि टेलिभिजनमा तत्कालै छाउने अपेक्षा थियो, तर वास्तविकता फरक थियो ।
काठमाडौँ आएपछि रेडियो अडियोमा जोडिए । सुरुमा रेडियो कार्यक्रम सञ्चालनको अवसर नपाए पनि ट्रायल अवधिपछि बिस्तारै कार्यक्रम प्रस्तुत गर्न पाए । कमेडी केन्द्रित रेडियो भएकाले त्यहाँ उनको दीपकराज गिरीदेखि थुप्रै अग्रज कलाकारहरुसँग परिचय भयो, जसले उनलाई अझ धेरै सिक्ने र अगाडि बढ्ने प्रेरणा दियो ।
हरिवंशको त्यो ब्रेक
एक समय कलाकार हरिवंश आचार्य ‘हरिबहादुर’ नामक पुस्तक विमोचन तयारीमा थिए । विमोचन कार्यक्रममा आचार्य आफूसँग अन्तर्वार्ता गर्न ऋषि धमलाको क्यारिकेचर गर्ने व्यक्तिको खोजीमा थिए । रेडियो अडियोबाट उनको नाम सिफारिस भयो । कार्यक्रममा उनले गरेको ऋषि धमलाको क्यारिकेचरले चर्चा पायो ।

हरिवंशसँग काम गर्ने यो मौकाले उनको करिअरमा ठुलो मोड ल्यायो । यही कार्यक्रममार्फत उनले जीवनमा पहिलोपटक देशव्यापी टुर गर्ने अवसर पाए ।
‘त्यसले अवसर मात्र पूरा गरेन, हरिवंश आचार्यजस्ता ठुला कलाकारसँगै स्टेज सेयर गर्ने मौका पनि दियो’, उनी सुनाउँछन्, ‘त्यो कुराले कलाप्रतिको प्रतिबद्धता मेरो अझ दृढ भयो ।’
यसपछि मनोज गजुरेलसँग गाईजात्रा कार्यक्रममा पनि धमलाकै क्यारिकेचर गरेर उनी झन् चर्चित भए । धमलाको क्यारिकेचरपछि मञ्चहरूमा सानोतिनो क्यारिकेचर गर्दै अगाडि बढेका उनी थप चर्चित ‘कमेडी च्याम्पियन’बाट भए । नेपालमा पहिलोपटक आयोजना भएको यो शोको पहिलो सिजनमा उनी प्रतियोगीका रूपमा सहभागी भए ।
‘कमेडीमा अलिअलि चिनिएको म त्यसमा सहभागी हुने कि नहुने दोधारमा थिएँ’, उनी भन्छन्, ‘कमेडीमा सिक्ने र आफूलाई राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा सहभागी भएँ ।’ त्यसमा टप ५ सम्म पुग्न सफल भए । कमेडी च्याम्पियनका कारण टेलिभिजनमा देखिने आफ्नो सपना पूरा भएको सुमन बताउँछन् ।
कमेडी च्याम्पियनबाट उनले लेखन, हास्यव्यङ्ग्यका प्रक्रिया, चरित्र निर्माणका विधिजस्ता धेरै कुरा सिक्न पाए । यसले उनलाई अझै खुल्न र दर्शकमाझ पुग्न मद्दत गर्यो । ऋषि धमलाको क्यारिकेचरबाट चिनिए पनि उनले कमेडी च्याम्पियनमा मिमिक्रीबाहेक अन्य मौलिक पात्रहरू पनि सिर्जना गरे ।
‘धमला देखिरहेको पात्र भएकाले मिमिक्री अलि पपुलर भइदियो । तर त्यो समय मैले गरेको एक सहचालक (खलासी), एक सत्यवादी तर भ्रष्ट नेता र ट्राफिक गुरुको क्यारेक्टरहरूले पनि दर्शकको ध्यान तानेको थियो,’ उनी भन्छन् ।
रुचिको कमेडी
पछिल्लो समय नेपालमा रोस्टिङ कमेडीले प्राथमिकता पाइरहेको छ । सुमन कार्की यसलाई एक नयाँ विधाको रूपमा हेर्छन् । आफू पनि पछिल्लो समय रोस्टिङ कमेडी गर्दैछन् । तर रुचि भने उनको सामाजिक कमेडीमा बढी छ । ‘कमेडीमा विषयवस्तु उठ्नुपर्छ, केही सन्देश दिन सक्नुपर्छ र त्यसमा हाँसो पनि मिसिएको हुनुपर्छ,’ उनको बुझाइ छ ।

अतिथि कलाकारहरूलाई ‘रोस्ट’ गर्ने शो भएपनि उनी समाजका विषयवस्तु उठाएर त्यसमा व्यङ्ग्य प्रहार गर्न रुचाउँछन् । यसले समाजलाई केही न केही सुधार गर्न प्रेरित गरोस् भन्ने आफ्नो उद्देश्य रहेको उनी बताउँछन् ।
रोस्टिङ कमेडी बाहिरी देशहरूमा पहिलेदेखि नै भएपनि नेपालमा भर्खरै चलेको हो । अहिले नेपालका केही कमेडी शोमा अतिथि बोलाएर रोस्टिङ गर्ने प्रचलन बढेको छ । रोस्ट गर्नु भनेको खासमा कसैलाई उडाउनु पनि हो । आफूले गर्ने शोमा अतिथिहरूलाई रोस्ट गर्नुअघि उनीहरूसँग सल्लाह गर्ने गरेको उनी बताउँछन् । यदि अतिथिहरूलाई चित्त दुखेको वा आपत्तिजनक लागेका अंशहरू भए एपिसोड प्रसारण गर्नुअघि नै हटाउने गरेको उनी बताउँछन् ।
‘पहिले पहिले अतिथिहरूलाई असहज भएपनि अहिले बिस्तारै यो रोस्टिङ कल्चरसँग बानी परिसकेको छ । कतिपय अतिथिहरूले त ‘रोस्ट नै भएन’, ‘प्रसङ्ग नै निकाल्नुभएन’ भनेर ठट्यौली पनि गर्छन्,’ सुमन सुनाउँछन्, ‘रोस्टिङको उद्देश्य कसैको मन दुखाउने नभई हल्का हाँसो र रमाइलो माहोल सिर्जना गर्नु नै हो ।’
कमेडी किन गर्ने ? अरूलाई खुसी बनाउन र सजिलै भन्न नसकिने कुरा वा उठाउन नसकिएको विषय भन्न कमेडी गर्ने सुमन बताउँछन् । हाँसो र व्यङ्ग्यको यो माध्यम समाजलाई सचेत गराउने विधा भएको उनको बुझाइ छ ।
अहिलेको व्यस्त, तनावग्रस्त र अनेक समस्याले जेलिएको समाजमा हाँसोको आवश्यकता अझ बढेको सुमन बताउँछन् । ‘हाँसो जीवनमा जहिले पनि आवश्यक पर्ने भइहाल्यो । अहिलेको परिस्थितिमा झन् मान्छेलाई हाँसो अत्यधिक आवश्यक छ,’ उनी भन्छन् ।
कलाका धेरै विधामध्ये कमेडी गाह्रो विधामा पर्छ । सुमन पनि यसलाई स्वीकार गर्छन् । दर्शकको मन बुझेर, माहोललाई हेरेर प्रस्तुति दिनु एक चुनौतीपूर्ण काम हो ।
‘दर्शकबाट माया र प्रशंसा पाउँदा सबै पीडा बिर्सिएर आनन्द मिल्छ । त्यो आनन्दले काम गर्न प्रेरित गरिरहेको छ,’ उनी अगाडि भन्छन्, ‘त्यो कुनै पनि सुखसँग तुलना गर्न मिल्दैन ।’
हुन त कमेडीमा आफूले आफूलाई नै उडाउने चलन पनि अहिले चलेको छ । उनी यसलाई एकदमै सकारात्मक रूपमा लिन्छन् । अरूलाई व्यङ्ग्य गर्ने, अरूको विषयमा टिप्पणी गर्ने कलाकारले आफूलाई नै उडाउन सक्नुपर्छ भन्ने उनको मान्यता हो । उनले कमेडियन मनोज गजुरेलको कुरा दोहोर्याए, ‘जसले आफूमाथि कमेडी गर्न सक्दैन, ऊ राम्रो कमेडियन हुन सक्दैन ।’
आफूलाई उडाउँदा दर्शकले कलाकारलाई अझ नजिक पाउँछन् र समाजका अन्य विषयवस्तु उठाउन पनि सहज हुने सुमनको तर्क छ ।
राजनीतिक चेत
हास्य कलाकारका रूपमा उनी राजनीतिक मुद्दाहरूमा पनि व्यङ्ग्य प्रहार गर्छन् । तर यस्ता व्यङ्ग्य सधैं सहज हुँदैनन् । कहिलेकाहीँ धम्की वा गालीगलौज पनि मिल्न सक्छ । यो अनुभव अहिलेसम्म आफूले भोग्नु नपरेकोमा उनी खुसी छन् ।

एक कलाकारले सन्तुलन मिलाएर प्रस्तुति दिँदा अप्ठ्यारो परिस्थितिको सामना गरिहाल्नु नपर्ने सुमन बताउँछन् । कहिलेकाहीँ चिप्लिने वा बहकिने सम्भावना समेत हुने भएकाले त्यसमा ध्यान दिनुपर्ने उनी बताउँछन् ।
करिब एक दशक लामो यस हास्य यात्रामा उनले गुमाएको केही छैन, धेरै पाएका छन् । आफूले रहर गरेको काम गर्न पाएको, नेपालमै बसेर जीविकोपार्जन गर्न पाएको र सबैभन्दा ठुलो कुरा दर्शकको अगाध माया पाउनुलाई उनी आफ्नो सबैभन्दा ठुलो उपलब्धि मान्छन् । देश–विदेशका विभिन्न स्थानमा पुग्ने अवसर पनि यसै विधाले दिएको छ ।
‘सुरु-सुरुमा परिवार, विशेषगरी बुबाले दिगो र बलियो जागिर खाइदिए हुन्थ्यो भन्ने चाहना राख्नुहुन्थ्यो’, उनी भन्छन्, ‘अहिले यही पेसाबाट जीविकोपार्जन भइरहेको देखेर परिवार दंगदास छन् ।’
नेपाली कला क्षेत्रमा खलपात्र, सहायक भूमिकामा काम गर्ने कलाकार हुन् वा निर्देशक नै, धेरैको कलाकारितामा सुरुवाती आकर्षण हिरो बन्नु हुन्छ । तर सुमनलाई कहिल्यै हिरो बन्ने रहर जागेन ।
आफूले गर्ने १५ मिनेटको कमेडी ‘एक्ट’ वा ‘स्क्रिप्ट’ को ‘हिरो’ उनी आफैंलाई पाउँछन् । समाजमा जसले नेतृत्व गर्छ, ऊ नै हिरो हो भन्ने उनको सरल तर्क छ ।
सानो पर्दामा मज्जैले छाएका सुमनको अबको सपना छ- हास्य विधाकै फिल्म लेखन र अभिनय ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण